Skip to content

“छरिएका कविता” मा अभिव्यक्तिएको देशप्रेम

  • by


(१) परिचयः-

यस समाजमा रातलाई दिन र दिनलाई रातका रुपमा हेर्ने र आफ्नो स्वार्थको घैलो टन्न भर्ने व्यतिmहरुको कमि छैन । हामी उज्यालोका उपासक हौँ । रात नवितीकन उषाको आगमनको इच्छा राख्नु भुल हुन्छ । रातको सन्त्रासयुक्त कहर काटेपछि मात्र दिन पाउने रहर पूरा हुन्छ । यस्ता रातका उपासकहरुबाट राष्ट्रलाई नबचाए राणा शासकले, पञ्चायती निरंकुस व्यवस्था र शासकहरुको कुर्सीमोह एवं हानथापले पछि पारिएका हामी कहिल्यै अघि सर्न सक्दैनौँ । हृदयदेखि नै मन, वचन र कर्मले राष्ट्रप्रति प्रेम दर्साउनेहरुको ताँती पनि हामीकहाँ लामै छ । त्यस ताँतीमा काव्यात्मक क्षमता सहितको कलम लिएर उभिएका समकालीन पुस्ताका एक चर्चित साहित्यकार हो- रामविक्रम थापा । वि.सं.२०२६ साल पुस २५ गते खोटाङ जिल्लाको दुर्गम ठाउँ बाम्राङ गाविस वडा नं.—८ मा जन्मेका, हाल इन्द्रपुर-१, मोरङमा बसोबास गर्दै आएका र बालकन्या मा.वि. धर्तुङ्ग, खोटाङमा मा.वि. र उच्च मा.वि.मा गणित विषयको शिक्षण गर्दै आउनुभएका साहित्यकार थापा कलिलै उमेरमा साहित्यको महासागरमा पौडी खेल्न थालेका हुन् । बरिष्ठ साहित्यकार परशु प्रधानको कथनले समेत यसको पुष्टि गर्दछ । बालपोषको भुमिकामा उनी लेख्छन्- “जुन वेला हामी (परशु प्रधान र कल्पना प्रधान) खोटाङ अर्थात् दिक्तेलमा विकासे प्रशासक भएर बसेका थियौँ, त्यस वेला रामविक्रम थापा ७/८ कक्षाका मेधावी विद्यार्थी थिए । त्यस जिल्लामा आफू बस्दा साहित्यिक वातावरण बनाउने प्रयास गरेको थिएँ, त्यसको एउटा उपलव्धी वा फूल रामविक्रम थापामा फुलेको पाउँदा अत्यन्त हर्षित छु ।” अहिले उनी लेखन र शिक्षण कार्यमा संलग्न छन् । त्यसैले गर्दा पनि उनको बाच्ने आधार कलम नै हो । जागिरे जीवनले भौतिक सुख र शान्ति दिए पनि उनी भौतिक सुख र सन्तोषलाई भन्दा मनको सुखलाई प्राथमिकता दिने गर्छन् । थापाको स्वाध्यायनको दायरा निकै फराकिलो रहेको उनका बौद्धिक रचनाहरुले पुष्टि गर्दछन् । (१) पात्रहरु (लघुकथा संग्रह २०५५) (२) छरिएका कविता (कविता संग्रह २०५६) र (३) बालपोष (बालकविता संग्रह २०६४) गरेर तीनवटा कृतिहरु प्रकाशन भइसकेका छन् भने प्रकाशनकै मुखमा आएका कृतिहरुको संख्या ३ रहेको छ । ती कृतिहरु हुन् -(१) जोगी खिचडी (लेख/निबन्ध संग्रह २०६२), (२) विगतका साक्षात्कार (अन्तर्वार्ता संग्रह), र (३) अध्ययनको चिन्तन-मन्थन (समीक्षा संग्रह) । उनी विशेष गरेर कविता, मुक्तक, लघुकथा, गजल, लेख-निबन्ध, समीक्षा, हाँस्यव्यङ्गय र अन्तर्वार्ता विधामा कलमको निब खियाउँदै आएका छन् । रोगले गाँजेरको प्रतिकूल अवस्थामा पनि आपूmभित्रको व्यथा लुकाउँदै साहित्यको रथ हाँक्न कन्जुस्याइँ पटक्कै नगरेकाले पनि उनलाई यो सफलता मिलेको हो । दर्जनौं पत्रपत्रिकाहरुमा आफ्ना रचनाहरु प्रकाशन गराइसकेका र प्रकाशन गराइरहेका स्रष्टा थापाको कलमप्रति अधिकांश पाठकहरु सकारात्मक छन् । जीवनको विमति, विसंगति, अमूर्तता, अवचेतनता र स्वच्छन्दतामा वैयक्तिक शब्दक्रीडा गर्ने प्रतिभाशाली स्रष्टा थापाको साहित्यिक योगदानको कदर गर्दै विभिन्न संघसंस्थाले उनलाई विविध पुरस्कारले सम्मानित गरेका छन् । उनले पाएका पुरस्कारहरु हुन्- (१) ने.नि.क. संगठन खोटाङबाट अभिनन्दन, (२) धनहाङमा-भैरव (राष्ट्रिय) कविता पुरस्कार-२०५७ (मोरङ्ग) (३) उत्कृष्ट कला पुरस्कार-२०५८ (हिडापाली, मोरङ्ग) । उनी (१) नेपाल रेडक्रस सोसाइटी, (२) सुगन्ध प्रकाशन, काठमाण्डौ, (३) रावाक प्रतिष्ठान खोटाङ, (४) वाणी प्रकाशन, विराटनगर, (५) साहित्य संचार समूह, इटहरी जस्ता संघसंस्थाका आजीवन सदस्य हुन् । यसबाट पनि उनको समाजसेवा, स्वदेशप्रेम र साहित्यिक अनुराग स्पष्टिन्छ ।

(२) कृतिगत विशेषताः-

कवि रामविक्रम थापा “छरिएका कविता” कविता कृतिमा

—अग्रज साहित्यिक स्रष्टाप्रति श्रद्धाले शिर निहुर्याउँछन् ।

—सर्वस्व देशप्रेम ठान्दै देशभक्तिको गीत गाउँछन् ।

—प्रेम-प्रणयका माध्यमबाट जीवनको रहस्य खोतल्दछन् ।

—भोकले दाविएको पेट देख्दा र नाङ्गो आँङ भेट्दा समानताको बकालत गर्दछन् ।

—यता पीडा, उता अभाव र त्यता भताभुङ्ग भेट्दा जीवनवोधले मर्माहत हुन्छन् ।

— खोटाङको प्रकृतिले मोहित पार्दा त्यसैको भजन गाउँछन् ।

—अन्याय अत्याचारले सीमा नाघेको र थिचोमिचोको लेखाजोखा नभएको भेट्टाउँदा विद्रोहको स्वर सुसेल्दछन् ।

—काम गरिखानेका हातगोडा जंजिरले बाँधेर दासत्वको पाठ पढाइएको बखत स्वतन्त्रता र स्वअस्थित्वको गाथा रच्ने मन गर्दछन् ।

—गाउँ नै गाउँको देश, अल्प शिक्षित र अधिकांश अशिक्षित नागरिक बसेको देशको नागरिक हुनुको बोधले ग्राम्य सरल भाषालाई सलल बग्न दिई सरलता भित्रैबाट मीठास पैदा गर्दछन् ।

—जीवन र जगत्का यथार्थलाई जीवन्त रुपमा उतार्न सक्ने विषय, विम्ब र प्रतीकहरुको छनौट गर्न खप्पिस छन् ।

—लयात्मक, गेयात्मक र माझिएको भाषाशैलीको प्रयोगबाट काव्यात्मक भाव व्यक्त गर्ने गर्दछन् ।

यस अर्थमा कवि थापाका कृतिगत विशेषतालाई निम्न बुँदाहरुमा कैद गर्न सकिन्छ ।

—परिष्कारवादी जीवनशैलीबाट प्रभावित हुँदै स्वच्छन्दतावादी भावधाराको रथ हाँक्ने एक सारथि ।

—राष्ट्रवादी, मानवतावादी र प्राकृतिक सौन्दर्यताका असल पुजारी ।

—जीवनवादी स्वर उराल्दै उज्यालो भविष्यको चाहना राख्ने ।

—मिहिन व्यङ्गयको प्रयोग गर्दै असंगत पक्षप्रति रोष व्यक्त गर्ने ।

—लेखनाथीय परिष्कार, देवकोटेलीय भावोन्मेष र भानुभक्तीय सरलता र सहजतालाई अधिकांश रुपमा समेटेर काव्य सिर्जना गर्ने ।

—सामाजिक असमानता शोषण र अन्यायलाई हाँक दिने ।

—पद्यात्मक र गद्यात्मक शैली प्रयोगका कुशल सर्जक ।

—छानीछानी सहज भर्रा र मीठा नेपाली शब्दहरुको प्रयोग गरी भावमाधुर्यताको उत्कृष्ट प्रक्षेपण गर्ने ।

—सरल, सम्प्रेष्य, ग्राह्य एवं प्राञ्जल भाषाशैलीमा भाव सम्प्रेषण गर्ने कुसल काव्य पारखी ।

(३) छरिएका कविता कृतिमा देशप्रेमको विश्लेषणः-

२०४३ सालदेखि २०५४ सालसम्मका विभिन्न पत्रिकामा प्रकाशित ३८ वटा र अन्य ८ वटा गरेर जम्मा ४६ वटा कविताहरुको संकलन कृति हो- छरिएका कविता । यसमा विभिन्न समयमा गोरखापत्र, मधुपर्क, आरसी, सप्तकोशी, चट्याङ्ग, ओइरो, पारिजात, दायित्व, गरिमा, पूर्वाद्ध, मिर्मिरे, अभिव्यक्ति, प्रतिभा, नेपालीपत्र, कान्तिपुर, नवकविता, जनमत, कविता, सगर, साथी र मिलन जस्ता पत्रपत्रिकाहरुमा प्रकाशित भएका ३८ वटा कविताहरु परेका छन् । प्रबलरुपमा देशभक्तिको गाथा समेटिएका कविताको स्ांख्या भने ५ मात्र छ । ती हुन्— माटोको माया, स्वदेशको माया, मेरो राष्ट्र र म, देशलाई अझै सञ्च छैन, र नेपाल भ्रमण वर्ष—१९९८ । अन्य कविताहरुमा समेत देशभक्तिको भावना यत्रतत्र पाउन सकिन्छ ।

सम्पूर्ण नागरिकको मनको जुहार र मुहार स्वदेश प्रेम हो । रसिलो विहानी बनाउन मात्र हैन जीवनको सार नै स्वदेशको माटोसँग गाँसिएको हुन्छ । स्वदेशको माटो नै हरेक नागरिकको मुटु हो । यहीँ माटोमा आफ्नो जाँगर, पौरख देखाए मात्र माम पाइन्छ, जीवन धन्य बन्दछ । माटोलाई माया गर्नु नागरिक धर्म हो । माटोप्रति ममता दर्साएर अघि बढ्नेको जीवनमा सदाबहार रुपमा वसन्त भित्र्न्छ । कवि रामविक्रम वशीभूत भएर सम्बोधन गर्दछन्—

माटो नै मुटु हो म बाचूँ यसमा नेपाल मेरो घर
माटोको ममता फुलेछ कविता माटो छ मेरो भर ।
माटो जीवन हो वसन्त वनको छाँया यसैमा धर
माटो सुन्दर कल्प—वृक्ष मनको माया यसैमा गर ।
(माटोको माया, पृष्ठ—२)

नेपाल हरेक नेपालीको निम्ति रमणीय स्वर्ग हो । यहाँ सर्वोच्च हिमटाकुरादेखि लिएर महोत्तरीको गहिराइसम्मको भू—भाग छ । यहाँका पाखा—पखेरा, उकाली—ओराली, लेक—वेंसी, भञ्ज्याङ्ग, मैदानी फाँटहरु सुन्दरता र रमणीयताका बिम्बहरु हुन् । यहाँ हरेक वर्ग र समुदाय एकसूत्रमा उनिएका छन् । यहाँ जन्मन पाएकोमा हरेक नेपालीले गर्व गर्नुपर्छ । परिवर्तन र स्वतन्त्रताका संवाहक हरेक नेपालीले यस विशाल धरामा वास गर्न र गाँस बटुल्न पाएकोमा गर्वले शिर ठाडो पार्नुपर्छ । स्वदेशप्रति कृतार्थ हुँदै कविको कलम बोल्छ—

नेपाल—आमा धरती छ साझा
अग्लो सबैको छ हिमाल राजा ।
भाषा छ राम्रो अनि भेष राम्रो
नेपाल यो सुन्दर देश हाम्रो ।
(स्वदेशको माया, पृष्ठ ४)

देश विकसित भए मात्र नागरिक सप्रन्छन् । हरेक सच्चा नागरिकलाई स्वदेशप्रेमले मोहनी लगाएको हुन्छ । फुट्दा उठ्न सकिन्न जुट्दा गन्तव्य विन्दुमा पुग्न फटाफट हिंड्न सकिन्छ । स्वदेशको अनीष्ट चिताउने व्यक्ति मान्छे नभएर मान्छेको मुहारमा दानव हो । कविका निम्ति पनि मेरो भन्ने एउटा चिज छ, त्यो हो- राष्ट्र । उनी राष्ट्रको समुन्नति र उज्जवल भविष्यका निम्ति हरेक नेपालीलाई होस्टेमा हैंसे गर्न आह्वान गर्दछन् । उनी नेपाललाई आफ्नो आँखाको नानी सम्झन्छन् । आफ्नो मुटुको प्रत्येक स्पन्दनमा स्वदेशको धुकधुकी भेट्दछन् । उनले फेर्ने हरेक श्वासमा र उनले खाने हरेक गाँसमा स्वदेशको प्यार मिसिएको पाउँछन् । उनी बोल्दछन्-

होष्टेभन्दा म हैंसेको बाजा आफ्नै बजाउँछु
आँखाभित्र छ नानी यो राष्ट्र मेरै सजाउँछु ।
मुटुभित्र बसेको यो मुटुमै हर्हराउँछ
आङ-नाङ्गो, भुँडी-भोको सपना बर्बराउँछ ।
(मेरो राष्ट्र र म, पृष्ठ-३०)

एउटै हत्केलाका औंलाहरु त समान हुँदैनन्, एकै आमा-बुवाका सन्तान त समान स्वरुप र स्वभावका हुँदैनन् भने एक देशका अनेकन जनतामा समान विचार, समान आकांक्षा र समान कार्यशैली भेट्नु आकाशको फल आँखा तरी मर भने सरह हुन्छ । नेपाल १०४ वर्षे राणकालीन कालरात्री पार गर्यो, ३० वर्षे निरंकुश पञ्चायती व्यवस्थाको महारोग खेप्यो र हरतरहले मुक्त भयो तर मुक्तिको हर्ष मनाउन सकेन । नेताहरुको कुर्सीको भागबण्डा र लुछाचुडीले उही राणाकालीन युगको गन्धले दुर्गन्धित पार्यो । मानवीय मूल्यमान्यता र सिर्जना कुहिरोको काग बन्यो । देश अधोगतितर्फ घचेटियो । यसरी देश विरामी पर्यो, असल डाक्टर र बैद्यको खोजीमा देशले घनचक्कड लगाइरह्यो । ठाउँ र समयमा असन्तुष्टिको बोली नबोली र निस्वार्थ कार्य नगरीकन देशको हित हुन्न । देशले अग्रगति नभेटे देश बिरामी हुन्छ । बिरामी देशलाई निको पार्ने डाक्टर र बैद्य भनेका असल नागरिक हुन् । अतः असल विचार र कार्य गरेर स्वदेशप्रेम झल्काउनु हरेक नागरिकको कर्तव्य र दायित्व दुबै हो । कविको कलम वर्तमानको अव्यवस्थित रवैयाप्रति आक्रोशयुक्त स्वर सुसेल्दछ —

भोको मान्छेलाई डाँडा पारी भन्नुहुँदैन
सचेत जनतालाई अब-
फोस्रा नारा र भाषणले छुँदैन,
ए देश चलाउने राष्ट्रकर्मीहरु हो !
अब यो कुटिल र कलुषित चालाले भएन
थाहा हुनुपर्यो- देशलाई अझै सञ्च छैन ।
(देशलाई अझै सञ्च छैन, पृष्ठ-३६)

नेपालमा च्छो-रोल्पा जस्ता हिमताल, सगरमाथा, कंचनजंघा जस्ता हिमटाकुरा, लामटाङ्ग, खम्बु जस्ता हिमनदी भएको अपार प्राकृतिक सम्पदा भएको मुलुक हो । प्राकृतिक सम्पदाले नै हामी धनी छौँ । हामी भौतिक सुखभन्दा आध्यात्मिक सुखलाई उत्तम ठान्छौँ । अतिथिलाई देवतुल्य ठानी व्यवहार गर्ने हाम्रो सनातन परम्परा छ, संस्कार छ । हामीले नेपाल भ्रमण वर्ष-१९९८ मनायौँ । त्यस वेला हाम्रो आतिथ्यलाई स्वीकारेर मनग्यै पर्यटकहरुको ओइरो लाग्यो । देशले विदेशी मुद्रा आर्जन गर्ने र बेरोजगारले रोजगार भेट्ने अवस्था सिर्जना भयो । हर्षको वर्षको रुपमा हामीले सन् १९९८ लाई धुमधामका साथ मनायौँ ।

आफू मात्रै परिचय विना स्वर्ग भन्ने कहाँ छ ?
फुल्दो खुल्दो चिरसुख थलो स्वर्ग भन्ने यहाँ छ ।
घुम्दै आओ अतिथि-जन हो ! भव्य यात्रा सपार
हाम्रा देवो अतिथि भव हे ! वर्ष हो यो अपार ।
(नेपाल भ्रमण वर्ष-१९९८, पृष्ठ-५७)

(४) उपसंहारः-

यसरी विविध विधामा त्यसमा पनि कविता र लघुकथा विधामा सशक्तरुपले कलम चलाउँदै आएका स्रष्टा रामविक्रम थापा बलियो कलम भएका साहित्यकार हुन् भन्ने कुरा प्रकाशित कृति र प्रकाशनको लहरमा उभिएका अन्य कृतिहरुले पुष्टि गर्दछन् । मोफसलमा बसेर कलम चलाउन शुरुवात गरे पनि प्रतिभा र कर्मचारी साहित्यप्रधान पत्रिकाहरुको सम्पादन गरिसकेका र गरिरहेका छन् । आफूले भोगेको समसामयीक परिस्थितिलाई समेट्दै हृदयमा छाप बसाउने तागत भएका थापाको कलम स्वदेशप्रेम, मानवतावाद, प्रकृतिवाद, विकृतिविसंगतिको चिरफारप्रति बढी मुखरित भएको छ । समाजले दुःख दिँदा पनि साहित्यले सुख दिन छाड्दैन भन्ने भावनाले उनमा छाप छाडेको छ । त्यसैले उनको कलम समाजमा व्याप्त अभाव, वेरोजगारी, थिचोमिचो, शोषण-दमनलाई टुलुटुलु हेरेर बस्न सक्दैन । लेखकसँग छउँञ्जेल रचना वा कृति लेखकको हुन्छ प्रकाशन भइसकेपछि त्यो रचना वा कृतिको पाठकको धन हुन्छ, लेखकले पाठकलाई आफ्ना विचारमा सहमत गराउन सक्यो भने मात्र त्यो लेखक जीवित रहन्छ नत्र हुन्न भन्ने विचारबाट उनी प्रेरित छन् । जागिरे र लेखकीय दुबै जीवनलाई एकै साथ हाँक्दै हर्दम व्यस्त जीवनमा रमाइरहेका स्रष्टा थापाले आफ्नो कलमलाई दिनप्रतिदिन संख्यात्मकतातर्फ भन्दा गुणात्मकतर्फ झुकाएका छन् । आफ्ना सबै जसो कृति या रचनाहरूमा यिनको संवेदनशील उपस्थिति त छदैंछ एक दुराग्रहमुक्त समीक्षक रूपमा पनि यिनको स्वर चर्को छ । निसन्देह; थापाको यो बौद्घिक उचाइ मोफसलवासीे हामी कलमजीविहरूका निम्ति गर्वको कुरा हो । बितेको अढाई दशकदेखि जीवनयापन र सृजनयापनका क्षेत्रमा विद्यमान् अनेक प्रकारका उकाली-ओरालीहरू झेल्दै आएका पूर्वाद्धमा होचा रामविक्रम थापाको साहित्यिक कद आज जुन उँचाइमा अग्लिएको छ त्यो यिनको दीर्घकालीक र कष्टसाध्य साहित्य साधनाकै प्रतिफल हो । मोफसलमा बसेर केन्द्रसित प्रतिस्पर्धा गर्ने काम चानचुने होइन । मोफसलका स्रष्टाप्रति ख्याति प्राप्त पत्रिकाहरुले सौताको व्यवहार गरिरहेको परिप्रेक्ष्यमा खोटाङ जस्तो दुर्गम र साहित्यरहीत ठाउँमा रहेर राष्ट्रिय ख्याति हासिल गर्नु सम्पूर्ण मोफसल बासीहरुको लागि अनुकरणीय पाठ हो ।

नन्दलाल आचार्य
तपेश्वरी-१,गल्फडिया,उदयपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *