Skip to content

साँगुरो गल्ली

  • by


चाहिन्न मलाई ती
फराकिला बाटोहरू
किनकि म
साँगुरो गल्ली र गोरेटोहरूमा
हिड्न थालि-सके ।
चाहिन्न अब मलाई
फूलका सुगन्ध र सुन्दरताहरू
काँडाहरूको धारमा
हिड्न जानिसके ।

अचेल त्यही
साँगुरो गल्ली नै
प्यारो लाग्छ मलाई
औंशीको रात झै
सुनसान भएर होकी
कुकुर र स्यालहरू
कराउन छाडी-सके
सुन र मोतीको हारमा अल्झिएर
अल्लारे ठिटा हिड्न बिर्सी-सके
कर्फ्यू लागेर भनौ
कर्फ्यूको नाउ-निशाना हराइसक्यो
आजकल त सड्कको धारमा
उभिएर भिखारीको भिडले
चटक्कै भूलि-सके
सधै झै न्याना पल्टने
ओच्छ्यानहरू पनि रीति-सके ।

शायद
नयाँ नेपाल भएर
नयाँ रौनक छाएछ क्यारे
तर पनि मलाई त
त्यही साँगुरो गल्ली मन पर्छ
त्यही साँगुरो गल्ली नै प्यारो लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *