चार दशकअघि औसतमा एक हजार प्रति छापिने नेपाली साहित्यिक पुस्तकहरू अपवादबाहेक अहिले पनि त्योभन्दा बढी छापिन्नन् । यसले जनसङ्ख्या र साक्षरहरूको वृद्धिका तुलनामा साहित्यको बजार नफस्टाएको, बरु साँघुरिएको जनाउँछ । तर नयाँ शीर्षकका साहित्यिक पुस्तक छापिने क्रम भने बर्सेनी बढ्दो छ । राजधानीमा दिनहुँजसो हुने विमोचन कार्यक्रमहरूले नयाँ तथा पुराना लेखकहरूमा लेख्ने जोश कायमै रहेको देखाउँछन् । साहित्यिक कृति प्रकाशनमा समर्पित साझा प्रकाशन, नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान -नेराप्रप्र), रत्नपुस्तक भण्डार, वाणी प्रकाशन, विवेक सिर्जनशीललगायतका प्रकाशनगृहले पनि आफ्नो व्यवसाय धानेकै छन् ।
स्थापनाको ४५ वर्षो अवधिमा ६६७ वटा पुस्तक प्रकाशन गरिसकेको नेराप्रप्रले प्रकाशनमा जति ध्यान दिएको छ, त्यो अनुपातमा बिक्री-वितरणमा विचार पुर्याएको देखिँदैन । अहिले पनि नेराप्रप्रको एउटै मात्र बिक्रीकक्ष छ । सदस्य-सचिव गीताकेशरी भन्छिन्, “हामीले बिक्रीको जिम्मा साझा प्रकाशनलाई दिएका छौँ । अबचाहिँ क्षेत्रीयस्तरमा पुस्तक बिक्रीका आफ्नै ‘प्वाइन्ट’हरू राख्ने सोचाइ बनाउँदैछौँ ।”
नेपालमा पुस्तक प्रकाशन आरम्भ गर्ने ‘गोरखाभाषा प्रकाशिनी समिति’ को उत्तराधिकारी संस्था हो साझा प्रकाशन । यसका डडेलधुरादेखि पाँचथरसम्म २८ शाखा र बिक्रीकक्षहरू छन् । पुस्तक बिक्रीवितरणमा अरू प्रकाशनगृहभन्दा यो अगाडि देखिएको छ । र्सवाधिक बिक्री भएका नेपाली साहित्यिक कृतिहरू पनि यहीँबाट छापिएका छन् । साझा प्रकाशनका महाप्रबन्धक नवराज कार्की भन्छन्, “अझै पनि महाकवि देवकोटाको मुनामदन वर्षा सालाखाला २५ हजार प्रति बिक्री हुन्छ । हामीले गत वर्षमात्र यसको चौबीसौँ संस्करण एक लाख प्रति छापेका थियौँ ।”
नारायण वाग्लेको उपन्यास पल्पसा क्याफे विज्ञापन शैली र त्यसले जन्माएको उत्सुकताका कारण एक महिनामै पाँच हजार प्रति बिक्री भयो र यसको दोस्रो संस्करणसमेत निस्किसकेको छ । तर ठूला प्रकाशनगृहले प्रचारप्रसारमा पटक्कै ध्यान दिने गरेका छैनन् । साझा र नेराप्रप्रबाट प्रकाशित कुनै पनि पुस्तकबारे अन्तरक्रिया, विमोचन वा विज्ञापन हुँदैन, गरिँदैन । यस सम्बन्धमा महाप्रबन्धक कार्की भन्छन्, “हाम्रा लागि यो व्यावहारिक र सम्भव छैन, किनकि हामीकहाँ १२ सय लेखक छन् । एकै वर्षा तीन दर्जन पुस्तक निकाल्छौँ । एक, दर्ुइ पुस्तकको मात्र विशेष मार्केटिङ गर्दा अन्य पुस्तक/लेखकको अपमान गरेजस्तो हुन्छ ।” यो तर्कमा सहमति जनाउँदै सदस्यसचिव गीताकेशरी भन्छिन्, “र पनि, यो वर्षेखि दर्ुइ तीन पुस्तकको औपचारिक विमोचन र अन्तरक्रिया गर्ने योजना छ ।”
विवेक सिर्जनशील प्रकाशनका सञ्चालक विजयराज आचार्यका अनुसार तीन वर्षो अवधिमा यो प्रकाशनगृहबाट ३५० साहित्यिक कृति प्रकाशित भएका छन् । यसका घुम्ती टोलीहरूले राजधानीभित्र र बाहिरका करीब १२ सय विद्यालयमा नयाँ किताबहरू पुर्याउँछन् । कान्छो प्रकाशनगृह भएर पनि बालसाहित्यमा र्सवाधिक ९० वटा पुस्तक प्रकाशन गरेको यसका सञ्चालकहरूको दाबी छ । बाह्र साहित्यिक पुस्तकका स्रष्टा विजयराज भन्छन्, “स्तरका दृष्टिले विदेशी साहित्यभन्दा हाम्रो साहित्य कम्ती छैन । तर प्रकाशित अधिकांश पुस्तक र तिनका लेखकले पाठकसम्म पुग्ने बाटो नै फेला पार्दैनन् ।” त्यस्तै धारणा राख्छन् प्रकाशन संघ नेपालका अध्यक्ष गोविन्द श्रेष्ठ । उनी भन्छन्, “नेपालमा साहित्यिक पुस्तकको प्रकाशन र बिक्री सन्तोषजनक नभएको सत्य हो ।”
अर्को सत्य के हो भने सबै साहित्यिक पाण्डुलिपिहरूले प्रकाशक पाउँदैनन् । पाइहाले पनि अधिकांशले लेखकहरूलाई निचोर्ने, थिच्ने गरेको गुनासो समेत भेटिन्छ । त्यसैले जसोतसो आफैँले पुस्तक छापेर रहर मेटाउनेहरू पनि प्रशस्त छन् । तर कतै कतै भने एक जना लेखककै लागि प्रकाशन संस्था जन्माइएका उदाहरण पनि छन् । ३१ वटा कृति र्सार्वजनिक गरिसकेका सरुभक्तका पाण्डुलिपिलाई पुस्तकाकार रूप दिन पोखरेलीहरूले ‘सरुभक्त सरोकार केन्द्र’ स्थापना गरेका छन् । केन्द्रका अध्यक्ष तीर्थ श्रेष्ठ भन्छन्, “सरुभक्तमा संभावनाको प्रचुरता देखेर उहाँलाई लेखनमा पूर्ण समर्पित हुनसक्ने वातावरण बनाउन केन्द्रको स्थापना गरेका हौँ ।”
साहित्यिक प्रकाशनका दृष्टिले साझा र नेराप्रप्रपछि प्रमुख प्रकाशनगृह मानिने रत्न पुस्तक भण्डार, जनमत प्रकाशन, नइ प्रकाशन, बगर फाउन्डेशन, जगदम्बा प्रकाशन, भुँडीपुराण प्रकाशन, तिवारी साहित्य समिति, वनीता प्रकाशन, नवीन प्रकाशन, नेपाल बालसाहित्य समाज आदिबाट दर्जनौँ साहित्यिक कृति निस्किएका छन् । तर यी संस्थाहरूले पनि साहित्यिक कृतिहरू सहजै पाठकसम्म पुर्याउन विशेष प्रयास गरेको पाइँदैन । यस्ता कुरामा लेखकहरू समेत दोषी रहेको बताउँदै विवेक सिर्जनशीलका प्रकाशक आचार्य भन्छन्, “हाम्रो प्रकाशनबाट अर्ढाई सय लेखकका पुस्तक छापिएका छन् तर एउटा लेखकले अर्कोको पुस्तक किनेर, लगेर, पढेर प्रशंसा गरेको मैले देखेको छैन ।” साझाका महाप्रबन्धक कार्कीका अनुुसार, अर्को लेखकले उपहार दिएको पुस्तक समेत नपढ्ने लेखकहरू पनि नेपालमा प्रशस्त छन् ।
