एक पटक मैले कतै लेखेको थिएँ– ‘वास्तवमे असल साहित्य मस्तिष्कके मसी सँ नहि लिखल जाइत अछि, हृदयके मसी सँ लिखल जाइत अछि । हृदयमे मसि सञ्चित करैल पैघ, त्याग आ तपस्या चाही । लिखव कहिक नहि लिखाइबला आ नहि लिखब कहियौ क कतौ न कतौ सँ प्रष्फुटित होइबला चिज थिक– साहित्य । साहित्यसाधक जेजेहेन जीवन भोगने अछि, जे चिजमे अपना भिजल अछि आ जे सँ अपनके छुवाएल अछि, ओकरे हुबहु लिपीवद्ध करैत अछि । एना करैत काल कतौ अपने आपके चरम आनन्दमे पहुचेलाह बात आवसकेत अछि । कतौ नहि निक सँ बिझायल बातसभ व्यक्त होब सकैत अछि । साधक स्रष्टा मात्रे नहि भक जीवन आ जगत्के द्रष्टा सेहो होब जायत अछि ।’ यत्तिखेर म यहीँ टुङ्गोमा पुगेको छु ।
लेख्नु स्वयम् हिमाल चढ्नुझैं एक जटिल कार्य हो । अझ त्यसमा पनि खोज पत्रकारितामा कलम चलाउनु समर लड्नुभन्दा गाह्रो काम हो । मनभित्र गुम्सेका गन्थनलाई लेख्य रूप दिन केही सजिलो होला तर कुनै सत्य र तथ्यगत कुराहरूलाई वस्तुनिष्ठ तवरले उतार्नु भने चानचुने कुरा पक्कै होइन । यसका लागि आँखाले देखेका कुरा हुबहु कागजमा उतार्न सक्ने सरल मन चाहिन्छ, तरल मन चाहिन्छ । वैयक्तिक संवेदनाहरुबाट अग्लिनुपर्छ । आफू स्वयम् अनुभूतिहरुमा पग्लिनुपर्छ । अनि मात्र प्रसव पीडा भोग्दै सन्तान जन्मिएझैं जन्मन्छ नवीन सिर्जना र प्रारम्भ हुन्छ नूतन अध्याय । त्यस्तै लामो समयदेखि खोजपत्रकारिता र लेखन यात्रामा अविरल हिँडिरहेका सर्जक श्यामसुन्दर यादव पनि आफ्नो माटोको सुवासले तानिए र लेख्न हिम्मत गरे दोस्रो कृति– ‘हाम्रो सप्तरी’ । उनले जन्मभूमि्कर्मभूमि सप्तरी जलेको देखेँ, आफन्तहरूले नै छलेको देखे र अरूहरूले चिन्दै नचिनेको भेटे । त्यसैले कम्मर कसे, सप्तरी जिल्लाका कुनाकाप्चामा पुगेर त्यहाँ भएका धार्मिक, आर्थिक, सांस्कृतिक, ऐतिहासिक्पुरातात्विक महत्वका तथ्यहरू सङ्कलन गरी पुस्तकको रूप दिन ।
हुन त, उनले प्रथम कृति ‘शखडेश्वरी छिन्नमस्ता भगवती दर्शन’मा समेत आफ्नो खोज्अनुसन्धानको छवि देखाइसकेका छन् । अप्रकाशित अवस्थामै रहेका ‘मैथिली नेना लोकगीत ः एक अध्ययन’ होस् या ‘देश चिनाउने मधेसी’ नै किन नहोस् जे जति काम गर्न सकेका छन् सबैमा उनको खोज्अनुसन्धानको लामो लगनशीलता नै पाउन सकिन्छ । वास्तवमा रेडियो उद्घोषणमा होस् या गीति लेखन होस् वा कविता लेखनमै किन नहोस् सांस्कृतिक, धार्मिक र ऐतिहासिक पक्षलाई जोडदारका साथ उतार्नमै उनी केन्द्रित भएको पाइन्छ । उनका सिर्जनामा समाजको प्रतिबिम्व पाइन्छ । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक कुराहरूप्रति अनुराग भेटिन्छ । जिन्दगीमा भोगिएका सुख दुःखभन्दा अलग रहेर मिथिलाञ्चलका रीतिरिवाजमै परिक्रमा गरिरहेको पाइन्छ ।
स्थानीय क्षेत्रको विकासमा कलाकारिताले समेत महत्वशाली भूमिका खेलेको हुन्छ । मानवीय जीवन कलायुक्त हुनुपर्छ । कलाविहीन हुनु मानव हुनुबाट बञ्चित हुनुजस्तै हो । भनिन्छ, भगवान् शिव सर्वकलाले सम्पन्न थिए, भगवान् कृष्ण समेत सोह्र कलाले युक्त थिए साथै राममा पनि केही कला थिए । आजका हामी मान्छे कलाकारितामा विश्वास नराख्ने भुल गरिरहेका छौँ । खालि धनोपार्जनमा ध्यान लगाइरहेका छौँ । कलाले धन मात्र उपार्जन गर्दैन, जीवनको धरोहर समेत निर्माण गर्दछ । अतः कलाको सम्मान हुनुपर्छ । सानो काम भनेर तुच्छरूपमा लिने सोचको विपक्षमा नउभिई हामी जीवनवोध गर्न सक्दैनौँ । हामीमा के–कस्ता कला छन् र के–कस्ता कामकाजको सम्मान गर्न सक्नुपर्छ भन्ने कुराको आभाष दिन र लिन व्यवहारोपयोगी जम्मा चौसठ्ठी वटा त्यस्ता कला छन् जसको अध्ययनमनन, चिन्तन र सम्मान गर्नाले जीवनका दुर्भाग्यका घडीहरू क्रमशः छोटिँदै जान्छन् । ती हुन्–
(१) गायन, (२) वादन, (३) नर्तन, (४) नाट्य, (५) चित्रकारी, (६) विशेषकच्छेद्य (टीकाटाला गर्नु), (७) तण्डुलकुसुमावील (चामलका दानाले फूलबुट्टा बनाउनु), (८) पुष्पास्तरण (फूलैफूलको श्रृङ्गार रच्नु), (९) अङ्गराग (बुकुवा–पाउडर आदि लगाउनु), (१०) मणिभूमिका–कर्म (घर सजाउनु), (११) शयनरचना (विछ्यौना सजाउनु), (१२) उदकवाद्य (जलतरङ्ग बजाउनु), (१३) उदकाघात (पचका हान्नु), (१४) चित्रायोग (उमेर वा अवस्था परिवर्तन), (१५) माल्यग्रन्थन (माला गाँस्नु), (१६) केशशेखरापीड (कपालमा फूल सजाउनु), (१७) नेपथ्य–योग (पोशाक फेर्नु), (१८) कर्णपत्रभङ्ग (ढुङ्ग्री, काँटा लगाउनु ), (१९) गन्धयुक्ति (अत्तर आदि लगाउनु), (२०) अलङ्कार–योग (गहना पहिरनु), (२१) इन्द्रजाल (चटक गर्नु), (२२) कौचुमार–योग (रूपरचना), (२३) हस्तलाघव (हल्का हातले चाँडो काम गर्नु), (२४) सूपकर्म (खाना पकाउने काम), (२५) पानकादि भोजन (सर्वत आदि बनाउनु), (२६) सूचिकर्म (सिलाइको काम), (२७) सूत्रक्रिया (धागो, बत्ती आदि कात्नु), (२८) वीणा–डमरुवाद्य (सितार, तबला आदि बजाउनु), (२९) प्रहेलिका (जान्ने–गाउँखाने कथा, कविता रच्नु), (३०) प्रतिमाला (अन्त्याक्षरी मिलाएर श्लोक भन्नु), (३१) दुर्वाचक–योग (कठिन पदहरूको अर्थ पत्ता लगाउनु), (३२) पुस्तक–वाचन (राम्ररी पुस्तक पढ्नु), (३३) नाट्यकला (हाउभाउ झिकेर नाटकहरू खेल्नु, खेलाउनु), (३४) समस्यापूर्ति (एक पाउमा अरू पाउ थपेर श्लोक पूरा गर्नु), (३५) पट्टिकाबाण–विकल्प (मेच, कुर्सी आदि बनाउनु), (३६) तक्षकर्म (काठको मर्मत गर्ने काम), (३७) तक्षण (सिकर्मी काम), (३८) वास्तुकर्म (घर आदि बनाउने काम), (३९) रूप्यरत्न–परीक्षा (सुन, चाँदीको काम), (४०) धातुकर्म (धातुको काम, ढलोट आदि), (४१) मणिराग–ज्ञान (जुहारती काम), (४२) आकरज्ञान (खनिज विद्या), (४३) वृक्षायुर्वेद–योग (बगैँचा बनाउने काम), (४४) सजीवद्यूत (चरा, भेडा आदि लडाउने काम), (४५) शुकसारिका–प्रलापन (सुगा–मैना पालेर पढाउनु), (४६) उत्सादान (तेल मालिस गर्ने काम), (४७) अक्षर–मुष्टिका कथन (साङ्केतिक शब्द वा अक्षरबाट कुरा गर्नु), (४८) म्लेच्छितविकल्प (विदेशी भाषाहरू जान्नु), (४९) देशभाषा–ज्ञान (देशका विभिन्न भाषा जान्नु), (५०) पुष्पशकटिका निमित्तज्ञान (प्राकृतिक लक्षणद्वारा शुभाशुभ कुरा जान्नु), (५१) यन्त्रमातृका (जन्तरमन्तर गर्नु), (५२) धारण–मातृका (रक्षाबुटी बाँध्ने काम), (५३) सम्पाठ्य (अर्काले पढेको सुनेर त्यस्तै पढ्नु), (५४) मानसी–काव्यक्रिया (कविता, काव्य आदि रच्दै सुनाउनु), (५५) अभिधानकोश–छन्दोज्ञान (शब्दकोश र छन्दका लयहरू जान्नु), (५६) क्रिया–विकल्प (क्रियाको प्रभाव बदल्नु), (५७) छलितयोग (ठगी वा ऐयारी गर्नु), (५८) वस्त्रगोपन (लत्ताकपडाको हिफाजत), (५९) द्यूतक्रीडा (जुवा), (६०) आकर्षकक्रीडा (पासा, बुद्धिचाल आदि खेल), (६१) बालक्रीडन (केटाकेटीको खेल), (६२) वैनायिकी (नम्रता, शिष्टाचार), (६३) वैतालिकी (हात्ती, घोडा आदि सधाउनु), (६४) वैजयिकी (लडाइँ, कुस्ती, कसरत आदि) ।
यस कृतिमा उपर्युक्त वर्णित कुराहरूले घनिभूतरूपमा स्थान नभेटे पनि राजविराज, हनुमाननगरजस्ता ऐतिहासिक महत्वका नगरहरूको वर्णन, छिन्नमस्ता, राजदेवी, कंकालिनीजस्ता शक्तिपीठहरूको बखान, गोलघर, कोशी टप्पु मध्यवर्ती क्षेत्रको प्राकृतिक रमणीयताको चर्चा, बरमझियाको पेडा, महुलीको दुग्ध विकास, फत्तेपुरको मत्स्य विकास केन्द्रको वयानका साथै तरकारी खेती, मत्स्यपालन, केरा वगानजस्ता आर्थिक विकासको सन्दर्भ उल्लेखमै कृतिले पूर्णता पाएको छ । मैथिल नारीहरूका चित्रकला, हस्तकलासम्बन्धी सीपको चर्चा रोचक ढङ्गले गरिएको छ । प्रायः सबैजसो क्षेत्रका कुराहरूमा धेरथोर ध्यान पुर्याई र जनश्रुतिलाई मुख्य आधार बनाई मिहिन ढङ्गले तथ्यहरू केलाउनु नै उनको विशेषता देखिन्छ । लोकजीवनमा व्याप्त मूल्य र मान्यता आर्थिक पक्षसँग कसरी जोडिएका छन् र कसले के गरेमा आन्तरिक र वाह्य पर्यटनमा थप टेवा पुग्छ भन्ने सारगर्भित विचार, सुझाव सम्प्रेषणमा समेत लेखक यादव पछि परेका छैनन् ।
भाषा, साहित्य, कला र संस्कृति हाम्रा सम्पत्ति हुन् । मानवले आफ्नो जीवनको प्रादुर्भावको स्वर्णिम विहानीदेखि अस्तसम्म सङ्गीतलाई अस्तित्वको रूपमा स्विकार गर्नुपर्छ । मानव जीवनमा सङ्गीतले नछोएको अध्याय नै छैन । वास्तवमा मानव सङ्गीतमय वातावरणमै जन्मन्छ र सङ्गीतमय वातावरण हुँदै श्मसानघाटसम्म पुग्छ । मृत मानिसलाई ‘राम नाम सत्य’ जप्दै श्मसानघाट लग्ने प्रथा यसकै ज्वलन्त उदाहरण हो । प्रकृतिको कणकणमा सङ्गीत लुकेको हुन्छ । सङ्गीतको मुटु स्वर हो । स्वर आत्माको नाद हो भने आत्मा परमात्माको स्वरूप हो । आत्माको सम्बन्ध परमात्मासँग भएझैँ स्वरको सम्बन्ध आत्मासँग भएको मानिन्छ । यसलाई नादब्रह्म भनिन्छ । सामान्यतः गाउन, रुन त सबैलाई आउँछ तर जसले विवेक, अभ्यास र तपस्याको बलले स्वर र तालमाथि विजय प्राप्त गर्दछ, त्यसले समाजमा अलग्गै किसिमको आदर–सत्कार पाउँछ । लुगा धुँदा होस् या घाँस काट्दा होस् या गोठालो गर्दा नै किन नहोस्, हामी गीत गुनगुनाउँछौँ । त्यसबेला शारीरिक थकानलाई भुसुक्कै भुलेर अपार आनन्दको अनुभूति गरिरहेका हुन्छौँ । यसबाट गीत–सङ्गीतको शक्ति र सामथ्र्यलाई पर्गेल्न सकिन्छ ।
सप्तरी जिल्लाको सङ्गीतिक पक्षलाई भने ‘हाम्रो सप्तरी’ पुस्तकले समेट्न सकेको छैन । सङ्गीत भन्नासाथ वाद्यवादन, गायन र नृत्य आउँछ । रेटेर, फुकेर वा ठोकेर बजाई सङ्गीतको सरस तथा मनोरञ्जक स्वर, ताल आदि निकाल्ने सामग्री वा बाजा आदिलाई वाद्ययन्त्र भनिन्छ भने बाजा बजाउने काम नै वाद्यवादन हो । यस जिल्लामा ताल–वाद्य र सुर–वाद्यका प्रतिभाशाली वाद्यवादकहरू छन् । ताल–वाद्य लय प्रधान वाद्य हो जसले सङ्गीतमा लय कायम गर्छ । यस अन्तर्गत छालाले मोडिएका वा बनेका सम्पूर्ण वाद्ययन्त्रहरू आउँछन् । अर्कातिर सुर–वाद्य अन्तर्गत भने छालाले मोडिएका वा बनेका वाद्ययन्त्रहरू बाहेकका तार, रेशम, ताँत आदिको आन्दोलनबाट, फुकेर वा वायुबाट, काठ वा त्यस्तै वस्तुको ठोकाइबाट स्वर उत्पति हुने वाद्यहरू पर्दछन् । राग, तालबद्ध शब्दहरूको मनमोहक सिर्जना नै गीत हो । गीतलाई रागसँग मिल्ने र स्वरको प्रधानता हुने शास्त्रीय गीत र स्वर, तालमा गाइने तर शब्दहरूको प्रधानता हुने साहित्यिक गीत गरी विभाजन गरिएको पाइन्छ । सामान्यतः शास्त्रीय (छन्दोबद्ध) कविता, गजल, गीत, मुक्तक आदि जसलाई कम्तिमा स्वर, तालमा गाउन सकिन्छ ती सबै गीत अन्तर्गत नै आउँछन् । सप्तरी जिल्ला कलाकारहरूको राजधानी नै हो । कला क्षेत्रको विकासमा राज्य वा स्थानीय क्षेत्रबाट खासै रूचि नदेखाइए पनि जनस्तरबाट बडो उत्साह र उमङ्गका साथ लिएको पाइन्छ । यस क्षेत्रलाई आदर र सम्मानका रूपमा लिनु जरूरी छ । आर्थिक समुन्नतिको एउटा पाटो कलाकारिता क्षेत्र समेत बन्न सक्छ । यसले मौलिक सांस्कृतिक पक्षको जगेर्ना गर्ने काम समेत गर्दछ । कला क्षेत्रमा लाग्नेहरूलाई जीवन–गुजारा चलाउन त धौधौ पर्ने गरेको छ तर यसको संरक्षण र विकासले सांस्कृतिक परम्परालाई जगेर्ना गर्न र मौलिक इतिहास निर्माण गर्न ठोस सहयोग पुग्ने देखिन्छ । समाजमा देखिएको अराजकता र अस्तव्यस्ततालाई निर्मूल पारी समुन्नत समाजको सिर्जनामा समेत कलाकारिता क्षेत्रले एक शक्तिशाली अस्त्रको काम गर्न सक्छ ।
पर्यटनको रथ देशका केही चिनिएका पर्यटकीय क्षेत्रहरूले मात्र हाक्न सक्दैनन् । मुलुकका कुनाकाप्चामा मनोरम पर्यटकीय स्थलहरू रहेका हुन सक्छन् । राज्यले मात्र त्यसको खोजी गर्न सक्दैन । जनस्तरबाट खोजी भई त्यसको प्रचारप्रसार हुन सके त्यो नै श्रेष्ठ काम हो । हो, त्यही र त्यस्तै उद्देश्यको, प्रयत्नको र साहसको प्रतिफल हो– ‘हाम्रो सप्तरी’ । सप्तरी विविध धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थान भए पनि यसको प्रचारप्रसार अभावले ओझेलमा परेको छ । यहाँको आर्थिक विकासको मूल मेरूदण्ड कृषि भए पनि यस पुस्तकले हामीलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा सप्तरीको छवी अन्तर्राष्ट्रियस्तरको छ भन्ने कुराको वोध गराउँछ । यहाँका दर्जनौँ शक्तिपिठ, ऐतिहासिक नगर्स्थान, मठ, मन्दिर, गढी्ढिस्काहरू, प्राचीन दरबारका अवशेषहरू आदिको जानकारीले दिएर कृतिमा सप्तरी पनि आन्तरिक र बाह्य पर्यटकका लागि पर्यटकीय गन्तव्य स्थल बन्न सक्दछ भन्ने स्पष्ट सङ्केत दिएको छ । यस कृतिले जिल्लाको धार्मिक, पर्यटकीय र ऐतिहासिकस्थलका साथै यहाँको कला र संस्कृतिको प्रचारप्रचार गर्दै स्थानीय प्रतिभा र कृषि उत्पादन तथा वन पैदावारको प्रवद्र्धन गर्न सके बजारीकरणमा सहयोग पुग्ने कार्य हुने र त्यो सप्तरी बासीको मात्र नभई मुलुककै अर्थतन्त्रमा टेवा पुग्ने खालको गौरवकै विषय बन्न सक्ने निष्कर्ष निकालेको छ । स्थानीय उत्पादित विभिन्न वस्तुहरूको प्रचार प्रसार गराई त्यस्ता वस्तुको बजार विस्तार गर्न सकेमा स्थानीय स्तरमा आर्थिक क्रियाकलापको अभिवृद्धि र विकास गर्न सकिन्छ तर त्यसका लागि स्थानीय निकायहरूसँग हातेमालो गर्न भने पछि पर्नुहुन्न । जन्म दिने, कर्म दिने र जीवन बचाइदिइराख्ने आमाभन्दा पुज्य अर्को वस्तु किमार्थ हुन सक्दैन । सप्तरीका तिनै मौलिकता बोकेका तथ्यहरू र समथर मैदान, पाखा–पखेरा सम्झाउने कुराहरूले यस कृतिलाई अझ सुन्दर बनाएको छ । समाज रूपान्तरणमा गरिएको इमान्दार प्रयासका लागि पत्रकार तथा साहित्य सर्जक श्यामसुन्दर यादव धन्यवादका पात्र छन् ।
दुध, पेडा, कुखुरा, बाख्रा, माछा, तरकारी, आँप, बाँस, केरा खेतीबाट आत्मनिर्भर बन्न सक्ने स्थिति हुँदाहुँदै पनि प्रतिकूल वातावरणका कारणले यहाँ व्यसायीहरूले लगानी गर्न सकिरहेका छैनन् । भएका चुनौतीको सामना गर्दै सम्भावनाहरूलाई आर्थिक क्षेत्रसँग जोड्ने अनुकूल वातावरण हुने हो भने आर्थिक समुन्नतिको क्षेत्र मात्र नभई सप्तरी आन्तरिक र वाह्य पर्यटकीय केन्द्रको रूपमा विकसित हुन सक्छ । पूर्वाधार विकासमा राज्यको स्पष्ट नीति, कठोर कार्यान्वयन, स्थानीय बासीको इमान्दार संलग्नता र रेखदेख हुन सके बलान, त्रियुगा र सप्तकोशीजस्ता नदीहरूद्वारा वेष्ठित यो जिल्ला सदाबहाररूपमा अलकापुरी बन्न सक्छ । हो, त्यसका लागि जिल्लाबासी स्वयम्को इमान्दार प्रयासको खाँचो छ । हामीले संसार बदल्नु छ, दयाभावले कसैले बदली दिँदैन, सुरूआत आफैँबाट गर्नुपर्छ । त्यही रूपान्तरण, विकास र जागरणको एक सशक्त अभियानका रूपमा सप्तरीका सञ्चारकर्मी, लेखक तथा साहित्यकार श्यामसुन्दर यादवको ‘हाम्रो सप्तरी’ पुस्तक रहेको छ भन्दा अतिशयोक्ति गरेको नठहर्ला ।
–नन्दलाल आचार्य
लिटिल फ्लावर उच्च मा.वि., राजविराज–९, सप्तरी

Saptaryle garekaa bikaasa na
Saptaryle garekaa bikaasa na bhayara yatihaasik kuraako byaakhyaa sunna paaunu pani thulaikura ho ,bikaasamaa sadhai pachhi pareko jilaa maa kehi lekhanshiltaa dekhinu pani raamro kuraa ho ,jaatiya raajniti ra andh bidwataa ko nagareemaa kehi tarkiktaale thaaupaauna thaalekomaa khusi laagnu swabhaabikaiho
सप्तरीले गरेका बिकास न भयर यतिहासिक् कुराको ब्याख्या सुन्न पाउनु पनि ठुलैकुर हो ,बिकासमा सधै पछि परेको जिला मा केहि लेखन्शिल्ता देखिनु पनि राम्रो कुरा हो ,जातिय राज्निति र अन्ध् बिद्वता को नगरीमा केहि तार्किक्ताले ठाउपाउन थालेकोमा खुसि लाग्नु स्वभाबिकैहो। ,
नारायण् पोखरेल्