Skip to content

शीताष्मा

  • by
GhayalSri-02


बाहिर पानी परिरहको छ । लगातार तीन-चार दिनको झरीका कारण जाडो पनि उत्तिकै बढिरहेको छ । अझै दुई-चार दिन यो पानी पर्न बन्द हुने कुनै छाँटकाँट नै देखिँदैन । बाहिर बाटोमा फाट्टफुट्ट सवारी साधनहरू चलिरहेकै छन् भने स्कुल क्याम्पस जाने विद्यार्थीहरू छाता ओढी झुण्ड झुण्ड भएर सडकमा हिँडिरहेका देखिन्छन् । एकदुई भुस्याहा कुकुरहरू ओभानो प्रतीक्षालय र घरको पेटीमा ओत बसेका बाहेक अन्य सबै सुनसान नै देखिन्छ । सबै घरभित्र नै व्यस्त देखिन्छन् । दिन प्रतिदिन बढिरहेको जाडोको कारण हिमाली भेगका मान्छेहरू जम्मु, सतुवा जस्ता जडीबुटीहरू बोकेर सटही व्यापारको नाउँमा जाडो छल्न पहाडतिर झरिसकेका छन् भने तराईका विभिन्न ठाउँहरूमा शीत लहरका कारण बच्चा तथा बृद्धहरू मृत्युको मुखमा पुगेका खबरहरू रेडियो, टेलिभिजनले सुनाइरहेको छ । ‘उफ् ! यो तराईको ठाउँ त गर्मीमा गर्मी, जाडोमा जाडो’ भन्दै पवन मास्टर आफ्नो कोठाको पर्दा हटाएर झ्याल खोली बाहिर हेर्छन् । पानी परिरहेकै हुन्छ । पानीको साथमा परेको हल्का हावाले बाछिटो पानी उनको ओच्छ्यानसम्म पुर्याउँछ । उनले तत्काल झ्यालको ढोका बन्द गर्छन् र चर्को स्वरमा कराउँछन् … रामु … एद्रद्रद्रद्र रामु … । रामु तत्काल उपस्थित हुन्छ र बोल्छ – हजुर ।

‘जा जा एक कप तातो चिया बनाएर ले, थोरै चिनी राख अनि कागती पनि मिसा ।’

‘हुन्छ’ भन्दै रामु त्यहाँबाट जान्छ ।

उनले विगत केही वर्षदेखि कागती चियामा निकै रुचि बढाएका छन् । हुन त चिया तथा अन्य कुनै चिजको धेरै अम्मली भने होइनन् । तर उनको चिया पिउने काम भने एकान्तपनाको एउटा साथी जस्तै भएको छ । घरबाहिर त्यति निस्कन चाहन्नन् । धेरै समय लेखपढमै बिताउँछन् । घरमा उनी र काम गर्ने केटा त्यही रामु मात्र छन् । उनका दुईमात्र छोरी विवाह गरी आफ्नो घर घर गइसके भने केही साल पहिले आफ्नी श्रीमती पनि खसेका कारण अहिले उनी एक्लो जीवन बिताइरहेका छन् । उमेरले पचास कटेका पवन मास्टर पहिले पहाडमा छँदा गाउँका चल्तापूर्जा नै मानिन्थे । स्कुल पढाउँथे, विभिन्न कार्यक्रममा आफ्नो उपस्थित जनाएर सामाजिक कार्यमा पनि आफ्नो छुट्टै पहिचान बनाएका थिए । लगातार दुई छोरीहरू जन्मिए पश्चात् तेस्रो सन्तानको रहर गरेनन् उनले । छोरीलाई पनि छोरा सरहको शिक्षा र सुविधा दिन चुकेनन् उनी । छोरीहरूलाई पनि समयमा नै योग्य वर खोजी तराईतिरै सुम्पिदिए । हृदयाघातका कारण अचानक श्रीमतीको निधन भएपश्चात भने उनी केही विक्षिप्त जस्ता देखिए । उनले गर्दै आएको मास्टरी जागिर छोडे अनि कोठा भित्रै हराउन थाले । उनको त्यो अवस्था देख्दा उनका छोरीहरूले पुनः विवाह गराइदिने प्रयास नगरेका पनि होइनन् । तर त्यस कुरामा भने उनलाई सहमत गराउन सकेनन् । र अन्त्यमा बसाइँ सर्न समहत भए । त्यहाँको पाखा पखेरो सबै सुम्पिएर तराईतर्फ बसाइँ सरे । उनी बसाइँ सर्नुको कारण आफ्ना दुई छोरीहरू तराईतिरै हुनुले पनि उनलाई सहज बनाएको थियो । भित्री कारण भने अर्कै थियो जुन कुरा उनी र सम्बन्धित व्यक्तिमा मात्र सीमित थियो । त्यतिबेला सम्म रामुले कागती चिया ल्याएर टेबलमाथि राखिसकेको थियो । हातमा चियाको कप लिँदै रामुतर्फ फर्केर उनी बोल्छन् – ‘ल रामु आज तँ खाना खाएर स्कुल जा म पछि खाउँला ।’

‘हुन्छ सर’ भन्दै रामु बाहिर निस्कन्छ । उनी चिया पिउन तिर लाग्छन् । एकैछिन पश्चात रामु पुनः त्यहीं फर्कन्छ र एउटा चापीको झुप्पा ल्याएर पवन मास्टरलाई दिन्छ । उनले टेबलतिर हेरेर त्यहीं राख भन्ने इशारा गर्छन् । रामुले त्यो चापीको झुप्पा टेबलमाथि राखेर फटाफट बाहिर निस्कन्छ र स्कुलतिर लाग्छ । सानैमा आमा मरेकी र जँड्याहा बाबुले अर्को बिहे गरेपश्चात् घरमा बस्न नसक्ने अवस्थाका कारण पवन मास्टरले रामुलाई आफ्नो घरमा ल्याई आफ्नो अनि उसको सहारा बनाएका हुन्छन् । बिहान बेलुका खाना पकाउने र स-साना घरका काम गर्ने अनि दिउँसो स्कुल पढ्ने काम गर्छ रामुले । उसको पढाइदेखि सबै खर्च पवन मास्टरले नै हेरेका छन् । चारैतिर फूलबारीले घेरिएको दुईतले पक्की घरको उपल्लो तलामा बस्छन् पवन मास्टर भने तल्लो तलामा किचन, रामुको कोठा, अन्नभण्डार र बैठक कोठा रहेको छ । हावा चल्ने र चारैतिर देखिन पाइने हुनाले पनि पवन मास्टर धेरैजसो घरको छतमा नै रहन्छन् । भेट्न आउने मान्छेलाई सिधै माथि आऊ भन्ने इशाराले माथिल्लो तलामा नै बोलाउँछन् । प्रायः फूलबारीमा फूलका बोटहरू गोडमेल गर्दै बगैंचामा रमाउने पवन मास्टर अन्य खाली समयमा भने किताब हेरेर दिन कटाउँछन् ।

एक दिन बिहान कागती चिया पिउँदै भर्खर बजारमा निस्केको कृष्ण धरावासीको उपन्यास ‘पाण्डुलिपी’ हेर्दै थिए । पाण्डुलिपी उपन्यास आफ्नो प्रिय संगिनी सीता गुमाउनु पर्दाको वियोगमा जन्मिएको कृति थियो । जसरी माधवप्रसाद घिमिरेले आफ्नी श्रीमतीको वियोगमा ‘गौरी’ शोककाव्य जन्माएका थिए । जुन नेपाली साहित्य आकाशको उच्च स्थानमा रहेको छ । त्यसैगरी सीताको वियोगमा जन्मिएको पाण्डुलिपीको पनि उच्च मूल्याङ्कन हुने नै छ । अकस्मात् कोही आएको आवाजले गर्दा पवन मास्टर ढोकातिर हेर्न बाध्य हुन्छन् । शीताष्मा अथवा आफ्नै गाउँकी छिमेकी बहिनी आउँदै गरेको चाल पाएर पनि थाहा नपाए झैं गरी उनी एकोहोरो किताबमा आँखा डुलाउँछन् । उनको मन भने ढोकातिर नै दौडिएको थियो । शीताष्मा एकछिन ढोकामा उभिइन् अनि सरासर भित्र गएर पवन मास्टरको नजिक पुगिन् । पवनले उनलाई ‘आउ बस’ भन्दै कुर्सी देखाउँछन् । शीताष्मा नबोली कुर्चिमा गई बस्छिन् । पवनले शीताष्मालाई हेर्छन् । दुबैका आँखा चार हुन्छन् । शीताष्मा खिस्स हाँस्छिन् । पवनले उनको हाँसोको स्वागत गर्दै बोल्छन् ‘भन केही विशेष काम थियो कि ?’

‘म यहाँ आउनलाई पनि कुनै काम चाहिन्छ र ?’ शीताष्माको त्यस भनाइले उनको भित्री हृदयमा कताकता चिमोटे जस्तो लाग्छ । तैपनि उनी केही बोल्न चाहन्नन् र बोल्दैनन् पनि । एकोहोरो भई पाण्डुलिपिका पन्नाहरू पल्टाइरहन्छन् ।

‘के भो हजुरलाई … कि म नमिठो बोलें ?’ धेरै बेरपछि शीताष्माको आवाजले उनको एकाग्रता भङ्ग गर्छ । उनी झस्कँदै पुलुक्क शीताष्मातिर हेर्छन् र होइनको सङ्केत गर्छन् ।

‘तपाईँसँग एउटा सल्लाह गरुँ कि भनेर आएकी म त’

‘कस्तो सल्लाह ?’ छोटो वाक्यमा जिज्ञासा राख्छन् पवन । त्यसैबेला शीताष्माको मोबाइलको घण्टी बज्छ । म भरे भोलि आउँछु ल भन्दै शीताष्मा उठेर जान्छिन् । पवन भने उनी गएको बाटो हेरिरहन्छन् । सितास्मा ओझेल परेपछि पुनः उनी पाण्डुलिपिका पन्नामा नजर दौडाउँछन् । तर उनको मन भने शीताष्मालाई सम्झन बाध्य हुन्छन् । के सल्लाह गर्न आएकी शीताष्मा, उनी अनुमान समेत लगाउन सक्दैनन् । र त्यही कुराले उनलाई सताइरहन्छ पनि । उमेरले ४५ कटिसक्दा पनि शीताष्माको रुप, बोली र स्वभाव २२ बर्षे उमेरको जस्तै रसिलो लाग्छ पवनलाई । एकोहोरो हेरिरहुँ जस्तो, सँधै समीपमा बसेर मीठामीठा कुराहरू गरिदिए हुन्थ्यो जस्तो लाग्छ उनलाई । तर त्यसभित्र यौनरस भने पटक्कै पनि लुकेको हुँदैन । किन किन शीताष्मा नजिक हुँदा मीठो आत्मीयताको अनुभव गर्छन् । उनीहरूबीच बर्षौंदेखिको आत्मीय सम्बन्ध यसरी दीर्घायू बनाउने अठोट गर्छन् । जतिबेला उनी भर्खर बि.ए. सिध्याएर एउटा प्राइभेट स्कुलमा पढाउने काम गर्थे । त्यतिबेला देखि नै शीताष्मासँग उनको आत्मीय सम्बन्ध गाँसिएको थियो । अझ रोचक प्रसङ्ग के थियो भने पवन र शीताष्माको भेट कुनै गोष्ठी, समारोहमा भएको थिएन । न त कुनै परिचित साथीले नै परिचय गराइदिएका थिए । उनीहरूको भेट अहिलेको सर्वसुलभ सञ्चार प्रविधिले बनाएको थियो ।

एकदिन आफ्नो मोबाइलबाट काम विशेषले आफ्नो साथीलाई सम्पर्क गर्न खोज्दा गल्ती नम्बर डायल गरेका कारण एउटा अपरिचित स्वर सुन्न पुग्छन् । सामान्य कुराकानी पछि ‘माफ गर्नुहोला है नम्बर मिस्टेक भयो’ भन्दै फोन राखिदिन्छन् । केही दिन त्यतिकै बित्छ । समयको अन्तरालसँगै एकदिन कोठामा बसी आफ्नो मोबाइल खेलाइरहेको अवस्थामा आफ्नो मोबाइलको डायलकलमा त्यही नम्बर भेट्छन् र विगतमा भएको सामान्य कुराकानी सम्झन्छन् । किन किन फेरि एकपटक त्यही अपरिचित आवाज सुन्न मन लाग्छ र उक्त नम्बर डायल गर्छन् । केही समय पश्चात उताबाट आवाज आउँछ ‘हेलो …!’

‘हेलो यो कहाँ पर्यो होला ?’

‘तपाईले कहाँ सम्पर्क गर्न खोज्नुभएको हो नि ?’ आवाज अपरिचित युवतीको थियो ।

‘अन्यथा नमान्नुहोला मेरो मोबाइलको डायल कलमा यो नम्बर रहेछ त्यसैले कहाँ रहेछ जानकारी पाउन सकिन्छ कि भनेर …।’

‘ए … यो बागलुङ, अनि तपाईँ कहाँबाट नि ?’

‘म पर्वत । मेरो नाम पवन अनि तपाईँको ?’

‘म शीताष्मा ।’

‘अनि के गर्नुहुन्छ ? पढ्दै हुनुहुन्छ कि कुनै काममा व्यस्त हुनुहुन्छ ?’

‘पढ्दै पनि छु र एउटा स्कुलमा केटाकेटी पढाउने काम पनि गर्छु ।’

‘ए … राम्रो पेशा अँगाल्नु भएको रहेछ खुसी लाग्यो ।’ त्यतिबेला थोरै भएपनि कामको प्रशंसा गर्न भुलेका हुँदैनन् पवन ।

‘मेरो कामले तपाईँलाई किन खुसी तुल्यायो त ?’

‘तपाईँको सुमधुर बोली छ, काम राम्रो छ । बोली र काम राम्रो भएको व्यक्ति हेर्दा पनि त्यतिकै राम्रो हुनुहुन्छ भन्ने कुरामा म विश्वस्त छु ।’

‘हे…हे… मेरो यतिधेरै प्रशंसा ?’ त्यतिबेला शीताष्मा हाँसेर बोलेकी थिइन् ।

‘आफूलाई मन परेपछि त प्रशंसा गर्नै पर्यो नि’ पवनले पनि हाँसेरै भनेका थिए ।

‘तपाईँलाई मेरो के मन पर्यो र ?’

‘तपाईँको बोली अनि काम । देखेको छैन, देखेपछि शायद तपाईँ पनि मन पर्नुहुन्छ होला …।’ पवनले यति भन्दै गर्दा अचानक फोन काटिन्छ । त्यो दिन त्यतिकै बित्छ । फेरि सम्पर्क गर्ने प्रयास पनि गर्दैनन्

केही दिनको अन्तरालपछि फेरि पवनले नै सम्पर्क गरेका हुन्छन् तर पहिलो प्रयास असफल भएपछि दोस्रो प्रयासमा फोन उठ्छ र उताबाट आवाज आउँछ ‘हेलो …।’

‘हेलो म पवन बोलेको, अनि आरामै हुनुहुन्छ ?’

‘अँ चिनें, आरामै भन्नुपर्यो अनि तपाईँ नि ?’

‘आजसम्म तपाईको साथले बाँचेको छु भन्नु पर्यो ।’

‘मेरो साथ ! कसरी ?’ हाँसेर बोलेकी हुन्छिन् ।

‘आजभोलि प्रायः म सपना देख्ने गर्छु र मेरो सपनामा तपाईँको तस्वीर म सामु आइपुग्छ त्यसलाई नै म तपाईँको साथ भन्न रुचाउँछु ।’

‘ए … ल तपाईँको त्यो सपनामा आउने तस्वीर हेरेर भन्नुस् त म कस्ती छु ?’ जिज्ञासा शीताष्माको थियो ।

‘फूलजस्तै राम्रो हुनुहुन्छ। ढकमक्क फुलेको बगैंचाको माझमा फूलजस्तै मुस्कुराउँदै एक्लै गुनगुनाउँदै हिँड्नुहुन्छ । केही खोजेजस्तो देखिनुहुन्छ तर नभेट्दा धेरै बेर टोलाएर बस्नु हुन्छ ।’

‘अनि के हुन्छ ?’ जिज्ञासा शीताष्माको थियो ।

‘अनि अकस्मात् कालो बादल लाग्छ । बिजुली चम्कन्छ, क्षणभरमै पानी पर्न थाल्छ त्यतिबेला तपाईँ आत्तिनुहुन्छ । दौडन खोज्नुहुन्छ तर चारैतिर पानीको वर्षा भैरहेको हुन्छ ।’ त्यतिभन्दै गर्दा पवन केही बेर रोकिन पुग्छन् । शीताष्मा सुन्न आतुर हुन्छिन र बोल्छिन् – ‘भन्नुस् न अनि के हुन्छ ?’

‘परबाट एउटा मान्छे तपाईँतिर छाता ओढेर आउँदै गरेको हुन्छ । तपाईँ पनि उसलाई देख्नुहुन्छ र वर्षाबाट जोगिन ऊ आएतिर दौडिनुहुन्छ । ऊ पनि तपाईँलाई लिन आए जस्तो देखिन्छ र दौडिँदै तपाईँतिर आउँछ । नजिक आइपुगेपछि तपाईँ उसलाई एकोहोरो हेरिरहनुहुन्छ । उसले पनि हेरिरहन्छ । र तपाईँलाई विस्तारै आफूतिर तान्दै छाता ओढाउँछ । तपाईँलाई रुझ्नबाट जोगाउँछ । तपाईँलाई थाहा छ त्यो छाता ओढाउने व्यक्ति को हो ?’

‘भन्नुस् न त्यस्तो दुःख पर्दा सहारा दिने व्यक्ति को हो ?’ शीताष्मा आत्तिएर जिज्ञासा पोख्छिन् ।

‘त्यो व्यक्ति अरु कोही नभएर म नै हुँ ।’

पवनको उक्त कुराले शीताष्माको मुटु केही फुलेर आउँछ । वाक्य बस्ला जस्तो हुन्छ । तर बीचैमा बोल्न पुग्छिन् – ‘यदि त्यो व्यक्ति तपाईँ नभए ?’

‘मैले देख्ने गरेको सपनामा त मनै हुँ नि, मेरो सपनामा म नभएर अरु को हुन सक्छ र ?’

‘तर मेरो सपनामा त छाता ओढाउने व्यक्ति अरु कोही देखिन्छ ।’

शीताष्माले यति भन्दै गर्दा अकस्मात् फोन काटिन्छ । दुबै जनाको संवाद त्यहीं टुंगिन्छ र पवनको एकाग्रता पनि भंग हुन्छ।

साँझपख पवन मास्टर मन बहलाउन घर वरिपरीको फूलबारी घुम्दै थिए । उनको सोख भनेको पनि फूल, बगैंचा आफंै तयार गर्नु अनि धेरै किसिमका फूलहरू फुलाउनु थियो । आफैले तयार गरेको फूलबारीभित्र घुमेर रमाइरहेको बेला उनको नजर एउटा गोदावरी फूलको गुच्छामा पुग्छ । जहाँ दुई माहुरीहरू रसपान गरिरहेका थिए ।

एकैछिन तिनै माहुरी र फूलहरूलाई हेरिरहन्छन् । अचानक उनको मनमा शिरीषको फूल उपन्यासकी पात्र सकम्बरीले भनेको बाक्य सम्झन्छन् । ‘आफ्नो निम्ति फुल्नु, आफ्नो निम्ति फक्रिनु, झर्नु जस्तो एउटा बाध्यतालाई स्वीकार गर्नको निम्ति भँवरासँग लाप्पा खेल्नैपर्छ, झर्न पर्छ पर्छ भने भमराको चोट सहेरै किन झर्ने ? आफूमात्रै झर्ने आफ्नो इच्छाले झर्ने ।’ एक अर्थमा सकम्बरीका यी कुरा सही लागेपनि पवन मास्टर यसलाई स्वीकार्न भने तयार हुँदैनन् । फूल फुल्नु र जीवन जीउनु भनेको प्रकृति र ईशको हातमा हुन्छ । यदि आफ्नै हातमा हुन्थ्यो भने त फूल पनि हिलो र काँढाको माझमा कहाँ फुल्न चाहन्थ्यो र ? अनि जीवन पनि आफ्नै हातमा हुन्थ्यो भने आज उनी यो अवस्थामा आइपुग्ने थिएनन् । संघर्ष मात्र हो आफ्नो भागमा फल त ईशको हातमा नै छ । उनलाई लाग्छ हरेक यौनपीडित नारीहरू सकम्बरी जस्तै कुटिल भाषाको प्रयोग गरी फूलसँगै दाँजेर आफ्नो यौनकुण्ठा पोख्ने गर्छन् । बरु त्यसै उपन्यासभित्रको पात्र सुयोगवीरको भनाइ ‘भँवरा बस्नै नपाएपछि त्यो फूलको के अर्थ ?’ उनलाई सत्य लाग्छ । भँवरा नै हुँदैन्थ्यो भने त्यो फूल फुल्नुमा कुनै अर्थ नै रहँदैनथ्यो । फूल भँवराकै लागि फुलेको हो । बास्ना दिएर भँवरा पल्काउनकै लागि फुलेको हो । फूल आफ्ना लागि फुलेको हुँदै होइन । बरण्डामा लहरै गमलाभरि सुनाखरी सजाउने सकम्बरी र बगैंचामा स्वयं कुटोकोदालो चलाएर फूल फुलाउने पवन मास्टरबीच फूलको अर्थमा भने निकै भिन्नता छ । त्यसैबेला टाढैबाट कोही उनको घरतर्फ आउँदै गरेको देख्छन् । चिन्नलाई कुनै गाह्रो हुँदैन । उनी शीताष्मा थिइन् ।

हिँजो सानो काम थियो भन्दै आएकी शीताष्मा आज पनि शायद त्यही कामको लागि होला आएकी – पवनमास्टर यस्तै अड्कल काट्छन् । के कामको लागि आएकी हुन् ठम्याउन भने सक्दैनन् । त्यतिबेलासम्म शीताष्मा घरनजिक आइपुगेकी हुन्छिन् । पवनमास्टर बगैंचाबाट सरासर आफ्नो घरको कोठामा पुग्छन् । शीताष्मा पनि त्यतै लाग्छिन् । ‘आउ बस’ भन्दै नजिकैको कुर्ची देखाउँदै पवन मास्टर पलङ्गमा सिरानी अडेस लगाउँदै बस्छन् ।

‘हुन त फोन गरेर पनि तपाईँको सल्लाह लिन सक्थें, भेट भएर कुरा गर्दा राम्रो हुन्छ भन्ने ठानेर आएकी म त’ शीताष्मा कुर्चीमा बस्दै पवन मास्टरतर्फ हेरेर बोल्छिन्् ।

‘अँ भन के कुरा गर्नु थियो ?’

‘बाबु सन्देशको लागि एउटा राम्रो घरबाट बिहेको कुरा आएको छ । केटी असल छे रे, पढेकी पनि छ, म त अभैm दुई चार साल नगरौं कि भनेकी थिएँ । केटी पक्षकाले साह्रै कर गरेका छन् । खै के गर्ने के गर्ने ! तपाईँको सल्लाह लिन आएकी हुँ, तपाईँ के भन्नुहुन्छ ?’

शीताष्माले यसरी भनिरहँदा पवन मास्टर एकोहोरो भई शीताष्मालाई हेरिरहन्छन् र सुनिरहन्छन् । मानौं उनी श्रद्धालु भक्त हुन् र शीताष्मा श्रीस्वस्थानी ब्रतकथा बाचन गरिरहेकी छिन् ।’ कथा अझै सकिएको छैन । शीताष्मा भन्छिन् – ‘सन्देशको पनि विचार बुझ्दा बिहे गर्ने मन गरे जस्तो लाग्छ मलाई तर तपाईँको निर्णयबिना आँट्न सकिन ।’

आफूलाई यसरी एकोहोरो भई हेरेको देखेर आफ्नो दायाँबायाँ हेर्दै शीताष्मा बोल्छिन् – होइन के भो तपाईंलाई ?

पवन मास्टर झस्कन्छन्् र सम्हालिँदै बोल्छन््- ‘होइन केही पनि भएको छैन ।’

आज शीताष्मालाई देख्दा उनको मन फूल झैं हलुङ्गो भएर आएको थियो । भर्खर ३०, ३२ वर्षमा टेकेकी जस्तो लाग्छ उनलाई । शीताष्मा पनि अगि पछि भन्दा आज केही सिंगारिएकी थिइन । आफ्नो शरीरको रङसँग मिल्ने लुगामा सजिएकी थिइन् । उनको त्यो पहिरनले पवनमास्टरको हृदयमा एक प्रकारको कम्पन गराएको थियो । आज पवनमास्टरलाई शीताष्माको प्रेममा लिप्त हुन मन लागेको थियो । तर यस्तो गर्ने मन भएर पनि साहस नभरिँदै शीताष्मा बोल्न पुग्छिन् – ‘आज सबेरै पनि केटी पक्षकाले खबर पठाएका थिए, म साँझसम्म निर्णय दिन्छु’ भनेर तपाईँसँग सल्लाह लिन आएकी।

‘अनि सन्देश बाबुको के छ नि विचार ? अहिलेका केटाकेटी उनैलाई निर्णय गराउनुपर्छ । हामी त साथ मात्र दिने हो ।’ धेरै समय स्थिर रहेको ओठ खोल्छन् पवन ।

के भन्नु नि, उसले त ‘मामुको जो विचार’ भनेर निर्णय मेरै हातमा छोडिदिएको छ । केटीलाई पनि उसले मन पराए जस्तो छ । नत्र यसरी मसँग खुलेर बोल्ने नै थिएन ।

‘बाबुको पनि इच्छा भए तिमीहामीले उसको इच्छा मार्नु हुँदैन । बरु उसको विचार अझ एकपटक राम्रोसँग बुझ्नु आवश्यक छ ।’ केटाकेटीसँगै राखेर राम्रोसँग उनीहरूको विचार बुझ्ने र दुबैजना सहमति भए बिहे गराइदिने निर्णयमा पुग्छन् पवनमास्टर र शीताष्मा । त्यसदिन पवनमास्टर निकै फुरुङ्ग जस्ता देखिन्थे । उनका पैताला फूलजस्तै हलुका र कोमल भएका थिए । छाती गर्वले फुलेको थियो । ‘शीताष्मा म आज निकै खुसी छु जुन खुसी जीवनमा पहिलोपटक प्राप्त भएको छ ।’ यसरी नै भन्न मन लागेको शीताष्मासँग तर पेटभरि आएर पनि मुखमा पुगी रोकिएका थिए मनका कुराहरू । शीताष्मा उठेर जाँदै गर्दा पवनमास्टर ढोकासम्म पुगी शीताष्मा जाँदै गरेको हेरेका थिए । शीताष्मा बगैंचा कटेर मूल बाटोमा पुगी एकपटक पवनमास्टरको कोठामा नजर घुमाउँछिन् । ढोकाबाट पवनमास्टरले शीताष्मालाई हेरिरहेका थिए । दुवैका नजर जुध्छन् । प्रफुल्लित भएर शीताष्मा सरासर आफ्नो बाटो लाग्छिन् । पवनमास्टर ढोकाबाट फर्केर आई कुर्चीमा बस्छन् । पचासौं वर्षको उनको यो उमेरमा आज उनलाई सोह्र बर्षे उमेरको काउकुती लागेको आभास हुन्छ । बैंशालु कल्पनाले उनलाई एक्लै हाँस्न बाध्य बनाउँछ । प्रेम र यौन फरक विषय भएपनि आज उनलाई यी दुवै विषयले एकैपटक गाँजेजस्तो लाग्छ । हुन त हरेक प्राणीमा यी विषयले त्यत्तिकै प्रवेश गरेको पाइन्छ । स्वर्गका राजा इन्द्र पनि यौन प्रशंसक थिए । आफू धेरै सुन्दर र शक्तिशाली भएकोमा अहम् गर्थे तर यौनका मामलामा भने उनी पनि धेरैपटक चुकेका थिए । उनीमात्र होइन सम्पूर्ण देवीदेउता पनि यौनका मामलामा उदार थिए भन्ने कुरा हरेक मठमन्दिरमा खोपिएका टुँडालहरूले प्रष्ट पार्दछ।

यौन आजको मात्र होइन हिजोको पनि प्रमुख विषय थियो । यसैमा संसार अडेको छ तर यो कलात्मक हुनुपर्छ भन्ने पवन मास्टरको मान्यता छ । कुर्सीमा बसेर टहल्ँिलदै गर्दा उनी आफ्नो विगतलाई स्मरण गर्न पुग्छन् । त्यतिबेला उनको र शीताष्माको फोन सम्पर्क बढ्दै थियो र दुई आत्मा पनि नजिकिँदै थियो । कुराको सिलसिलामा एकपटक पवन मास्टरले भनेका थिए¬¬ “शीताष्मा जी तपाईंको दिल कति खाली छ ?”

“सबै भरिएको छ, खालीको नामनिसान छैन” – कठोर हुँदै शीताष्मा बोलेकी हुन्छिन् ।

“भनेपछि तपाईँ पूर्ण मान्छे हो?” प्रश्न पवनको थियो ।

“त्यसरी त अलि नभनौं होला !”

“यदि खाली छ भने १ दिनु मेरो लागि छुट्ट्याउने कष्ट गर्नुहोला है तर बाध्य भने पार्दिन ।”

पवनको यस कुराले शीताष्माको छातीमा कम्पन गराउँछ । मुटु फुलेर आउँछ र वाक्य बस्लाजस्तो हुन्छ । काँपेको स्वरमा बोल्न पुग्छिन् शीताष्मा – “९९ दिल त प्रयोग भैसकेको छ र बाँकी १ मेरा लागि नि चाहिन्छ । त्यही पनि तपाईँलाई दिए भने मेरा लागि के त ?”

“शीताष्मा जी तपाईंको भागको १ दिल मलाई दिनुहोस््््््् बदलामा मेरो ९९ दिल तपाईँलाई दिन्छु ।”

पवनले यति भन्दै गर्दा शीताष्माको मुटु जोडजोडले चल्न सुरु गर्छ । ओठ काँपेर आउँछ, मुटु फुलेर आउँछ । उनी अनुत्तरित रहन्छिन् । उनको आफ्नै बाध्यता थियो । देखभेट नभएको व्यक्तिलाई बोलीकै भरमा कसरी आफ्नो वास्तविकता बताउने ? नदेखेको मान्छे, नचिनेको मान्छे तर आवाज भने वर्षौं पुरानो लाग्ने । सुनिरहुँ लाग्ने । त्यो अपरिचित मान्छे भएपनि कता कता मनको एक छेउमा बास दिएजस्तो लाग्छ शीताष्मालाई । माया लाग्दो गरी बोल्ने त्यो बोलीलाई माया गरेजस्तो लाग्छ र त्यही माया गरेको मान्छेलाई भन्न मन लाग्छ “ए मैले नचिनेको र नजानेको मान्छे घरीघरी मसँग मीठो बोलेर मलाई कायल नपार । मलाई अस्थिर नपार । हेर तिमीलाई पाप लाग्छ किनकी म त कसैको भैसकेकी छु र उसको चिनो पनि मेरो काखमा हुर्किंदै छ । उसले आफ्नी छोरी मलाई जिम्मा लगाएर ऊ परदेशिन बाध्य भएको छ । त्यसैले घरीघरी यो मन अस्थिर हुने कुरा नगर नत्र उसको सिन्दुरले श्राप दिनेछ । काखमा खेल्दै गरेकी यो छोरीको आँसुले पोल्नेछ । यो कलिलो आँसुले पोल्यो भने तिमीलाई उम्किन गाह्रो पर्नेछ ए मैले नचिनेको अनि नजानेको मान्छे ।” सबै कुरा मुखसम्म आएर पनि व्यक्त गर्न सक्दिनन् शीताष्मा ।

समय बित्दै जान्छ । समयसँगै पवन र शीताष्मा पनि नजिकिँदै जान्छन् । एक दिन पवन विशेष काम लिएर शीताष्माको गाउँ जान्छन् एक जना परिचित दिदीको सहारामा । शीताष्मा र उक्त दिदी परिचित भएकोले पनि शीताष्माको घरमा जानलाई कुनै अप्ठ्यारो हुँदैन । पवन र उक्त दिदी शीताष्माको घरमा पुग्दा शीताष्मा भर्खर स्कूलबाट आएर घरको काममा व्यस्त थिइन् । नमस्कार आदानप्रदान हुन्छ । दुबैको परिचय हुन्छ । त्यतिबेला पवन आफ्नो वास्तविक परिचय लुकाउँछन् । शीताष्मालाई के थाहा कि घरीघरी मीठो बोलेर मनलाई कायल पार्ने नदेखेको मान्छे यही हो भनेर । त्यति नै बेला भित्रबाट एक बच्चा दौडेर आई शीताष्माको काखमा टाँस्सिँदै बोल्छ -“मम्मी मलाई यो होमवर्क सिकाइदिनुस् न ।”

शीताष्मा बच्चालाई होमवकँ सिकाउँछिन् र बोल्छिन् -“जाऊ बाबा खाटमा बसेर अरु होमवर्क गर म खाजा बनाएर ल्याउँछु ।” शीताष्मा उठेर भित्र जान्छिन् भने बच्चा पनि पवन बसेको ठाउँमा आई होमवर्क गर्न लाग्छ । पवन बच्चातर्फ फर्केर बोल्छन्-“तिम्रो नाम के हो ?”

“सोनिया” सोनिया पवनतर्फ नहेरी बोल्छे ।

“कति कक्षामा पढ्छौ ?”

“तीनमा”

“अनि तिम्रो रोल नम्बर कति हो ?”

“एक”

“तिम्रो मम्मीको नाम के हो ?”

“शीताष्मा”

“अनि बाबाको ?”

त्यतिबेलासम्म घुँडामा चिउँडो टेकाएर सरासर उत्तर दिएकी सोनियाले घुँडाबाट टाउको उठाएर पवनलाई हेर्र्छे र पुन चिउँडो घुँडामा टेकाई होमवर्क गर्नमा व्यस्त हुन्छे ।

“के भो सोनिया ? मसँग रिसाएको ?” पवन बिस्तारै आफ्नो हातले सोनियाको शिर मुसार्दै बोल्छन् । सोनिया टाउको हल्लाएर “रिसाएको छैन” भन्ने प्रतिक्रिया दिन्छे ।

“अनि मलाई नभन्ने त ?”

“के…” सोनिया पवनलाई हेर्दै बोल्छे ।

‘तिम्रो बाबा खोइ त …?’

‘विदेश जानु भा’छ ।’

त्यतिबेला शीताष्मा चिया लिएर बाहिर आउँछिन् । ‘होइन के कुरा गर्दै छे अङ्कलसँग ?’ भन्दै शीताष्मा चियाको कप पवन र सोनियाको अगाडि राखिदिन्छिन् भने आफू पनि आडैमा बसेर पिउन थाल्छिन् । साँझपख शीताष्मा भित्र खाना बनाउने तयारीमा लाग्छिन् भने शीताष्मालाई सँगै गएकी दिदीले सघाएकी हुन्छिन् । पवन बाहिर खाटमा बसी सोनियासँग जिस्किरहेका हुन्छन् । त्यसैबेला पवनले सोनियालाई जिस्काउँदै बोल्छन्-‘सोनिया, मलाई तिम्रो बाबालाई नदेखाउने ?’

‘ल अङ्कल पनि, मेरो बाबा त यहाँ हुनुहुन्न नि, कसरी देखाउँ ?’

‘तिम्रो बाबा नभएर के भो’त, बाबाको फोटो त छ होला नि ?’

‘ए…एकैछिन पख्नुहोस् है त’ भन्दै सोनिया बाहिर उठेर कोठामा गई एल्बम झिकेर ल्याउँछे र एल्बम पल्टाउँदै भन्छे- ‘यी हाम्रो बाबाको फोटो ।’

फोटो हेर्दै पवन बोल्छन्-‘आहा ! कति राम्रो है तिम्रो बाबाको फोटो ।’ खासमा पवन भने शीताष्माको फोटाहरू हेर्नलाई सोनियासँग त्यो खेल खेलेका थिए । फोटाहरू हेर्दै गर्दा शीताष्मा पनि त्यहीं आइपुग्छिन र बोल्छिन् – ‘होइन यसले कहाँबाट ल्याएकी यो एल्बम ?’

तत्काल पवनले कुरा मिलाउँदै बोल्छन् – ‘एकै फोटा हेरी समय कटाउँ भनी नानुलाई मैले लिन पठाएको हो ।’ शीताष्मा पनि आडैमा आएर बस्छिन र फोटामा देखिएका व्यक्तिहरूको परिचय दिन्छिन् । त्यसैबेला पवनले शीताष्मासँग सोध्छन् – ‘मेडम एक कुरा भनुँ ?’

‘भन्नुस् न के कुरा हो?’

‘तपाईँको एल्बमबाट एउटा तस्वीर हरायो भने तपाईँ के गर्नुहुन्छ ?’

‘आजको दिनसम्म कुनै पनि तस्वीर हराएको छैन, त्यसैले अब पनि हराउने छैन भन्ने कुरामा म विश्वस्त छु ।’

‘ओ… यति धेरै विश्वास ? ल मानौं भर्खरै तपाईँको तस्वीर हरायो अब के गर्नुहुन्छ ?’ भन्दै पवन शीताष्मातर्फ हेर्छन् । शीताष्मा नबोली जुरुक्क उठेर किचनतिर लाग्छन् । पवन शीताष्मा गएको हेरिरहन्छन् र पुनः सोनियातर्फ फर्केर बोल्छन् – ‘तिम्रो ममी त कस्तो छुच्ची है ?’

बेलुका पवन सुत्नको लागि कोठातर्फ लाग्छन् । सधैं शीताष्मा सुत्ने कोठा पवनको लागि छुट्याइएको हुन्छ भने शीताष्मा, दिदी र सोनिया अन्यत्र कोठामा सुत्छन् । पवन ओच्छ्यानमा पल्टिनछन् तर उनको आँखामा भने निद्रा पटक्कै पर्दैन । भित्तामा सजिएको शीताष्माको ठूलो तस्वीरले उनलाई झन् ओच्छ्यानमा मडारिन बाध्य गराउँछ । कोठाका हरेक वस्तुमा शीताष्मा हाँसेको देख्छन् । निदाउने प्रयत्न गर्छन तर त्यति सजिलो कहाँ थियो र ? कति हिस्स परेको अनुहार, झनै अनुहारको त्यो कोठी प्रशंसा गर्न लायक नै थियो । शीताष्मासँग परिचित हुने या नहुने भन्ने द्विविधाले पवन तर्सिरहन्छन् । ‘मलाई चिनेपछि के भन्लिन् शीताष्माले ? मेरो आगमन स्वीकार गर्लिन् या नगर्लिन् ?’ यस्तै अनेक कुरा मनमा खेलिरहन्छन् । यसो मोबाइल उठाएर समय हेर्छन् रातको ९ः३० बजिसकेको रहेछ । झ्यालबाट बाहिर हेर्छन् सिमसिम पानी परिरहेको थियो । जाडोको समय तर उनीभित्रको उकुसमुकुसले उनमा गर्मी बढाएको थियो । जे होला होला ‘मर्दको छाती चौडा नै हुन्छ’ भन्ने विश्वासले हातमा खेलाइरहेको मोबाइलमा शीताष्माको नम्बर डायल गर्छन् । केही समय पश्चात फोन उठ्छ । स्वरमा केही परिवर्तन गरी पवन बोल्छन् – ‘हेलो शीताष्माजी आराम हुनुहुन्छ ?’

‘अँ आरामै छु, अनि तपाईँ नी ?’

‘म पनि आरामै छु अनि बताउनुहोस् तपाईँको नयाँ ताजा खबर ।’

‘मेरो खासै नयाँ केही छैन ? तपाईँको भए बनाउनुहोस् ।’ शीताष्मा नम्र भएर बोल्छिन् ।

‘शीताष्माजी मैले हिजो सपनामा तपाईँको नाम लेखिएको एउटा तस्वीर देखेको थिएँ शायद त्यो तस्वीर तपाईँको नै हुनुपर्छ ।’

‘हो र पवनजी, अब भन्नुहोस् त तपाईँले सपनामा देखेको त्यो तस्वीर कस्तो थियो?’

‘ओहो ! शीताष्मा जी त्यो तस्वीरको त म वर्णन गर्ने शब्द नै भेट्दिन । चम्किलो अनुहार, गालामा मिलेको त्यो कालो कोठी, ओहो ! भगवानलाई पनि कति गाह्रो भए होला त्यो रुपको कल्पना गर्न । त्यो तस्वीर बोकेर म कहाँ पुगें थाहा छ तपाईँलाई ?’

‘अहँ थाहा छैन, भन्नुस न पवनजी तपाइ कहाँ जानु भयो ?’

रातभरिका अनिँदा आँखाहरू बिहानपख के झिम्म गर्न लागेका थिए त्यसैबेला ‘गुड मर्निङ’ को आवाजले पवन झल्याँस्स ब्युँझन्छन् । आँखा खोलेर हेर्दा शीताष्मा हातमा तातो चिया लिएर उभिएकी थिइन् । हत्तपत्त पवन उठेर खाटमा बस्छन् र शीताष्मालाई झिम्म नगरी हेर्छन् ।

‘के हेर्नु भएको यसरी ? ल चिया लिनुहोस् ।’ शीताष्मा हाँसेर बोलिरहेकी थिइन् । एउटा चियाको कप पवनलाई दिँदै र अर्को चियाको कप आफूले लिएर खाटको छेउमा बस्दै शीताष्मा बोल्छिन्-‘महाशय त रातभर जाग्राम बसेजस्तो छ नि ! किन निद्रा परेन र ?’ शीताष्माले पवनलाई यसो भने तापनि स्वयं शीताष्मा रातभर जाग्राम रहेको कुरा उनका आँखाहरूले बताइरहेका थिए । चिया पिउँदै शीताष्मा बोल्छिन्-‘अनि अहिले पनि त्यही कोठामा हुनुहुन्छ र त्यो फोटाको मान्छेसँग कुरा गर्दै हुनुहुन्छ, होइन र पवन जी ? ’

दुबै जनाको मुखबाट एकैपटक हाँसो गुञ्जिन्छ ।

‘छट्टु मान्छे, मलााई किन सताएको यसरी ?’ शीताष्मा लाडिएर बोल्छिन् ।

‘मैले सताएको छैन शीताष्मा, बरु तिमी मलाई यो कुरा भन कि मलाई कसरी चिन्यौ ?’

‘मलाई शङ्का त तपाईँलाई देख्नेबित्तिकै लागेको थियो र तपाईँको बोली सुन्दा शङ्का अझ बढेको थियो । राती जब तपाईँले सपनाको कुरा गरी मेरो कोठाको वर्णन गर्नुभयो तब मैले निर्णय गरें कि आफ्नो परिचय लुकाए पनि यो व्यक्ति पवन नै हुनु पर्छ । ल अब भन्नुहोस् तपाईँले मलाई किन छल गर्नुभएको ?’

‘आफ्नो मान्छे चिन्छौ कि चिन्दैनौ भनेर परीक्षा लिएको थिएँ’-पवन हाँसेर बोल्छन् ।

‘ओ…मेरो परीक्षा ! अब भन्नुहोस् महाशय मेरो रिजल्ट कहिले आउँछ ?’

‘तिम्रो रिजल्ट आइसक्यो शीताष्मा, तिमी ९९ प्रतिशत ल्याएर उत्तीर्ण भएकी छौ ।’ यति भन्दै पवन शीताष्माको नजिक सर्न खोज्छन् तर त्यति नै बेला रामु पवन मास्टरको काठामा कागती चिया लिएर आइपुग्छ । रामुको आगमनले उनको विगतको स्मरण पनि भङ्ग हुन्छ र चिया पिउन थाल्छन् ।

पवन मास्टरसँगको सल्लाहपछि शीताष्मा छोरा सन्देशको विवाहको तयारीमा जुट्छिन् । उनका दुई सन्तानमध्ये छोरी सोनियाको पहिले नै बिहे भइसकेको थियो । सोनिया जन्मेको धेरै वर्षको अन्तरालपछि उनले सन्देशलाई जन्म दिएकी थिइन् । सन्देशको विवाहको दिन जति नजिक आउँछ शीताष्माको घरमा त्यति नै चहलपहल बढ्दै जान्छ । पवन मास्टरले पनि आफ्नो तर्फबाट सघाइरहेकै हुन्छन् र यतिबेला पवन मास्टर आफ्नो घरमा भन्दा ज्यादा शीताष्माको घरमा रहन्छन् । घरायसी सामानदेखि लिएर विवाहका लागि चाहिने सम्पूर्ण सामग्रीहरूको किनमेल पवन मास्टरले नै गर्छन् । त्यहाँ कुनै कुराको कमी नहोस् भन्नका लागि पनि उनी दिनरात खटिरहेका हुन्छन् ।

एक दिन दिउँसोको समयमा कोठामा एक्लै बसी पवन मास्टरले पुरानो पुस्तक पल्टाइरहेका थिए । अकस्मात् त्यस पुस्तकभित्र एउटा तस्वीर भेट्छन् । तस्वीर शीताष्माको थियो । गोरो अनि चौडा अनुहार, ठूला आँखाहरू, पछाडि फुकाएर छोडिएको कालो अनि लामो कपाल, चिउँडोनेरको कालो कोठी, त्यसैमाथि निधारमा रातो टीका । पवन मास्टर उक्त तस्वीर हातमा लिएर एकोहोरो भई हेरिरहन्छन् र विगतलाई सम्झिन्छन् । त्यतिबेला शीताष्मा आफ्नो श्रीमान्सँग विदेश गएकी थिइन् । शीताष्मा विदेश जाने खबरले पवनको मनमा भूकम्प नै गएको थियो । उनी अर्काको नासो हुन् र जसको थिइन् उसैसँग गइन् भनेर पवन मन भुलाउन खोज्थे तर त्यति सजिलै कहाँ मान्थ्यो र मन ? पवन शीताष्मालाई आफ्नै सोच्थे र उनीबाट टाढा हुने कहिल्यै पनि कल्पना गर्दैनथे । शीताष्मा विदेश जाँदैछन् भन्ने खबर पाएपछि पवनले शीताष्मासँग भेट गर्न खोजेका थिए । शीताष्माले पनि एकपटक पवनसँग भेट गरेर मात्र जाने वचन दिएकी थिइन् तर जाने बेलामा भेट त के खबर नै नगरी शीताष्मा उडिन् । त्यतिबेला पवनले सोचे ‘शीताष्मा मायाँ होइन साथ चाहन्थिन् र त्यो साथ जब आफ्नैबाट पाउने भइन् उनलाई अब त्यो भेटको अर्थ नै रहेन ।’ त्यतिबेला पवन शीताष्माको त्यो व्यवहारले यतिसम्म दुखेका थिए कि उनका हरेक रात छटपटिमै बित्थे । सधैं आँखाका परेलीहरू रुझेका र फुलेका देखिन्थे तैपनि हाँसेर बाँच्न बाध्य थिए । विदेश गएको धेरै समयपछि शीताष्मा जब पवनको सम्पर्कमा आउन थालिन् तब पवनको शीताष्माप्रतिको मर्दै गएको प्रेम अङ्कुराउन थाल्छ र उनीहरू घण्टौंसम्म रमाउन थाल्छन् । त्यसै क्रममा एक दिन शीताष्माको घरमा एउटा पूजाको कार्यक्रम थियो र तिनै परिचित दिदीको सहारामा पवन त्यस पूजा समारोहमा पुग्छन् । तर शीतष्माको अनुपस्थितिमा पवनलाई त्यो घर, त्यो समारोह विरानो लाग्छ । रात कटाउन निकै मुस्किल पर्छ । पवन सुतिरहेको अवस्थामा कोठाको दलिनमा एउटा पुरानो तस्वीर देख्छन् । उठेर उक्त तस्वीर हातमा लिन्छन्, धुलो टकटकाउँछन् । तस्वीर शीताष्माको थियो । हँसिलो मुहारमा सजिएको निधारको टीका खुब सुहाएको थियो । आँखा चिम्म गरी तस्वीर छातीमा टाँस्छन् र मनमनै भन्छन्- ‘यति राम्रो मान्छे, यति प्रिय मान्छे अब तिम्रो कुलमा को नै जनमेला र ? सबै गुनैगुन बैगुन त एउटा पनि छैन ।’

अकस्मात् बाहिर कोही आउँदै गरेको आवाजले पवन मास्टरको एकाग्रता भङ्ग हुन्छ । उनी झटपट शीताष्माको तस्वीर कितावको पत्रमा लुकाउँछन् बाहिर हेर्छन् । रामु तलबाट छततिर आउँदै थियो । रामुले एकपटक पवन मास्टरको कोठातर्फ नजर लगाउँछ र सरासर आफ्नो बाटो लाग्छ । पवन मास्टर लामो सुस्केरा तान्छन् र शीताष्माको तस्वीर राखेको किताव दराजभित्र राख्छन् र बाहिर निस्कन्छन्।

आज सन्देशको विवाहको दिन । घरमा निकै चहलपहल बढेको छ । पाहुनाहरूको आवतजावतले गर्दा पनि घरमा निकै रमाइलो देखिन्छ । पञ्चेबाजा बिहान सबेरैदेखि घन्किरहेका छन् । कोही बाजाको तालमा नाच्न व्यस्त देखिन्छन् त कोही नाच हेर्नमा मस्त छन् भने कोही दुलाहा सिँगार्नमा व्यस्त देखिन्छन् ।

‘लौ, अब जन्ती हिँड्ने बेला भो, दुलाहा बाहिर निकाल्नुपर्यो । यही छाँटले त रातको १२ बजे पनि फर्कन गाह्रो पर्छ’-आँगनबाट एक भद्र व्यक्ति बोल्छन् ।

‘हो हो ल अब छिटो हिँड्ने तयारी गर्नुपर्छ ।’ सबैले होमा हो मिलाउँछन् ।

आज पवन मास्टर पनि निकै फुर्तिला देखिएका छन् । उनको अनुहारमा आज छुट्टै प्रकारको चमक बढेको देखिन्छ । बिहानै उठेर नुहाइधुवाई गरी दारीकपाल मिलाएर पवन मास्टर जन्ती जानको लागि तयारीमा हुन्छन् । आज शीताष्माको अनुहार पनि निकै चम्किलो देखिएको थियो । हरेक पाहुनासँग हाँसेर बोल्थिन् र सबैको सत्कारमा जुट्थिन् । जन्ती हिँड्ने बेला भयो । दुलाहा गएर गाडीमा बस्छन् र अरु जन्ती पनि गाडीमा बस्छन् । शीताष्माले पवन मास्टरलाई एकान्तजस्तो पारेर बोल्छिन्-‘ल बाटोमा राम्रोसँग जानुहोला, जन्तीहरू पनि सबै जना ढोटे नै छन् । बाबुलाई सम्झाइबुझाई गर्नुहोला । दुलहीको घरमा आइपर्ने सबै बाधा अड्चनहरू फुकाउनुहोला, अरु त के भनुँ र म’ भन्दै शीताष्माले आँखा रसिला पार्छिन् । नभन्दै एकै छिनमा उनका आँखाबाट आँसु झर्न थाल्छन् ।

शिर झुकाई मजेत्रोले आँसु पुछ्दै पुनः शीताष्मा बोल्छिन् -‘हिँजो पनि गाह्रोसाह्रो पर्दा साथ दिनु भएकै थियो र आज पनि दिइरहनु भएको छ । तपाईँको यो गुन मैले तिर्न नसके पनि भगवानले तिर्नेछन् ।’ यति भन्दै शीताष्मा पवन मास्टरलाई हेर्न पुग्छिन् ।

त्यतिबेलासम्म पवन मास्टरका आँखा पनि रसाउन सुरु गरिसकेका हुन्छन् । गोजीबाट रुमाल झिकेर आँखा पुछ्दै पवन मास्टर सितास्मासँग विदा भई सरासर गाडीमा गई बस्छन् । गाडी जन्ती बोकेर दुलहीको घरतर्फ लाग्छ । पर पुगेर पवन मास्टर गाडीको सिसाबाट शीताष्माको घरतर्फ हेर्छन् । शीताष्मा त्यहीं उभिएर गाडीतर्फ हेरिरहेकी हुन्छिन् । एकैछिनमा धुलो उडाउँदै गाडी ओझेल पर्दछ ।

एवं रीतले सन्देशको विवाह पनि सकिन्छ । निकै राम्री श्रीमती पाएकोमा सन्देश पनि फुरुङ्ग हुन्छ । देख्नेहरू पनि ‘कस्तो मिलेको जोडी’ भनेर प्रशंसा गर्छन् । हुन पनि केटी निकै राम्री, पढेकी र घर व्यबहार चलाउन सक्ने खुबी भएकी जस्ती देखिन्थी । दिनहरू बित्दै जान्छन् । आज धेरै दिन भइसक्यो पवन मास्टरले शीताष्मालाई नदेखेको । सन्देशको विवाहको दिनदेखि आजसम्म उनले शीताष्मालाई देखेका थिएनन् । विवाहको चटारो अनि सबै पाहुना अम्काउनुपर्ने कारणले पनि होला शीताष्मा बाहिर ननिस्केको, यस्तै अनुमान लगाउँछन् पवन मास्टर । हुन त उनी पनि विवाहको त्यसदिन पश्चात् शीताष्माको घर गएका छैनन् । के गर्दै होलिन् शीताष्मा ? यतिका दिनसम्म त घरमा नै व्यस्त नहुनुपर्ने हो ! एकपटक भेट गरेर आउनुपर्यो अनि नयाँ बेहुला बेहुलीलाई पनि भेट्न हुन्छ भन्दै पवन मास्टर कपडा बदली गरी शीताष्माको घरतर्फ लाग्छन् । शीताष्माको घरमा पुग्दा बाहिर सबै सुनसान हुन्छ । एकैछिन आँगनमा उभिएर चारैतिर नियाल्छन् । त्यसैबेला सन्देश बाहिर निस्कन्छ र पवन मास्टरलाई देखेर बोल्छ-‘ओहो अंकल नमस्कार’

‘नमस्कार बाबु, अनि के छ नयाँ खबर ?’ पवन मास्टर नमस्कार फर्काउँदै बोल्छन् ।

‘ठिकै छ अंकल, अनि यता खाटमा आएर बस्नु न’ सन्देश पिँढीको खाट देखाउँदै बोल्छ ।

‘ल ठिकै छ’ भन्दै पवन मास्टर खाटमा आएर बस्छन् र पवनतर्फ फर्केर पुनः बोल्छन-‘ल तिमी त कतै जान लागेको जस्तो देख्छु नि, कता हिँड्यौ ?’

‘अस्पतालसम्म जाउँ कि भनेर अंकल ।’

‘कसलाई के भयो र सन्देश बाबु ?’

‘अस्ति आमा बोल्दाबोल्दै चक्कर खानु भो र यहीं लड्नु भो, तत्काल अस्’पताल पुर्यायौं र भर्ना गरेका छौं ।’ सन्देशको कुराले पवन मास्टरको मुटु फुलेर आउँछ । धड्कनको गति बढेर आउँछ र एकाएक बसेको जमिन भास्सिए जस्तो लाग्छ । उनले चारैतिर अँध्यारो देख्न थाल्छन् । तैपनि आफूलाई सम्हाल्दै पवन मास्टर बोल्छन्-‘अनि के भएको रहेछ त बाबु ? डाक्टरले के भन्यो ?’

‘कमजोरीको कारणले यस्तो भएको हो भन्यो अंकल, केही रगत पनि दिएको छ । अझै दुई चारदिन अस्पतालमै राख्नुपर्छ भनेको छ र अंकल अहिले म खाना लिएर उतै जाँदैछु ।’

‘ए हुन्छ नि म पनि जाउँला’ पवन मास्टर सन्देशको पछि लाग्छन् । बाटोभरि अनेक कुराहरू पवन मास्टरको मनमा मडारिन थाल्छन् । अकस्मात् के भो शीताष्मालाई ? अड्कल काट्न सक्दैनन् । अस्पतालमा पुग्दा शीताष्मा बेडमा सुतिरहेकी थिइन् । भर्खर आँखा लगाएर निदाउने प्रयास गरेजस्तो लाग्थ्यो । सन्देश र पवन मास्टर शीताष्माको नजिक पुग्छन् । सन्देशले टेबलमाथि खाना राख्छ र नजिकैको टुल तानेर बस्छ । पवन मास्टर पनि सन्देशसँगै बस्छन् । पवन मास्टरले शीताष्मालाई एकोहोरो हेरिरहन्छन् । उनका आँखा फुलेका थिए । अनुहारको रङ उडेर फुस्रोपना बढेको थियो । उनको अनुहार देख्दा लाग्थ्योे बर्षौंदेखिका व्यथाहरू उनको अनुहारमा गढेका छन् । पवन मास्टर उनको अनुहार हेर्दै सोच्छन्-‘अचानक के भएको उनलाई ? यस्तो अवस्थामा अस्पतालमा रहँदा कमसेकम एकपटक त खबर गर्नुपर्थ्यो नि ? माया नभएकी आइमाई ।’ त्यसैबेला पवन मास्टरतर्फ फर्केर सन्देश बोल्छ-‘अंकल तपाईं एकेैछिन् बस्दै गर्नुस् म यसो बाहिर घुमेर आउँछु । म नआइपुग्दै आमा उठ्नु भयो भने यो खाना खुवाउनु होला है ?’ सन्देशको विनम्रतामा पवन मास्टर टाउको हल्लाउँछन् । सन्देश बाहिर निस्कन्छ । पवन मास्टर अलि नजिक सरेर शीताष्माको निधार छाम्छन् । उनको निधार र शरीर सबै चिसो थियो । अकस्मात् पवन मास्टरको स्पर्शले शीताष्मा ब्युँझन पुग्छिन् । आडमा पवन मास्टरलाई देखेर अतालिँदै शीताष्मा बोल्छिन्-‘तपाईँ यहाँ ?…कसरी ?’

‘हो म, किन…म यहाँ आउन हुँदैन र ?’ पवन मास्टर शीताष्माको निधारबाट हात हटाउँदै बोल्छन् ।

‘हुँदैन…,कसले भनेर आएको तपाईं यहाँ ?’ कठोर बन्दै शीताष्मा बोल्छिन् र अर्कोपट्टी फर्कन्छिन् ।

‘किन शीताष्मा म यहाँ आउन नहुने ? के गल्ती भयो मबाट ?’ पवन मास्टर नम्र भएर बोल्छन् ।

‘हुँदैन भनेपछि हुँदैन । सक्नुहुन्छ भने मेरो लागि भएपनि यहाँबाट गइदिनोस, मेरो विनम्र अनुरोध छ ।’ शीताष्मा यति भन्दै पवन मास्टरतर्फ फर्केर दुई हात जोड्छिन् ।

पवनमास्टर शीताष्माले जोड्दै गरेका दुई हात समाउँदै बोल्न पुग्छन् – ‘शीताष्मा ! यो धर्तीमा अरुलाई रुवाउन भनेर जन्मेकाहरू सधैं अरुलाई मात्र रुवाउँछन्, आफू भने रुनै जान्दैनन् रे ! अहिले आएर भोग्दैछु कुरा सत्य रहेछ । यदि तिमीले नै यसो भन्छ्यौ भने म अहिले नै गइदिन्छु र तिमीसँग कहिल्यै भेट नहुने कसम पनि खान्छु शीताष्मा म अहिल्यै यहाँबाट जान्छु ।’ यति भन्दै पवन मास्टर उठेर बाहिर लाग्छन् । ढोकानिर पुगेपछि एकपटक फर्केर शीताष्मालाई हेर्छन् । शीताष्मा पनि पवन मास्टरलाई हेरिरहेकी हुन्छिन् । आँखाबाट झर्दै गरेका आँसुहरू पुछ्दै त्यहाँबाट बाहिर निस्कन्छन् पवन मास्टर । त्यतिबेलासम्म शीताष्माका आँखाहरूमा पनि आँसुहरू भरिएका थिए । नचाहेर पनि मन कठोर बनाउँदै शीताष्मा भित्तातर्फ फर्कन्छिन् र ताता र नुनिला आँसुले सिरानी भिजाउँछिन्।

आज धेरै दिन भैसक्यो पवन मास्टर कोठाबाट बाहिर ननिस्केको । हुन त घुम्नु उनको पहिलेदेखिको सोख पनि थिएन । तैपनि कहिलेकाहीं छत र बगैंचातिर निस्केर मन बहलाउने काम गर्थे । तर शीताष्मासँग अस्पतालमा भएको त्यस घटनापश्चात उनी निकै बेपरवाही बनेका छन् । खाना खानको लागि मात्र किचनमा झर्छन् नत्र कोठाबाट बाहिर निस्कँदैनन् । पहिले जस्तो सरसफाइमा पनि त्यति ध्यान दिँदैनन् । कपल दाह्री बढेर लामो लामो भैसके तरपनि सफा गर्ने कुनै छाँटकाँट नै देखाउँदैनन् । दिनभर किताब पढ्ने र खाली समय सुतेरै दिन कटाउने गर्छन् । शरीर सुक्दै जान थाल्यो । ख्याउटे अनुहारमाथि झुप्प दाह्री-कपालको उनको त्यो भेष देख्दा जो कोही पनि उनलाई पागलको संज्ञा दिन्थे होला तर कोठाबाट बाहिर ननिस्केका कारण उनीप्रति कसैको ध्यान नपुगेको जस्तो लाग्छ । ‘अचानक किन यसरी परिवर्तन भइन् शीताष्मा ? परिवर्तनको रहस्य के हो ?’ उनी पत्ता लगाउन सक्दैनन् । ‘अहिले शीताष्मालाई कस्तो छ ? शायद अस्पतालबाट घर फर्किसकेकी होलिन् ? उनको स्वास्थ्यमा पनि सुधार आइसकेको होला ?’ आफैंसँग प्रश्न गर्छन् पवन मास्टर । तर आफ्नो स्वास्थ्य र शरीर कमजोर बन्दै गएको कुरा भने उनलाई पत्तो थिएन । त्यसै क्रममा एक साँझ घरको छतमा कुर्चीमाथि बसेर चारैचिर नियालिरहेका थिए पवन मास्टर । बाटो प्रायः सुनसान नै थियो । टाढा बाटोमा हिँड्ने व्यक्ति देखिए पनि चिन्नलाई मुस्किल पर्थ्यो, अध्याँरो बढ्दै थियो । त्यसैबेला पर चौबाटोमा एउटा छायाँ देखा पर्छ । उक्त छायाँ केहीबेर चौबाटोमै अल्मलिन्छ । त्यस छायाँलाई देख्दा लाग्छ उसले आफ्नो गन्तव्य भुलेको छ । केही समय पश्चात बगैंचा हुँदै पवनमास्टरको घरतर्फ आइरहेको देखिन्छ । पवनमास्टर केही समय उक्त छायाँलाई नियालिरहन्छन् र अचानक के सोच्छन् कुन्नी जुरुक्क उठेर कोठाभित्र पस्छन् । केही समयमा नै उक्त छायाँ पवनमास्टरको घरको कोठामा पुग्छ र दायाँबायाँ हेर्दै कोठाको ढोका खोली भित्र पस्छ । पुरै टाउको सलले ढाकिएको उक्त व्यक्ति पवनमास्टरको अगाडि गएर उभिन्छ । पवनमास्टरको मुटु चिसो हुन्छ । उनी नबोली एकोहोरो हेरिरहन्छन् । उक्त व्यक्तिले टाउकोबाट सल हटाउँछ । पवनमास्टर झसङ्ग हुन्छन् । उनी शीताष्मा थिइन् । पवनमास्टरको वाक्य बस्छ । एकोहोरो भई शीताष्मातर्फ हेरिरहन्छन् ।

‘महाराज मबाट गल्ती भयो । तपाईँको मन धेरै दुखाएँ, मलाई क्षमा दिनुहोस् ।‘ भन्दै शीताष्मा दुई हातले दुई कान समाउन पुग्छिन् । पवन मास्टरको मन नौनी भएर लथालिङ्ग भई पग्लिन्छ । उनी आफूलाई सम्हाल्न सक्दैनन् । आँखा रसाएर झर्न शुरु गर्छ र अचानक शीताष्मालाई अँगालो मार्न पुग्छन् । पवनमास्टरको शारीरिक अवस्था देख्दा शीताष्माको आँखाबाट पनि आँसु रसाइसकेको हुन्छ । आज बर्षौपछि शीताष्मालाई आफ्नो अँगालोमा पाउँदा पवन मास्टर बच्चा झैं रोइदिन्छन् र शीताष्मा पनि सँगै रोइदिन्छिन् । धेरैबेर दुबैजना सँगै रोइरहन्छन् । दुबै जनाका मनभित्र बर्षौंदेखि गुम्सिएर बसेका पीडाहरू आँसु बनेर झर्छन् । ‘किन रोएको’ भनेर एकले अर्कालाई प्रश्न पनि गर्दैनन् । मन फुकाएर रुन्छन् । धेरै समय पश्चात् शीताष्मा बोल्छिन् – ‘महाराज त्यो दिन मैले तपाइसँग जीवनमा पहिलोपटक धेरै नमिठो बोलें , म क्षमा चाहन्छु । तपाईँलाई दुःखी बनाएर म कहाँ सुखी रहुँला र ? त्यो दिन म बोलेकी थिइन, मेरो मन बोलेको थिएन । मेरो बाध्यता बोलेको थियो, तपाईँ जान्न चाहनुहुन्छ मेरो बाध्यता ?’ शीताष्मा आफ्नो कहानी यसरी शुरु गर्छिन्ः

एक दिन साँझपख म घरको छतमा बसेर टोलाइरेकी थिएँ । विगतका कहानीहरू मनमा तँछाडमछाड गर्दै आइरहेका थिए । तपाईँसँगको भेटदेखि लिएर तपाईँसँगका सम्बन्धहरू सम्झिँदा मन फुरुङ्ग भएको थियो । सोच्तासोच्ता कतिखेर आँखामा आँसु भरिएछ पत्तै पाइन । तपाईँकै घरतर्फ हेरेर टोलाइरहेकी रहिछु । अचानक पछाडि कसैको आवाजले म पछाडि फर्किएँ । बाबु सन्देश रहेछ । ऊ कतिखेर आएको रहेछ मैले पत्तो पाइन तर ऊ पहिलेदेखि नै आएर नियालिरहेको मलाई भान भयो । अचानक उसलाई देख्दा मलाई एक किसिमको छटपटी र त्रासले छोप्यो । आँखाको आँसु पुछ्दै बोल्न पुगेछु-‘के भो बाबु तिमीलाई ?’

सन्देशले मेरो प्रश्नको कुनै जवाफ दिएन । निकै बेरसम्म मेरो अनुहार पढिरह्यो । उसको हेराइले मलाई डर लागेर आयो र हडबडाउँदै बोलें-‘होइन के भो तिमीलाई ?’

मेरो चर्को स्वरले गर्दा ऊ झस्कियो र ‘केही पनि भएको छैन’ भन्दै यथार्थ लुकाउन खोज्यो । म मजेत्रोले आँखाको आँसु पुछ्तै कोठातिर के जान लागेकी थिएँ मलाई जानलाई रोक्तै सन्देश बेल्यो -‘पख्नोस्, आज तपाईँ त्यत्तिकै जान पाउनुहुन्न ।’ उसको कर्कश आवाजले एकैछिन म पनि अलमलिएँ र त्यहीं रोकिएँ । सन्देश बोल्दै गयो-‘म तपाईँलाई हिजोआज मmन् निराश र तनावमा देख्दैछु । एक्लै भयो कि टोलाउनु हुन्छ । एक्लै रुनुहुन्छ । आखिर यसको कारण के हो ? आज तपाईँले मलाई भन्नै पर्छ ।’

‘होइन बाबु, तिमीलाई भान भएको हुनुपर्छ । मलाई कुनै तनाव छैन । अलिअलि आँखा दुख्न थालेको छ । केही दिनपछि गएर चेक गराउँला भन्ने सोंचमा छु’- मैले प्रसङ्ग मोड्दै भनेकी थिएँ ।

‘होइन, तपाईँ मसँग झुट बोल्दै हुनुहुन्छ । धेरै दिनदेखि म तपाईँको अनुहार पढिरहेको छु । आखिर कति दिन बस्नुहुन्छ यसरी ? तपाईँ सोच्नुहोला अब छोराछोरी ठूला भैसके, उनीहरूले के सोच्लान् अनि यो समाजले के भन्ला ? हो अब हामी ठूला भैसक्यौं । सबै कुरा बुझ्ने भैसक्यौँ त्यसैले त तपाइको अनुहार हेरेर पनि केही बुझेका छौं ।’

‘के बुझ्यौ सन्देश तिमीले मेरो बारेमा ?’ मैले हाँस्ने प्रयत्न गर्दै बोलेकी थिएँ त्यतिबेला ।

‘हो आज तपाइले मलाई नढाँटी भन्नुपर्छ तपाईँको बारेमा’- सन्देश अलि कठोर हुँदै बोलेको थियो ।

‘भनन के भनुँ मैले तिमीलाई ? म आज तिमिलाई सबै कु्रा भन्छु’- म सन्देशको नजिक सर्दै बोलेकी थिएँ ।

‘आखिर तपाईँ र पवन अङ्कलको सम्बन्ध के हो ?’

‘सन्देश…’ म एक्कासी चर्को स्वरले कराउन पुग्छु र पुनः बोल्छु- ‘सन्देश तिमी बर्ता बोल्दैछौ । यही हो तिमीले मसँग बोल्ने तरिका ?’

‘हो तपाइसँग बोल्ने तरिका त ठीक भएन होला तर म सत्य बोल्दैछु । घरमा जब पवन अङ्कलका कुरा उठ्छन् तपाईँको अनुहार हँसिलो देख्छु’ । जब पवन अङ्कल हाम्रो घरमा आउनुहुन्छ वर्षांैदेखिको खुसी हाम्रो घरमा भित्रिए जस्तो लाग्छ किनकी धेरै दिनदेखि निराश देखिएको तपाईँको अनुहारमा खुसी छाउँछ । हो, तपाईँलाई सन्तान र समाजले बाँधेको छ तर तपाईँ पनि अब यो सोच्नुपर्छ कि तपाईँको खुसी हाम्रो खुसी हो । तपाईँ खुसी हुँदा हाम्रो घर खुसी हुन्छ अनि हामी खुसी हुन्छौं तर तपाईँ दुःखी हुनुभयो भने हामी मात्र होइन हाम्रो कर्म पनि दुखी हुन्छ ।’ सन्देशले अरु केके भनिरहेको थियो । उसका अरु कुरा सुन्न सक्ने स्थितिमा म थिइन । मलाई रिँगटा लागेर आयो र अचानक त्यहीं लड्न पुगेछु । पछि होसमा आउँदा म आफूलाई अस्पतालामा सुतिरहेको पाएँ । त्यसदिन तपाईँलाई जब अस्पतालमा देखें मेरो मनमा अनेक कुराहरू खेल्न थाले । यो समाजले के भन्ला ? अनि सन्देशको सोचाइमा पनि थप बल पुग्ने उद्देश्यले मैले तपाईँलाई त्यहाँबाट जानको लागि आग्रह गरेकी हुँ । जब तपाईँ बाहिर निस्कनुभयो मलाई असह्य भएर आयो । पछि आफैलाई धिक्कारें पनि तर यो सबै मैले जानेर त गरेकी हुँ तर चाहेर गरेकी होइन । पछि सन्देशले मलाई सबै कुरा बतायो । तपाईँ र सन्देश घरदेखि सँगै जानु भएको कुराले म पश्चात्तापमा पर्नुभन्दा अरु विकल्प रहेन । तपाईँ र मेरो बीचको सम्बन्ध सन्देशले पुरै बुझेजस्तो लाग्छ तर मलाई पीडा बढ्ने डरले ऊ केही पनि नबुझेजस्तो गरिरहेछ । ऊ त हाम्रो सन्तान, हाम्रो रगत । धेरै कुरा पचाउन सक्छ तर समाजले थाहा पायो भने हाम्रो अवस्था के रहला ? त्यसैले आज घरमा कोही पनि नभएको समय पारी म यहाँसम्म आएकी छु । महाराज ! आजसम्म त जे छ राम्रै छ अब आइपर्ने समस्या कसरी पार लगाउने हो मलाई बताइदिनुहोस् । यति भन्दै शीताष्मा पवन मास्टरको छातीमा टाँसिन आइपुगेकी हुन्छिन् । पवन मास्टर पनि शीताष्मालाई आफ्नो छातीमा शरण दिन्छन् । त्यसदिन पवन मास्टर र शीताष्मा धेरै समयसम्म कुरा गरिरहन्छन् र अन्त्यमा शीताष्मा विस्तारै ढोका खोली बाहिर निस्कन्छिन् । बगैंचा हुँदै चौबाटोमा पुग्छिन् र पुनः एकपटक पवन मास्टरको घरतिर हेर्छिन् । पवन मास्टर पनि छतमा उँभिएर शीताष्मालाई नै हेरिरहेका हुन्छन् । चौबाटो हुँदै शीताष्मा सरासर आफ्नो घरतर्फ लाग्छिन् भने पवन मास्टर आफ्नो कोठाभित्र पस्छन् ।

—-

आज पवन मास्टरलाई रातभर निद्रा लाग्दैन । छटपटीले सताउँछ । सुतेको मान्छे पनि उठेर चिसो पानी पिउँछन् । तीर्खा मेटिँदैन । मनमा धेरै कुरा खेल्न थाल्छन् । विगतमा शीताष्मासँग भएका भेटहरू सम्झन्छन् । एकपटक कामको सिलसिलामा उनी हप्ता दिनको लागि काठमाडौं गएका थिए । काम सिध्याएर घर फर्किने अघिल्लो दिन उनको मोबाइलमा फोन आउँछ, नम्बर विदेशको थियो । फोन उठाउँदै पवन मास्टर बोल्छन् ‘हेलो म पवन ।’

‘कति परिचयमात्रै गराइराख्या हो, मैले चिनिसकें’ आवाज शीताष्माको थियो ।

‘ए शीताष्मा…भन के छ खबर, सञ्चै छ्यौ ?’ पवन मास्टर हाँसेर बोलेका हुन्छन् ।

‘अँ सञ्चै छु, अनि तपाईँको नयाँ खबर के छ नि बताउनुहोस् ।’

‘के हुन्थ्यो र नयाँ खबर, त्यही पुरानै हो (केही सम्झेझैं गरी) अँ शीताष्मा म अहिले काठमाडौं छु, भोलि घर जाने विचार गर्दै छु ।’

‘ए हो र…त्यसो भए भोलि होइन तपाईँ पर्सि जानुहोला ।’

‘किन र शीताष्मा ? के छ र त्यस्तो ?’ पवनले जिज्ञासा पोखेका हुन्छन् ।

‘म भोलि आउँदै छु । मेरो भोलि बिहान ८ बजेको टिकट छ । शायद १२/१ बजेसम्म म त्यहाँ आइपुग्छु अनि पर्सि सँगै जाऔंला नि हुन्न र ? बरु एअरपोर्टसम्म आउनुभयो भने म झन् आभारी हुने थिएँ ।’

‘हो र शीताष्मा ? हुन्छ म भोलि तिमीलाई लिन एअरपोर्ट आउँछु ।’ यति भन्दै पवनले फोन राखेका हुन्छन् । त्यतिबेला जीवनभरको ठूलो सफलता एकैपटक हात पारेझैं पवन मास्टर हर्षित हुन्छन् । नभन्दै भोलिपल्ट पवन एअरपोर्ट पुग्दा शीताष्मा आइपुगेकी हुन्छिन् । धेरै वर्षपछिको भेटले दुबैजना एक आपसमा हेराहेर गर्छन, बोल्न सक्दैनन् । धेरै समयपछि पवनले नै मुख खोल्छन्- ‘शीताष्मा…।’ शीताष्मा मुसुक्क हाँस्छिन् र दुबैजना ट्याक्सी चढेर होटलतर्फ लाग्छन् । वर्षौंदेखि हराएको जोडी अचानक भेट हुँदा उनीहरूबीचको दुरी त्यहीं समाप्त हुन्छ । चाहेर पनि आफूहरूलाई टाढा राख्न सक्दैनन् । गल्तीको पश्चात्ताप गर्दै भोलिपल्ट बिहानको टिकटमा घरतर्फ प्रस्थान गर्छन् । केही दिनपश्चात् शीताष्माले पवनलाई त्यस दिनको गल्तीको परिणाम आफूले भोग्दै गरेको जानकारी गराउँछिन् । शीताष्माको कुराले पवनको शिरमा झट्का लाग्छ । तर एकैपटक जहाजको टिकट नमिलेका कारण केही दिनपश्चात् शीताष्माका श्रीमान् पनि आउँदै छन् भन्ने खबरले उनलाई केही सान्त्वना मिल्छ । नभन्दै केही दिनमा नै शीताष्माका श्रीमान् पनि आइपुग्छन् र त्यसको वर्ष दिन नपुग्दै शीताष्माले सन्देशलाई जन्म दिएकी हुन्छिन् । शीताष्माको जिद्दीका कारण नचाहँदा नचाहँदै पनि पवनले अन्तै विवाहको लगनगाँठो कस्छन् । लगातार दुई छोरीलाई जन्म दिन्छन् । यसरी पारिवारिक कारणले गर्दा दुरीको हिसावले पवन र शीताष्मा आत्मीय र अन्तर्सम्बन्धले एउटै भएर रहन्छन् । त्यस रात कुर्चीमा टहलिएर पवन मास्टर आफ्नो विगत सम्झिन्छन् र वर्तमानमा फर्किन्छन् । शीताष्मा उनको मनबाट न हिँजो टाढा थिइन् न आज टाढा छिन्, न भोलि नै टाढा नै रहनेछिन् । तर पनि उनको अगाडि आज ठूलो चुनौती थपिएको छ-एकातिर उनीहरूको उमेरको अवस्था, पारिवारिक अवस्था र अर्कोतिर सामाजिक अवस्था । हुन त प्रेम र युद्धमा सबै अस्त्र र शस्त्र जायज हुन्छ भन्ने मान्यता छ तर पनि उनीहरूको यस सम्बन्धमा यो परिभाषाले मेल खाने अवस्था रहँदैन । अहिले उनका अगाडि मुख्य दुई समस्या र दुई उपाय पनि देखापरेका छन् । यस उमेरमा आएर शीताष्मालाई स्वीकार गर्दा आइपर्ने सामाजिक र पारिवारिक चुनौती त छँदैछन्, शीताष्मालाई स्वीकार नगर्दा आफ्नै घरपरिवारबाट उनले झेल्नुपर्ने मानसिक पीडा र त्यसमाथि बढ्दै जाने सामाजिक असर पनि छ । त्यस रातभर पवन मास्टर भोलि आइपर्ने असरको गहिराइसम्म पुगेर सोच्छन् र अन्त्यमा एउटा निर्णय लिन पुग्छन् । त्यो निर्णय भोलि नै शीताष्मासम्म पुर्याउने विचारले रातभर ओछ्यानमा छटपटिन्छन् ।

यस धर्तीमा जति प्राणीहरू छन् आफ्नै स्वार्थका लागि बाँचिरहेका छन् । यदि प्रेम र स्वार्थ हुँदैनथ्यो भने यो संसार उहिले नै शून्य भैसक्थ्यो । पवन मास्टर पनि प्रेमलाई संसार र एउटा जिउने आधारका रुपमा हेर्छन् । उनले धेरै लेखकका धेरै पुस्तक अध्ययन गरेका छन् र सबै पुस्तकहरूमा प्रेमलाई नै मुख्य विषय बनाइएको पाउँछन् । त्यतिमात्र होइन अन्त्यमा प्रेम गर्ने कै जीत देखाइएका उदाहरण पनि छन् । रुपमती, प्रेमपिण्ड, माइतघर, पल्लोघरको झ्याल, मुनामदनजस्ता कृतिहरू पनि प्रेमकै पक्षमा बोलेका छन् । त्यसैले आज एकाबिहानैबाट पवन मास्टरको अनुहारमा एक किसिमको खुशीको चमक बढेको देखिन्छ । कुनैबेला एक्लै मुस्कुराएका देखिन्छन् । उनको अनुहार देख्दा जो कोही पनि सजिलै अड्कल काट्न सक्छ उनी एउटा विजयी योद्धा हुन् । बिहानदेखि रामुलाई सबै कामको जिम्मा लगाउँछन् । बगैंचाका फलफूलदेखि लिएर आफ्नो कोठामा लगी सबै सामानहरूका बारेमा सबै बताउँदै घरको तालाचाबी रामुको जिम्मा लगाउँछन् । दिनभरजसो घर र कोठाका सामानहरू मिलाउन व्यस्त रहेका पवन मास्टर राति जुनको प्रकाशसँगै आफ्नो कोठाको ढोका घरक्क उघार्छन् । हातमा एउटा झोला लिएर बाहिर निस्कन्छन्् । एकैछिन छतमा उभिएर चारैतिर नियाल्छन् । आकाशमा चम्किरहेको जूनतर्फ फर्किएर मनमनै बोल्छन्-‘हे दैव आज यो उमेरमा आएर यस्तो निर्णय गर्दैछु, गल्ती भए क्षमा गर !’

यति भन्दै गर्दा उनका आँखाहरू रसिला भएर आउँछन् अनि छतबाट झरेर सरासर बाहिर निस्कन्छन् । बगैंचामा पुगी फेरि चारैतिर आँखा घुमाउँछन् । चारैतिर सुनसान थियो । जूनको प्रकाशले निस्पट्ट अँध्यारोलाई चिरेको थियो भने झ्याउँकिरीहरूको आवाजले केही शून्यतालाई भङ्ग गरेजस्तो लाग्थ्यो । पवन मास्टर हातमा एउटा झोला लिएर बगैंचाबाट सरासर चौबाटोमा पुग्छन् र एकपल्ट फर्केर आफ्नो घर र बगैंचा हेर्छन् । त्यतिबेला पवन मास्टरको छेवैमा अर्को एउटा छायाँ पनि देखिन्छ । उक्त छायाँ पवन मास्टरको नजिक आउँछ । दुई छायाँ आमनेसामने हुन्छन् । अकस्मात् पवन मास्टर उक्त छायाँको हात समाउन पुग्छन् र विस्तारै त्यस चौबाटोलाई पछाडि धकेल्दै चार पाइलाहरू अगाडि बढ्छन् । एकैछिनमा दुई छायाँहरू त्यहाँबाट हराउँछन् , मात्र चौबाटो जूनलाई हेर्दै चौबाटोमा ठिङ्ग उभिइरहन्छ ।

घायलश्री पर्वत

Leave a Reply

Your email address will not be published. Required fields are marked *