समयको कुनै एक भाग
रात, दिन
घण्टा, मिनेट
सेकेन्ड, पल
बिहान, मिर्मिरे
मध्यान्ह, साँझपख
एउटा निर्जन बस्तीमा
मान्छेहरू बस्थे ।
त्यो वस्ती मान्छेकै लागि
उपयुक्त थियो
विश्वासका खम्बाहरूले
त्यो बस्ती मन मोहक लाग्थ्यो
विचारका छानाहरूले
बस्तीलाई
पानीबाट जोगिन ओत दिन्थ्यो
जागरका हातहरूले
त्यो बस्तीमा सबथोक सिर्जिन्थ्यो
र मान्छेहरू
निराजनातालाई भूलेर
एकतामै रमाएर
त्यो वस्तीमा ढुक्कसित बस्ने गर्थे ।
मान्छेहरूको प्रवेश पछि
निर्जन बस्तीको
गुण गान पर पर
बाबरी फूलको बास्ना झैँ फैलिएको थ्यो
मान्छेहरूको प्रेमपछि
निर्जन बस्ती
मनमोहक दुबो झैँ मौलिएको थियो ।
दिन नै लागेर होला
आज त्यो बस्ती फेरि शुनसान भएको छ
दशा नै लागेर होला
त्यो बस्ती पुन निर्जनतामा फैलिएको छ
मान्छेहरू बस्ने त्यो बस्ती
कठै ! आज शमसानमा परिणत भएको छ ।
यसैले मलाई आज
त्यही निर्जन वस्तीमा
मान्छेको वस्ती बसाउन मन लागेको छ
मलाई त्यहाँ
विश्वास भित्र्याउन जागर चलेको छ
मलाई त्यो मान्छे बेगरको बस्तीमा
पुन मान्छेको भाइचारा र एकताको जग हाल्न
मनलागेको छ ।
हो ;
समयको कुनै एक भाग
रात, दिन
घण्टा, मिनेट
सेकेन्ड, पल
बिहान, मिर्मिरे
मध्यान्ह, साँझपख
एउटा निर्जन बस्तीमा
मान्छेहरू बस्थे ।
अस्तु :
विवेक दुलाल क्षेत्री \”दमक \”
दमक, झापा
हाल : अबुधाबी, यू ए इ ।
