Skip to content

आफ्नो प्यारो आँगनीमा

  • by


आफ्नो प्यारो आँगनीमा, नटेकेको धेरै भयो
कस्ती भइन जन्मभूमि, नदेखेको धेरै भयो

डाँडा काँडा पहरामा, घुम्थ्यौँ अति रमाउँदै
द्यौरालीमा चोखो ढुङ्गो, नफेंकेको धेरै भयो

घुम्दाघुम्दै साँझ पर्थ्यो हतारिंदै हिड्थ्यौँ अनि
बाटो छेक्थ्यौँ जिस्किएर, नछेकेको धेरै भयो

पकाउथ्यौँ मिलिजुली, आपसमा प्रेम बाँड्दै
हाँसी हाँसी भुङ्ग्रे रोटी, नसेकेको धेरै भयो

हृदयमा छचल्किन्छन अनगिन्ती यादहरू
लेखौँ भने मुटु पोल्छ, नलेखेको धेरै भयो

कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:- न्युयोर्क, अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *