‘साहित्यसन्ध्या’ अरु बेलाभन्दा बाक्लो उपस्थितिबीच क्लिीप माइक्रोफोनबाट फुकिएका कुराहरू कुसुम ज्ञवालीबाट ल्यापटपमा रिकर्डिङ हुँदै सञ्चालन भइरहेको ।
सुमी लोहनीले ‘मधुश्री,’ मिश्र उमाले ‘हातमा माला लिएर,’ टङ्क उप्रेतीले ‘डुङ्गा,’ सूर्य सुवेदीले ‘उधारो शुभकामना,’ मोहन दुवालले ‘नयाँ वर्ष’, प्रशान्त खरेलले ‘प्रतिबद्धता र यथार्थता’, ईश्वर श्रेष्ठले ‘बाग्मती,’ भारद्वज मित्रले ‘शुभकामना,’ नारायण निराशीले वसन्ततिलक छन्दमा ‘शुभकामना’, कविता, नरेश शाक्यले ‘मुक्तकहरू’, (उनको वाचनको बेला ताली पड्किएको) र धनबहादुर मगरले गीत सुनाए ।
बल्ल मेरो पालो उत्घोष भयो । मौखिक भूमिका बाँध्ने आँट नआएकोले लिखित भूमिका फुकेँ । खुब जोसिएर मैले आफ्नो कविता (अन्तिम शाही सन्देश) वाचन गदै थिएँ । वाचनको मध्यतिर पुग्दा श्रोताको हूलबाट हाँसो र वाहवाह प्रकट भएर म झन् सुरिएँ । यति बिध्न र यति लामो अवधिसम्म मेरो कवितावाचनमा श्रोताले मजा लिइरहेको प्रतिकृया योभन्दा अघि कहिल्यै भएको थिएन । कवितावाचनको अन्त्यसम्म श्रोता र दर्शकहरूका ताली, हाँसो र वाहवाहले साथ दिइरहेको थियो । मैले शब्द भन्न थाली वाक्य पूरा नगरी नै भाव बुझी स्वाद मान्दै श्रोताको ताली र हाँसो सुरु हुन्थ्यो । तिनीहरू मेरो फ्यान, पाठक वा समर्थकको बदला केवल श्रोता थिए अथवा मेरो त्यो कवितावाचनको प्रतिकृया स्वस्फूर्त थियो । कृष्णप्रसाद घिमिरेजस्तो वरिष्ठ समालोचकले पनि स्वाद मान्दै ताली ठोकेको देखेँ । वाचनको अन्त्यमा मुक्तिनाथ शर्माले हाँस्दै र स्वाद मान्दै ‘पशुपतिनाथले कल्याण गरुन्’ भने । राजनैतिक व्यङ्गले उब्ज्याएको हाँसो भएकोले आफू जोक्करझैँ सस्तो वा हलुङ भएको मैले ठानिनँ ।
ब्रह्मप्रीय प्रेमस्वरुपले ‘क्रुद्ध हातहरू’, कृष्णदेव रिमालले ‘स्वस्तिकछाप ढोका’, गायत्री गुरागाईँले ‘वर्षान्तको अभिमत र नयाँ वर्षा’, कुसुम ज्ञवालीले ‘भोट’, रामबहादुरले ‘बूढो रुख’, शेखरनिर्भिक श्रेष्ठले ‘हामी चुनावप्रचारमा निस्क्यौँ’, वैरागी जेठाले ‘चोका’, चन्द्र थानीले ‘अब घाँटी समाउ’, राजाराम राउतले ‘नयाँ सन्देश,’ मुक्तिनाथ शर्माले ‘नयाँ साल नयाँ चाल,’ हरिगोविन्द लुइँटेलले ‘कविसँग,’ वाशुदेव ज्ञवालीले ‘जदौ हजुर,’ पुन्य गौतम ‘विश्वास’ले ‘फाटेको दौरासुरुवाल’ र रामविनयले ‘नयाँ वर्षका मतहरू’ कवितावाचन गरे । रमेश पोखरेलले गीत फुके । पूर्ण विरामले कवितावाचन गरी कायक्रममा पूर्ण विराम लगाउने पालो आयो । मञ्चमा उक्लिएर उनी पड्के, “रचना सुनाएर हलबाट निस्कने कार्यक्रमको नियमै बनाउनु पर्ला जस्तो छ । एक दिनलाई पूरा समय दिनु सकिँदैन भने कार्यक्रममा किन आइर’ने ? काम हुनेले आउँदै नआउने ।”
प्रायः हरेक कवितागोष्ठीमा आफ्नो रचना सुनाएपछि टाप ठोक्ने चलन छ । हलमा बसेर अरुको रचना सुन्ने र बुझ्ने धैर्य नभए त्यो पनि टाप कसे सरह बेअर्थ हुन्छ, रचनावाचकले धेरै श्रोता देखी जाँगरिलो हुनु बाहेक । अरुको रचना सुन्ने धैर्य लिनु खुब कठिन छ । वाचनभन्दा अघि नै स्रष्टाको नामबाटै श्रोता पूर्वाग्रही भइसकेको हुन्छ । प्रायः गोष्ठीको अन्त्यमा पूर्ण विरामले कविता सुनाउने हुँदा उनले अरुको चाहिँ सुन्ने तर आफ्नो कमले सुन्ने हुँदा झोक उम्लनु स्वाभाविक पनि हो । सुन्ने फुर्सद र मन भए ऊ (बाहिरिने मान्छे) अन्त्यसम्म बसिहाल्छ । नत्र दङ्ग्याएर, उर्दी लाएर वा कानुन बनाएर कसैलाई रचना सुनाउनु उचित हुँदैन ।
वाचित रचनाहरूमाथि जगत प्रेक्षितले समीक्षा राखे, “अचा साहनीको रचनामा भाव राम्रो भए पनि कलासंयोजन हुन नसकेको, सुमी लोहनीको रचना मध्यम स्तरको, उमा मिश्रको व्यङ्ग्य प्रधान, टङ्क उप्रेतीले वर्तमान सत्तामा प्वाल देखे । मोहन दुवालकोमा पनि कला अँझै खारिन बाँकी । अशोक सुवेदीको विम्व गलत छ । खसीको मासु सामन्ती विम्व हो । खसीको मासु खानेले सुँगुरको मासु खानेलाई होच्याउने प्रवृत्तिको पुनारावृत्ति भयो । लेनिन, माओले भन्दैमा देववाणी नहुने । कुकुरको मासु खाने मान्छे पनि त छन् । त्यसैले अरुको प्रतिष्ठाको ख्याल गर्नु पर्ने सर्जकले । ईश्वर दाहालको रचनामा कला र विचारको संयोजन हुन नसकेको भए पनि प्रयास राम्रो । नरेश शाक्यको कला र भाव दुवै पक्षले राम्रो । भारद्वज मित्रको मध्यम तहको कविता । नारायण निरासीको कलाको दृष्टिले राम्रो र स्वच्छन्दवादी भाव बोकेको । धनबहादुरको गीत आफ्नो ठाउँमा राम्रो । निर्भिक राईको कविता हास्यव्यङ्ग्यसहितको सटिक व्यङ्ग्यले भरिएको । ‘हामी काइते महाराज’ जस्तो व्यङ्ग्य चेतना धेरै छ त्यसमा । अँझै ठाडोपन भएकोले खार्नु जरुरी देखिन्छ ।”
मेरो कविताको घतलाग्दो हरफ उद्घृत गर्दै समीक्षा हुँदा मैले अति स्वाद मानेँ । राजनीतिप्रधान रचना हुँदा (जत्ति सीप लाउँदा पनि) स्वभावैले ठाडो वा गालीजस्तो भइहाल्ने रहेछ । धेरै घुमाउरो वा अमूर्त शैली प्रयोग गर्दा पनि दुर्बोध हुने सम्भावना हुन्छ ।
उनले समीक्षा अघि बढाउँदै थिए, “ब्रह्मप्रिएको कविताले क्रुद्ध हातभन्दा रिसाएको बुझिन्छ । कृष्ण रिमालको रचनामा व्यङ्ग्य राजनीति बोल्छ । ‘बूढो रुख’मा गाली र अङ्ग्रेजी ज्यादा भएको । गाली गर्दैमा कविता नहुने । वैरागी जेठाको रचनाको भनाइ स्पष्ट नभएको । चन्द्र थानीको परिष्कार नभएको, शैलीभाव राम्रो भए पनि । हरिगोविन्दको अत्यन्तै राम्रो । कलात्मक ढङ्गले छोटोमा मीठो भनाइ । वाशुदेवकोमा व्यङ्ग्य छ । पुण्य गौतमकोमा कला र विचारको राम्रो संयोजन । रामविनयको प्रतीकात्मक छ । रमेशको विचार र कलाको दृष्टिले ठिक । पूर्ण विरामको कवितामा जहिले पनि यथास्थितिको विरोध हुने । माओवादीमा आएको ढङ्गप्रति आक्रोश व्यक्त । पुँजीवाद नै माक्र्सवाद हो भन्ने प्रचण्डले माओवादलाई देखावटी रुपमा मात्र अपनाएको बुझिन्छ ।” उनको समीक्षामा अरु मन्जुर हुनु वा नहुनु जे भए पनि सकारात्मक र नकारात्क दुवै पक्ष केलाइएकोले मैले स्वाद पाएँ ।
जाज्वी (मेरी छोरी) पापाले कहिले ड्रेगन वल्र्डमा पसाएर खेलाउँछ भनेर पर्खिनसकेकी । तिनी छटपटिएको र खेल्ने आशामा तडपिएको देख्दा मलाई साह्रै टिठ लागिरहेको ।
२०६५ वैशाख २६, मे २००८
