आज, विश्व चन्द्र विजय पछि,
मंगलमा वस्ती बसाल्ने योजनामा छ ।
विकासका उच्चतम विन्दु पहिल्याएर,
विकसित राज्य सम्पन्नता भोगिरहेछ ।
विज्ञानका सूत्रबाट वम, वारुद र गोला,
मानव विनासका लागि तयार पार्दैछ र
भन्दैछ मेरो अधिनमा विश्व हुनुपर्छ ।
तर यही वेला मेरो देशको मिङ्मार तामाङ्
वाहुलाले सिंगान पुछ्दै खर्कमा आमासँग
पछि लागेर पढ्न छाडी भेडी गोठालो जाँदैछ ।
तराईको पप्पु सदा मुसाको चटनीले छाक टार्न
दुलाहरू चहारेर निर्वश्त्र भौंतारिइरहेछ ।
पहाडको मान बहादुर पनि के कम र !!
गोरखपुरमा गोर्खेकान्छाको नामले भाँडा मस्काउँदैछ
गाउँको भद्रे जिम्दारको छोराको स्कुल जाने व्याग कल्पेर ।
के एक्काइसौं सदीको मेरो नेपाल यस्तै यस्तैमा रम्ला र ?
अनि मेरो देशले कुनवेला मंगल ग्रहमा वासस्थान दावी गर्ला खै ??
म मेरो सपना दशपुस्ता पछाडि पुरा भएको देख्न सक्दिन
भो नेता र सत्तावालहरू अब मलाई राजनीतिको गुलियो नदेखाऊ ।
