Skip to content

युगीन साहित्य समाज, रुपन्देहीको मुखपत्र ‘युगीन’भित्र घोत्लिंदा

  • by


परिचय

यही २०७०साल जेष्ठ २५ गते युगिन साहित्य समाज, रूपन्देहीले बृहत साहित्य गोष्ठीको आयोजना गर्यो । युगीनले सञ्चालन गरेको उक्त कार्यक्रममा ‘युगीन’ पत्रिकाको विमोचन, स्रष्टा सम्मान तथा बृहत साहित्यिक गोष्ठीमा म पनि आमन्त्रित भएको हुँदा, सहभागी हुने सौभाग्य मिल्यो र सहभागी भएँ । बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलको प्रमुख आतिथ्यमा सञ्चालन भएको त्यो कार्यक्रममा बरिष्ठ साहित्यकार कृष्णदेवी शर्मा श्रेष्ठ, सदानन्द अभागी, तुलसी घिमिरे “पुष्प”, वनमाली निराकार, विजय सागर, रुद्र ज्ञावली, महेश पाल्पाली, लगायत करिब ३ दर्जन जति साहित्यकारहरूले कविता वाचन गरेका थिए । उक्त कानर्यक्रममा महेश पाल्पालीलाई सम्मान गरिएको थियो र युगीन साहित्य समाज रुपन्देहीले सामुहिक सृजनाको सङ्गालो ‘युगीन’को विमोचन समेत गरिएको थियो । उक्त कार्यक्रमको सभापतित्व विनोद उदयले गर्नु भएको थियो ।

युगीनको संरचना

युगीन पत्रिकको प्रथम प्रकाशनको संरचना ६७ पृष्ठको छ । यसका व्यवस्थापनमा संलग्नतालाई हेर्दा बरिष्ठ सल्लाहाकार (तुलसी धिमीर), सल्लाहाकारहरू (ऋषिराम भुषाल, डा. मुरारी पराजुली, वनमाली निराकार, चन्द्रकान्त पराजुली, जयकिशन अधिकारी, विजय सागर, रुद्र ज्ञावली, छवि ज्ञावली, श्याम न्यौपाने) प्रधान सम्पादक (विनोद उदय) सम्पादक (यज्ञप्रसाद न्यौपाने “दिपक”), सम्पादक मण्डल (सुरज पाण्डेय, गणेश न्यौपाने “युग” र युवराज लामिछाने) सहयोगी (छवि ज्ञावली, नमकान्त पाण्डेय), प्रमुख व्यवस्थापक (सुशील सापकोटा) र बजार व्यवस्थापक (राजु अर्याल “अविरल”, दिनेश पाठक, विष्णु विवश पोखरेल, आत्मराम पाण्डेय, कमल न्यौपाने अनिशा डुम्रे)को संयुक्त प्रयासबाट यो साहित्यिक संस्था र युगीनको सञ्चालन र प्रकाशन भएको हो । यस कृतिमा समावेश गरेका विधागत संरचनामा कविता, कथा, लेख, गजल, मुक्तक, हाइकु, गीत, समीक्षा, पालुवा स्तम्भ, पाठक संवाद, र संस्था परिचय परेका छन् । नाटक भने यस कृतिले समेट्न सकेको देखिदैन ।

सम्पादकीय

यस कृतिको सम्पादकीय प्रधान सम्पादक विनोद उदयले लेख्नु भएको छ । सम्पादकीयको शीर्षक छ –‘साहित्यमा गुटबन्दी अन्त्य गरौं, स्रष्टालाई सम्मान र प्रोत्साहन गरौं’ । बास्तवमा आज देशमा देखिएको हरेक क्षेत्रको गुटबन्दीको अन्त्य हुनै पर्छ र देश विकास मार्गमा अघि लम्कनु पर्दछ । सम्पादकीयले महत्वपूर्ण सवालहरूलाई उठाएको छ जस्तै साहित्यलाई अनुत्पादक क्षेत्रमा लिने गरिएको, अन्तराष्ट्रिय क्षेत्रमा नेपाली साहित्यको स्थान उच्च हुन नसकेको, मोफसलीय साहित्यको अपहेलना, देवदहको साहित्यि स्थिति, युगीन साहित्य समाजको आवश्यक्ता, साहित्यमा देखिएको गुटबन्दीको विरोध, स्रष्टा सम्मान, साहित्यमा दलगत राजनीतिको प्रभाव र गुटबन्दी, फैसबुक साहित्यको प्रभाव र युगीन पत्रिका गुणस्तरीय भावी प्रकाशन आदि ।

कविता विधामा समेटिएका कवि र कविताका शीर्षकको सारसंक्षेप

यस कृतिले समेटेका कविहरू र कविताका शीर्षकहरू यस प्रकार छन् – सरुभक्तको ‘गौसिरी आमा भाङ्ग्रो बुन्छिन्’, डी.वी.संघारको ‘म कोहुँ’ ऋषिराम भुसालको ‘जीवन हल्लैहल्लाको शृङ्खला’ राजा पुनीयानीको ‘कुना’, यज्ञप्रसाद न्यौपानेको ‘समय, मान्छे र घाम, ’ झमक घिमिरेको ‘सिर्जना’, भूपिन भूपिन व्याकुलको ‘सङ्गीतकार’, विजय सागरको ‘परदेशीको यादमा’ अजम्बरध्वज खातीको ‘नयाँ बर्ष २०७०’, सरस्वती प्रतीक्षाको ‘अर्को नाम अर्थात…’ मनु मञ्जिलको ‘दिलबहादुर’, नमकान्त पाण्डेयको ‘बाल अधिकार’, मोदनाथ शास्त्रीको ‘रगत नै प्राणवायु हो’, श्याम प्रसाद न्यौपानेको ‘फूल’, छवि ज्ञावलीको ‘मेरी प्रेमिका’, गोर्खे साइँलोको ‘कात्रोमा बगली हुँदैन’, मनोज वोगटीको ‘जीवनको टुप्पो हेर्न गएकी आमा’, नारायणप्रसाद भण्डारीको ‘छुट्टिएको मन’, सिजन नयनको ‘प्रेयसी जाडोलाई’, विजनोद उदयको ‘व्याख्या भर्सेज व्याख्या’, मौरिद बाघौटीको ‘व्याख्या’, कपिल ज्ञावली जिज्ञासुको ‘ए मानवता हराएकाहरू हो’, निष्प्रभ सजीको ‘माझी र सर्पहरू’, मिनबहादुर रानाको ‘मुक्तिको गीत’, सन्तोष सगुनको ‘ पानी र तिर्खा’, गणेश न्यौपाने ‘युग’को ‘अचेल एकदमै फुर्सदमा छु’, डोल राज पोखरेलको हाम्रो देशमा, चन्द्रमणि पाण्डेको आजकल,े सुदिप पाख्रिनको ‘ईश्वरको अनुहार’, उदयराज खनालको ‘धन्यवाद’, हेमन यात्रीको ‘गुराँस नफुलेको बर्ष’ र बासुदेव खनालको ‘फुलबारीका कीराहरू’ ।

कविताले उठाएका सवालहरू

पूर्ब प्रज्ञादेखि(पुराना पुस्तादेखि) नवपुस्ताका कवि र तिनका कविताहरूको एक स्वादिलो मिश्रणबाट सिर्जित देखिन्छन् कविताहरू र कविताहरूमा विविधता पाइन्छ । उमेरको (नयाँ र पुरानाको) हिसावले पनि कवि र कवितामा विविधता देखिन्छ । कवितामा समसामयिक यथार्थता, राष्ट्र र राष्ट्रियताप्रतिको चिन्तन्, युवाहरूको विदेश पलायन र आमा–बुबाहरूको चिन्ता, बन्दहडताल, देशमा भएका र गरिएका अनर्गल होहल्ला, गरिबी, विपन्नता र सम्पन्नताबीचको खाडल, न्याय, समनता, आत्मसम्मान, अनुशासन, सन्तानप्रतिको दायित्व, बाल अधिकार, यौनशोषण, उज्यालोको खोजी, ४८ मिनेटसम्म देह ढले पनि धनन्जय रहिरहने धारणा, प्रेममा पवित्रता, जीवनदर्शन, मानवीय संवेदना, क्रान्तिको लागि आह्वान देशले भोगेको द्वन्द्व, देश विदेशी हस्तक्षेपमुक्त रहनुपर्ने आदि महत्वपूर्ण धारणले सजिएका छन् कविताहरू ।

कथाकार र कथाहरूले बोकेका धारणाहरू–

वनमाली निराकारको ‘पैसा नपर्ने कुरा’, सरस्वती शर्मा जिज्ञासुको ‘संघर्ष’, तुलसी घिमिरे ‘पुष्प’को ‘पाखण्डी’ विश्व सिग्देलको ‘युद्ध’ गरी चारओटा छोटा तर निकै रोचक र थयार्थताले भरिएका कथाहरू समेवेश गरिएका छन् पत्रिकामा, । वनमाली निराकारका कथामा सोच्दा, कल्पना गर्दा, रहर गर्दा, दिउसै सपना देख्दा, जुलुसमा नारा लगाउँदा, भाषण सुन्दा र ताली पिट्दा, बजार पस्दा र महगी बढ्दा पनि पैसातिर्न पर्दो रहेनछ भन्दै व्यङ्ग गरिएको छ । संघर्षमा जनआन्दोलनले मानव जीवनमा पारेको असर त्यस समय घटेका घटनाको यथार्थ चित्रण गरिएको छ । पाखण्डीमा साहित्यिक पुरस्कार पाखण्डीबाट नभै पवित्र मानिसबाट वितरण गराउन पर्ने धारणा राखिएको छ । युद्धमा पनि नेपालमा जागिर नपाई इलाहावाद जाने क्रममा ऊ बनारस पुग्दछ । वनारसमा उसका भाइको कोठामा बैगपाइपको बोत्तल राखेको हुन्छ २/३ दिन खाने प्रयास गर्छ खान सक्दैन आर्को दिन वैगपाइपर कोठामा देखिदैन उसले लडेको यो युद्धमा ऊ हार्यो या जित्यो उसले बुझ्न सकेन । कथा मीठा छन् र स्तरीय छन् ।

लेखक र लेखहरू

पं बाबुराम भट्टराईको ‘पाणिनि तपोभूमि र व्याकरण’ र ओम क्षितिजको ‘लोकप्रियताको शिखर चुम्दै मुक्तक’, दुईओटा लेखहरू समावेश गरिएका छन् । ‘पाणिनि तपोभूमि र व्याकरण’मा साहित्यमा व्याकरणको आवश्यक्ता र महत्व दर्शाइएको छ । वैदिक संस्कृतिको ह्रास र लौकिक संस्कृतिको उदयको अवस्थामा व्याकरणको खाँचो महसूस गरिएको वेला पाणिनिले ‘अष्ठाधामी’ आफ्नै किसिमको अनौठो व्यकरणको सिर्जना गरेर अभावलाई पूर्ति गरेको बारेमा र धातु, सूत्र, गण, अणादि, बाक्य, लिंगानुशासन, आगम((आदेश पनि भनिन्छ) र प्रत्यय गरी आठ मूल अववयहरूको बारेमा जानकारी गराइएको छ । ‘लोकप्रियताको शिखर चुम्दै मुक्तक’मा मुक्तकको परिभाषा, मुक्तकलाई विषयका आधारमा तीन बर्गमा विभाजन गर्न सकिने र संरचनाका आधारमा द्विपदीय, त्रिपदीय, चतुष्पदी, पञ्चपदी, षष्टपदी र सप्तपदीय सम्मका काव्यिक रचनाहरू समेट्न सकिने विवरण दर्शाइएको छ ।

गजलकार र गजलले बोकेका धारणाहरू (पालुवा स्तम्भ समेत)

बूँद राना, ज्ञानुवाकर पौडेल, मनोज न्यौपाने, अमला अधिकारी, डा. सुधाशाही, डा्. टीकाराम भण्डारी, पुरू लम्साल, डा.घनश्याम न्यौपाने, परिश्रमी, बाबु त्रिपाठी, खगेन्द्र गिरी ‘कोपिला’ कपिल अञ्जान, पुष्प अधिकारी अञ्जलि, शेखर विकल्प, जीवन सरोवर, निर्मल ढुङ्गाना, दिनेश पाठक ‘निश्चल’, अम्लिन माधव कँडेल, श्रेष्ठ प्रिया पत्थर, रुपिन्द्र प्रभावी कटु, सुरज पाण्डे, गङ्गा अभिलाषी, कपिल शर्मा, सञ्जोम, समर प्रकाश, परदीप भट्टराई, हेमप्रकाश, मञ्जील, प्रकाश न्यौपाने (प्रयास), हुकुम ठीमाहा धडकन, धु्रवमणि खनाल, घना तिवारी स्पन्दन, झपिन्द्र देव म्लोमी, डिल्लीराम भण्डारी, विष्णुविवश पोखरेल, कृष्ण क्षेत्री, ‘नेपाली मान्छे, ’ भरत सापकोटा, अनिशा डुम्रे, विष्णु गौतम, कमला अर्याल, टेकनाथ डुम्रे ‘विवश’, डोलराज काफ्ले, लक्ष्मी डुम्रे, नारायण न्यौपाने, सुशीला ढकाल, मनिष पाण्डेय “प्रकाश”, शन्तोष पाण्डेय, केशवराज पाण्डे, हरि न्यौपाने, युवराज पोख्रेल गजलकारहरूका एकएक गजलहरू समावेश गरिएका छन् र गजलमा विविधता पाइन्छ । प्रेम सम्बन्धी गजलले वाहुल्यता जमाएका, प्रेममा पनि संयोगान्त, वियोगान्त, आशा, निराशाले भरिएका गजलहरू पढ्न पाइन्छन् । राष्ट्र र राष्ट्रियताप्रति धारणा पोखिएका, समसामयिक पथ अङ्गालिएका, यथार्थ घटना परक, जीवनदर्शन, धोका गरिबी, भाग्यवादी सोच, स्वार्थ, लोभ, देशले भोगेका द्वन्द्व, इच्छ्या, आकाङ्क्षा, प्रयास, सुझाव, प्रतिशोध आदि धारणाका गजलले स्थान लिएका देखिन्छन् । गजलकारहरूलाई नियाल्दा प्रज्ञादेखि लिएर गजलमा ख्यातिप्राप्त गजलकारहरू सहित पुराना र नयाँ पुस्ता समेटिएका छन् ।

मुक्तककार र मुक्तकको धारणा –

रुद्र ज्ञावली, अशोक गौतम “क्षितिज”, युवराज लामिछाने ‘प्रदिप’, भरत पाण्डेय, पशुपति आचार्य, सरिता पराजुली, तारा मिलन छन्त्याल, जि.एम्. दिपु देवेन्द्र, जयराम वि. क. (जया भावुक), बालकृष्ण भट्टराई, कपिल लामिछाने, सिर्जना सिलवाल, नारायण श्रेष्ठ, अनुरागी विनोद, लक्ष्मी सुवेदी, केशव, निश्चल केसी, मोहन विहानी, नविना पाण्डेय, टेकलाल डुम्रे ‘विवश’ । सुशीला ढकाल, सन्तोष पाण्डे, केशवराज पाण्डे, मुक्तकमा पनि गजलका झै विविधता छ । प्रेम, लोभ, लालचा, गरिब, धनी, अन्धविश्वास, त्याग, दादागिरी, निर्माण गर्न एकताको खाँचो, जीवनका विविध पक्ष, मातृत्व प्रेम, द्वन्द्व, जीवनको ओराली उकाली, सादा जीवन उच्च बिचार, वाताबरणमा असर, विश्वासको संकट र समसामयिकतामा आधारित छन् मुक्तकहरू ।

हाइकू

महानन्द ढकाल र सागर न्यौपानेका दुईवटा सारगर्भित हाइकूहरू समावेश गरिएका छन् । महानन्दको हाइकूमा काठमाण्डौले जुम्ला देख्दैन र ६०१ले संबिधान लेखेनन् भन्ने छ । सागर न्यौपानेकामा टीका जमरा, आशीर्वाद थाप्न नपाको’ र नयाँ नेपाल केवल जनता झुक्याउने खेल भन्ने धारणा छ ।

गीत

‘हे आमा नेपाल तिमीलाई संसारकी राम्री बनाउँला जस्ता राष्ट्रिय गीतका गाएक महेश पाल्पाली जो उक्त दिन अभिनन्दित पनि भएका थिए, उनकै ‘नेपालीको नेपाल, साक्षी छ हिमाल, भन्ने गीत समावेश गरिएको छ ।

समीक्षा

डा. मुरारी पराजुलीले वरिष्ठ साहित्यकार शान्तिनाराण श्रेष्ठको मुक्तकको बारेमा समीक्षा गर्नु भएको छ । शान्तिनारायण उत्तर प्रयोगकालिन स्वच्छन्दतावादी धाराका मुक्तककार हुन् भन्ने ठहर गर्नु भएको छ ।

पाठक संवाद

युवाकवि यज्ञप्रसाद न्यौपानेले पाठक आत्मराम पाण्डेको संवाद समावेश गर्नु भएको छ । आत्मरामले देशी विदेशी साहित्कारहरूका पुस्तकहरू निरन्तर पढ्ने गर्नुहुन्छ र उहाँसँग ३०००जति पुस्तकहरू छन् नयाँ प्रकाशन आउने बित्तिकै पुस्तक किनेर पढ्ने बानी छ । किताव पढिसकेपछिको अनुभूति शब्दमा प्रयोग गर्न सकिदैन भन्नुहुन्छ र नपढ्नेहरूको लागि जिन्दगीमा ठूलो अवशरबाट बन्चित हुनुहो भन्नुहुन्छ । मैले पत्रिकामा पाठक संवाद राख्नु एउटा सकरात्मक पक्ष हो भन्ने महसूस गरेको छु ।

संस्था परिचय

यस स्तम्भमा सुशील सापकोटाले ‘राष्ट्रिय मुक्तक मण्डप नेपाल’को परिचय गराउनु भएको छ । उहाँको लेखाई अनुसार यो एउटा विशुद्ध मुक्तको विकास, तथा विस्तारमा केन्द्रित संस्था हो । मुक्तक विधामै नेपालमै पहिलो विद्यावारिधी गर्नु भएका डा. मुरारी पराजुलीको अग्रसरता र संरक्षकत्वमा २०६७पुस ३ गते मुक्तककार ओम क्ष्तििजको अध्यक्षतामा गठन भएको यो संस्थाले प्रत्येक बर्ष पुस ५ गते मुक्तक दिवस मनाउने र प्रत्येक महिनाको दोस्रो शुक्रबार मुक्तक वाचनको मासिक शृङ्खला बुटवलमा हुने जानकारी गराएको देखिन्छ ।

अन्त्यमा

युगीन साहित्य समाज रूपन्देहीले प्रकाशन गरेको युगीन पत्रिका गुणस्तर प्रकाशनको प्रयास गरिएकोमा युगीन साहित्य समाजलाई धन्यवाद दिदैं आगामी दिनहरूमा पनि निरन्तरताको कामना गर्दछु । श्रव्यदृश्य (नाटक) र अन्तरवार्ता पनि कुनै कुनै पत्रिकामा पढ्न पाइन्छ तर यहाँ साहित्यकारको अन्तरवार्ताभन्दा बेग्लै किसिमको पाठक संवादले स्थान लिएकोले, यो पनि सकरात्मक थालनी भएको महसूस भएको छ । संस्था जन्माउनुमात्र ठूलो काम होइन तर यसको संरक्षण र संवर्धन दीगोरूपमा सञ्चालन गर्नु ठूलो हो । यहाँको कार्यक्रममा सहभागी हुँदा युवाहरूमा जो जोस र जाँगर देखियो पुराना पुस्ताका स्रष्टाहरूको जो सहभागिता पाइयो त्यसले अवस्य पनि निरन्तरता र दीगो पना आउने छ भन्ने कुरामा विश्वस्त हुन सकिन्छ । प्रकाशनको गुणस्त्रता, कामको थालनी, संस्थाको कार्यक्रममा सहभागिता आदि सबै प्रसंशनीय छ भावी कार्यक्रमको सफलताको कामना गर्दछु ।

सदानन्द अभागी
२०७० अषाढ ७गते, शान्तिचोक, नवलपरासी

Leave a Reply

Your email address will not be published. Required fields are marked *