तिम्रो थोत्रे विचार
जनताद्धारा तिरस्कृत भइसक्यो
र पनि तिमी कसैको बैशाखी टेकेर
अझ हुटिट्याउँले सगर थाम्छ भन्दै छौ ।
अझ जनाघात कदम चाल्दै छौ ।
यसबाट
तिम्रो बाँकी बचेखुचेको छवि पनि पानी पानी भइरहेछ ।
इतिहासमा यत्तिबेला जनता ठग्ने काम मात्र भइरहेछ ।
प्रभुजीहरू उत्तरी ढोका खोल्दछन्
वरपर भेटेको कर्याककुरुक सोहर्दछन् ।
जनता त्राहीमाम बन्छन्
जंगलमै बास बस्न बाध्य हुन्छन्
तिमी भने, त्यस्तो केही होइन
कसैले कसैलाई केही भनेको छैन भन्दछौ ।
र नकामको खातमा अर्को पत्र थप्दछौ ।
यस घडीमा
जनपक्षीय काम ओझेलमा परिरहने हो भने
थोत्रे संस्कार र विचारले जनता डामिरहने हो भने
एकाएक आकाश थर्किनेछ,
कालो मनलाई थर्कमान पार्ने गरी चट्यांग पर्नेछ
मैलो बाटो सफा हुने गरी वर्षा वर्षनेछ ।
त्यसवेला
न तिम्रो संस्कार रहन्छ
न तिम्रो अवशेष रहन्छ
मात्र तिम्रो ऐश्वर्यविहीन शिर रहन्छ
मात्र तिम्रो थोत्रे इतिहास रहन्छ ।
-नन्दलाल आचार्य
तपेश्वरी-१, गल्फडिया, उदयपुर
