आफ्नै करेसा बारी वरिपरि दैनिक भयाभह लुट, बलात्कार, हत्याको चित्कार सुनिराखेको किरणको स्पन्दनलाई इथोपिया सोमालियाको पारदर्शी करंगले के छूओस ? आफ्नै नाकमा पुत्पुत्ति रुमलीइराखेको बारुदको धुवालाई बिर्सेर अफगानिस्थानमा पड्केको बमको धुवाले के पोलोस ?
किरणले मात्र बुझ नसकेको हो कि यो सृष्टिकर्ताको योजना र संरचना भित्र कै नियति हो ? ईश्वरप्रति आस्था राख्ने कोही छ भने यो विसंगतिको लागि उनलाई दोष दिने हिम्मत गर्न सक्दैन ।
त के यो आधुनिक सकुनीको खेल हो ?
हकअधिकार न्याय अन्याय केको लागि हो यो ? के न्याय पाइराखेका छन् त ती लाखौ जो द्वन्द पीडित भोक भोकै मरिरहेछन । हज्जारौ सदाहत भएका छन । भ्रमित छ किरण !
कसको भाग्यको फैसला हुन् गै राखेको छ यहा मर्नेहरूको ? कि जिउदै मरिरहेकाहरूको ? कि नेतृत्वको ? फैसलाको लागो लामो काल खण्ड अनिश्चित, अनिर्णयको बन्दी भएर बितिसकेको छ अब कति दिन बर्ष पुस्ता ? रगतको टाटाहरूमा झिंगा भन्किएको धेरै भयो । पखाल्ने इच्छा र सुद्ध पानी समेतको अभाव छ । एउटा सिंगो आकाश बाहेक सभ्य मानिस बिचलित भैसके ।
न्याय मूर्तिका तराजु सन्तुलित छैनन् पीडकस्वयम नै न्यायाधिस बनेको छ । जसको लाठि उसकै भैसी जस्तो आदम युगी प्रणालीको कसरत छ ।
दृष्य हरेक क्यामेरामा बन्द छन् । पत्रिकाको बिक्ने आधार भएको छ तर यहा लास माथि, गरिबी माथि, अन्याय माथि, भेद भाव माथि पनि सप्रिएको ब्यापार छ । बिडम्बना ! यो अति बिडम्बना ! अकल्पनीय बिडम्बना !
वाक चातुर्य, चाटुकारर बठ्याईले ग्रस्त इतिहास बोकेको मेरो समाजमा मानवीय उकुस मुकुस छ ।असैह्य पीडालाई सहेर चुपचाप बस्नु आजको नियति भएको छ ।
अस्वीकृत खेलहरूलाई हेरेर बस्नु परेको छ । नांगा बादशाहहरू प्रति अँझै नत मस्तक हुनु परेको छ यो युगमा पनि के छ उपाय ? छैन ? बस चुपचाप ।
प्रत्येक युग र दशकमा नया नया महाभारत रचिएका छन् । हिटलरदेखि सद्धामसम्म, दादा इदी अमिनदेखि प्रचण्डसम्म, बेजिङदेखि वासिंगटनसम्म धेरै सकुनीहरू दौडी राखेका छन्
अँझै धृतराष्ट्र जिउदा छन् अँझै भिस्म पितामहहरू चोट सहिरहेछन । हो कृष्णको बासुरी पनि छ, अर्जुनको रथ पो थोत्रो देखिन्छ अब त !
सिताको धज्जी उडी राखेको छ । द्रौपदीहरू स्वफुर्त निस्बस्त्र भै राखेको बेला अनुराधाहरू व्यस्त छन् उनीहरूलाई बस्त्र सिलाउन । बम्बे, अरब, इज्रायलसम्म फैलिएको चेलीको चित्कार पुरस्कृत भएको छ आज । यो राष्ट्रिय लज्जालाई गौरब ठान्नेको भीड पनि देख्नु पर्यो ।
सकुनीहरू घर घर र देश देशमा युद्धको खेल खेलाइरहेछन ‘जित्नेहरू हिरो हार्नेहरू अपराध भनी राखेका छन् हेर्नेहरू अन्योलमा छन् खेलको नियम न बुझेर के हो के हो ?
धृतराष्ट्र अन्धा थिएनन । स्वार्थले बसीभूत थिए । अन्धापन, बैरोपन बहानाका अचुक औषधी हुन् । आँखा कान हात खुट्टा मात्र आज्ञापालक हुन्न निर्देशक त मानिसको नियत हो प्रवृति हो ।
यो आकाश मुनि रचिएका महाभारतका मूल पात्र न त सकुनी, न त धृतराष्ट्र, न त युधिस्थिर वा न त कृष्ण न त द्रौपदी मात्र सत्ता र स्वार्थ थियो त्यसैको सिको गरेर यो आकाश मुनि धेरै महाभारत रचिएका छन् गक्ष अनुसारको । एउटा महाभारत म भोगिरहेछु हामी भोगे रहेछौ निरीह बनेर ।
भन्छन संसार ग्लोबलीय भिलेज भएको छ । अर्थात् एउटा महाभारतको खेलले अब संसारलाई पिरोल्छ ? एउटा माध्यमलाई आत्म सन्तुस्टी र विश्वासको घेरामा राख्न सक्ने हो भने केही न्यून आधारलाई सत्यताको बन्धनमा आबद्ध पार्न सकिन्छ । तर यो संसार त्यति खुम्चिएको छैन जति हाम्रो आँखाले आकाशलाई खुम्च्याएको छ । भ्यागुताले कुवालाई महासागर ठान्छ । हाम्रो आँखाले आफ्नो पहुचको परिधिलाई आकाश ठान्ने विश्वास छ । आखिर त्यो त सत्य होइन । भ्रम न हो ।
डाडा माथिको जुन भर्खर उदाए झैँ हामीलाई भ्रम छर्दछ जो धेरै ठाउमा उदाइसकेको हुन्छ हाम्रो नजरको सीमांकन खुम्चिएको हो । त्यही जुनले झुप्राको छाना माथि हामीलाई जिस्क्याउदै समुद्र परिको महलमा हासो पस्किसकेको हुन्छ । हामीलाई त्यसको पत्तो नै हुन्न । संसार खुम्चिएको भए भिषा न चाहिनु पार्ने हो एक देशबाट अर्को देशमा जान ? कि कसो ? यहा झन कडा र महँगो बन्दै गएकोछ ।
पृथ्वीको नितान्त सीमित धुरमा रहेर किरण गम्दै जान्छ गम्दै जान्छ । उसको सोचन्का बेगहरू लियो टाल्स्टायदेखि रबिन्द्र नाथ टैगोर त कहिले विश्वेस्वर कोइरालादेखि राजा महेन्द्र शाहका सिर्जनाका तरंगहरूमा पुग्दछन । महाकवि देबकोटाको नाङ्गो आँखा चन्द्रसम्म पुगेथ्यो र उनी मोहित भएका थिए राइटर्स ब्रदर्सले पुग्ने साधनको व्यवस्था गरी दिएका थिए । तर स्वर्गका उन्मादीहरूको पुष्प बिमान खिया लागेर झर्यो ।
रोमियो जुलियर्सभन्दा पहिले राम सिताको जोडी थियो आदम र हब्बाभन्दा पहिले ब्रम्हाको कमलको कमाल थियो ती आज एक्कै ठाउमा छन् तेरो र मेरो देश र, धर्मको महाभारत रच्दै ।
यही हो बुद्धको देश ? यही हो न्याय न पाए गोर्खा जानु भन्ने देश ? जहा अपहरण, शिर छेदन, कोलाहल, लुट, अभाव, छिना झम्टी, कब्जा, आक्रोस, बिलौनाका बिचित्र नियति भित्र करंग भंगताले प्रसय पाइराखेको छ ।
निशस्त्रको कामनालाई शसस्त्रको अहमताले थचारी राखेको छ । सहिष्णुता, सदभाव र समानताको किरणलाई बादलको घुम्टोले छोपी राखेको छ ।
मानव जातिको चिच्याहट, भागा भाग, प्रति किन्चित चिन्ता छैन यो आकाशलाई । आकाश यो एक भ्रम हो ? जसको कोही परिधि नै छैन कसरी स्विकार्ने यसको अस्तित्व ? तर यसको भ्रमित अस्तित्व मुनि दैविक शक्तिको परिकल्पनामा भै राखेका छन् महाभारत आफ्नै परिबेस अनि परिधिमा ।
भन्छन इतिहास दोहोरिन्छ समय बदलिन्छ के गान्धी र बुद्धले फेरि जन्म लेलान ? यो धर्तीको हिम्सा र व्यभिचारलाई परास्त पार्लान ? मानिसले मानिसलाई लुट्ने मानिसले मानिसलाई मार्ने यो जंगली प्रवृतिको अन्त गर्लान ?
किन ब्रम्हा, अल्लाह र यशुको बार्ता हुन्न ? किन लडाइरहेछन उनीहरू मानिसलाई के स्वार्थ छ उनीहरूको ? के न पुग्दो छ उनीहरूलाई ?
यो जन्ममा सकुनीहरू न जन्मिए कसो होला ? यहा बृहस्पतिहरू रोइरहेछन खोइ को छ दिने न्याय ?
यही हो त ग्लोबल भिलेज ? अर्थात ग्लोबल बन्धुत्व !कहाँ छ निस्वार्थ सेवा ? कसले साथ दिएको छ निर्बल र दुखिलाई ?
कहाँ साघुरिएको छ गरिब र धनीको सीमांकन ? यहाँ हतियारको ब्यापारमा होडबाजी कायम नै छ । सह अस्तित्व र समानताको नारा कमजोर भएको छ ? सम्पन्नभन्दा बिपन्नको संख्या वृद्धिले यो संसारलाई त्रसित बनाउदै लागेको छ । लज्जित बनाउदै लागेको छ ।
किरण झल्याँस्स ब्युझिन्छ । एउटा भयानक सपना देखेर । धत्त के भै राखेको छ ह यो आकाश मुनि ? एक छिन सच्चिक्कै यो ब्रमाण्डलाई आकाशबाट दृष्टि दिने हो भने कत्ति भयाबह छ आखिर यो संसार !
शेखर ढुङ्गेल
