Skip to content


ओ नयाँ बर्ष
आफ्नो यस्तै छ खबर
बरु भन
तिम्रो कस्तो छ हालखबर ?
आफ्नो त आजभोलि
पार्टीले सरकार छोडेपछि
सता र भत्ता तोडेपछि
बिहान योग अभ्यास गरिन्छ
दिनभर खालमा तास हेरिन्छ
साझ परेपछि
कान्छीको भट्टीमा छिरिन्छ
आधिको उधारो खाइन्छ
आधिको मात्र पैसो तिरिन्छ
कहिले उतै परिन्छ
कहिले मध्य रातमा फिरिन्छ
ओ नयाँ बर्ष
तिमी आउँदा
चुनावको मिति लिएर आउनु
नयाँ ठोस नीति लिएर आउनु
सरकार चुनावको मिति तोकेपछि
पार्टिले प्रचारको उर्दी ठोकेपछि
कहिले पार्टीको झन्डा फरफराउदै
कहिले पार्टीको नारा बरबराउदै
कमसेकम समय बित्थ्यो
सके आफ्नै पार्टीले
नसके अर्कैले भए पनि जित्थ्यो
अब त कर्मचारिले देश चलाए पछि
साच्चै बेरोजगारी भईएकोछ
नघर गइएकोछ नघाट गइएकोछ
पत्रीका पढ्यो
आफ्नो कतै नाम छैन
कतै हिड्यो
आउने सुको दाम छैन
आजभोलि त
सुत्नेभन्दा अरु काम छैन ।

ओ नयाँ बर्ष
चुनावको मिति ल्याउदा
तिमीले पनि
हामीले घरी घरी सारेको जस्तो
मिति नल्याउनु
आझ अर्कै भोलि अर्कै भन्ने
रीति नल्याउनु
आफूलाई त सत्ता च्वाट्ट छोडेपछि
दुर्बेसनीलाईभन्दा गार्हो भा’छ
आफ्नै निर्णय आज
आँफैलाई नै घाडो भा’छ ।
त्यसैले नयाँ बर्ष
तिमी आउँदा जसरी हुन्छ
चुनावको ग्यारन्टीका साथ आउनु
चुनाव हुने भए पछि
जनतालाई फेरि
अन्तिम माफि माग्दै ढोकिएला
चर्का चर्का नारा ठोकिएला
लोकल कुखराको सपेटा टोकिएला
जिते जितिएला
नजिते पनि
समानुपातिक वाला पाउने सिद्दिएला
जिते मन्त्री पाइएला
हारे त झन प्रधानमन्त्री नै खाइएला
त्यसैले आउँदा
शान्ति नल्याए पनि
बिकास नल्याए पनि
निकास नल्याए पनि
चुनाव त जसरी हुन्छ लिएर आउनू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *