चालीस वसन्त फुलाइरहँदा मैले अनेकन् मान्छेहरू भेट्टाएको छु । सानो मनको मान्छे म ठूलो पार्ने ध्याउन्नमा बेस्कन किचिन्छु । थिचिन्छु । कहिलेकाँही मुण्टो उठाएर हेर्छु, स्वार्थी संसारको एक पात्र आफूलाई भेट्छु । आफ्नै संसारलाई मतलव राखेन भने मुखमा माड नलाग्ने, मतलव राख्दा वैयक्तिक धरातल माथि उठ्न नसकिने अचम्भको लीलामा अल्झेको भेट्टाउँछु । मेरो सुझबुझले बुझेअनुसार मैले दुई ठाउँ एकै मनका मान्छे फेला पारेँ जो दुनियाँ पहिले सोचेर पछि आफूलाई सोच्दछन् । ‘हामी, हामी हुनुभन्दा पहिले नेपाली हौँ, त्यस पछि मात्र दुनियाँ थरी हौँ । नेपालीको कर्तव्य पूरा नगरी हामी भन्नुको तात्पर्य रहन्न । नेपाली बनी सकेपछि मात्र हामी कोही मधेसी बन्छौं, कोही पहाडी हुन्छौं र कोही हिमाली कहलिन्छौं । त्यसपछि मात्रै शेर्पा कहलिएलाऔं, मियाँ भनिएलाऔं ।’ भिन्न, भिन्न स्थान र समयमा दुबैको एक आवाज सुन्न पाउँदा म हर्षले चकित भएँ । मेरो पत्थर हृदय पुलकित भयो । ती दुई ग्रामीण महापुरुष हुन्– उदयपुर, मुर्कुचीका तेजनारायण शेर्पा ‘रञ्जन’ र सप्तरी, पडरियाका आसिन मियाँ । उनीहरूको जीवनशैली, विचार र कार्यव्यापारलाई नियाल्दा बारिया मा.वि., सप्तरीकी शिक्षिका किरण झाका यी शब्दहरू याद आउँछन्….
सुनुसुनु मिथिलाके युवक जन, सुनु हमर ई प्रार्थना यौ
एहन सुन्नर मिथिला नगरी नही करू विध्वंस यौ ।
राग–द्वैष, इष्र्याके छोडि’क प्रेमके ज्योति जगाउ यौ
प्रेम’क चुम्बन सबसँ बाढि’क, प्रेमसँ सबके तानु यौ ।
अब म शेर्पा र मियाँको जीवन दर्शन कोट्याउने धृष्टता गर्दै छु । वि.सं. २००२ बैशाख ११ गते नामेटार–३, चित्रेथानमा आँखा खोलेर रौता–९, मुर्कुचीमा साहित्यको कलम समाउँदै, चित्रकारिताको कुची पक्रदै, काष्ठकलाको छिनो समाल्दै, मूर्तिकलामा घुँडा धस्दै र आयुर्वेदमा जडीबुटी घोट्दै जीवनरथ हाँकिरहेका तेजनारायण शेर्पा ‘रञ्जन’लाई नचिन्ने र नजान्ने मान्छे विरलै होलान् । ‘पूर्णिमा’ (इ.सं. १९७०, हिन्दी, नेपाली, मैथिली कविता सङ्ग्रह), ‘रौता महारानी भगवती चिनारी’ (२०५३, काव्य), ‘अधुरो’ (२०५६, कविता सङ्ग्रह), ‘कविको कविता मनभित्र’ (२०६९, कविता सङ्ग्रह) गरी चार कृति नेपाली साहित्य मन्दिरमा समर्पण गरी साहित्य, कला र जडिबुटीका माध्यमबाट लोककल्याणको मार्गमा दर्बिलो पाइला टेक्ने शेर्पा देशभक्त नेपाली हुन् । ‘मुक्तिमार्ग’, ‘अक्षर’, ‘जडिबुटी विज्ञान’, ‘शरीर विज्ञान’, ‘आरोग्य विज्ञान’ गरी पाँच वटा पुस्तकका पाण्डुलिपी हातमा राखी प्रकाशक वा आर्थिक सहयोगीको खोजीमा निस्केका शेर्पाको अधिकांश समय जङ्गलमा वित्छ । उनी भन्छन्– ‘अरू ज्ञानविज्ञानका लागि सहर पस्छन्, धन कमाउन जागिर खान्छन्, कला सिक्न गुरुकहाँ धाउँछन्, ख्याति कमाउन ठूलाबडाको पाउ मोल्छन् । म भने सिर्फ जङ्गल पस्छु । त्यही ज्ञानविज्ञान छ, धन छ, गुरु छ, प्रशिद्धि छ ।’
सेतै फुलेको वयोवृद्ध काया लिएर आसिन मियाँ लोकोपकारी कार्यमा जुट्छन् । नेपाली मुसलमान भन्न रुचाउने उनी मैथिली कलासंस्कृति र भाषाभेषभूषामा गर्व गर्दछन् । मैथिली भाषीप्रेमी मात्र नभई उनी मैथिली जनजागरण मञ्चका केन्द्रीय अध्यक्ष समेत हुन् । आफ्नै वरबुताले खुलेको नजिकको विद्यालयका विद्यार्थीलाई नास्ता खुवाउन प्रत्येक शुक्रबार आफैं जुट्छन् । आफ्नो आम्दानीको केही अंश दीनहिन असहाय बालबालिका, वृद्धवृद्धाका लागि समर्पण गर्नु आफ्नो सनातन धर्म ठान्दछन् । रातोदिन कर्मपथमा सरिक भइरहने मियाँ मुखले भन्नुभन्दा बढी कार्य गरेर देखाइदिन्छन् । मियाँ थप्छन्– ‘हामी मिले स्वर्गीय सुख कसैले छिन्न सक्दैन । हामी नाडी हौं । काम गर्ने थरीथरीका औंला छन् । ती औंला दर्बिला हुन नाडी दह्रो हुनुपर्छ । व्यक्तिभन्दा माथि उठेर समाजको सर्वाङ्गीण पक्षलाई नियाल्ने हो भने हामी सगरमाथाझैं अग्लिन सक्छौं । ईश्वर–अल्लाह आफ्ना ठाउँमा छन् । मानव कल्याणको धर्म गर्नु नै ईश्वर–अल्लाह प्राप्तिको श्रेष्ठ उपाय हो । हामी जतासुकै भौतारिए पनि गन्तव्यको राजमार्ग एकै छ । संसारको यस सृष्टिको एक उदाहरण बन्न मान्छे आतुर हुनुपर्छ । यसका लागि लोकोपकारी कार्यमा समय र साधन लगाउनुपर्छ । हाम्रो सानो योगदानले अरूले प्रोत्साहन भेट्छन् भने किन हामी नजुट्ने !’
उनी कुरैकुरामा शेर्पा अघि थप्छन्– ‘म केके गर्दै छु, त्यो यही छ । म शेर्पा हुनुपूर्व नेपाली हुँ । त्यसपूर्व मान्छे हुँ । मान्छेले मान्छेसँग मानवीय व्यवहार गर्छ । दानवीय व्यवहार देखाउने मानव हुन सक्दैन । दानव भनिरहन पर्दैन । म दानवबाट बचेर अहिलेसम्म मानवकै श्रेणीमा उभिएको छु । मानव बन्न खोज्दा नै ९ वर्षको उमेरमा दरभङ्गा पुगेँ । होटलका जुठाभाँडाकुँडा समालेँ । पान, बिँडी, सलाईको बिक्रेता भएँ, ढोकाको रखबारी गरेँ । कैयौँ पटक सडकलाई बिस्तारा तुल्याएँ । ’
उनले सबै कुकुर काशी जान थाले गुहु कसले खाने भन्ने फुपूको प्रश्नको जवाफ खोज्दाखोज्दै संस्कृतमा शास्त्री समेत गरे । आइ.ए. परीक्षामा सफलता प्राप्त गरिसकेपछि बी.ए. तिर लम्कने सोच हुँदाहुँदै काकाज्यूको गुलियो बोलीमा मख्ख परे । उनी थप्छन्–हाम्रा छिमेकी र नातेदारहरू अमेरिकातिर लागे । म पनि प्रभावै प्रभावमा जान ठिकठाक परेँ । सोच्न थालेँ–अमेरिकामा गएर डलरमा साटिन्छु । गुन्दै जाँदा त कठिन श्रम र साधनाले एउटै मात्रै परिवार पालिँदो रहेछ, एउटै मात्र परिवार उक्सदोँ रहेछ । सारा नेपालले त मबाट केही पाउँदो रहेनछ । म संसारमा भएको चिनारी अमेरिकाले दिने कुरा आएन । मैले आफ्नो छोरालाई अमेरिका लखेटेको छु भनेर नेपालले भन्ने कुरा आएन । म विलखबन्दमा परेँ । जसले मलाई प्राण दियो, वायु दियो, जल दियो, अन्न दियो र उभिने धर्ती दियो त्यसलाई चटक्कै छाडेर हिँड्नु कृतघ्न हो भन्ठानेँ । जसले जन्मायो र टुकुटुकु हिँड्दै, कतिपय ठाउँ पछार्दै संसार देखायो, चिनायो बाँकी जीवन उसकै पाउमा समर्पण गरे उसैले पालनपोषण गर्छ, उसैले नाम दिन्छ । माम दिने काम पनि उसैको हुन्छ ।
जन्तरमन्तरमा विश्वास नगर्ने, धामीझाँक्रीलाई पाखण्ड मात्र ठान्ने मेरो जीवनलाई परिवर्तन गरिदिने काममा एउटा छेपारोको भूमिका छ । एक जना छिमेकीले छेपारालाई मोहनी लगाएछन् । खालि त्यो उनकै पछि दगुथ्र्यो । त्यो देखेर मैले पनि मन्त्र सिकेँ । प्रयोग गर्ने मन भयो । केमा गर्ने त ! केही दिन पछि नजरमा छेपारो नै आयो । सिद्धीप्राप्त भएकै थियो । मेले प्रयोग प्रारम्भ गरेँ । प्रभाव पर्दै गएछ । छेपारो मलाई पछ्याउन थाल्यो । म भाग्न थालेँ । जति भाग्थेँ, छेपारो उत्ति नजिक हुन थाल्यो । डरले मेरो होसहवास गुम हुन थाल्यो । भाग्ने क्रममा नै बलिरहेको आगो नाघेर म अघि बढेँ । मलाई पछ्याउँदै आएको छेपारोले बाटो मोडेन । सिधै आउँने हुँदा आगो पर्यो र जलेर खाग भयो । यस घटनाले मेरो मन अमिलो भयो । मैले मन्त्रसाधना पनि त्यागिदिएँ । यो लोककल्याणको बाटो नभएको ठहर गर्न पनि पछि परिन ।
मैले गरेको कामबाट ज्यान जाने होइन जोगिने काम हुनुपर्छ । म मानव कल्याणमा समर्पित रहनुपर्छ । मान्छेले सम्झिरहने मान्छेमा गनिनुपर्छ । ठगेर अकल्याण गर्नु भनेको धिक्कारको जीवन हो । त्यस्तो जीवनप्रति घृणा छ । म बढी सोच्ने, चिन्तन गर्ने र गुरुविना सिकेका र सिकिरहेको मान्छे हुँ । गुरु नथापीकनै मैले केही कुरा जानेँ । जानेका कुरा बाँडेँ । तर, गुरु हुन रुचाइन । गुरु जे भन्छन्, त्यत्तिमे सीमित हुनु दुर्भाग्य हो । मेरा गुरु जङ्गल हुन् । गुरुले अथाह ज्ञान दिइरहेका छन् । मैले सिक्न सकेको छैन । मेरो अर्को गुरु किताब हो । हर घडी थरिथरिका ज्ञान भेटिरहेको छु । त्यसकै आधारमा म अहिले ‘छेटु शेर्पा’ भनेर चिनिएको छु । धर्म गर्दिनँ, गुरु बन्दिनँ, ऋण बोकाउदिनँ, पाखण्ड लाद्दिनँ । तैपनि सामान्यदेखि असामान्यसम्मलाई सिकाइराखेको छु । दर्जनौं युवायुवतीलाई हर्वो तालिम दिएको छु । भर्खरै ६५ जना धामी÷झाँक्रीलाई प्रशिक्षण दिएको छु । रोगमुक्त समाज खडा पार्ने काममा जुटेको छु । शारीरिक पीडा कम गर्दै हरण गर्ने कार्य गर्दै आएको छु । हुन त किताबलाई आधार बनाएको छु तर मेरो ब्रह्मले सत्य ठहर गरेबमोजिम मात्र ओखतिमुलो गर्ने गरेको छु । चेतना छर्ने काममा होस् या होस् जगाउने काममा होस् आफूलाई हरपल होसियार बनाउँदै आएको छु । सात दशकको यो बुढ्यौली कायालाई विश्राम दिएको छैन । दिने मन पनि छैन ।
मेरो स्पष्ट मत छ– धामीझाँक्री समाजका अभिसाप होइनन्, बरदान हुन् । बरदान सावित हुन आजका धामीझाँक्रीले सुझबुझले काम चलाउनुपर्छ । पेटमा चुका भएको बिरामी होस् कि गानोगोला भएको वा बच्चा पेटमा रहेकी महिला नै किन नहोस् तिनीहरूलाई धामीझाँक्री कोशले विकार ठान्छ । त्यो विकारलाई निर्मूल पार्न भनेर अन्य झारफुक गरेर कहाँ हुन्छ । वैद्य–डाक्टरहरूबाट मात्र निदान सम्भव हुन्छ । मैले धामीझाँक्रीहरूलाई यी र यस्तै कुराहरूमा हरबखत सचेत पारिराखेको हुन्छु । नठगौँ । कालो भाले र बोकाको खोजी नगरौँ । काम नगरी दाम लिने काम अपराध हो भन्ठानौँ । जनसेवा नै परलोक सपार्ने उत्तम उपाय हो । अधर्मीले इहलोकमा केही समय मोज गर्ला तर परलोकमा कतै सुख मिल्दैन ।
मलाई आसिन मियाँलाई चिन्ने अवसर दिने काम ‘घुर’ उपन्यासले दियो । हुन त मलाई साहित्यमा दर्बिलो गरी पाइला टेक्न सिकाउने र अवसर दिलाउने काम पनि यसैले दिलाएको छ । त्यो भिन्न पाटो हुन जान्छ । यस पटक भने मियाँज्यूको नेतृत्वको एक साहित्यिक कार्यक्रमलाई यहाँ शब्दमा उतार्ने कोशिस गर्दै छु– अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसर पारेर मैथिली जागरण मञ्च, केन्द्रीय समिति राजविराजद्वारा अध्यक्ष आसिन मियाँको अध्यक्षतामा आयोजित ‘घुर’ उपन्यासको समीक्षा एवम् परिचयात्मक कार्यक्रममा पत्रकार माला कर्णले स्वागत भाषण गरिन् । करूणा झाद्वारा मैथिली साहित्यको विकासका बारेमा चिन्ता प्रकट गरियो ।
समीक्षक नन्दलाल आचार्यले लेखक धीरकुमार श्रेष्ठको व्यक्तित्व र कृतित्वसहित ‘घुर’ उपन्यासका बारेमा समीक्षात्मक मन्तव्य प्रकट गरे । वरिष्ठ पत्रकार तथा ‘घुर’ उपन्यासको रचनागर्भका ज्ञाता शिवहरि भट्टराईले गाउँघर सखाप पार्नेमात्र नभई सामाजिक सद्भाव कायम गर्ने रुपमा पनि लिनुपर्ने भन्दै ‘घुर’को द्वैअर्थकताका बारेमा प्रकाश पारे । उपन्यासले परिवर्तनको आन्दोलनमा भएको सद्भावपूर्ण सहभागितालाई देखाएको विषयलाई उठान गर्दै उनले थपे— साहित्य सिर्जना राष्ट्रिय एकताका लागि हुनुपर्ने सन्दर्भमा उपन्यास सामाजिक सद्भावका लागि लेखिएको छ । जाडोमा घुरवरिपरि सबै सम्प्रदायका मानिस बसेर राष्ट्रिय अन्तर्राष्ट्रिय योजना बन्छ । यसै विषयलाई लिएर उपन्यास लेखिएको छ । साम्प्रदायिक एकता कायम गर्न नकारात्मक होइन सकारात्मक योगदान दिन लेखिएको उपन्यासमा यहीँको माटो र पानीको सुगन्ध पाइन्छ ।
अर्का पत्रकार तथा सत्यापन साप्ताहिकका सम्पादक व्यासशङ्कर उपाध्यायका तर्क थिए— न्यानोका लागि आगो ताप्ने रुपमा लिइने घुरको अर्थ फर्किनु भन्ने पनि हुन्छ । यसैले सामाजिक सद्भाव राख्ने अर्को कृति पनि आओस् । पूर्व प्र.अ. नथुनी दासका अभिव्यक्ति थिए— साहित्य समाजको ऐना हुन्छ । साहित्यकार कुनै देश र भाषाको हुँदैन । कहिलेकाहीँ साहित्यकारले सास्ती पनि बेहोर्नुपर्छ । बाबरी मस्जिदको घटनालाई लिएर लेख्दा फतवा जारी भए पनि त्यसले लेखकको कलमलाई बन्धक बनाउन सकेन । चीनका लागि अमेरिकी जदूत रहँदा पर्ल एस बकले चिनिया किसानको स्थितिलाई लिएर लेखेका ‘द गुड अर्थ’ले नोबेल पुरस्कार पायो । यस देशमा सङ्घीयतालाई स्थापित गर्ने मधेसी आन्दोलनलाई तेस्रो जनआन्दोलन नमानिएकोप्रति मेरो विमति छ । तत्कालीन मधेस आन्दोलनलाई सप्तरीमा बसेर उपन्यासकारले उपन्यास लेख्नुभयो । हामी सबै सामाजिक सद्भावप्रति सचेत छौँ । मधेसको समस्यालाई वास्तविक रुपमा लेख्नुभएकोले उपन्यासकारलाई धन्यवाद दिन्छु । मधेसको स्थितिलाई इमानदारीपूर्वक लेख्नुहोस् ।
‘मधेस क्रान्ति’ साप्ताहिक तथा आन्दोलनका भुक्तभोगी होमशङ्कर सिंहले उपन्यास लेखिएको ६ वर्षपछि उत्पत्तिस्थलमा आएर यसका बारेमा चर्चा हुनु गर्विलो अवस्था हो । यस उपन्यासलाई आञ्चलिक कोटिमा राख्न सकिन्छ । यसले मधेस आन्दोलनको कमजोरीलाई खोतल्ने प्रयास गरेको छ । रामदयाल राकेशले अनुवाद गर्नुभएको डायमण्ड शमशेरको ‘अनिता’ उपन्यासको जस्तो संवेदनालाई भने यसले छुन सकेको छैन । उपन्यासकारले सहपाठी बेचनी बाँतरलाई उपन्यासमा उभ्याएका छन् । आन्दोलनकारीलाई आन्दोलनको उद्देश्य थाहा थिएन भनिए पनि कुनै पनि आन्दोलनमा शतप्रतिशतलाई यस्ता विषय थाहा हुँदैन । आन्दोलनलाई काठमाडौँका सञ्चार माध्यमहरु दङ्गा र हिंशाका रुपमा गलत ढङ्गले प्रचारप्रसार गर्थे तर पनि मण्डलामा सधैँ आन्दोलन भइरहन्थ्यो । सञ्चार माध्यमले सही समाचार दिँदै नदिने, दिए गलत रुपमा दिने भएकाले तीमाथि आक्रमण भयो यद्यपि यसलाई उपन्यासले छोएको छैन । आन्दोलनका क्रममा अन्यत्र जेजस्तो भए पनि सप्तरी र महोत्तरीमा सामाजिक सद्भाव खलबलिएन । बरहथवामा मधेसी मूलकालाई जिउँदै जलाएको विषयलाई उपन्यासले छोएको छैन । आन्दोलन समग्र मधेसको भए पनि उपन्यासले यसलाई समेटेन । धेरै राजनीतिक विषयवस्तुलाई उपन्यासले छुन सकेको छैन । आन्दोलनका क्रममा अन्यत्र सामाजिक सद्भाव खलबलिए पनि सप्तरीमा किन खलबलिएन ? यसलाई पनि हेर्नुपर्यो । पहाडी विस्थापनको कारण खोजेर लेखे सप्तरी र सिराहाको काटिएको नाक जोगिन्छ । यसका लागि एउटामात्र पक्ष दोषी हो कि दुवै ? यस विषयमा पनि कलम चलाउनुहोला ।
कवि सत्येन्द्रनाथ चौधरीद्वारा मैथिली भाषामा लेखिएको ‘दृढ सङ्कल्प’ कविता–वाचनपछि ध्रुवकुमार मण्डलको अभिव्यक्ति थियो— उपन्यास चारपटक पढिसकेँ तैपनि अझै पढ्न मन छ । लाहानदेखि राजविराजसम्मको यात्रा राम्रो लाग्यो । राजेन्द्र विमलको ‘समयको आँखा’ र ‘घुर’ पढ्न मन लाग्छ । उपन्यासमा चित्रण गरिएको तराईमधेसको बालविवाहको प्रसङ्ग राम्रो लाग्यो । सोनरा पकरीको सामाजिक चित्र छ उपन्यासमा । सप्तरीको साहित्यिक गतिविधिलाई उपन्यासकारले छड्के हाने पनि हामी स्विकार्छौं । मधेस आन्दोलनको फाइदा मधेसी पहाडीबाहेक तेस्रो पक्षले उठायो । वास्तविक जनताले यसको फल पाएनन् । उपन्यासमा पैसा र मुरीका लागि आन्दोलन गरेको प्रसङ्ग आए पनि मधेसीले हकअधिकार पाए पाएनन् ? यो विचारणीय छ । उपन्यासमा सगरमाथा अञ्चल अस्पताललाई रेफर सेन्टरका रुपमा चित्रण गरिएको छ । यसलाई हामी स्विकार्छौं । उपन्यास इतिहासको एउटा साक्षी हो ।
साहित्यकार पार्वती राउतका शब्द थिए— साहित्य इतिहास होइन । साहित्यमा लेखकले निजी विचार हुन्छ । मधेस आन्दोलन ठिक हो भनेर भाग लिँदा हामीलाई बिचरा भनियो । उपन्यासलाई मधेस आन्दोलनका रुपमा मात्र मान्नुभन्दा सप्तरीको साहित्यका रुपमा मान्नु उपयुक्त हुन्छ । भाषाविद् बालकृष्ण पोखरेल भन्नुहुन्थ्यो– राष्ट्रभाषाको नभई भाषिकाको मात्र वक्ता हुन्छ । नदी जतिसुकै लामो भए पनि मूल सुकेका दिन त्यसको अस्तित्व रहँदैन । अत: कुल र मूल जोगाउनुपर्छ । बाढीका बेला किनार लाग्नुपर्छ तर बाढी सकिएपछि खोलो तर्न सकिन्छ ।
कृष्ण मण्डलका शब्द थिए— मच्छर भगाउन पनि गोठमा घुर बालिन्छ । आन्दोलनको उपलब्धिका रुपमा शासकहरु त्यतिबेला भागे तर फेरि डेङ्गुका रुपमा फर्केका छन् । यसैले ‘घुर’को दोस्रो भाग निकालूँ । महेन्द्र मण्डलको जोड रिसाएर गएकोलाई फर्काउने अर्थमा अब ‘घुर’लाई लिनुपर्नेमा थियो । प्रा.भोला झाका विचारमा ‘घुर’ युग युगान्तरसम्म रहन्छ । यो दुवै भाषामा भए घरघर पुग्छ । नेपाल एक किसिमले मूर्खहरुको घुर नै हो ।
मैथिली महासङ्घका विष्णुकुमार मण्डलको अभिव्यक्ति थियो— मैथिली र नेपाली भाषाको मिश्रित प्रयोग गरी उपन्यास लेखिएको छ । लेखकको निजी दृष्टिलाई म सकारात्मक रुपमा लिन्छु । पूर्वार्धमा महिलासँगको वार्ता लामो भयो । मधेस आन्दोलन आवश्यक थियो र हुँदै रहन्छ । उपन्यासमा नकारात्मक पक्षको उल्लेख गरिए पनि त्यो समाज सुधारका लागि हो । अस्पतालको दुरावस्थाको चित्रण सप्तरीको विकासका लागि सहायक हुन्छ । पात्रहरुको वर्णन उत्कृष्ट भएकोले नवीन साहित्यकारका लागि प्रेरणाको स्रोत बनोस् । रामभरोस कापडीको ‘घरमुहा’सँग उपन्यास मिल्दोजुल्दो लाग्यो । मधेसको विकासमा योगदान दिएकाहरुलाई ‘घरमुहा’ले फर्काएजस्तै ‘घुर’ले पनि फर्काओस् । उपन्यासको परिशिष्ट पनि राम्रो लाग्यो । प्रशासनिक कर्मचारी भएर पनि साहित्यकार हुनु दुर्लभ हुन्छ । दोस्रो उपन्यासमा यहाँ अभिव्यक्त भावनाको कदर होस् ।
साहित्यकार अरबिन्द यादवको कथन थियो— सिर्जना र विध्वंशको प्रतीकका रुपमा ‘घुर’ लेखिएको छ । सही प्रयोग भए यो सिर्जनात्मक र गलत प्रयोग भए विध्वंशकारी हुन्छ भन्दै घुरलाई मधेस आन्दोलनको प्रतीकका रुपमा लिइएको छ । उपन्यासकार पहाडी भएर पनि मधेसीको मुद्दालाई लिएर लेखिएको उपन्यास हो यो । यसैले मधेसीको अधिकारलाई राष्ट्रिय स्तरमा स्थापित गर्नुहुनेछ ।
यसै गरी निम्नलिखित विचारहरु पनि प्रकट भए— मैथिली भाषामा ‘घुर’ को अर्थ घर फर्किनु पनि हुन्छ । घुर बाह्रै मास बालिन्छ । यो आवश्यकता र जीवनको अभिन्न अङ्ग हो । यसैले मधेस आन्दोलनलाई घुरका रुपमा लिनु जरूरी छैन तर मधेस आन्दोलनको प्रतीकका रुपमा लिइन्छ भनेचाहिँ ठिक छ । मधेस आन्दोलनलाई केन्द्रमा राखेर लेखिएको उपन्यास लेखकको दृष्टिकोण हो । यो समग्र मधेस आन्दोलन होइन । आन्दोलन कति साम्प्रदायिक रह्यो ? आन्दोलनको कारण के हो ? लेख्नु जरूरी छ । मधेस आन्दोलनको बिउ पहिल्यैदेखि रोपिएको थियो, उत्कर्ष रुपमात्र आन्दोलनमा देखिए पनि उद्देश्य कसैको अहित गर्नु थिएन । आन्दोलन केवल मधेसका लागि मात्र नभई समग्र देशको हितका लागि थियो । इतिहासको संरक्षण उपन्यासले गरेकोले धन्यवाद दिन्छु । दिनेश कर्ण, कृष्णकुमार मण्डल, अमित चौधरी, अशोक चौधरी, मीना ठाकुर, मालती चौधरी, साधना, महेश्वर भारती, वीरेन्द्र साह, मञ्जु श्रेष्ठ, नेपाली सेनाका गणपति राजेन्द्रमणि गिरी, मैथिली जागरण मञ्चका महासचिव श्यामसुन्दर यादव, अधिवक्ता अशोककुमार चौधरी, विवेकानन्द मिश्र, महेन्द्र मण्डल बनवारी आदिद्वारा व्यक्त विचार र जिज्ञासाका समाधान उपन्यासकारबाट गरिनुका साथै अध्यक्ष आसिन मियाँले यसरी सभापतीय मन्तव्य व्यक्त गरे— काम गर्नेले मिहिनेतसाथ गरे उपलब्धि हात लाग्छ । सकारात्मक र नकारात्मक टिप्पणीलाई सकारात्मक रुपमा लिनुपर्छ र कमीकमजोरीलाई सुधार्नुपर्छ । हातका सबै औँला बराबर भएझैँ हिमाल, पहाड र तराई सबै बराबर हौँ र मधेसमा बस्ने पहाडी मधेसी र पहाडमा बस्ने मधेसी पहाडी हो । सबै जातजाति र भाषाभाषीका लागि आवाज उठाऊँ । मिथिला र मैथिली सुनिश्चित होस् । मिथिलालाई कहिल्यै नछाड्नुहोस् । सप्तरीको विशेषताका लागि लेख्नुहोस् ।
नन्दलाल आचार्य
तपेश्वरी–१, गल्फडिया, उदयपुर, सम्पर्क: ९८४२८२९२०६
हाल: लिट्ल फ्लावर उच्च मा.वि., राजविराज–९, सप्तरी, फोन नं. ०३१५२००३८
