Skip to content

न्यायालयमा सप्तकोशीको वयान

  • by


श्रीमान् दण्डनायक महोदय,
धरोधर्म, रिठ्ठो नविराई भन्दै छु
म जहाँ हुर्केँ, जहाँ बढेँ र जहाँ जवानी भएँ
म अहिले त्यहीँको माटो खाँदै छु
मैले माटो खाँदा थुप्रै थुप्रै घरबार विहीन भएछन्
मैले उग्ररुप देखाउँदा चारैतिर त्राहीमाम भएछन् ।
श्रीमान् दण्डनायक महोदय,
म बहुलाउन चाहेर बौलाएकी हैन
मैले रोजेर र खोजेर उग्ररुप लिएकी हैन
मलाई जन्मथलो उजाड्न मन पनि थिएन
मलाई अरबौं, खरबौं धनराशी खर्चनु पनि थिएन ।
म के गरुँ ?
मेरो चेतना दक्षिणले लिएको छ
मेरो श्रम र पसिना दक्षिणले खाएको छ ।
म रोगाएको बेला
म भोकाएको बेला
र म शोकमा डुबेको बेला
मैबाट लाभ लिएको केही अंश
मेरालाई खर्चिने ठेक्का दक्षिणले लिएथ्यो
मेरा चाउरीएका गालामा मुस्कान ल्याउने जिम्मा उसकै थियो
तर आज आएर उसले लात हान्यो
उसैले मेरो चेतना शून्य पार्दियो
शुन्य ! शून्य ! ! चेतना शून्य ! ! ! दिमाखले
मैले के गरेँ मलाई नै थाहा छैन

मैले के विराए मलाई नै ज्ञात छैन ।
तसर्थ श्रीमान्, दण्डनायक महोदय,
म समयले दिएको दण्ड भोग्न इच्छुक छु
तर दण्डको भागिदार म मात्र छैन
म भन्दा बढी त
दक्षिण ठूलो अपराधी हो
दक्षिणकै घोर अन्याय हो ।
कारण पनि बताउँदै छु, श्रीमान्
म जति कमाउँछु
म जति पसिना वगाउँछु
मेरो सम्पूर्ण फल एकोहोरो दक्षिणले खाएको छ
र उसले
सन्धी-सम्झौताको ठेलीमा हस्ताक्षर गराएको छ
त्यसमा आफैंले मेरो स्याहार सुसार गर्ने जिम्मा बोकेको छ
म यत्तिखेर
त्यही कुरा सोचिरहेकी छु
खाली त्यही कुरा गुनिरहेकी छु
फाइदा लिनेले नै घाटा बेहोर्छ
घाटा चाहि अरुलाई फाइदा चाहि आफूलाई,
यो कुराले नै मेरो मन कुटुकुट खाएको छ ।
त्यसैले म अपराधी हुँ
तर मेरो अपराधी चाहिँ ऊ हो
तसर्थ मलाई दण्ड हैन
दण्ड उसलाई दिनुपर्छ
किनकी दण्डनीय काम उसबाट भएको छ ।
नन्दलाल आचार्य
तपेश्वरी-१, गल्फडिया, उदयपुर
हालः लिट्ल फ्लावर मा.वि., राजविराज-९, सप्तरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *