तिहारको रमझम सँगै भाइटीका नजिकिदै गएकोले भाइ पुज्नका निम्ति चाहिने सामग्रीहरू किन्नका लागि तयार भएर माईक्रो चढी असनतिर लागें । काठमाण्डौको त्यो पनि असन बजार राम-राम पुरै मान्छे नै मान्छेले भरिएको रहेछ । कतै खुट्टा धरि राख्ने ठाउँ रहेन छ, तर के गर्नु आफ्नो काम त जसो तसो किनमेल गर्नु थियो । त्यही भएर अन्त ध्यान नदिई आफ्नो किनमेलको कामतिर लागेको मात्र के थिएँ ।
मेरै अफिसमा अकाउन्टको काम गर्ने राजु सर एउटा ३-४ बर्षको बच्चा च्यापेर एक युवतीसँग मै भएतिर आउदै गरेको देखें । राजु सरले मलाई देख्नु भएको थिएन । मलाई भने उत्सुकता बढेर आयो आखेरी त्यो युवती र बच्चासँग राजु सरको के साईनो पर्दो रहेछ भन्ने । श्रीमती भनौ भने बिवाह भएको छैन भनेर भन्नु हुन्थ्यो ? आफू जति तर्के पनि राजु सरले अनेक बाहाना गरेर जिस्काउने, साथीभाइसँग नभएको नभएको कुरा गरि लाज मर्नु पारेकोले म अति नै दुखी थिएँ । त्यति मात्र हो र ? म तपाईलाई माया गर्छु रे । उफ्फ़,
“होईन यो तपाई के भन्नु हुदैछ, राजु सर ? म विवाहित भन्ने थाहा हुदाँ हुदै पनि यस्तो बोल्नु हुन्छ ?” भन्दा, “विवाहित भएर के भयो त ? मनले खाएको मान्छे लाइ माया गर्न पनि नपाउनु ?” भनेर झन उल्टै भन्ने मान्छेसँग बच्चा र युवती देख्दा मनमा अनेक संकाले तर्कना गर्न थाल्यो ।
किनमेलको काम बिर्सी म पनि राजु सर भएतिरै लम्किएँ नजानिदो पाराले नजिक भएर ।
“नमस्ते राजु सर !”
राजु सर रात्तो न पिरो हुँदै भन्नुभयो, “दिदी नमस्ते!”
म अवाक्क भएँ । केही बोल्नै सकिन, त्यस्तो त्यस्तो कुरा गरेर मलाई हैरान पार्ने राजु सरले आज अचानक मलाई दिदी ? सपना झैँ लागि रहेथ्यो । बिपनी हो भने त ‘के खोज्छस कानो, आखाँ “भने झैँ भई रहेथ्यो । अनि मैले ति युवती र बच्चा बारे सोध्ने आँट गरेर सोधें ।
“उनी मे, मेमेमेरी श्रीमती र छोरी “ओठ कमाउदै उत्तर आयो ।
“ए ! अघि नै भन्नु पर्दैन ? बुहारी र भदैनी चिनाउन पनि किन ढिला गर्नु भएको ? अँ ! साँची भाइटीकाको निम्तो कसरी पठाउने भनेर सोच्दै थिएँ, संयोगले किनमेल गर्न आउदा भेट भयो, यो पान सुपारी निम्तो भयो बुहारी र भदैनी साथ लिएर आउनु भाइटीकामा है त ।”
मैले पनि मौकामा चौका हान्दै हातमा पान सुपारी थमाई दिएँ । अनि आफ्नो बाटो लागें ।
तर किनमेल गरुन्जेल राजु सरको थर्थराएको हात र कामेको ओठ बाटैभरि झल-झली याद अईरहयो । आखिर किन मान्छे यस्तो हुन्छ ? सोचिरहें ।
“जे हुन्छ राम्रैको लागि हुन्छ,” गीतासार सम्झिदै मन बुझाएँ ।
लेखक – कल्पना राई
दोलखा नेपाल
हाल दक्षिण कोरिया
