Skip to content

कतिसम्म कुर्न सक्छौ र तिमी ?

  • by
20130602_AmritBaskune_Story


आज चार वर्ष बितिसकेछ तिमी र मसँगै नबसेको पनि । सानै उमेरमा तिम्रो र मेरो विवाह भएको हो । तर विवाहलाई म अहिले पनि कसरी सम्झने कल्पना र सम्झना मात्र त बाँकी छ नि हैन र ? जीवनका आरोह अवरोहहरूमा सँगै जिउने र सँगै मर्ने भनेर हामीले अग्निलाई साक्षी राखेर खाएका कसम अनि अग्निको फेरो लगाएर कोटीकोटी देवताहरूलाई साक्षी राखेका थियौं । तर आज आएर किन यो अवस्था आएको छ मलाई थाहा छैन । किन किन तिमी र मसँगै बस्न सकेनौं । आखिर किन यस्तो भयो ? सबैलाई थाहा छ तिमीलाई र म पनि राम्रोसँग मनन गरिरहेकै छु । समाजलाई पनि थाहा छ हाम्रो बारेमा र किन हामीसँगै बस्न सकेनौं भन्ने कुरा पनि तिमी र म मात्र होइन अरु वरपरका छरछिमेकहरूलाई पनि राम्रोसँग थाहा भएकै कुरा हो । तर समाजको अगाडि किन तिमीले मेरा लागि यति धेरै त्याग गरेको देखाउँछौ ? म अहिलेसम्म पनि जान्न सकिरहेको छैन । कसरी तिमीले मलाई माफ गरिरहेका छौं । यदि कुनै अन्य व्यक्तिको श्रीमती म हुँदो हुँ त साहेद त्यही बेला मेरो अङ्गभङ्ग हुने थियो या मेरो मृत्यु नै हुन्थ्यो होला । तर किन तिमीले मलाई यसरी स्वतन्त्र रुपमा छोडेका छौं ।

आखिर म तिम्रो घरमा गएर बस्न पनि त सक्दिन नि यही अवस्थामा र त्यही घरमा किनकि म त्यो घर छाडेर निस्कनुको कारण सबैलाई छर्लङ्ग थाहा भएको कुरा हो । कसरी र कुन मुख लिएर जाने त्यो घरमा । तिमीले सोधेका पनि त थियौं नि के गर्ने बिचार छ भनेर तर … ।

आज कसरी म सम्झन सक्छु र त्यो विवाहको क्षण । हुन त तिमी रक्सीको नसालाई आफ्नो सबैभन्दा मिल्ने र नजिकको साथी सम्झने मान्छे । तै पनि तिमीले जति नै रक्सी पिएपनि हाम्रो विवाह भयो । विवाह पनि सामान्य तबरले भएको थिएन । जोडतोडका साथ सबैले थाहा पाउने र सम्झने किसिमको थियो हाम्रो विवाह । तर आज किन त्यो क्षण विर्सन मात्र मन लाग्छ मलाई र हामीलाई । त्यो क्षण अहिले आएर एउटा गहिरो खिल बनेर मुटुमा बिझेर बसेको छ । विवाह भयो र हाम्रा तीन सन्तान पनि पुगिसकेका थिए र हुर्किसकेका पनि थिए । तर के गर्नु मानिसको मन त हो मैले तिमी र तिमीले दिएको मायाँलाई सम्झन र आफूलाई केही क्षण सम्हाल्न नसक्दा तिम्रो अगाडि म आँखा ठाडो पारेर हेर्न पनि नसक्ने अवस्थामा पुगे र …।

तीन वर्ष देखि तिम्रो दैनिकी भनेको रक्सी मात्र बनेको छ । प्रत्येक दिन आउछौ मेरो अगाडि तर म तिमीलाई राम्रोसँग हेर्न पनि सक्दिन । म कलेज पढाउँछु तर यथार्थता सम्झँदा पनि मलाई भक्कानो फुटेर आउँछ तर के गर्नु म त तिम्रो नजरमा गिरिसकेको छु नि । तै पनि तिमीले मलाई माफ गरेका छौ । अँझै पनि तिमी मलाई त्यही घरमा लिएर जान चाहन्छौ । तर त्यही समाज त्यही घर अनि म तिम्रो अगाडि कसरी जाउँ ? एक पटक आफै कल्पना गर न म कसरी तिम्रो अगाडि जान सक्छु र ?

एक दिन हाम्रो घरमा एक जना मानिस आएको थियो । ऊ हाम्रोमा बस्ने र खाने पनि उसको कुरा थियो । सोही अनुरुप हाम्रो सल्लाह र उसको पनि चाहना मुताविक उसलाई हाम्रो घरमा खाने र बस्ने व्यवस्था मिलाउने हाम्रो पनि एक मत भएको मलाई याद छ । तर मलाई के थाहा त्यही मानिस हाम्रो यो जीवनमा काँडा जसरी बेग मारेर आएको रहेछ भनेर ।

मलाई के थाहा उसले हाम्रो घरमा बास बस्न आउनुको उद्देश्य के हो भनेर । तर उसले हाम्रो त्यो सानो अनि सुखी परिवारलाई कसीङ्गर सम्झी मिल्काउन खोजेको रहेछ । समयक्रम वित्दै जाँदा उसलाई खाना पकाउने खुवाउने गर्दै जाँदा म कसरी ऊ प्रति नजिक हुँदै गए म पत्तै पाउन सकिन । जति समय वित्दै जाँन्छ म ऊसँग उति नजिक हुँदै गए । प्रत्येक दिन हाम्रो भेट त साँझ विहान भै नै रहन्थ्यो तै पनि दिनको समयमा पनि मैले उसालाई धेरै पटक फोन गर्ने गर्थे र उसले पनि मलाई त्यसरी नै फोन गर्ने गरेको हुन्थ्यो । विज्ञानको आविश्कार र प्रगतिको उपज मोबाइलको प्रयोग पनि हामीले अतिनै गरेका थियौं । दैनिक दिउँसोमा घण्टौं कुरा हुने गर्थे ऊसँग मेरा तर तिमीसँग मेरा त्यति धेरै कुरा हुँदैनथे होला जस्तो लाग्छ आजकल ।

कलेजमा त अहिले पनि पढाउँदै छु नि अहिले दिन काट्न कठीन छ मलाई तर त्यो समयमा कलेजमा जाँदा केही समय फुर्सद भयो कि फोन गरी हाल्न पर्ने बाध्यता जस्तै बनेको थियो मेरो मन । एक घण्टाको अवधि वित्दैमा मैले फोन गर्थे र सोध्थे उसलाई कस्तो छ अहिले हुन त के नै हुन्थ्यो होला र एक घण्टाको समयमै अहिले अचम्म लाग्छ तै पनि घरी उसले त घरी मैले फोन गर्ने । फोन बढी त मैले नै गर्थे उसलाई । समयक्रम वित्दै जाँदा यतिसम्म नजिक भयौं कि हामी बीचमा कुनै पनि सीमा रहेनन् । श्रीमान र श्रीमती बीच मात्र हुने जुन प्रकृया हुन्छ त्यो पनि मैले रोक्न सकीन । मेरो र उसको यौन सम्बन्ध पनि भयो । याद गर त हामी कतिसम्म नजिक भएका रहेछौं र कतिसम्म अरु संसार र तिमी अनि तिम्रो र मेरा ३ सन्तान छन् भन्नेसम्म पनि मलाई हेक्का भएन त्यो पलमा ।

जब धेरै समय बितिसकेको थियो हाम्रो यौन सम्बन्धको तब एक दिन … । उसले र मैले तिम्रो उपस्थिति नभएको मौका छोपी यौन कार्य गर्न लागेको बेलामा तिमी टुप्लुक्क आइपुग्यौ । त्यो पल मलाई यतिसम्म गाह्रो भएको थियो मैले शब्दमा कल्पना गर्न सक्दिन । यदि अन्य कोही नारीहरू हुन्थ्ये भने त्यही समयमा आत्महत्या गर्ने थिए जस्तो लाग्छ मलाई । तर मैले त्यो बेलामा कुनै पनि अनर्थ हुने र म तिमी र उसलाई पनि केही मर्का नपर्ने गरी केही त्यस्तो अप्रिय निर्णय लिनतिर लागिन । तर त्यो दिनले मलाई तिम्रो अगाडि आँखा जुधाएर उभिन पनि नसक्ने अवस्थामा पुर्याउने काम भने पक्कै पनि गरेको छ भन्ने कुरा म अहिले पनि मनन गरिरहेको अवस्था हो ।

हुनत अहिले म फेरि पनि तिमीसँग गएर तिम्रो घरमा रमाउन चाहन्छु तर सक्दिन र डर लाग्छ पनि समाज अनि वरपरका सब चिजको । समाज मात्र होइन त्यो घर अनि घर भित्र र बाहीर रहेका प्रत्येक चिजको मलाई डर छ कतै ती चिजबिजहरूले तर्साउने त हैनन तँ निच आइमाइ होस् भनेर तर के गरु ? म आत्म हत्या गरुँ त ? कि कतै अन्त जाउँ तिमी र तिम्रो छाँयासम्म पनि नपर्ने स्थानमा तर सक्दिन किन किन तिम्रो सामिप्यता चाहिन्छ । तिमीले अँझै पनि मलाई कतिसम्म हेरचाह र गर्छौ र मेरो बारेमा चासो राख्छौ ? तर के गरु म त्यसैगरी तिम्रो चासो राख्न र तिम्रो अगाडि जान पनि त सक्दिन र भाग्न पनि सक्दिन ।

एउटा हाम्रो सन्तानको विवाह भैसकेको छ र अब दुई वटाको विवाह गर्न बाँकी छ । यदि सबैको विवाह भैसकेको भए र उनीहरूको अवस्था सुधृ सकेको भए मैले जे गरे पनि हुने थियो हैन र ? तर मैले सकेको छैन तिमीलाई सुधार्नका लागि तिमीले रित्याउने प्रत्येक गिलास र बोत्तलहरूलाई भरी नै रहुन तिमीले रित्याउने मौका नपाउनु भन्ने काल्पना त गर्छु तर कसरी गर्ने ।

कसैको लहैलहैमा लागेर मैले तिम्रो विरुद्धमा अदालतमा मुद्दा दायर पनि गरे तर तिमीले त्यो मुद्धाको केही टेरपुच्छर लाएका छैनौ । भन्छौ अरे जाबो स्वास्नी र छोराछोरीसँग पनि मुद्धा लड्छ कोही अनि कोही धाउँछ तारेख । त्यत्तिकै छाडेका छौ त्यो मुद्धा पनि । त्यही एउटा निहु पारेर तिमीले मलाई विदा दिन्छौ कि जस्तो लागेको थियो तर त्यो पनि बेकार भएको छ । आजको दिनसम्म पनि मैले तिमीलाई भुल्न सकेको छैन र तिमीलाई र उसलाई हेर्ने मेरो नजर फरक पनि हुन सकेन अहिलेसम्म पनि अँझै पनि मैले तिम्रो अगाडि पर्नै नहुने अवस्था सृजना भएको थियो तर पनि मैले उसलाई अहिलेसम्म पनि भुल्न सकेको छैन र उसलाई अहिले पनि म बोलाउँछु र ऊसँग समय बिताउँछु र विगतमा जुन कारणले गर्दा हामी बिचमा फाटो आयो त्यही प्रकृयालाई निरन्तरता दिन चाहन्छु र दिन्छौं पनि तर … ।

अब त अति भो । अब त केही गर्नै पर्छ । विगत सम्झन्छु विद्यार्थी काल नै थियो हाम्रो । विद्यार्थी कालमै बिहे भयो । रक्सीले मातेर चौतारीमा लडेको तिमीलाई बोलाएर मण्डपमा राखेर विवाह गरेका थियौं हामीले । तर त्यही समयमा पनि कति मायाँ गरेको थिए मैले तिमीलाई तर के गरौं पछिल्लो झण्डै एक दशकको समयले हाम्रो जिन्दगीलाई चकनाचुर बनाएको छ । आखिर हाम्रो जीवन के हो भनेर बुझ्न सक्ने अवस्था मैले आजसम्म पनि केही निश्कर्ष निकाल्न सकेको छैन । तर मेरो जुन प्रोफाईल छ अहिलेको त्यो र मेरो जुन व्यवहार र अवस्थाले तिमी र मसँगै रहन सकेनौं कसैले कल्पना गर्न सक्दैन यो । तर यथार्थता त तिमी र म बीचको सम्बन्ध यही त हो नि हैन र ?

झुपडीकै बास भए पनि छहारी मिलेकै थियो, खोले फाँडो भए पनि पेट भरिएकै थियो । त्यो दिन थियो जुन दिन केही लालचमा लाग्दा जिन्दगी किनाराले छाडेको बगर जस्तै भयो । मिठो सपनाको संसारमा डुब्दा त रमाईलो हुन्छ, सपनाको धाजामा खुट्टा टेक्दा त्यो दलदलमा भासिए पछि जिन्दगी अर्थहिन बन्न पुग्छ.। आज मेरो ब्यथा भनौ या तत्कालीन केही समयको लागि हुने आनन्दको लागि देखेको सपना त्यस्तै भएको छ ।

फूल बिनाको डाली भएकी छु
पखेंटा बिनाको चरी भएकी छू

घर बिनाको संसार जिएकी छु
आज प्यास मेटाउन आफ्नै आँशु पिएकी छु

मलाई पनि लैजाऊ प्यारा जहाँ तिमी त्यही
यो धर्तीमा खुशी छैन तिमी बाहेक कही

मेरो राजा किन मलाई छोडी गयौ भन
तिमी बाहेक रम्दैन कतै पनि मन

कस्तो रैछ त्यो छिनी लग्यो तिमीलाई
कसले भेटी राख्यो मेरो हजुरलाई

न त पाएँ मैले खुशी न त पाएँ जीवन
मेरो खुशी छिनी लग्यो खुशी छैन यो मन

सारी छोड्यौ बिउ तिमले हुर्कीसक्यो आज
छुनमुन गरी आँगनीमा नाच्छ मेरो माझ

तोते बोली सुन्न प्यारा फर्की आए हुन्थ्यो
आँगनीमा छुनमुन गरी बाबा भनी छुन्थ्यो

तर के गर्नु मैले भावना बग्नु बाहेक अरु के नै गर्न सक्छु र ? न त तिमीलाई यहाँ आउसँगै बसौं भन्न सक्छु न त तिमी भएको ठाउँमा म नै पुग्न सक्छु बस्नको लागि । कति कष्टप्रद भयो यो जिन्दगी मलाई थाहा छ तर कसरी म यस्तो अवस्थामा पुगे त्यो बेला किन मैले आफूलाई समाल्न सकिन थाहा पाउन सकिरहेको छैन मैले । आँखा छोपेर केही बेर कल्पना गर्छु अनि बर्बराउन थाल्छु अनि झल्यास्स ब्यूझन्छु अनि फेरि तिमीलाई सम्झेर रुनू बाहेक केही गर्न सक्दिन म …।

दीपक आखिर मैले तिमीलाई दिने भनेको खुसी कहिल्यै पनि दिन सकिन र सक्दिन पनि । त्यसैले अब म यस धर्ती छाडेर सबैको लागि बनेको आँखाको कसिङ्गरलाई हटाएर जाँदै छु । जति समय प्रयास गरे तर पनि मैले गरेको त्यो प्रयासले सफलता पाउन सकेन असफलता बाहेक मेरो निर्णयले सार्थकताको दिशामा अगाडि बड्न सकेन त्यसैले म अब तिमी र तिम्रो नजरबाट टाढा जाँदै छु । यो मेरो निर्णयले तिमीलाई हल्का त हुने छ नै मैले पनि आफूले गरेको पापको प्रायस्चित गर्ने एउटा सुनौलो मौका हुने मैले महसुष गरेको छु । त्यसैले मलाई तिमीले माफ गर्ने कुनै पनि कारण र अवस्था छैन त्यसैले कहिल्यै मलाई माफी नगर्नु ल । यदि तिमीले मलाई माफ गरेका छौ र गर्यौ भने मेरो लागि सबैभन्दा ठूलो हिनताबोध र मैले गरेको अपराध सिवाय केही हुने छैन । किनकि म तिमीले माफ गर्न लायक रहिरहन सकिन र तिम्रो हातबाट मेरो सिउँदोमा परेको सिन्दुरको मूल्य र त्यसको महत्व मैले बुझ्न सकिन त्यसका लागि म माफी माग्न लायक छैन म सजायको भागिदार हो त्यसैले तिमीबाट त्यो सजाय मैले पाउने पक्कै पनि सक्दिन भनेर म आज आएर तिम्रो तर्फबाट म आफूलाई आफै सजाय दिँदै छु । अम म कहिल्यै फर्केर आउने छैन तिम्रो अगाडि । आउन सक्ने वातावरण र मसँग तिम्रो अगाडि पर्ने साहस छैन त्यसैले दीपक अब मलाई नकुर्न ल …।

अलबिदा दीपक … !

अमृत बास्कुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *