Skip to content

यौन समस्या केन्द्रित ‘म र काठमाडौँ ’ : एक अवलोकन


१. कथाकार परिचय
विविध साहित्यिक पत्रपत्रिकाहरूमा निरन्तररूपमा कविता, कथा, लेखहरू लेख्ने कार्य गर्दै हेटौंडा जेसीस, कम्प्युटर एसोसिएसन नेपाल, मकवानपुर, हेटौंडा बजार लायन्स क्लव (संस्थापक अध्यक्ष), एमनेस्टी इन्टरनेशनल, बी.पी. आलोक अध्ययन मञ्चजस्ता विविध संस्थाहरूमा समेत संलग्न रहेर सामाजिक, सांस्कृतिक, साहित्यिक आन्दोलनमा अग्रणी भई जीवनरथ हाँकिरहेका हेटौंडा–४, बासुदेवमार्ग, मकवानपुरका साहित्यकार मनोज ढुङ्गाना नेपाली साहित्य धरोहर निर्माणका युवा योद्धा हुन् । समाजमा नङ्याउनु पर्ने मानिसहरू अझैसम्म पनि नाङ्गिन सकेका छैनन् । शोषण, अत्याचार र भ्रष्टाचारको भर्याङ्गमाथि चढेर बनेको इज्जत र प्रतिष्ठालाई समाजले अझैसम्म च्यातचुत पार्न सकेको छैन । अझैसम्म पनि हाम्रो समाजले यौनधन्दा, देहव्यापार नरकयात्रामा निस्कने एक महाभूलका रूपमा हेरिराखेको छ । रहर, वाध्यता वा विवशताले यौनमार्गमा होमिएकाहरू समाजबाट विस्थापित छन् । सत्यलाई आत्मसात् गर्ने हो भने प्रत्येक घरघरमा यौनलीला रचिन्छ तर त्यो शिष्ट छ, मर्यादित छ । त्यसले मन बहलाउने, आनन्द दिने एवं पारिवारिक स्थिति सुदृढीकरण गर्ने काम गरेको छ । त्यस्तै वैध–यौनधन्दाले समाज सुदृढीकरणमा नवीन अध्यायको सूत्रपात गर्न सक्छ भन्ने स्तरसम्म हामीले आफ्नो चेतनालाई पुर्याउन सकेका छैनौं । समाज रूपान्तरणका निम्ति भिन्न–भिन्न क्षेत्रबाट क्रियाशील हामी सबैका लागि यो ठूलो चुनौतीको विषय हो । कथाकार मनोज ढुङ्गानाको कथाकारिताको मूल चिन्तन यसकै वरपर केन्द्रित छ ।
वास्तवमा सत्य, न्याय र परिवर्तनको पक्षमा बहस गर्ने र विचार सम्प्रेषणलाई सशक्त तुल्याउने सहज विधा कथा हो । विचार सम्प्रेषणका भरपर्दा अरू विधा पनि छन् तर अत्यन्त प्रभावकारी विधा कथा नै हो भन्नुको कारण चाहिँ के हो भने हामी पलपल कथावस्तु बुनिरहेका छौं । हरघडी कथानक लम्ब्याउन श्वास फेरिरहेका छौं । हाम्रा लागि जीवन नै कथा भइदिएको छ । त्यही कथासँग बाँचिरहे पनि हामी आफूलाई चिन्न सकेका छैनौं । हामी आफूआफैंमा खुल्न सकेका छैनौं । त्यही जीवनमा नभनिएका र नखुलेका रहस्यहरूको पर्दाफास गर्ने काम “म र काठमाडौं’’ मा भएको देखिन्छ । युवामनका भावना समेटी कथा लेखनमा सक्रिय कथाकार ढुङ्गानाले कथा क्षेत्रमा जोखिम मोल्ने काम गरेका छन् । उनको २०५० सालमा प्रकाशित “नारी सङ्घर्ष” कृतिपछिको दोस्रो कथाकृतिका रूपमा “म र काठमाडौं’’ (२०६९) हेटौंडा बजार लायन्स क्लवबाट प्रकाशन भएको छ । हुन त उनी कविता लेखनमा लागेको निकै पछि मात्रै कथा लेखनमा हात हाल्न पुगेका सर्जक हुन् । लेख्दा–लेख्दै र साधना गर्दागर्दै कलम खार्न पुगेका यी सर्जकको कथाकारिताले इतिहासमै छलाङ् मारेका छन् । किनभने युवानजर र युवाकेन्द्रित कथासङ्ग्रह नै प्रकाशन गर्न उनी सफल भएका देखिन्छन् । सचेत ढङ्गले सुरू गरिएका जुनसुकै क्रान्ति, आन्दोलन र लेखनहरूको मूल अभीष्ट भनेको समाजलाई रूपान्तरण गर्नु हो । समाजका कमीकमजोरीहरूमा आँखा चिम्लेर अराजक निर्मूलका विचार भन्दै खोक्रा शब्दहरूको भारी बोकाउँदैमा र आदर्शको ढोल पिट्दैमा कोही साहित्यकार बन्दैन । समाज जस्तो छ र समाज जता हिँड्न खोज्दैछ, त्यसको अभीष्ट पत्ता लगाएर अगाडिको बाटो सुकिलोमुकिलो एवं खतरामुक्त पारिदिन शब्दको सदुपयोग गर्नु आजका शब्दपारखीको कर्तव्य हो । हो, त्यही कर्तव्य पूरा गर्न कथाकार सतर्कताका साथ पाइला चालिरहेको आभाष पाइन्छ । नेपाली समाजको रूपान्तरणका लागि सामाजिक यथार्थतालाई साहित्यको सिलौटोमा घोट्नु आवश्यक छ । अनि मात्र साहित्य रूपान्तरणको एउटा कोसेढुङ्गो सावित हुन सक्छ । यही स्वीकारोक्ति दिने ढुङ्गाना समयको प्राप्तिलाई अस्विकार गर्नेहरू इमान्दार नभएको ठहरमा पुगेका छन् । र, आफू र आफ्नो कर्म चाहिँ समयको उपजका रूपमा लिन पुगेका छन् ।
यस सानो लेखमा उनै आख्यानकार ढुङ्गानाद्वारा लिखित सोही कथासङ्ग्रहमा समाविष्ट ‘म र काठमाडौं’ कथाको वस्तुवादी विश्लेषण गर्ने उद्देश्य राखिएको छ ।

२. शीर्षक, संरचना र विभाजन:
यहाँ विवेच्य ‘म र काठमाडौं’ कथा नौवटा कथामध्ये कथाक्रमको पाँचौं कथाको रूपमा देखापरेको कथा हो । ‘म र काठमाडौं’ को अर्थ ‘काठमाडौं सहरमा मौलाउँदै गएको यौनधन्दा र त्यसको व्यवस्थापनको खाँचो’ भन्ने बुझिन्छ । यहाँ, मानवीय संवेदनाशून्य यौन क्रियाकलापहरू समेत वर्णित छन् । बोलीमा आफ्नोपन भए पनि वास्तविक व्यवहार प्रतिगामी रहेका विविध प्रसङ्ग पनि उत्तिक्कै सशक्त देखिन्छन् । आफ्नो स्वार्थ र सौखमा लिप्त हुने चरित्रहरूको अराजक जीवनशैलीले नेपाली समाजको प्रतिष्ठा धरासायी हुँदै गएकोमा चिन्ता समेत व्यक्त गरिएको छ । नेताले देस खाएजस्तै यौनकर्मीले देस खाँदैनन् तर वैधानिकता पाए देसनिर्माणमा सानो भए पनि इँट थप्दछन् भन्ने विचार प्रकट भएको छ । रहस्यमय यौनमामलाका घटनाको इतिवृत्तिले कथामा भरमग्धुर प्रश्रय पाएको छ । रहरले वेश्या हुनेहरूले स्वच्छ र कानुनी बजार पाउनुपर्छ । पेट पाल्नका लागि बैकल्पिक रोजगारीको ढोका खुल्नुपर्छ । नारकीय जीवन भोग्न नपरोस् । ग्राहकले तिरेको पैसाको पूरापूरी असुल हुने गरी इच्छुक र पेशेबर युवायुवतीहरू इच्छ्एको काममा लाग्न सकून् । यौनधन्दा पनि कानुनी दायरामा आउनुपर्छ । यसबाट सरकारलाई कर प्राप्त हुन्छ । नेपालमा लुकिचोरी भए पनि सेक्स, फेसन, ग्ल्यामर र मोडलिङले पश्चिमी मुलुकको सिको गरेको प्रसङ्ग, पायकपर्ने स्थान र समयमा देहव्यापार गर्ने गरेका तथ्यहरू कथामा आएका छन् । म पात्रको काठमाडौं बसाइका अनुभूतिहरूले कथामा प्रमुख स्थान पाएको र सहर केन्द्रित कथा रहेकोले शीर्षक सार्थक रहेको देखिन्छ ।
उनको कथा लेखनको पाटो बारे केलाउँदा के भन्न सकिन्छ भने– कथाको संरचना तयार पार्ने क्रममा कतिपय ठाउँमा काल्पनिक जीवनको रोमाञ्चपूर्ण विवरण प्रस्तुत गरी अयथार्थलाग्दा घटनाक्रम मिश्रण गरिएको छ । तर, पनि पाठकहरूलाई एउटा न एउटा उद्देश्यतर्फ प्रेरित गर्न सकेका छन् । कथा लेखनका क्रममा लेखक जहिले पनि पाठक र समाजप्रति समर्पित हुनै पर्दछ । लेखकले आफ्नो मनको घाउ मेट्न हैन समाजको चहरयाइरहेको घाउमा मलहमपट्टी लगाउन कलम उचाल्नुपर्छ । त्यसतर्फ कथाकारले विशेष सचेत भई वर्तमान पक्रनु जरुरी छ । वास्तवमा उनका कथामा रोमाञ्चकताको छेलोखेलो मात्र पाइन्न सामाजिक यथार्थताको खरो बखान समेत भेटिन्छ । ‘नजुरेको पोइ’, ‘आलेको पर्खाइ’, ‘नगरकोटमा एक साँझ’, ‘बाको इज्जत’, ‘म र काठमाडौं’, ‘चमेली’, ‘निरीह यात्रा’, ‘रहर’, ‘समयको माग’ गरी ९ वटा समसामयिक कथाहरू ‘म र काठमाडौं’ कथा सङ्ग्रहमा छन् । ३२+७४ पृष्ठ रहेको उक्त सङ्ग्रहका अधिकांश कथाहरू यौन समस्यामा आधारित छन् ।
कथामा आएको प्रसङ्गअनुसार कहिले डल्ली, कहिले जुली नामले पुकारिने कथाकी मुख्य स्त्री पात्र तारे होटलकी यौनकर्मी हो । आफ्नै दादाकी यौन ग्राहकको रूपमा पेस हुनुपर्दाको संयोग पछि इज्जतका लागि विदुरसँग विवाह गर्न विवश पात्र ‘म’ मार्फत् नै कथाकारले आफ्नो बोली सार्वजनिक गरेका छन् । शिवरामकी प्रेमिका, यौनकर्मी, सामाजिक व्यक्तित्वकी सुसारे, रोहितजस्ता नामुद डनमार्फत् यौनतृप्ति लिने यौन प्यासी अनि काठमाडौंमा सपना हराएकाहरूकी भरथेगकी साथी भएर उसले काम गरेकी छे । ऊ दुनियाँलाई फँसाउने हैन उकास्ने काममा समर्पित छे ।
कथाको सुरुआतमा बाबु मुसलमान र आमा बाहुनीको हिन्दू–मुस्लिम गठबन्धनका रूपमा जन्मेको शिवराम खान स्त्री पात्रको प्रेमिको रूपमा आएको छ । अर्को पात्र रोहित आपराधिक गतिविधिको नामुद डन हो । ऊ भदाहाको सामाजिक नाटक रचेर फुपू भनिने स्त्री पात्रसँग यौनभोक तृप्त गर्न पल्केको छ । आफ्नो अधिकार, इज्जत र आत्मसम्मानको लडाइँ लड्दै आएकी दाङकी वादी महिलाका रूपमा समेत परिचित सीता समाज रूपान्तरणकी सच्चा सिपाही हो । तर, कथाको प्रसङ्गमा भने जुलीको घरकी नोकर्नीको भूमिका निर्वाह गरिरहेकी छ । जुलीका साथीहरू रुबी, श्रेयाहरूको भूमिका पनि उत्तिक्कै रहस्यमय छ । फुपू जुलीसँग यी विविध स्वभावका पात्रहरू समेटेर कथाको बनोटले पूर्णता पाएको छ । खराब केटी मानिने बबी र तन्नेरी समूहको नाइके सञ्जयका क्रियाकलाप सबै समाजलाई नष्ट र भ्रष्ट पार्ने खालका छन् । तर तिनलाई रूपान्तरणको महाअभियानमा सामेल गराउने हो भने त्यसभन्दा अर्को गतिलो काम केही हुने छैन ।
सरकारी नियममा सरकारकै निरगानीमा रेडलाइट एरिया राखिदियो भने रोजगारीको सानो ढोका समेत खुल्ने र अवैध यौनधन्दाले बढावा नपाई शिष्ट र मर्यादित समाजको कल्पना हुनसक्ने रोहित र जुलीको स्पष्टोक्तिजस्ता विविध पाटाहरूलाई ‘म र काठमाडौं’ कथाले समेटेको छ । विशेष गरी काठमाडौं सहरमा मौलाउँदै गएको अवैध यौनधन्दाको इतिवृतिमा कथाको कथानक घुमेको हुनाले लाक्षणिक अर्थमा कथाको शीर्षक ‘म र काठमाडौं’ राखिनु औचित्यपूर्ण, अर्थयुक्त र सामञ्जस्यमूलक ठहर्दछ । अर्कातिर ‘म’ भन्ने प्रथम पुरुषवाचक सर्वनामको पनि प्रयोग भएको छ । यसले प्रतीकात्मक भाषा बोलेको छ । ‘म’ अवनतिको प्रतीकका रूपमा आएको हैन, यौनधन्दा जताततै फैलिएको र सबैलाई ज्ञात भइरहेको बोध गराउने प्रतीकका रूपमा आएको छ । अतः यौनबाट भागेर हैन व्यवस्थापन गरेर लाभ लिनुपर्ने कुरामा खबरदारी गरेर समेत कथाको शीर्षकलाई सार्थक तुल्याउने प्रयास गरिएको छ ।
लामाछोटा गरेर ‘म र काठमाडौं’ कथामा मनग्यै अनुच्छेद छन् भने हरफको सङ्ख्या पनि धेरै छ तर कथानक छरपष्ट छ । कथाले ठूलो वाह्य संरचना ग्रहण गरेको छ । देसदेखि विदेससम्मका कुरा अटाएर परिवेशलाई वृहत् बनाइएको छ । विभाजनको स्पष्ट रूपरेखा तय नगरिएको भए पनि घटना र प्रसङ्ग परिवर्तनले यसको यकिन गर्नुपर्ने हुन्छ । खजमजिएको कथानकलाई रैखिक ढाँचामा ढालेर नियाल्दा बढी श्रेयस्कर हुन्छ । धेरै ठाउँमा कथाकार भावुक भएका कारणले कथानक छरिन गएको हो ।

३. कथानक
कथामा आएका घटनाहरूको नालिबेली वा रूपरेखा नै कथानक हो । कच्चा पदार्थ मानिने कथावस्तुलाई कथाकारले कथानकको कलात्मक साँचोमा ढालेर पूर्णता दिने काम गर्दछ । ‘म र काठमाडौं’ कथामा समाजमा मौलाउँदै गएको यौनमामला र त्यसको यथोचित व्यवस्थापनको खाँचोलाई सूक्ष्मरूपमा देखाइएको छ । बाह्यरूपमा सभ्य देखिने व्यक्तिमा पाइने आन्तरिक असभ्यता एवं अशिष्टता प्रदर्शनले समाजमा प्रत्यक्ष नकारात्मक प्रभाव परेको छ । जीवनको अनिवार्य आवश्यकताजस्तो देखिने यौनमामलालाई अस्विकार गरेर हैन शिष्ट र मर्यादित ढङ्गले व्यवस्थित गरेर पैसा र युवा जमात् विदेश पलायन हुनबाट जोगाउनुपर्ने स्पष्टोक्ति कथाको अन्त्यमा छ ।
समग्रमा भन्दा सामाजिक यथार्थका पाटाहरूलाई शसक्त ढङ्गले समेटेर कथाकार मनोज ढुङ्गानाले आफूले भोगेको र भोगिरहेको वर्तमानलाई टपक्क टिपी कथाको आकार दिएका छन् । कथाकारले देखिएका समस्या बारेमा सैद्धान्तिक छलफल गरी आवश्यक निष्कर्षमा पुग्नु जरुरी रहेको कुरा औल्याएका छन् । समाजमा देखिएका दुर्बल पक्षलाई हटाउने चाहना र उद्देश्यका साथ उनको मसी खर्च भएको कुरामा कसैको दुई मत नहोला ।

४. सहभागी र सहभागिता
यौनसन्दर्भका बारेमा नेपाली समाजको परम्परागत दृष्टिकोणमा आमूल परिवर्तन गरी नवीन चिन्तनको खाँचो औल्याइएको र कठोर यौन–मान्यतालाई लागू गर्दा यौन–वेथितिको जरो मजबुत भएको अवस्थाको सजीव चित्रणमा ‘म र काठमाडौं’ कथा केन्द्रित छ । कथामा प्रत्यक्षरूपमा आएका पात्रहरू थोरै छन् । त्यसमा पनि कथामा भएका पात्रहरू निम्न प्रकृतिका छन् ।
– कामना, रोहित, शिवराम, सीता, रुबी, श्रेया, बब्बी, सञ्जय आदि ।
(क) उभयलिङ्गमा पर्ने पात्रहरू हुन् : ‘म’ पात्र तर भूमिकाको आधारमा यो स्त्री पात्र भएको प्रष्ट छ ।
(ख) पुलिङ्गमा पर्ने पात्रहरू हुन् : रोहित, शिवराम, सञ्जय, जुलीको दाजु, उसको विवाहित श्रीमान् आदि ।
(ग) स्त्रीलिङ्गमा पर्ने पात्रहरू हुन् : कामना, सीता, रुबी, श्रेया, बब्बी, आदि ।
यसमा पनि रोहित, शिवराम, सञ्जय, उसको दाजु, उसको विवाहित श्रीमान्, सीता, रुबी, श्रेया, बब्बी, आदि पात्रहरूमध्ये को अनुकूल पात्र र को प्रतिकूल पात्र हो भनेर छुट्याउन सकिन्न । सबै जसो पात्रहरूको कार्यव्यापारमा सरासर अनुकूलताको आभाष पाइन्न । आ–आफूमै केन्द्रित कार्यव्यापार छ । कतिपय गौण पात्रकै रूपमा आएका छन् । यद्यपि सक्रिय भूमिकामा कमै मात्र देखिएका र कथामा सक्रियता दर्शाएका दुबै खाले सहभागीहरूको सहभागितालाई विश्वसनीय, सहज एवं यथार्थपरक ढङ्गले देखाउन खोजिएको छ ।

५. परिवेश
स्थान, समय र वातावरणलाई समेट्ने काम गर्ने कथाको एक तत्व परिवेशले कथानक र पात्रहरूलाई विश्वसनीय तवरले प्रस्तुत हुने आधार प्रदान गर्दछ । यस कथाको शीर्षकले नै कथा सहरमुखि परिवेशको हो भन्ने ठम्याउन सकिन्छ । काठमाडौंका विविध स्थानहरू र विदेशको चर्चा र सहरमुखी अवस्थाको चित्रणले कथा काठमाडौं केन्द्रित छ । यो कथाको समयावधि लामो छ तर कथाको आशयगत अवधि भने छोटो नै महसुस हुन्छ । पार्टी, वियरलगायतका ऐयासी खानेकुरा र परिस्थितिको चर्चा युवाहरूको मन तान्ने खालको छ । यसरी आधुनिक खोक्रो संस्कृतिको ज्वलन्त नमुनाका प्रसङ्गहरू यत्रतत्र सशक्त ढङ्गले आएका छन् ।

६. उद्देश्य
प्रत्यक्ष वा परोक्ष उद्देश्यमा केन्द्रित रचनाले नै पाठकलाई गन्तव्य देखाउँछ । विनाउद्देश्यको जीवन त बाँदरको पो हुन्छ, विना उद्देश्यको काम त पशुको पो हुन्छ भनिन्छ । त्यसैले ‘म र काठमाडौं’ कथाले परोक्षरूपमा राखेका उद्देश्यहरूलाई केलाउनु यहाँ मनासिव ठहर्दछ । यौनसमस्याले समाजको समुन्नतिमा तगारो हालेको महसुस हामीले गर्न सकेका छैनौं । अतृप्त यौनकै कारणले बलात्कारजस्ता अपराधिक घटना घटेका देखिन्छन् । यौनतृप्तिपथमा लागेर कतिपय मान्छे नष्ट–भ्रष्ट र अस्तव्यस्त भएका छन् । यस मामलामा लुकिछिपी व्यवहार गर्न हुने तर त्यसैलाई व्यवस्थित गरी अबलम्बन गर्न समाजले नरुचाउने प्रवृतिप्रति तीखो व्यङ्ग्य वाण प्रहार गर्दै जुनसुकै कुराको पनि सही व्यवस्थापन हुन सके त्यसले दिने परिणाम अनुकरणीय हुन्छ भन्ने देखाउने मूल अभिप्राय कथामा लुकेको देखिन्छ । परम्पराको नाममा समाजमा व्याप्त कुरूप चालचलन र सोच हटाएर मानवताको जगेर्ना हुनुपर्ने र शिष्ट एवं असल चालचलनको विकास हुनुपर्ने चाह प्रकट गर्ने काम कथाले गरेको छ ।

७. दृष्टिविन्दु
कथामा प्रथमदृष्टिविन्दुको प्रयोग भएको छ । यस कथामा ‘म’ पात्र नै सर्वज्ञ भएर आएको देखिन्छ । कथामा घटनाको प्रस्तुतिकरण मार्मिक छ, सङ्घर्षपूर्ण जीवनको बखान छ । पात्रहरूको संवादबाट नै चरित्र र घटनाको विश्लेषण गर्ने काम कथाकारबाट भएको छ । कथाकारको स्पष्ट मत पाठकले सहजताका साथ पाउन सक्ने र निष्कर्षमा पुग्न सक्ने देखिन्छ । यस कोणबाट हेर्दा पाठकलाई भ्रमबाट जोगाई आधुनिक सुविधाभोगी सहरी सभ्यताका मानिसहरूका विकृत पाटाहरूलाई आधार बनाई ‘म र काठमाडौं’ कथाले मानवीय मूल्य र मान्यता विरूद्धका कार्यका लागि खेद समेत प्रकट गरेको प्रतीत हुन्छ ।

७. भाषाशैलीय विन्यास
‘म र काठमाडौं’ कथामा छोटा तर अर्थयुक्त वाक्यको छनौट गरेर सरल, सहज र स्वभाविक कथ्य भाषाको प्रयोग गरिएको छ । अझ, सहरी सभ्यताको सजीव तस्विर प्रस्तुत गर्ने भाषा र शैलीको प्रयोगले कथालाई सुरूचिपूर्ण बनाएको छ । आधुनिक प्रविधिले जन्माएका एवं युवायुवतीहरूको मुखैमा झुण्डिएका शब्दहरूको संयोजनले कथा साँच्चिकै युवाकथा बनेको छ । अतः सहज, स्पष्ट एवं स्वतःस्फूर्त प्रवाहमय भाषाशैलीय विन्यासको प्रयोग भएको कारणले ‘म र काठमाडौं’ कथा रोचक, घोचक, श्रवणीय र पठनीय बनेको छ । शैली, शिल्प, शब्द, बिम्व एवं प्रतीकहरूको सुन्दर संयोजनद्वारा कथालाई सारगर्भित बनाउने प्रयास समेत प्रशंसनीय छ ।

८. उपसंहार
‘म र काठमाडौं’ कथाले युवाहरूको बदलिँदो सोचको प्रतिनिधित्व गर्दछन् । यसमा फिल्ममा छिटोछिटो कथानक बदलिएझै बदलिने अवस्था पाइन्छ । कथा जुन पाराको भए पनि आशावादी जीवनदृष्टि भने छताछुल्ल पाइन्छ । आधुनिक युवायुवतीको बोलिचालीको भाषा प्रयोगले युवामनको ढुकढुकीलाई सम्बोधन गरेको छ । सीमान्तकृत वर्गको सामाजिक हैसियत र दृष्टिकोणले समेत कथामा प्रश्रय पाएको छ । कथाकार ढुङ्गाना अँध्यारो र कुरूपताका विरुद्धमा छन् । उज्यालो छर्ने अभियानमा जुटेका र सुन्दर संसार बसाउन तम्सेका कलमीयोद्धाका रूपमा स्थापित हुँदै गरेको महशुस गराएका छन् । अत्यन्त समसामयिक कथाकारका रूपमा स्थापित बन्न सफल देखिन्छन् । निराशजनक समयलाई आशलाग्दो बनाउन व्याप्त छाडापन, अत्याचार, अव्यवस्था, भ्रष्टचार, अराजकता निर्मूल पानुपर्छ भन्ने ठोस निर्णयका साथ कथाकार युवाकथा लेखनको महासागरमा हेलिन पुगेको आभाष हुनजान्छ ।
नेपाली कविता र आख्यान विधामा निरन्तर कलम चलाइरहेका एवम् विविध सामाजिक गतिविधिमा सामेल हुँदै आएका हुनाले स्रष्टा मनोज ढुङ्गाना एक श्रेष्ठ साहित्यसेवी भएको प्रमाणित हुन्छ । ‘म र काठमाडौं’ कथाकृतिमार्फत् एक कुशल कथाशिल्पीका रूपमा देखिएका ढुङ्गानाको कथाकारिताको छवीमा बढोत्तरीको आवश्यकता छ । ‘म र काठमाडौं’ कथामा भने विशुद्ध सहरीया परिवेशलाई कथात्मक संरचना प्रदान गरेका छन् । यसमा मानिसको निर्दयीपन, अभाव, छटपटी एवं बेचैनीलाई यथार्थपरक ढङ्गले प्रस्तुत गरेर र खासमा यौनधन्दा कानुनी दायरामा आउनुपर्छ भन्ने विचार सम्प्रेषण गरेर कथाकार ढुङ्गानाले कथा साहित्यमा एउटा सानै भए पनि इँट थप्ने जमर्को गरेका छन् । नवीन कथावस्तु, शब्दशिल्पका साथ उदाउने क्रममा रहेका यी साहित्यिक बन्धुले समय र परिस्थितिलाई च्याप्प समातेर चुम्मन लिन सकून् अनि युवामनको साहित्य सिर्जनामा शिखर चुमून् भन्ने अपेक्षा सहित शुभकामना…………………..!

तपेश्वरी–१, गल्फडिया, उदयपुर, सम्पर्क: ९८४२८२९२०६
nandalalacharya@gmail.com
हाल: लिट्ल फ्लावर उच्च मा.वि., राजविराज–९, सप्तरी, फोन नं. ०३१५२००३८

www.mdhungana.wordpress.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *