पैतालाको धुलो सम्झी
खुट्टाले नि किच्न सक्छौं ।
हामी तिम्रो लगाम हैं
चाहेजति खिच्न सक्छौं ।।१।।
आफ्नो शक्ति जमाउन
परदेशीको भक्ति गर ।
कमाउँदै मुटु आफ्नो
सीमा छोडी ओर सर ।।२।।
आत्मा बेची रमाउँछौं
बैरी खुट्टा थिच्न सक्छौं ।
हामी तिम्रो लगाम हैं
चाहे जति खिच्न सक्छौं ।।३।।
आफैं आफैं कुटामारी
गरी देश चलाउँछौं ।
भ्रष्ट्रचारको बोट रोपी
देशमा पैसा फलाउँछौं ।।४।।
अगाउँन्जेल घिच्नु अब
डकारी पेट् मिच्न सक्छौं ।
हामी तिम्रो लगाम हैं
चाहे जति खिच्न सक्छौं ।।५।
स्वच्छ थियो राजनीति
हेर्दा हेर्दै गन्धा भयो ।
मातृभुमि बेची खाने
दाजुभाइको धन्दा भयो ।।६।।
बैरी सीमा मात्र किन
पुरै देश धिच्न सक्छौं ।
हामी तिम्रो लगाम हैं
चाहेजति खिच्न सक्छौं ।।७।।
पैतालाको धुलो सम्झी
खुट्टाले नि किच्न सक्छौं ।
हामी तिम्रो लगाम हैं
चाहेजति खिच्न सक्छौं ।।…….दर्पण
