Skip to content

हिमाल उत्तरमा
बीचमा पहाड
तराई दक्षिणमा
पूर्व मेचीदेखि पश्चिम कालीसम्म
डाँडाकाँडा, पाखापखेरा ।

नदी, तालतलैया,
हरिया वन, शीतल पवन
आहा! स्वर्गको टुक्रा मेरो देश ।

जन्म हुन्छ यमराजको नेपालकै कोखबाट
अनि भन्छ खाता पल्टाऊ चित्रगुप्त
को हुन् यी अगाडि उभिएका ?
हुन्छ जवाफ चित्रगुप्तको
माया बिक, अगिरा पासी, मनवीरे सुनार,
सङ्गीता परियार, सेते दमाई, शिवशङ्कर दास,
अस्मिता सार्की, माया सार्की
हुन्छ जवाफ यमराजको
मान्छे भनेको त यिनीहरू पो रहेछन्
त्यो दनदनी बलेको आगोमा हाल्देऊ यिनीहरूलाई
जलाइन्छ आगोमा जिउँदै ।

अर्को खाता पल्टाऊ चित्रगुप्त
को हो यो ?
जवाफ हुन्छ चित्रगुप्तको
नवराज बिक
हुन्छ जवाफ यमराजको
मान्छे भनेको त यो पो रैछ
त्यो नदीमा फाल्देऊ यसलाई
फालिन्छ नदीमा जिउँदै ।

अर्को खाता पल्टाऊ चित्रगुप्त
को हो यो ?
हुन्छ जवाफ चित्रगुप्तको
रुपा सुनार
जवाफ हुन्छ यमराजको
मान्छे भनेको त यो पो रैछे
त्यो उम्लिएको तेलमा हाल्देऊ यसलाई
हालिन्छ तातो तेलमा जिउँदै ।

स्वर्ग हुनुपर्छ मेरो देश
नर्क हुनुहुन्न मेरो देश
मृत्यु हुनुपर्छ यमराजको
पुन: जन्म हुनुहुन्न यमराजको
मेरो देश नेपालमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *