यसर्थ
बेहिसाब खुशी छु
हाम्रो भेट भयो,
यस्तरी भेट भयो
कि
कहिलै नछुटौ झै भेट भयो ।
तर
बेस्सरी दुखी पनि छु,
किन कि
समयले एक भञ्ज्याङ काटेपछि भेट भयो ।
न त छुट्नु ?
न त एक साथ हिंड्नु ?
तिम्रै पर्खाइमा
बैस फुलेर पनि
पात जम्मै झरेर
ठिङ्ग्रिङ्ग उभिएको
बिरक्तिलो जिन्दगीमा
नयाँ पलुवाहरू पलाएर
फूल फूल्न थालेपछि भेट भयो ।
छोडौ तिमीलाई !
तिम्रो मायाको सराप लाग्ने डर,
सँगै हिडौ
बाटो भरी कोपिलाहरू छन्
कुल्चिएला कि ?
तिनै कोपिलाहरूको
पाप लाग्ने डर ।
त्यसैले त
यती मिठो
हाम्रो भेटमा पनि
बेस्सरी दुखी छु
किनकि
समयले
एक भञ्ज्याङ काटेपछि भेट भयो ।
२७ मे २०१३
बिरानो देशबाट
