गोली
आखिर किन चल्छ
मिठो निद्रा झस्काउँदै
रतिक्रिया विथोल्दै
रगताम्मे पारेर रातहरू
गोली
यमराज महाँकाल
भोकभन्दा विशाल
उठ्नैपर्ने थाकेका हारेका
आत्मसमर्पणका हातहरू
गोली
नङ्गाइ दिन्छ
रचना र सिर्जना
प्रफुल्ल कस्तो पुरुषार्थ
ङिच्च दु:शासन दाँतहरू
गोली
शान्ति बाँड्छु भन्छ
बलत्कार गर्दै प्रेमपूर्वक
हाडछालाका शरीरलाई
गाँसवास छिनाइ आतहरू
गोली
विज्ञान हो मान्नै पर्ने
क्रान्ति हो जाग्नै पर्ने
नेपालआमाको छातीमाथि
बुट बजार्दै लातहरू
इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्
