शिवहरि दुनियाँभरि, छैन धर्म भइसक्यो मनपरि
बह्म ज्ञान, जातिपाति, धर्मकर्म फाले
परम्परा कर्तव्य नै भुले जनताले
गरिवको पसिना भो, शोषकीको धन
परिश्रमी दुःखी बने खान नपाईकन ।
ठूला भए असती छली, पापी कली सम्झन्छु झलझली ।
मातापिता पाखा पारी आफ्नो अधिकार
जमाउन लागे छोरा हेर अतिचार ।
ज्ञान, मान जप, ध्यान केही बाँकी छैन
पापी छली महाजाली कली नासिँदैन ।
धरतीमा लाइदियो भारी, बढ्न थाल्यो धर्मको संहारी ।
दुनियाँका छोरा बढे, लवाइ भयो अर्को
पैसा जति लुवाइमा खान पर्यो चर्को ।
बाहिरतिर सुटबुट खपिसक्नु छैन
घरभित्र थोत्रे गुन्द्री सिवा पाइँदैन ।
खाना खाए चना र मम्फली, लुगा लाए सापटी अन्त लिई ।
नारी हिँड्छन्, पुरूषको लुवाइ ढल्काएर
हिप टाइट बेलबटम कुर्था झल्काएर ।
पतिभन्दा श्रीमतीले मान पाउन थाले
आफू बसे कुर्सीमाथि राखी स्वामी पाले ।
कली युग भइगयो झल्झली, दुनियाँलाई पार्दै छ नक्कली ।
आजकल कुमारीको नक्कली चाला
शहरमा घुम्न जाँदा देखेँ यसै पाला ।
इष्टमित्र मातापिता अन्य दाजुभाइ
ठूला सन्त, ज्ञानी मान्यगन्य कसैलाई
केही नटेरी कलीका नारी, हिँड्न थाले दुनियाँ छक्क पारी ।
पिलन्धरे लुगा लाए सरम ढाकिँदैन
ठिटासँग डुल्न गए, ठिटी साथी छैन ।
आँखा छोपी झारेका छन् कपालका अलका
बुलाउज रे पहिरेको सरो मखमलका
मोटो सारी हुने रे भारी, छोटो कट्टु दुनियाँ दङ्ग पारी ।
लेखक – गणेश काफ्ले (हे कली युग !)
संकलकन- इन्द्र थापा ‘मिलन’/लक्ष्मी रिजाल
