Skip to content

कुरूपता

  • by


पात्रहरू ः गधेपच्चीसी उमेरका रवेन्द्र, कामेश्वर, आनन्द, कुलानन्द र धनेश्वर ।

(तीन जना मानिसहरू छन् । एकअर्कालाई संकेत गर्दै कुराकानी गरिरहेको देखिन्छ ।)

आनन्द ः मन बेचेको छैन । आरोपमात्र हो ।

रवेन्द्र ः हावा नचली पात हल्लँदैन । कतै न कतै कुरो खुस्किएको हुनुपर्छ ।

आनन्द ः मान्छेहरू जनमत एकोहोर्याउन प्रयत्न गर्छन् । प्रयत्न सफल नभए भएका कुरा छाड्दिन्छन् । नभएका कुरा अघि सार्छन् ।

कामेश्वर ः इज्जत बेच्दै हिँड्छौ रे । तिम्रो इज्जतको मूल्य कति छ हो ?

आनन्द ः ‘रे’ का कुरा छाडौँ । जसको उत्पति पनि थाहा छैन र आधार पनि ज्ञात छैन । ‘हो रे, हो रे’ मा यहाँ धेरै कुरा भएका छन् । म आफ्नो इज्जत बेच्दिनँ पनि र कसैको इज्जत किन्दिनँ पनि । म संकुचित घेरामा जकडिने मान्छे हुँ तर त्यो घेरा आफैँबाट निर्मित र निर्देशित हुन्छ ।

रवेन्द्र ः त्यही त समाजको बन्धन तोड्न खोज्दा त यी सबै कुरा जन्मेका हुन् ।

आनन्द ः सबै समस्या मलाई नै देखेर जन्मेका हुन् भने पनि मैले समस्यालाई देखेको छैन ।

कामेश्वर ः आफूलाई बन्धन मुक्त नठान । जन्मदा स्वतन्त्र थियौ । जन्मेपछि साङ्लामा बेरियौ ।

आनन्द ः समस्याको जड म होइन । म केवल हस्तक्षेपविहीन संसार रुचाउँछु ।

रवेन्द्र ः कसै न कसैको पगरी नगुथी हुन्न क्या । यता फर्के पनि छहारी चाहिन्छ, उता फर्के पनि छहारी चाहिन्छ । छहारीका लागि ठूलो छातामुनि ओत लाग्नै पर्छ ।

आनन्द ः म आफैँ समस्या हुँ अनि म आफैँ समाधान हुँ । म मक्एिका नियम तोड्छु । मलाई कसैको खोक्रो आडभरोसा चाहिँदैन । कसैको चुहुने ओत पनि चाहिँदैन ।

कामेश्वर ः तागतले बाँच्छु भनेको होला । त्यो पुरानो र निर्दलीय सोच हो । अरूको साथले पो शानले जिउन दिन्छ । यसका लागि केही गुमाउँदैमा धेरै थोक पाउन सकिन्छ ।

आनन्द ः सोझो भाषामा भन्नुस् न । तपाईंहरूका अघिपछि लाग्नुपर्छ । वैयक्तिक कामधाम त्याग्नुपर्छ । काम परेको बेलामा आडम्बरी र नपरेको बेलामा झपार्ने भाषा जान्नुपर्छ । सोझासीधालाई झुटा आश्वासन बाँड्नुपर्छ । जान्नेबुझ्नेलाई प्रलोभनमा अल्झाउनुपर्छ र बदलामा गाउँ कमिटी सदस्य वा धेरै भए जिल्ला स्तरीय नेता कहलाउन पाइन्छ ।

रवेन्द्र ः हेर, तिमी साथी हौ । त्यसैले पनि यत्तिका कुरा गरियो । हाम्रो कामलाई यसरी हल्कारूपमा विश्लेषण नगर । तिमीमा क्षमता देख्यौँ र प्रस्ताव राखेका हौँ ।

कामेश्वर ः एउटाको पछि लाग्नु सबैको वाध्यता हो । अतः ठूलो ओतमा लाग मात्र भनेको हो । त्यो पनि तिम्रै सुरक्षाको निम्ति । समय अझै छ । सोच र एक, दुई दिनमै खबर गर । अहिले समय तिम्रो ढोका ढक्ढक्याउन आयो । पछि समयलाई तिमीले जति खोजे पनि पाउने छैनौ । जीवनमा सुनौला दिन पटकपटक आउँदैनन् ।

आनन्द ः भो, भो । कुरा पक्का नै भयो । सुनौला दिन आफैँसँग लग्नुस् । तपाईंहरूले भिराउन खोजेको झोला बोकेर म बन्दी हुन मञ्जुर छैन । म बन्धनमुक्त जीवन चाहन्छु । मुक्त आकाश हाँसिरहेकै छ । म पनि हाँस्छु । जहिले त्यो रुन्छ, तहिले म पनि रोइदिन्छु ।

रवेन्द्र ः हो, रुनु र हाँस्नु नै त जीवन हो । रुनु नपर्ने जीवन जसले बनाउँछ, त्यो नै सफल मान्छे हो । हामीसँग आऊ हाँसो सिवाय अर्थोक तिम्रो हात पर्ने छैन ।

आनन्द ः भो बाबा, भो । नाताले ठूला पर्नु भयो तपाईंहरू, सम्मान गर्छु । नीतिले तपाईंहरू कत्रा र कस्ता हुनुहुन्छ ? आफैँ मूल्याङ्कन गर्नुहोला । नातामा त बाँधिन नरुचाउने मान्छे म तपाईंहरूको नीतिमा बाँधिने कुरै आउँदैन ।

कामेश्वर ः अहिले ठूला कुरा गर, पछि पश्चात्तापका आँसु झार्दा थाहा होला ।

आनन्द ः पछि जे होस्, होस् । अहिलेचाहिँ मेरो नीति ठीक छ । म मतदातामात्र हुँ नेता होइन । नेतैनेता भएर परिवार खायो, समाज खायो र देस पनि कुटुकुटु खाइरहेको छ । यस्तो अवस्थाको जानिफकार हुँदाहुँदै म नेता बन्न थाले भने मेरो अन्तस्करणले मलाई नै धिकार्छ । असल मतदाता त बन्न सकेको छैन, खराव नेता बन्ने झन् चाहना नै जन्मेको छैन । कुरा जति घुमाए पनि पुग्ने ठाउँ एउटै हो ।

कामेश्वर ः जाऔँ अब । निरर्थक प्रयत्नमात्र गरियो । रातभरि करायो दक्षिणा हरायो भनेझैँ भयो । अब यहाँ अरू कुरा गर्नुको औचित्य छैन ।

(रवेन्द्र र कामेश्वर बाहिरिन्छन् । आनन्द झोक्राएर सोचिरहन्छ ।)

आनन्द ः (मनमनै) चारैतिर स्वार्थ छ । चारैतिर अहङ्कार छ । पाखण्डै पाखण्डको बीचमा म के साधु बन्न सक्छु ? म साधुको भेषमा चाण्डाल त हुने होइन ? हैन, मैले आफ्नो मनलाई नियन्त्रण गर्नुपर्छ । गुलामी सहन मञ्जुरी दिएँ भने गुलाम बन्नै पर्छ । म राम्रोलाई राम्रो भन्छु, नराम्रोलाई नराम्रो भन्छु । (त्यत्तिकैमा धनेश्वर र कुलानन्दको प्रवेश हुन्छ, आनन्दको तन्द्रा पनि भंग हुन्छ ।)

धनेश्वर ः ओहो आनन्द दाइ, कुसलमङ्गल हुनुहुन्छ ? (आनन्द सकारात्मक जवाफका निम्ति टाउको हल्लाउँछ र बस्न सङ्केत गर्छ ।)

कुलानन्द ः मान्छे एक्लै भयो भने विष पैदा गर्छ । एक्लै दिन विताउन खोज्नु कतै पनि सार्थक हुन्न । हामी तपाईंको एकाङगीपन मेट्न आएका हौँ ।

आनन्द ः सम्झेर पाल्नुभएकोमा आभारी छु ।

धनेश्वर ः हामी त तपाईंलाई साथमै राख्न आएका ।

कुलानन्द ः अर्को शब्दमा हामी तपाईंसँगै हुन आएका ।

आनन्द ः त्यो त ठीक छ । म त संसारसँगै छु । संसार मसँगै छ । म संसारबाट अलग हुन सक्तिनँ ।

धनेश्वर ः त्यो त सिद्ध कुरा हो । संसारभन्दा एक खुट्किलो उक्लौँ भनेर पो यी कुरा आएका हुन् ।

आनन्द ः (वाक्क हुँदै) ए बाबा, म जहाँ छु, त्योभन्दा माथि ठाउँ नै छैन । तसर्थ उक्लने कुरै आउँदैन । अर्थोक केही सोच्नु र गर्नु भनेको तल्तिरको खुट्किलोतर्फ लाग्नु हो । मलाई त्यो स्वीकार्य छैन ।

कुलानन्द ः जिलेवीलाई जति घुमाउनुस्, आखिर एकले अर्काको सहयोग लिनै पर्छ । आकार लिनुछ र अस्तित्व बचाउनु छ भने जस्तो मादल बज्छ, त्यस्तै नाच्नुपर्छ ।

आनन्द ः हेर्नुस्, गर्भको र स्वर्गको बात कोही जान्दैन भन्ने बुझेर नै म भोलिको चिन्तामा आजैदेखि जल्न छाडिसकेको मान्छे हुँ ।

धनेश्वर ः गाँस छोड्नु तर साथ नछोड्नु भन्छन् । हामी साथ लिन र साथ हुन आएका मान्छेलाई निरास बनाएर गाई मारी गधा पोस्ने काम नगर्नुस् ।

आनन्द ः ठीकै छ । कुरा के हो ? अब खुलस्त गरौँ । मोही माग्ने तर ढुंग्रो लुकाउने काम गरियो भने पछि हिस्स बूढी खिस्स दाँत हुनेछ । मकहाँ रिठ्ठो नबिराईकन कुरा राख्दा हुन्छ ।

धनेश्वर ः हो त नि । शुभकार्यमा विलम्ब गर्नुहुन्न । (कुलानन्दतर्फ संकेत गर्दै) अब खुलेरै कुरा गरौँ न ।

कुलानन्द ः हेर्नुस् आनन्द दाइ ? तपाईंजस्तो गुणकारी मान्छेले निरपेक्ष भएर बस्न मिल्दैन । कसै न कसैको पक्षमा वा कसै न कसैको विपक्षमा देखिनै पर्छ । तपाईं हाम्रो पक्षमा उभिनुपर्यो । आफ्नो दृष्टिकोणले हाम्रो राजनैतिक पार्टीलाई धन्य पार्नुपर्यो । तपाईंहरूजस्ता विद्वान् र विचारकको अभाव खड्किएको छ ।

धनेश्वर ः हो, आजसम्म नजिकको तीर्थ हेला ठानेर हजुरकहाँ आइएनछ । हाम्रो होस खुल्यो । भोलि हुने पार्टी प्रवेश कार्यक्रममा सहभागिता जनाउन प्रस्ताव लिएर आएका हौँ ।

आनन्द ः भो अरू कुरा भन्न परेन । साराका सारा कुरा बुझेँ ।

धनेश्वर ः उसो भए पक्का भयो त ? हामीले नाम चढायौ नि, हुन्छ नि ?

आनन्द ः भयो, पक्का भयो । (वाक्क हुँदै) पहिले म जे थिएँ, अहिले पनि त्यही छु र भोलि पनि त्यही रहनेछु । मलाई कमसल धातुमा सुनको पालिस लगाउने मन छैन । मेरो आश नगर्नु नै वेस हुन्छ ।

कुलानन्द ः हैन आनन्द दाइ, तपाईं कस्ता, कस्ता कुरा गर्नुहुन्छ ? कहिले सहमति जनाउनुहुन्छ, कहिले असहमति जनाउनुहुन्छ । कि पक्षमा बस्नुस् कि विपक्षमा उभिनुस् ।

धनेश्वर ः जनमुखीकार्यक्रम लिएर एक समृद्धशाली पार्टीको रूपमा नाम कमाएको हाम्रो पार्टीको झण्डामुनि स-सम्मान बस्न पाउनु गर्वको कुरा हो । यो अवसर नगुमाउनुस् भन्ने हाम्रो अनुरोध हो ।

आनन्द ः सबैले आफ्नो धर्म निर्वाह गर्नुृपर्छ । म मेरोतर्फबाट धर्म पालना गर्दै छु । नेपाल बिग्रनुको एक कारण नेपालले नेता नै नेता जन्मायो तर नेतानेतृले नीतिलाई जन्माएनन् । राजनीति षडयन्त्र गर्ने थलोको रूपमा परिभाषित हुँदै गएको परिप्रेक्ष्यमा म थपिन चाहन्नँ । म षडयन्त्र र सत्तालिप्तमा भुलेर रहन रुचाउँदिनँ ।

धनेश्वर ः सबै पार्टी र सबै नेतानेतृलाई एउटै लहरमा उभ्याएर सच्चा पार्टी र सच्चा नेतानेतृलाई दोष लगाउन त मिलेन नि ।

आनन्द ः मिल्छ नै भन्ने मेरो मत पनि होइन ।

धनेश्वर ः उसो भए को ठीक र को बेठीक पर्गेल्नुपर्यो नि ।

आनन्द ः के पर्गेल्नू ? सयौँ ठाउँमा सीमाना मिचिएको छ, बोल्न रुचाउँदैनन्, राजनैतिक शक्तिहरू । कोही बोलिहाले, स्वरमा स्वर थप्नु त परै जाओस् । भाँजो हालेर विदेसीको सच्चा भक्त बन्न तत्पर छन् ।

धनेश्वर ः दोष कसको ?

आनन्द ः दोष नेपाली हुँ भन्ने सबैको । दोष नेपालीको प्रतिनिधि हुँ भनेर नाक घोक्र्याउने सबैको ।

धनेश्वर ः भो, अब तपाईंसँग कुरा गरेर सकिएन ।

आनन्द ः सक्नुहुन्छ । नीति लिएर आउनुस् र काम गरेर देखाउनुस् । तपाईंहरूको पछि लाखौँलाख रहनेछन् । प्रचार गर्नुपर्दैन । आडम्बर देखाउनुपर्दैन ।

धनेश्वर ः उसो भए पार्टी खुल्नु र पार्टीमा आबद्ध हुनुको कुनै औचित्य छैन ?

आनन्द ः छ, सब कुराको औचित्य हुन्छ र औचित्य छ पनि । राष्ट्रियताको सवालमा एकमत हुनु आवश्यक छ । राष्ट्रिय स्वाभिमानका लागि काम गरे नगरेको खबरदारी गर्न पार्टी र नेतानेतृको खाँचो छ । जनताले वैयक्तिक स्वार्थमा डुबेर मुलुकलाई धरासायी बनाओ भनेर भोट दिएका हैनन् नि ।

कुलानन्द ः अनि दलहरूले सुध्रन के गर्नुपर्यो ?

आनन्द ः गर्ने कुरा धेरै छन् । अहिलेकोजस्तो दाउपेच गर्ने राजनीति त्याग्नुपर्छ । राजनीतिले धर्मनीतिको रूप धारण गर्नुपर्छ । मुलुकको स्वार्थका विषयको विपरीतमा कसैले कोहीसँग सम्झौता गर्नहुन्न ।

धनेश्वर ः उसो भए नेतानेतृको सङ्ख्या बढ्न हुन्न ?

आनन्द ः योग्य मान्छेले नेतानेतृ भएर जनप्रतिनिधित्व गर्नुपर्छ । राजनीति गर्न पनि योग्यता हुनुपर्छ । सबै क्षेत्रबाट गलहत्तिएकाहरू राजनीतिमा घुसेपछि र त्यहाँ स्थान भेटेपछि अराजकता बाहेक अर्थोक नदेखिनु कुनै अस्वभाविक कुरा होइन ।

कुलानन्द ः ठीकै छ, दाइ । सोचभन्दा बाहिरका धेरै कुरा जान्ने अवसर मिल्यो ।

आनन्द ः राजनैतिक कुरूपताको दर्शनार्थी बन्ने भूत सवार ममाथि भएको छैन । कसैको अपेक्षालाई तिरस्कार गर्ने मन पनि होइन । यो मेरो वाध्यता हो किनकि म राजनीतिज्ञ बन्न रुचाउँदिनँ तर देश र जनतालाई अग्रगामी पथमा लम्काउने नीतिको समर्थक भने जरुर हुँ ।

धनेश्वर र कुलानन्द मुखामुख गर्दै आनन्दलाई नमस्कार गर्दै बाहिरिन्छन् । आनन्द टोहलाइरहन्छ । पर्दा विस्तारै खस्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *