Skip to content

बालकृष्ण सम बिर्सने? बिस्रने एउटा प्रशंसकको सम्झना

  • by


महाकवि देवकोटा महान् थिए- ठूला कवि र साँच्चै श्रद्धेय व्यक्तित्व । म विद्यार्थी बेलादेखि नै ‘देवकोटाभक्त’ भनी दरिएको मान्छे पनि हुँ । तर अचेल मलाई के लाग्न थालेको छ भने देवकोटामाथि भक्ति देखाउँदा-देखाउँदै हामी नेपालीले लेखनाथ र समलाई बिर्सिन थाल्यौँ कि क्या ! कविशिरोमणिको कुरा छाडूँ ऐले उनका बारे छुट्टै लेखौँला । ऐले सन्दर्भ ९९ औँ जन्म दिन २४ माघ परेकोले समको कुरा गरुँ भन्दैछु म । सम जस्तो प्रतिभाशाली नेपाली यो देशले जन्माएको छैन शायद सय वर्षयता । सम कवि त थिए नै बेजोड कवि तर कविभन्दा पनि बढी उनी शिल्पी थिए कविताका शिल्पी प्रत्येक विधाका शिल्पी । कविता-शिल्पमा एउटा उदाहरण ‘इच्छा’को एक श्लोक हेरुँ- मेरो लाश पवित्र चन्दन घसोस् कात्रो मलाई बनोस्नेपाली सुकुमार हातहरुले खस्रा बुनेका लुगा नेपाली वनको कपूर तुलसी श्रीखण्डका साथमा प्यारो सुन्दर आर्यघाट तटको साझा चित्तामा जलूँ ।

अथवा पढौँ शुद्ध गद्यमा लेखिएको एउटा कविता-अंश ‘चिसो चुल्हो’ महाकाव्यबाट तैंले मुटु फुट्ने गरी कराए पनि म सुन्दिनँ । मैले आफ्नो कान औंलाले थुनेको छैन कानको जाली च्यातेको पनि छैन त्यसलाई भित्रतिर फर्काएको छु म सुन्दिनँ । तेरा जालमा अल्झिएर पिरल्लिनु पर्ला भनेर- तैंले टुना गरी मन्तरेर अत्तर छर्कंदै विकसित पारेको सुगन्धी सुन्दर सरोरुहमा थुनिनु पर्ला भनेर तैंले श्रृङ्गार गराई रातो शुक्लपक्षीय चौथीको चन्द्रमा बान्कीको ओठ र दतिवनले घोटीघोटी टल्काएको प्रदीप्त दन्ततारामा आकर्षित भई चुम्बक-चुम्बकमा प्रस्फुटित हुन पुगुँला भनेर तैंले सूर्यास्तको पहेँला किरण-शाखा भाँची भाँची थुप्राएको इन्द्रियले विभिन्न विभिन्न रुपले खाने महका चाका परेको सुनका लाप्साहरुलाई आफ्नो पारी अँगाल्न निमित्त जस्तोसुकै अक्षम्य अपराध गर्न पनि तत्परता साथ अघिल्तिर हुत्तिउँला भनेर मैले आफ्नो मस्तिष्कको वाष्पलाई चुरोटको धुँवा जस्तै मस्तकबाहिर उडाइदिएको छु त्यो अनन्तमा पेच काटी काटी घुस्तै कसिँदै तल्लय हुँदै गएको छ तँ त्यसलाई फेरि उल्टो पेच घुमाएर फुकाली तेरो जालभित्र पार्न सक्तैनस् ! हात हटा ! पर हट् ! जा ! नकरा !

साहित्यको प्रत्येक विधाका उत्तिकै राम्रा शिल्पकार थिए उनी जे छोए पनि त्यसलाई सुन्दरतम् वस्तु बनाएर मात्रै छाड्थे । समको यो शिल्पकारितालाई देवकोटाभन्दा बढी कसैले बुझेको थिएन । देवकोटाले यसबारे त्रिचन्द्र कलेजका विद्यार्थीहरुलाई उहिल्यै गरेको बयानबाट त्यो थाहा हुन्छ । जसरी मैले ‘भानु विचरण’ मा लेखेको थिएँ: तिनताक ५-६ जना हामीहरु फस्ट सेकेण्ड इयरका विद्यार्थीहरुको एउटा समूह थियो । हामीलाई ‘देवकोटाभक्त ग्रुप’ भनेर गिज्याउँथे अरु साथीहरु । त्यस समूहको नेताजस्ता फणीन्द्रप्रसाद आचार्यले कुरै कुरामा एकदिन महाकविलाई सोधे ‘कविजी तपाईंको र बालकृष्ण शमशेरजीको लेखाइको अन्तर के हो ‘ महाकविलाई नै सोध्ने कुरा थिएन शायद त्यो । तर सोधिहालियो । सोधे पनि उहाँले त्यसलाई सहज रुपमा लिनुभयो र बेलिविस्तार लगाएर बताउनुभयो । उहाँले भनेको सारांश मैले सम्झेसम्म यस्तो थियो: ‘बाबुसाहेब बालकृष्ण शमशेर हरेक कुरा चिरिच्याट्ट पारेर सजाएर राख्नुहुन्छ आफ्नो कवितामा । ममा चाहिँ त्यो धैर्य छैन र म जे आउँछ मनमा त्यही त्यसै हालिदिन्छु… । बाबुसाहेब आफ्नो शब्दलाई ताछितुछी चिल्लो पारेर यसो हेर्नुहुन्छ अनि त्यो टुक्रालाई लगेर त्यो कविताको खोबिल्टोमा जडी हेर्नुहुन्छ । अलिकति मिलेनछ भनेर उहाँ त्यो सानो टुक्रालाई फेरि त्यहाँबाट िझकेर हेर्नुहुन्छ । त्यसपछि फेरि आफ्नो सानो छिनो लिएर यसो अलिअलि ताछी हेर्नुहुन्छ । अनि फेरि बिस्तारै त्यस टुक्रालाई त्यही खोबिल्टामा जड्नुहुन्छ । अब मिलेजस्तो लाग्छ उहाँलाई तर अझै केही तुष बाँकी छ कि भनेर दाहिने र देब्रेतिरबाट च्याउनुहुन्छ । अब ठीक भयो भन्ने उहाँलाई लाग्छ अनि आफ्नो सानो हतौडीले बिस्तारैसँग त्यो टुक्रोलाई माथिबाट बिस्तारै हान्नुहुन्छ टक् … टक् … टक् । उहाँ त्यसो गर्नुहुन्छ म भने गाम्राङ-गुम्रुङ हालिदिन्छु र बन्द गरिदिन्छु यही फरक छ हामीमा ।’

निबन्धकारितामा देवकोटालाई हाम्रा समालोचकहरुले सर्वोच्च स्थान दिएका छन् । त्यसमा विवाद गर्नु छैन । तर समको वि सं १९९२ सालमै प्रकाशित दुइटा मात्र निबन्धको कुरा गरुँ- ‘त्यो’ र ‘पानी’ । यस्ता निबन्ध पढ्नै नपाएर हो कि तिनको कसैले चर्चा गरेको पाइन्न । मलाई भने ती नेपाली भाषाका उत्कृष्ट निबन्धमध्येका हुन् भन्ने लाग्छ । त्यो बुझ्न एक-एक प्याराग्राफ मात्र भए पनि उनका ती निबन्धबाट पढिहेर्नुपर्छ । ‘त्यो’ कृष्णजीका बारेको निबन्ध हो तर धार्मिक होइन धर्मनिरपेक्ष ।

‘त्यो’लाई हेरुँ: पर रुखको पीङ चेतन जस्तै आफैँ हल्ल्यो । त्यो हेर्दा अलिकति क्षणको नोक्सान भयो । उल्ले उठाओस् भन्ने उ उ- उ । पछि एउटीले किनारमा घोप्ट्याइराखेको डुङ्गाबाट बहना झिकेर ल्याई त्यहीँनेर पानीको सतहमा त्यो बजार्न लागी । बल्ल एक थोपा जूनकिरी जस्तै उडेर गई कृष्णजीको गालामा पर् यो । कालो मुखमा जोडी आँखा ट्वाल्ल उदाए । सब गोपिनी चिर्र कराए, बास बसेका चराहरुको पनि पखेटा काखी च्यापेको टाउकोको समेत निद्रा खुल्यो । एकस्वरमा हरियो वृन्दावनै केही बेर बास्यो । अनि सबमा शान्ति शान्ति शान्ति झलमल्ल ब्यूँझेर रह्यो ।

अब ‘पानी’ लाई पढूँ अलिकति:
मैले पानीलाई छोएँ । हत्केलामा अलिकति पानी टाँसियो त्यसको बिजुली चाहिँ तालु र पैतालाको तटमा ज्वारभाटा खेल्न पुग्यो । फेरि चिल्ला लहरीलाई मसार्दै नाडी डुबाएको हात टल्केर बाहिर आयो- त्यसमा मेरो रोगी तस्बिर देखियो । पाँचै औँलाबाट एकै क्षण त धारा लाग्यो पछि थोपा-थोपा चुहुन लाग्यो चोर औँला बुढी औँला कान्छी औँला साहिली औँला माझी औँला बूढी कान्छी चोर साहिली माझी कान्छी । अब ढिला भयो बूढी-चोर-माझी-कान्छी-सा-हि-ली-चो-र-का । ओहो

ओहो ! – त्यो सानो थोपाभित्र उल्टेको झरना फोहोरा देखियो खस्यो !

मा-झी- ओहो ! कति साना उभिण्डा रुख ! सा-हि- खै ! उ: ! मास्तिर औँलापिट्ट पहिले सोझो डिको हालेर पछि अर्धचन्द्र हुँदै अलि-अलि गरी झोलिँदै मोटाउँदै तलतल झरेर खस्नखस्न-आँ-ट्यो- चुह्यो !त्यसैले म त नेपाली साहित्यको दुई सर्वोत्कृष्ट निबन्ध कुन हुन् भनेर कसैले सोध्यो भने यिनै दुइटालाई अघि सार्नेछु । यद्यपि ‘त्यो’ लाई कसै-कसैले कथामा पनि दर्न सक्नेछन् । तर समले स्वयं ‘बीस टुक्रा’ मा पारेका यी रचनालाई निबन्ध नभनी के भन्ने समको कथा ‘कैकेयी’ बाट उनको पौराणिक ज्ञान र त्यसको विश्लेषणबारे जति प्रभावित चकित होइन्छ त्यसभन्दा बढी ‘फुकेको बन्धन’ मा रहेको ‘सस्पेन्स’ बाट विस्मित हुनुपर्छ । ‘फुकेको बन्धन’ को अन्त्यमा पिटुले भनेको ‘कहिले हुन्थ्यो म भएको भए यसलाई सुत्न नदिएर खान दिई-दिई मार्दथेँ’ भन्ने वाक्यले कथाको चरमोत्कर्षलाई कसरी पर्लक्क पल्टाइदिएको छ- पारखीहरुले भनून् !

समको कथा- ‘तलतल’ कै मात्र कुरा गरुँ । त्यो पढ्दा के लाग्छ भने समले अरु सबै विधा छाडेर कथा मात्रै समातेका भए उनीभन्दा ठूलो कथाकार नेपालीमा शायद कोही हुने थिएन । नाटकका त उनी सम्राट नै कहलाइहाले तर ती नाटकहरुभित्र रहेका उनका सुभाषितहरुको कसले लेखाजोखा गरेको छ दर्शनको ‘नियमित आकस्मिकता’ र ‘चिसो चुल्हो’ महाकाव्य जस्तामा पनि समको त्यही कुनै कुरालाई पनि भित्ता नपुर् याई नछाड्ने कलाकारिता परिलक्षित हुन्छ । साहित्यिक विधाहरु मात्र होइन जुन विषयमा हात हाले पनि सम टुङ्गोमा पुर् याएर पुग्नेसम्म उच्चतामा पुगेर मात्र छाड्थे । यो कुरा बुझ्न समको चिटिक्क परेको आफैँले डिजाइन गरेको सानो बैठक हे। तस्बिर या त्यस वरिपरिको प्राकृतिक वातावरण दुर्भाग्य हो ऐले त्यो केही देख्न पाइन्न को मात्र अवलोकन गर्दा पनि पुग्थ्यो । समका बुवा जनरल समर शमशेरदेखि नै श्री ३ महाराजहरुको पारिवारिक फोटोग्राफर भएका हुन् उनीहरु । यसरी फोटोग्राफी शौख मात्र नभएर उनको ‘पेशा’ जस्तै भएर रहेको थियो १५-२० वर्ष । समले खिचेका करीब तीन हजार ‘नेगेटिभ’ उनका नाति जीवन शमशेरसँग अझै पनि सुरक्षित छन् ।

त्यसपछि पेण्टिङ । उनको कुची नेपालका कुनै नाम चलेका कलाकारभन्दा कम चम्केको होइन । उनले बनाएका चित्रहरु ‘पोट्रेट’ पनि प्रकृति पनि र मूर्त-अमूर्त जे भए पनि नेपालका मात्र होइन विदेशका पनि अनेक कलापारखीहरुका सङ्कलनमा पुगेर इज्जतसाथ बसेका छन् । कलाकारिताबाट नाटऽकारिता- रङ्गकर्मतिर आँखा लगाऊँ । वि।सं। १९९२-९३ देखि नै समले नाटक निर्देशन गर्न थाले । रिमालबन्धु गोपाल कृष्ण हरिहरु लाई समले नै तालिम गरे । गोपीनाथ अर्याल प्रचण्ड मल्ल लगायत अनेक रङ्गकर्मी नाटकनिर्देशकहरु पनि समकै नाटऽशालामा सिकेर हुर्केका हस्तीहरु हुन् । समको पहिरनमा नेपाली लामो दौरा सहितको पोशाक उनको आफ्नो आविष्कार हो । उर्दीको पोशाक लाउन परेको बेलामा बाहेक उनले कहिल्यै त्यसलाई छाडेनन् ।

समले नेपाली समाजबाट बीचबीचमा अनेक अपमान खाए । तर कहिल्यै प्रतिवाद गरेनन् । सम रिसाएको मैले त कहिल्यै देखिनँ । रिसाउँदा हुन् कैले कैले तर कहिल्यै देखाउँदैनथे ।यस्ता गुणसम्पन्न शिल्पी कवि र राष्ट्रवादी प्रतिभा किन ओझेलमा पर्दैछन् मैले बु´न सकेको छैन । उनी राणा भएर जन्मेकाले नै त्यसो भएको हो भने पनि त्यस्तो हुनुपर्ने पक्कै होइन । उनलाई ‘अवसरवादी’ भनेर उनकै अगाडि गाली गरेको पनि मैले सुनेको छु यस्सो हाँसेर उनले त्यो सहेको पनि देखेको छु । राजनीतिमा समको चासो भएजस्तो मलाई लाग्दैन तर एक जना सहृदयी कविलाई लाग्ने अविवेकी शासकप्रतिको क्रोध पक्कै पनि उनको मनमा बीच-बीचमा उठ्थ्यो र फुट्थ्यो पनि । तर साहित्यमा सम कहिल्यै अवसरवादी भएनन् । सर्वोच्च शासकको प्रशंसाका केही सन्तुलित श्लोक र वाक्य उनले बोलेका छन्, हो। तर त्यसभन्दा माथि गएर चाटुकारिता उनले गरेका छैनन् भने हुन्छ ।
यति हुँदाहुँदै पनि समलाई आजका पुस्ताले राम्ररी चिन्न बु´न पाएका छैनन् । समलाई उजिल्याएर नयाँ पुस्ताका अगाडि ल्याउनु हाम्रो कर्तव्य हो । किनभने हाम्रै पुस्ताकाले त बिस्रन थाले उनलाई भने हामी पछिकाले नत्र कसरी सम्झलान् र उनलाई !

Leave a Reply

Your email address will not be published. Required fields are marked *