प्रगतिवादी पथको यात्री ऊ अध्यात्मवादी हुदै होइन । मञ्चहरूमा भौतिकवादी दर्शनमा उभिएर भाषण गर्छ र पत्रपत्रिकाहरूमा यही दृष्टिकोणबाट लेखहरू लेख्छ । धामी, बोक्सी, देउता, परलोकादि कुनै कुरामा उसको विश्वास छैन । उसको चेतनाले अदृश्य ईश्वरलाई स्वीकार गर्दैन । अरुले देउता भनेका ढुङ्गालाई ऊ ढोग्दैन र फूलपाती चढाउँदैन । पण्डित, पुजारीबाट टीका थाप्न आफ्नो निधार अगाडि बढाउदैन ।
परारको साल उसले अधिकृत पदमा लोकसेवाको परीक्षा दिएर लिखितमा उत्तीर्ण भयो । अन्तर्वार्ताको दिन बिहानै उसले सबै देवी, देवताहरूलाई सम्झ्यो । पाठी, परेवा, बोका र भेटीपातीको भाकल गर्दै जानेका सबै देवी, देवता र तीर्थस्थललाई अनेक लोभ देखायो । आफूलार्इृ अधिकृतको अन्तर्वार्तामा पास गराइदिन आग्रह गर्दै यदि सफल भएमा ‘भाकल पूरा गर्नेछु’ भन्दै देवी, देवतालाई घूसको जाल फ्याँक्यो । अन्तर्वार्तामा पास भएर ऊ अधिकृत भयो । अब उसले आफ्नो पूर्व भाकल र बोलकबोल सबै बिस्र्यो । पूर्ववत् ऊ विशुद्ध भौतिकवादी भयो ।
पोहोर साल ऊ सिकिस्त बिरामी भयो । थुप्रै अस्पताल धाउँदा पनि निको भएन । कुनै औषधिले छोएन र कुनै डाक्टरले उसको बिराम धोएन । मृत्युको आभास भएर ऊ गिर्दो मानसिकतामा झर्यो । अरु उपाय अब के ? पुरानै उपक्रममा उसले पुनः दैवी– शक्तिसित गुहार माग्यो । उही देवी, देवतालाई अनेक किसिमका भाकलरूपि घूसको प्रलोभन देखायो । थाहा पाएका सबै देवी, देवता र तीर्थस्थललाई सम्झँदै दर्शन गर्ने प्रण गर्यो– “हे भगवान् ! मलाई यो बिमारबाट मुक्त गराइदेउ, यसपटकचाहिँ म नढाँटी भाकल पूरा गर्नेछु ।”
बिमारको म्याद पुगेर हो कि घरायसी जडीबुटीले हो ? ऊ क्रमशः आराम हुदै गयो । केही समयपछि बिमारबाट मुक्त भएर ऊ कार्यालय जान थाल्यो ।
यसपटक पनि उसले आफ्नो भाकल बिस्र्यो । पूर्ण भौतिकवादी भएर आफ्नो अग्रगामी बाटोमा निर्धक्क ऊ हिँडिरह्यो ।
रामविक्रम थापा
फाक्टाङ – २, खोटाङ
मो.नं. ९७५३००४३६०
