पुराना ती घाउ जति आलै भए अचेलभरि
पूर्णिमाका रात पनि कालै भए अचेलभरि
बल्झिएला कहिले भनी च्याँखे थापी कुर्नु पर्दा
जिन्दगानी जुवा तासका खालै भए अचेलभरि
प्रत्येक पला आँसु दिँदै दिन रातै पिल्साउने
मायाँ प्रीति अभिशाप र गालै भए अचेलभरि
अनगिन्ती प्रहारले हृदयलाई टुक्र्याएर
बाध्यता र विवशता त भालै भए अचेलभरि
उन्नति र प्रगतिका बाटाहरू बन्द गर्दै
समय र परिस्थिति ढालै भए अचेलभरि
भावनाका भेलहरू छचल्किंदै “कोमल” मन
समुद्रमा उर्लिएका छालै भए अचेलभरि
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
