तार्न नसकेका सपनाहरू सबै
छोडेर खोलापारि
उतार्छु आफूलाई बगरमा
अनि हेर्छु ओसिलो पल्लो किनार –
एकझोला सपनाहरू
पोखिएका रहरहरू
र, झरेका रक्तिम लालीगुराँसहरू
अन्तिम हाँसो हाँस्छन मसँग ;
बग्नुछ उनीहरूलाई
केहीक्षण पछि आउने भीषण बाढीसँगै
र, गर्नुछ समापन–धमिलो यात्राको ।
म फेरि शुरु गर्छु
शाश्वत यात्राको नयाँ श्रृङ्खला
र, लाग्छु उकालीहरू
अर्कै क्यानभाष पोतेर मनमा ।
भत्केका सिंढीहरू
लहरै बतासे डाँडाहरू
नाँगा सिंगाने बालकहरू, कुप्रा बुढाबुढीहरू
पहाड ओदारिरहने भोका पेटहरू
रातै बाँझा बारीहरू, मक्किएका झुप्राहरू
पुगेर मध्यमा
विसाएर हेर्छु तलतिर
र, फेरि बटुलेर केही सपना !
सम्भार गरेर तलदेखि
गाँउलाई गाँउजस्तै बनाउनु छ
पाखा र डाँडाभरि राताम्मै लालीगुराँस फुलाउनुछ
बोट र बारीभरि लटरम्मै सपनाका फलहरू फलाएर
अनि बल्ल आराम लिनुछ सिरानमा ।
यो अर्को रुप हुनेछ
मेरो सपनाको
जसले कोरलेर पक्कै
जन्माउने छ विपनाहरू
अनि बल्ल यात्राले फेर्नेछ
सन्तोषको एउटा श्वास
पुगेर सिरानमा ।
दीपेन्द्र के.सी.
बागलुङ, हाल ओस्टण्डे बेल्जियम
२६ फेब्रुअरी २०१३
