Skip to content


मसँगै पढ्ने साथीहरू मध्ये सम्झना र गम्बे असाध्यै मिलनसार साथीहरू थिए । सम्झना डाँडाटोलको पुजारी ब्राम्मणको छोरी, मभन्दा दुई महिनामात्र दिदी थिई । उसको वुवा पञ्चेकालमा वडा अध्यक्ष थिए रे । जिल्लाको अड्डासम्म राम्रै पहुँच भएका नेता । समय अनुसार रंग बदल्न सिपालु सदावहार नेताको रुपमा गाउँलेहरूले बुझ्थे । गाउँघरमा दुःख, अनिकाल आईपर्दा गुहार्ने तिनै सम्झनाको घर थियो ।

यता गम्बे पनि मभन्दा छ सात महिना जेठो थियो । उसको बुवा गाउँ भरिको हँसिया, खुकुरी, कुटो, कोदालो, अर्जाप्ने काम गर्थ्यो । गाउँलेहरू गम्बेको बुवालाई हवल्दार कामी भनेर बोलाउँथ्यो । पहिला पहिला गम्बेको बुवा इन्डियामा चौकिंदारी गर्थ्यो रे । बुढेसकाल लागेपछि चौकीदारी छोडेर नेपाल फर्केछन् । सानै देखि हवल्दार बन्ने सपना थियो रे । पछि गम्बेको हजुरबुबाले नाम नै हवल्दार राखि दिएछन् । सपना त पुरा भएन तर इन्डियामा चौकिंदारी गरेर आफ्नो सपनाको एक अंश भने पुरा गरें भन्नुहुन्थ्यो बेलाबेलामा गम्बेको बुवा ।

गम्बे हाम्रो कक्षाको पहिलो विद्यार्थी थियो । कक्षामा धेरै नबोल्ने, के के नयाँनयाँ कुराहरू सोंचिरहने, सरले प्रश्न लेख्दा लेख्दै त्यसले उत्तर पत्तालगाई सक्थ्यो । कक्षामा गम्बे र म असाध्यै मिल्थ्यौं । सम्झना चाहि पढाईमा मध्यम स्तरको थियो । चंचले स्वभाव, कहिल्यै नरिसाउँने, हाँसेर बोल्ने, साथी बनाउँन सिपालु, जहिल्यै एउटा आर्कषक ब्याग बोकेर आउँथी । जुन हामी कसैसँग थिएन । स्कुल छुट्टी भए पछि हामी तिनै जनासँगै घर फर्कन्थ्यौं ।

एक दिन सुक्रवारको दिन थियो । त्यो दिन खै किन हो गम्बे स्कुल आएन । स्कुलमा सम्झनाले गीत गाएर सुनाई । मैले कविता सुनाएँ । त्यो दिन स्कुलबाट फर्किदाँ छुट्ने बेलामा सम्झनाले मलाई, गम्बेलाई दिनु भनेर एउटा पत्र दिई । हामी तीन असाध्यै मिल्ने साथी भएपनि उनीहरू दुई जना मात्रै खासै बोल्दैन थिए । म नै उनीहरू बिचको शुत्रधार बनिदिनु पर्थ्यो । म पत्र लिएर गम्बेको घर गएँ । घरमा कोही पनि भेटिएन । गम्बेलाई खोज्दै गएँ । गम्बे त उसको परिवारसँगै बोरा बोकेर गाउँ भरि डुल्दै रहेछ । म पनि गम्बेसगै दिनभरि हिडें । मैले केही पनि मेसो पाइन । बेलुकी आमाले घर भित्र पस्न दिनु भएन । कारण थाहा पाइन । रातभरि गोठमा गएर सुतें ।

हामी तिनै जनाले सात कक्षा पास गर्यौं । गम्बे प्रथम नै भयो । सम्झना पनि केटीहरू मध्ये अगाडि नै देखिई । सम्झनाले एक दिन मलाई फेरि गम्बेलाई दिनु भनी पत्र दिई । त्यो सहित मैले चारवटा पत्र गम्बेलाई दिइसकेको थिएँ । गम्बे चाहि सम्झनासँग बोल्नै डराउँथ्यो ।

एक दिन मलाई सम्झनाले गाईबस्तु लिएर चिप्ले दोभानमा आउँनु भनी । साथमा जसरी भएपनि गम्बेलाई लिएर आउँनु भनी । म त्यतिकै कहाँ सहमत हुन्थें र । सम्झनाले साईकल सिक्न दिने सर्तमा मात्रै म सहमत भएँ । गम्बेलाई बल्लबल्ल फकाएर उसको पनि गाईबस्तु लिएर चिप्ले दोभारतिर हिड्यौं । बाटो भरि ढुङ्गाहरूमा खै के के साईरीहरू लेखेको देख्यौं । जतिजति माथि पुग्यो उतिउति धेरै साईरीहरू ढुङ्गाहरूमा देख्यौं । कतै कतै ढुङ्गामा लेखेको देखियो “गम्बे म तिमीलाई माया गर्छु ।”

“तिमी सागर, म पानी, तिमी आकाश, म बादल,” गम्बे कहिले डराएँझैं देखिन्थ्यो, कहिले लजाएझैं देखिन्थ्यो, कहिले मलाई हेर्दैै रिसाउँथ्यो भने कहिले झर्को मान्दै गाईबस्तु फर्काएर फर्किन खोज्थ्यो ।

“तैंले कहाँ ल्याइस् अम्बरे ? त्यो केटी कहिले आको यता ?”

मलाई पिटुँला झैं गरी झम्टिन्थ्यो कहिले । फेरि पनि उसको प्रिय साथी म मेरो कुरा काट्न सक्दैन्थ्यो ।

गम्बेको घुर्की र धम्की सुन्दा सुन्दै हामी चिप्ले दोभानमा पुग्यौं । “बजाऊ बजाऊ” अचानक कतै नेपत्थ्यबाट छोरी मान्छेको आवाज गुन्जियो । त्यो आवाज सम्झनाको भन्ने प्रष्टै चिनिन्थ्यो । हामी वरपर आत्तिदै खोज्न थाल्यौं । पल्लो पट्टी दहको माथि सम्झना झुन्डिएर कराउँदै रहिछे । “गम्बे मलाई बचाउ, तैंले मलाई माया गरिनस् भने म यही दहमा डुबेर मर्छु,” सम्झना जंगल थर्किने गरी चिच्याउन थाली ।

“नाई, तँ बाउनको छोरी म कामीको छोरा म तँलाई माया गर्दिन,” गम्बले चिच्याउँदै उत्तर दियो ।

“त्यसो भए म यही मर्छु, अम्बरे जा सबैलाई भनिदे सम्झना आजबाट यो संसारमा छैन भनेर,” सम्झना दहमा फाल हान्न खोजे झैं गर्न थाली ।

“तँ मरे पनि मर, मलाई मतलब छैन” गम्बे ढिपी कसेर बस्न थाल्यो ।

मलाई आपत पर्यो ।

“हेर गम्बे सम्झना मरि भने तँलाई र मलाई झ्यालखानामा लान्छ, बुजिस् जा बचाइदे ।”

गम्बेलाई धेरै बेर सम्झाए पछि बल्लबल्ल गम्बे अनकनाउँदै सम्झनालाई बजाउन गयो । गम्बेले सम्झनाको उद्धार गर्यो । दहको माथि “आई लब यू गम्बे” भन्दै सम्झना चिच्याएको सुनियो । वरपरको चराचुरुङ्गी भुरुरु उड्यो । मलाई अलिअलि लाज लाग्यो । उनीहरू दह माथि नै थिए । म चाहि तल खोलाको गङटा खोज्न थालें । बेलुकी अबेर हामी गाईबस्तु लिएर घर फर्कियौं ।

आठ कक्षाको परिक्षा नजिकै आयो । गाउँमा एका एक माओवादीको हल्ला चल्न थाल्यो । कतै सुनियो, माओवादी भनेको त गरिवको आफन्त हो रे । माओवादीले शोषक सामन्तको खुट्टा काट्छ रे । कतै सुनियो, माओवादी जंगलमा बस्छ रे, लामो लामो दारा नङ्ग्रा, पुच्छर र सिङ पनि हुन्छरे, बनको पातहरू खाएर बाँच्छरे ।

नभन्दै एकदिन साँझ मेरो घरमा माओवादी आयो । माओवादी त बाहिर बुवासँग गफ पो गर्न थाल्यो । आमाले बाहिर न जा भन्नु भयो । डरले लुकलुक काम्दै झ्यालबाट बाहिर चिहाएँ । म छक्क परें । कहाँ हुनु सिङ र पुच्छर, कहाँ हुनु दारानंग्रा । माओवादी त अरु कोही नभएर हाम्रो गाउँको कालु मास्टर पो रहेछन् । म दौडिएर बाहिर गएँ । उहाँले “के छ हाल खबर ?” भनेर सोध्नु भयो ।

अन्तमा हिड्ने बेलामा उहाँले भन्नु भयो “हाम्रो देशमा सयमा पन्चानब्बे जना गरिब छन् र ती पाँच जनाले शासन गरिरहेको छ । माओवादीले त्यही गरिवको पक्षमा बन्दुक उठाएको हो । अब हामी सबै जना होमिनु पर्छ जनयुद्धमा ।”

उहाँको त्यो भनाइ मैले कहिल्यै भुल्न सकिन । अन्ततः त्यही शब्दले तान्यो मलाई । सात कक्षा पढ्दा पढदै एक दिन आधारातमा मसाल बाल्दै डाँडा गाउँको सामान्तको घरतिर लम्कदै गरेको लस्करको पछि लागें ।

महान जनयुद्धको आँधीमय दिनहरू छिचोल्दै शान्ति प्रकृयासँगै म काठमाण्डौं छिरें । सुनियो गम्बे एउटा प्राइभेट कम्पनीमा जागिरे छ रे । अस्ति तीन महिना अगाडि गम्बेसँग बाटोमा जम्काभेट भयो । धेरै वर्ष पछिको हाम्रो भेट असाध्यै रमाइलो भयो । अन्तमा उसले अपत्यारिलो एउटा समाचार छाडेर गयो । त्यो सम्झनासँग उसको बिहेको निम्तो थियो ।

मेरो बालसखाको बिहेमा उमङगित हुँदै गाउँ गएँ । गम्बेको घरमा छुट्टै रौनक थियो । सारा गाउँका दलितहरू, अब भेदभाव, छुवाछुतको अन्त्य आफ््नै गाउँबाट सुरु भएको भन्दै शुभकामना आदन प्रदान गरिरहेको देखिन्थो । गम्बेको बुवा सँदाभन्दा निकै खुशी देखिन्यो । म गम्बेको झुपडीको एउटा कुनामा टुसुक्क बसेर सोचें “एउटा हवलदार कामीको छोरा र गाउँको ब्राम्हणको छोरीले आज समाजलाई उदाहरण दिदैछ । आहा ! सदियौं देखिको विभेदको कालो पर्खाल आज आफ्नै गाउँबाट ढलेको देख्न पाइने भयोे ।” गम्बेको बुवा पुरानो कोट टक्टक्याउँदै आगनमा निस्कियो र उही पुरानो मध्यमाञ्चलको ठाडी भाका खुशीले उमङ्गित हुदै गाउँन थाल्यो । गाउँका सारा दलित जनजातिहरू हर्ष उल्लासले सगँसगै गाउँन थाले । कोही नाच्न थाले । गम्बे आफ्नो झुपडीबाट मुस्कुराउँदै निस्कियो । पञ्चेबाजा बच्न थाल्यो । बाजागाजासँगै बुढापाकादेखि तन्नेरी युवा युवती सबै नाच्दै गाउँदै जन्ती सोधियो सम्झनाको घरतिर ।

सम्झनाको घरमा छुट्टै रौनक देखियो । आगनमा दुई चार वटा चिल्ला गाडीहरू थिए । घर अगाडि भब्य गेटमा स्वागत म लेखिएको थियो । आगनमा शहरतिरका जस्ता देखिने डिजिटल साउण्डहरू बजिरहेका थिए । ध्वजा, पतकाहरूले घर पुरै रंगिन इन्द्रेणीको घुम्टो जस्तै देखिएको थियो । आगनमा केराको थामहरूले भब्य जग्गे सिंगारिएको थियो । केही छिनपछि सम्झनाको बुवा दौरा सुरुवालमा चिटिक्क सजिएर बार्दलीमा मुस्कुराउँन आइपुगे । त्यो मुस्कुराहटमा मैले युगांैको कालो विभेदको पर्खाल गर्ल्याम गुर्लुम तासको महल झैं ढलेको देखें ।

अनायासै मेरो मुखबाट शब्द निस्किएछ, “वा ! सम्झनाको बुवा महान रहेछन् ।”

जन्ती अगाडि बढेन । निकै बेरसम्म पनि जन्ती अगाडि बढ्दै बढेन । अगाडि गेटमा गएर हेरें । दुई जना पहलवान जन्तीको मुहार हेर्दै जन्ती छनौट गरिरहेका रहेछन् । गम्बेलाई भित्र छिर्न थिए । त्यसै गरी केही मगरहरू, केही तामाङहरू, केही सुकिला देखिने मान्छेहरूलाई छानि छानि भित्र पस्न थिए । अन्तमा एउटा हुल बाँकिरह्यो, त्यो हुल युगौ देखि छुवाछुतको जंजिरमा अपमानित जीवन ब्यतित गरिरहेका थिए । गम्बेको बुवा भित्र पस्न खोज्यो । ती पहलवानहरूले सडकको पल्लो छेउमा पुग्ने गरी घोक्र्याइदिए । गम्बेको बुवा गोवरमाथि पछारिन पुग्यो । पुरानो कोट च्यातियो । गम्बेको बुवा गोवरमाथि आँशुको धारा बगाउँदै कुनै बालक झैं क्वाँ क्वाँ रुन थाल्यो ।

सम्झनाको बुवा बार्दलीमा मुस्कुराउँन आइपुग्यो फेरि ।

“ए पण्डित यो सब के हो ? तेरो घरमा एटम बम पड्काउँनै पर्ने हो ?”

एउटा युवा सम्झनाको बुवालाई चोर औंला देखाउँदै गेट भित्र पस्न खोज्यो । पहलमानहरूले उसलाई पनि घोक्र्याइ दियो ।

सम्झनाको बुवा जुङ्गामा ताउ लगाउँदै बोल्न थाल्यो “मुर्ख कामीहरू, मैले मेरो छोरी, कामीको डिग्री पढेको जागिरे छोरालाई मात्रै दिएको हुँ । यो समाज र कामीहरूलाई मेरो छोरी दिएको होइन हा हा हा ।”

गेट बन्द भयो ।

बिहेको लागि लगिएको सामानहरू फिर्ता भए । जन्तीहरू कोही कसैले कसैको मुख नहेरी लाखा पाखा लागे । भित्र गएका गम्बे र सम्झनाको खुटवखर गाउँलेहरूले केही थाहा पाएनन् । अन्तमा म पनि लुरुलुरु भारी मन लिएर घरतिर फर्किएँ ।

यो समाज फेरिएन । कसरी फेरिएला ? कस्ले फेरिदिन्छ ? के आफै फेरिन्छ ? के कोहीसँग यस्को उत्तर छ ? के भाषण गर्दैमा फेरिन्छ ? कितावको पन्नाहरूमा लेख्दैमा फेरिन्छ? के दलितहरू मान्छे नै होइनन् ? कस्तो क्रुर ब्यवस्था हो ? म आफैसगँ बोल्दै घरको वरिपरि घुमिरहें । सम्झनाको बुवाको कुटिल हाँसो आँखा वरिपरि आइरह्यो ।

बेलुकी करिव चार/पाँच बजेतिर गाउँलेहरू होहल्ला गर्दै सिकारी डाँडातिर दौडिदै गयो । खै के भयो भयो ? म पनि पछि पछि गएँ । सिकारी डाँडाको जमुनाको रुखमुनि गाउँलेहरू अलाव बिलाव गरिरहेका थिए । नजिकै गएर हेरें । एउटा दलित, समाजको अपमानित मानसिक यातना सहन नसकेर जमुनाको रुखमा एक त्यान्द्रो डोरीको सहाराले दुनिया नै छोडेर जान छट्पटाइरहेको रहेछ । दलित बस्तीको महिला दिदीबहिनीहरू डाँको छोडेर रुन थाल्यो । अन्ततः हवरदार कामी दुनियाबाट सधैंको विदा भयो । गाउँ भरिको हतियार अर्जाप्ने एउटा दलित, अपमान सहन नसकेर जमुनाको रुखमा झुण्डिएर मर्यो । दुनिया फेरियो भन्ठानेर, बाउनको छोरी माग्न जाने परिश्रमी, सोधो हवलदार कामी सधैंको लागि धेरै टाठा गयो । सम्झनाको बुवाको कुटिल हाँसो, जमुनाको पातहरूमा, दलितहरूलाई गिज्याउदै पश्चिमबाट आएको मन्द हावासँगै फहराउँन थाल्यो । तल एक हुल दलितहरू जमुनाको फेदमा छाति पिटी पिटी रोइरहेको थियो ।

सबै दृष्यहरू आँखामा कैद गरेर घर फकिएँ । खाना खान मन लागेन । निधाउने बहान गर्दै ओछ्यानमा पल्टिएँ । निद्रा लागेन । क्यान्टोनमेन्टमा छोडि आएको हतियार धेरै बेरसम्म सम्झिरहें ।

रातको मध्य प्रहरतिर ढोका ढक् ढक् ढक् ढक् गर्यो । जिउ सिरिङ्ग भयो । डर डर लाग्यो । डराउँदै डराउँदै बिस्तारै ढोका खोलें । बाहिर हवलदारकामी सैनिक पोशाकमा खुँडा बोकेर ढोकामा ठिङग उभिरहेको रहेछ । मेरो सात्तो गयो । सपना बिपना छुट्याउँन सकिन । नियालेर हेरें, हवरदारकामी अब एक जना मात्र होइन, सयौं हवलदारकामीहरू हँसिया, खुँडा, तरवार, खुकुरी र मसाल बोकेर मेरो आगनमा मार्चपास गर्न तयार रहेछन् । सारा गाउँ अब हवलदारकामी बनेछन् । मैले पनि एउटा मसाल र खुकुरी बोकें । म पनि हवलदारकामी जस्तै देखिएछु । अँध्यारोमै हवलदारकामीहरूले सल्लाह गरेको अलिअलि सुने “आज राति, पहिला त्यही पण्डितको घर कब्जा गर्ने” त्यस पछि अरु … !

राजु स्याङ्तान
महोत्तरी खयरमारा ६
९८४१८४३४०१

Leave a Reply

Your email address will not be published. Required fields are marked *