Skip to content

बन्द संस्कृति


आदिम अरण्यवासी मनुवाहरूको
आज्ञा अनुरुप
आज बन्दको दिन हो –
हामीले मनाउँदै आएको ।
तर
पृथ्वी आफ्नो अक्षमा यथावत घुमिरहेको छ ।

आज पनि
मान्छेहरू –
बारीमा मकै गोडिरहेका छन् र
वस्तुभाउ चराइरहेका छन् ।
खोला बगिरहेको छ र
मान्छेहरू –
दुवाली थुनेर माछा
मारिरहेका छन् ।

मान्छेहरू सडकमा हिंडिरहेकाछन्
अनि
मान्छेका पाइला पाइला पछ्याएर
सडक हिंडिरहेको छ ।

चराहरू जस्तै मान्छेहरू
प्याराग्लैडिङको पखेटा जोडेर
उडिरहेका छन् ।

बन्द छैनन् -स्कुले नानीहरू ।
उनीहरू समयचेतको भकुण्डो
उफारिरहेका छन् ।

पूर्वदेखि पश्चिमको घाम
अनि
पश्चिमदेखि पूर्वको जून पनि
रोकिएका छैनन् ।

न मान्छेहरूको विचार बन्द छ
न ती विचारका शृंखलाहरूको
गति बन्द छ ,
खै, आजको बन्दलाई कसरी
बन्द भनूँ म ?

ए, बन्दका हिमायती
बन्द बहादुर !
सकेका छैनौ -तिमीले चलाउन
तिमीलाई छुने हावाका
झोक्काहरूलाई ।
सकेका छैनौ -तिमीले हल्लाउन
तिमीलाई हल्लाउने
युगका आँधीहरूलाई ।

तर केवल
नाजीहरूको जस्तै तिम्रो
क्रुर कन्सन्ट्रेसन’ क्याम्पमा
आज
नेपाल बन्द छ ।

आज
यो बन्दको बिरोधमा
थाङ्ने ज्वरोले मरेकी
साइली एन्ने’ फ्रयांकको’ डायरी
विमोचित छ – देशमा ।
नपत्याए पढ ए !
बन्द बहादुर !
अनि बन्द गर –
घिनलाग्दो
बन्द संस्कृति ।

1 thought on “बन्द संस्कृति”

Leave a Reply

Your email address will not be published. Required fields are marked *