
आफ्नो घर भनेको आफ्नै हुन्छ,
आफ्नो घरमा
चैनको स्वास फेरे हुन्छ,
केही नभए पनि
उफ्रिपाफ्री गरे हुन्छ
निद्रामा बाघ जस्तो घुरे हुन्छ,
मदिरा पिएर हल्ला गरे हुन्छ,
आफ्नो घर भनेको आफ्नै हो
जे मन लाग्यो त्यही गरे हुन्छ ।
तर भाडाको घरमा
अनुशासितभई हेर्नु पर्छ,
सुस्तरी सुस्तरी बोल्नु पर्छ,
बिरालोको चालमा हिँडनु पर्छ,
अनुशासितभई जिउनु पर्छ,
आउने पाहुनालाई नआईज भन्नु पर्छ,
भोगविलासदेखि टाढा रहनु पर्छ,
भाडाको घर न हो
घर मालिकको
किचिङ किचिङ किचिङ सुन्नु पर्छ,
सबै थोक मनमा गुन्नु पर्छ,
भाडामा बसेको घरलाई
जति नै माया गरे पनि
जति नै रंगपचेरा लगाए पनि
जति नै सजाएर राखे पनि
जति नै आफ्नो सम्झे पनि
एक दिन अवश्य खाली गर्नु पर्छ ।
यो जिन्दगी पनि
भाडाको घर नै हो,
एक दिन यसलाई खाली गर्नै पर्छ,
जति नै आडम्बर गरे पनि
जति नै माया साँचे पनि
एक दिन यसलाई त्याग्नै पर्छ ।
बी बी ठकुरी
मेई २७, २०२१
खरसाङ ।
