जाँदो वैशाख ११ बिहान दिनेशविक्रम थापाले आफ्नो प्रथम कवितासङ्ग्रह ‘समय रक्तस्नान गरिरहेछ’ को लोकार्पणमा उपस्थित हुन खबर गर्दा नागर्जुनडाँडा घुम्न जाने कार्यक्रमलाई मैले रद्ध गरेँ ।
दिनेशविक्रमबाट मन्न्तव्य गयो, “सानैबाट पालेको रहर पूरा हुँदैछ । विशेष गरी मेरो साइँलादाजुको हात छ, म साहित्य तर्फ लाग्नुमा । जीवन सङ्गिनीको निधनले मलाई कविता लेखनतिर तान्यो । मेरी छोरी कविताको पनि प्रेरणा । त्यस्तै नारायण गोदारेको विशेष प्रेरणाले पनि यो सङ्ग्रह जन्मेको । रीता बैनीले आँट थपिन् ।” दिवङ्गत जीवनसाथीको प्रसङ्ग उप्किन साथै उनको गला अवरुद्ध भएर बोली रोकियो । बदलामा उनका आँखा चुहुन थाल्यो । लोकार्पण कार्यक्रम एकाएक शोक सभामा बद्लिएर हल भरि सन्नट छायो । आँसुु उम्रनु भनेको स्रष्टाको एउटा लक्षण जाहेर हुनु हो । चोटहरूले नै संवदेनशील (कमलो) मनलाई सर्जक बनाउन मलजल गर्छ । उनको बताइएको घटना र चुहेको आँसुले मेरो पनि आँसु चुहायो जसलाई मैले लजाउनुको साटो सगौरव पुछ्दै थिएँ ।
बिधान आचार्यले उक्त कृतिमाथि समीक्षा गर्दै, “कविताहरू पढ्दै जाँदा चित्रात्मक, आख्यानात्मक छ साथै सफल र सटिक समेत भएको कवितामा ‘कान्छी तामाङिनी’ हो । हामी सबैले कान्छी तामाङिनीको नियति भोगिरहेछौँ । ‘लाटो कोसेरो’ सौन्दर्य चेतनाले हो वा जागिरको कारणले बढी विम्वात्मक छ । उहाँको कविताहरूमा कथानात्मकता, दर्शन, द्वन्द्व, प्रकृति र स्वतन्त्रताको पक्ष समेटिएको । भाषा सम्पादन सच्चाउनु पर्ने त्रुटि देखिन्छ, उक्त कवितामा । विम्व त क्रमशः परिमार्जन हुुँदै जाने कुरा हो ।”
कृष्ण धरावासीले टिप्पणी राखे, “डिपी भण्डारीले भन्नु भएझैँ— जत्ति मीठो घनिभूत वेदना उत्ति मीठो रचना । सरसर्ती हेर्दा शोक कविता बढी भएकोले मृत्युसँग बातमारेको कविताहरू छन् त्यसमा । ऐया भनेर चिच्याएको आवाज पनि कविता नै हुन्छ । पढेपछि पाठकलाई समात्न सकेमा त्यो कविता ठहर्छ । नारा र राजनीति कराएको कविताभन्दा कलाले भरिएको कविता जीवन्त हुने ।” विनय रावल र जीवन आचार्यको मृत्युको प्रसङ्ग उनीबाट कोट्टिएर ‘समय रक्तस्नान गरिरहेछ’ माथिकोे टिप्पणी ओझेलमा परिरहेको थियो ।
गोविन्दराज भट्टराईबाट समीक्षा, “पहिलेपहिले कृतिको मूल्याङ्कन नभै नै स्रष्टा बितिसकेको हुन्थ्यो भने अचेल स्रष्टासँगसँगै समालोचना हुँने चलन छ । विनय रावलको झैँ आख्यानात्मक शैली अपनाइएको । ‘कान्छी तामाङिनी’ शक्तिशाली कविता हो । कवितामा संवेदनशीलता, भावुकता, वैचारिक स्पष्टता छ ।”उनले लिखित समीक्षा सुनाए ।
डिपी भण्डारी मन्तव्यमा बोल्दै, “बिधानले चुनेको कविता राम्रो । सबै कविता राम्रो नहुने । कहिले महिनौँ लाएर कोर्दा पनि राम्रो नहुने कविता, कहिले एकै छिनमा राम्रो । कविताको औचित्य के ? केवल शक्ति खर्च गर्नु मात्रै यो लेख्दा र पढ्दा ? बताउनु गा¥हो छ । साहित्यले पैसा नफलाउने भए पनि त्यसबिना जीवन सार्थक नहुने । सौदन्र्य, क्रोध, माया, करुणाजस्ता कुाराहरू कविले चाँडो देख्ने । एकै पाराको खानाजस्तै एकै पाराको कविता पनि काम नलाग्ने । परिवर्तन भएको लागे पनि उही पुरानो कुरा दोहोरिइरहेको हुने । त्यसैले दाँते, रविन्द्रनाथ दोहोरिन सक्छ । ज्ञानुवाकरले बेलिबटन लगायो । अब चुुल्ठो बाट्न सक्छ । गोविन्दराज र मैले नगरुँला त्यसो त त्यो फाल्टो कुरा । सन्तानपिच्छे परिवर्तन अप्नाउछन् । ‘गौरी’ लेखी विलौना गर्ने माधव घिमिरेले किन अर्की बिहा गर्ने ? ठिक पारुवा मात्र हो उहाँ । उहाँले तर पाप नगरेको । उहाँ अति पैसा मुखी पनि ।”
बोल्ने मुढ छैन भन्दै उनी कम्तिमा एक घण्टा बोले । बाहुनको जीव्रो धेरै जसो प्रष्ट फड्कारिनु पर्नेमा नाकभित्रको (अस्पष्ट) बोलीमा भए पनि सारगर्भित र दार्शनिक कुरा ठट्यौलो पारामा उनले बोले । जसले मलाई ठ्याम्मै झर्को लागेको थिएन । ‘गौरी’लाई आँसुले लेखेको दाबी गर्ने घिमिरेले दोस्रो बिहा नगरेको भए गौरीप्रति बगाइएको आँसु साँचो ठहरिई त्यसको महत्व अँझ चुलिने थियो । डा. भण्डारीको तर्कअनुसार उनी ठीकपारुवा (ढोँगी) पनि निस्सै ठहरिए ।
कृष्ण धरावासीसँग बोल्नु पालोमा बसेँ । अनौपचारिक प्रकारले म नयाँ वा वरिष्ठ मान्छेसँग पनि बोल्ने गर्छु । यसो गर्दा नम्रता वा सोमत नभएकोमा दरिन सकिन्छ भन्ने मलाई ख्याल छ । यो मेरो मौलिक नीति हो । उनी साहित्यिकयात्राले अगुवा र मान्यजन भए पनि उमेरले गर्दा प्रणाम टक्रयाउने मेरो जाँगर चलेन । एक्कासी भ्वाक्कै बोलेँ, “तपैँको आत्मकथाको नाम के हरे ?”
“आधा बाटो ।”
“काँ पाइन्छ ?”
“पैरवीबुक हाउसमा ।”
“तपैँको अन्तरवार्ता सुनेर त्यो पढ्नु मोन लागेको छ ।” हामी कुरा गर्दै भुइँतलातिर झर्दै थियौँ ।
“तत्कालीन माले जन्मौने उर्वर भूमि र नेत्र, रामनाथजोस्तो शहीद जन्मिएको झापामा हुर्किएर चरम गरिबीको मार खेपेको अवस्थामा पुनि कृष्ण धरावासी किन कम्लेस्ट भोएन भोन्ने मलै खुब चासो थ्यो, अचम्म लाग्थ्यो । तर मेरो जहानले कुमार बुढाथोकीको स्वभाव बताएपछि त्यसको रहस्य था पाएँ,” मैले आफै सवालजवाफ गरेँ ।
“मो केटाकेटी थेँ । हकार्दाहकार्दै ठूला मान्छेको टाङमुिन छिरेर हेर्नु भ्याइन्थ्यो । ती मारिएका मान्छेका छियाछिया लास देख्दा कम्निस्टप्रति त्रास र घृणा पस्यो, मेरो कलिलो गिदीमा,” उनले मेरो तर्कको खण्डन गरे ।
“जे होस् सुरुमै हिंसाप्रति तर्पैँमा घृणा जाग्यो । हैन त ?” उनको कुरामा मैले सही थपेँ ।
२०६५ वैशाख ३०,मे २००८
