Skip to content


पहाड मसितै यात्रा गर्छ (कविता संग्रह)
लेखकः हेमन यात्री
प्रकाशकः रत्न पुस्तक भण्डार
मूल्यः रु.१९९, पृष्ठः ८३+१४

आँखामा हिउँ पग्लेर
भिजिदिन्छ किनारा लागेको परेली
भरिएर आउँछ थकाइको सुनामी
बगरजस्तो सुकेको ओठबाट
चैतको धूलोजस्तो
मुस्कान उडेर
डुब्यौ खै कुन सागरमा गएर?

इटहरीमा बसेर साहित्यकर्म गरिरहेका हेमन यात्रीको पहाड मसितै यात्रा गर्छ कविता संग्रहको ‘बाटामा भरिया बालक’ शीर्षकको पहिलो कविताको बालभरिया विद्यालयको सामान बोकेर पहाडतिर उक्लिंदैछ। कविताको अन्त्यमा कवि भन्छन्:

ए स्वयम्भूले चिहाएको शीतलनिवास!
ए बालुवाटार!
केही गरी यो बालक
बाटैमा हरायो भने के हुन्छ?

३९ थान गद्य कविता संग्रहित पहिलो कृतिबाटै यात्रीले एउटा शक्तिशाली उदयको उद्घोष गरेका छन्। छरिता आकारका सबै कवितामा शब्दहरूलाई शक्तिशाली संकेतको माध्यम बनाएका कविले पहाड, नदी, वनपाखा र दारुण ग्रामीण परिवेशबाट टिपेका बिम्ब, प्रतीक, मिथक, श्रुतिपरम्परा, गाथा तथा अभिव्यक्तिका अन्य उपकरणहरूको सुन्दर प्रयोग गरेका छन्। कवितामा रूख चढेकी आमा गीतका हरफहरू खसाल्छिन्। हिउँदे बतासको लैबरीमा चिउरीका पातहरू थपडी मार्छन्। हलेसोहरू कोरस गाउँछन्। लय र तालले सुसज्जित हरेक कविता भावले भिजेका छन्।

‘बाँसुरी’ कविता एकल जातीय प्रभुत्ववादी सत्तालाई आदिवासी हुनुको चेतले गरेको शालीन ललकार बनेको छ। घर छेउछाउ लुकिबसेका एकान्तहरू टिपेका कविले सुकेको लेउजस्तो मन र अंशमा परेको नागरिकताको गहिरो अनुभूति गराउँछन्, पाठकलाई। कवितामा शब्दहरू कविका विषयलाई स्मरणीय बनाउन जुटेका छन्। हेमन यात्रीलाई एक सशक्त युवा कविमा दर्ता गर्न सक्षम यो संग्रह निःसन्देह पठनीय र संग्रहणीय छ।

आनन्द पी राई
हिमाल खबरपत्रिका
१-१५ मंसिर २०६९
17-30 November 2012

Leave a Reply

Your email address will not be published. Required fields are marked *