ईक्सा !
हो मलाई
तिम्रो हाँसोले पनि जित्यो
तिम्री आँशुले पनि जित्यो,
भईगो म हारे
जूनी यो जिन्दगी तिम्रै भयो ।
यो तिम्रो जितलाई
मैले मेरै जित ठानेको छु ।
जब तिम्रो साथ पाए
एक कदम एक्लै हिंड्न परेको थिएन ।
हाम्रो यो सँगमलाई
मैले
सुम्निमा र पारुहाङ्को जस्तो
अमर प्रेमले बनेको
“दुई पांग्राको-एक रथ” को
पगरी गुथेको छु ।
तर
बाध्यताको आकाश
हामीलाई थिच्न
हामी माथि खस्दै गर्दा
मैले तिमीलाई छाडेर हिंड्न पर्यो,
हाम्रो माया फक्रिएको
त्यो सुन्दर देशभन्दा
टाढा टाढा धेरै टाढा
पराइ देशमा …
आज
त्यही तितो
मुना र मदनको
बियोगी जिन्दगी बाच्दै गर्दा
उनै माङ्सँग मात्र
बार बार प्रथाना गर्छु !
कि हामीले कोर्दै गरेको
हाम्रो मायाको
अथाह कथाहरूले भरिएको
अमर मायाको किताब
मुना र मदनको जस्तो
बिच बाटोमा अन्त्य नहोस् ।
फेरि एउटा
नयाँ जित जित्न सकु,
नयाँ जीवनको शुरुवात गर्न सकु ।
तिम्रो मायामा तड्पिने
म, खाम्बेक !
१९ मार्च २०१२
बिरानो देशबाट
भाषिक अर्थ:-
ईक्सा- आकाश
खाम्बेक- धरती
सुम्निमा-पार्वती
पारुहाङ-महादेव
माङ्सँग- भगवानसँग
>{यी भाषाहरू लिम्बु भाषा हुन्}
