Skip to content

“संकलित गद्यरचना” माथि एक पाठकीयता

  • by

सामाजिक सञ्जालमा भर्च्युअल चिनजानका धेरै अग्रज तथा समकालीन साथीहरू हुनुहुन्छ साहित्य क्षेत्रका। ती मध्ये एक मेरा आदरणीय अग्रज दाजु हुनुहुन्छ हरि अधिकारी।

आजसम्म प्रत्येक्ष नभेटिकनै, नदेखिकनै केवल आक्षरिक भेटघाट र सिर्जनात्मक प्रत्येक्षतामै पनि सम्भव भएसम्म आवश्यक सुझाव र हौसला दिँदैलेखनमा मलाई निरन्तर टाढा लम्किन प्रेरणा दिइरहने उनै आदरणीय दाजु हरि अधिकारीको नविनतम निबन्ध सँगालो ‘संकलित गद्यरचना’ हात परेकै दिन सोचेथें पढेपछि यस कृतिमाथि म पाठकीयता त लेख्छु अवश्य ।

फेरि तुरुन्तै सोचेँ पहिले पढुँ त ! पढिसक्दासम्म मलाई पाठकीयता लेख्ने हुटहुटी रहिरहन्छ या रहन्न ! मैले खोजेको मिठास भेटिन्छ या भेटिन्न ! अग्रजले लेख्दैमा सबैथोक वाह ! भइहाल्ने भन्ने पनि त हुँदैन। फेरि जो कसैको सबै रचना या कृति उतिकै वजनदार वा झुर हुन्छ भन्ने पनि त हुँदैन। त्यसैबेला सम्झिहालेँ नेपाली साहित्य माहोलमा मैले चिने, जाने, सुनेको हरि अधिकारी एक खस्रो मिजासका निडर निर्भिक र सिधा सपाट लेखक समिक्षक पो त !

र त दशक पहिले मलाई मेरा काव्यगुरु आदरणीय कवि बिक्रम सुब्बा यानेकि बिक्रम दाले सुझाउनु भएथ्यो,”दीप्स ! तिमी आफ्ना कवितामाथि निर्मम तर यथार्थ टिप्पणी चाहन्छौ भने खरो मिजासका समिक्षक हरि अधिकारीलाई पढ्न देऊ ।”

तमाम कोसिसका बाबजुद पनि कसोकसो आफ्ना काँचा कविता उहाँलाई पढाउने सुअवसर भने आजसम्मै मिलेन । तर त्यसै बेलादेखि नचिनेरै नभेटेरै पनि मेरो हृदयले समुच्च सम्मान गरिरहेको उही व्यक्तित्व हरि अधिकारीको पछिलो कृति पढेर आफ्नो पाठकीयता पस्किने दुस्साहस जो गरिरहेछु।

यस्तोमा त्यस्ता प्रखर तर खरो लेखक समिक्षकको कृतिमाथि म जतिको शिशु लेखकले समिक्षात्मक धारणा बनाउने सामर्थ्य राखुँला ? यिनै असमञ्जस्यताको बीचबाट सम्झिएँ, हुन त यस अघि पनि विभिन्न पत्रपत्रिकाका अखबारी लेखन, साहित्यका विविध बिधागत उपस्थिति, अन्तर्वाता र समिक्षा पढ्दा नै लेखक समिक्षक हरि अधिकारीबारे ममा एउटा स्पष्ट धारणा त बनिसकेको थियो । तर पनि ज्यादा खतरा मोल्ने आँट नगरिकन सरसर्ती पाठकीयता मात्रै प्रस्तुत गर्ने जमर्को गरेको छु।

२३ थान निबन्ध रचना बोकेर २३२ पृष्‍ठसंख्यामा फैलिनुभएका हरि दाइको आजसम्मको जीवनको हारजीत, संघर्ष, बिद्रोह र अनुभवको सग्लो फेहरिस्त बोकेर आएको रहेछ प्रस्तुत कृति। अँझै भनुँ लेखक समिक्षक हरि अधिकारीको साँगोपाँगो जीवन ऐना भने पनि हुनेरहेछ ‘संकलित गद्यरचना’ लाई।

‘असीमित अवसरहरुको देशमा एक जोडी नेपाली’ शिर्षकबाट पातल देश अमेरिकामा हाल आफू र आफ्नो परिवारले देखिभोगिरहेको जीवन, सुखदुखका पेटाराहरू अनि सुन्नु र भोग्नु बीचका अलग कटु यथार्थको अत्यन्तै सजीव वर्णन गर्दै सुरु भएको प्रस्तुत कृति पाकिस्तानी दिवङ्गत कवि तथा चिन्तक फैज अहमदको एउटा पुरानो उर्दु कविता चर्चा “प्रसँग एउटा कविताको: आँकलन त्यसको सामर्थ्यको”मा पुगेर समापन हुन्छ। यसबीचमा विभिन्न शिर्षकका निबन्ध मार्फत हरि दाइले आफ्नो निजी भोगाइको बेलीबिस्तार लगाउनुभएको छ।

कुशल शब्द शिल्पकारितामार्फत वर्णन गरिएका वहाँका निजी भोगाइको सग्लो सोतो “बस बिसौनिमा पर्खिबस्दा” निबन्धमा कस्तो सलल बगेको छ। काठमाण्डौ आसपासै बसेर पनि गाउँ त्यागी नसकेको र शहरलाई पनि अँगाली नसकेको कष्टकर र अन्योलपूर्ण काँठे जीवनचर्या अति नै सरल तर चखिलो लाग्छ।

राजनैतिक आस्था विशेषमा पनि खास झुकाब राख्ने हरि दाइका धेरै जसो प्रसङ्गमा राजनैतिक चहलपहल चर्चा र अनुभूतिहरू ओहोरदोहोर गरिरहन्छन पुस्तकभरि।

“वी पी कोइरालाको अन्तिम सार्वजनिक अभिनन्दन” लगायतका थुप्रै निबन्धमा पुरापुर तत्कालीन राजनैतिक प्रसङ्ग, तिनमा लेखकको प्रत्येक्ष अप्रत्यक्ष संलग्नता, रुची र धारणाहरू बाक्लोगरी वर्णित छन। भन्नुपर्दा यस निबन्ध सँगालोमा राजनैतिक प्रसँग र चर्चाकै बाहुल्यता छभन्दा पनि हुन्छ।

यस बाहेक “क्रान्तिकारी किशोरिको सानीध्यमा केही क्षण” निबन्धमा दशक लामो माओवादी संघर्शको उपलब्धीमाथि प्रश्न तेर्स्यौँदै तिनका नाइकेहरुलाई टक्टक्याइदिनुभएको छ ।

सरसर्ती पढिसक्दा प्रस्तुत संग्रहमा मुलत: राजनैतिक प्रसँग र लेखकको निजी भोगाइसँगै सामाजिक चिन्तन, कलाकारिता क्षेत्रको चासो, साहित्यप्रतिको लगाब, जोखिमयुक्त जिन्दगी जिउने दुस्साहस र आत्मस्वाभिमानी हठहरू ज्यादाजसो निजात्मक प्रस्तुतिमा सलल बगेका छन् । तर पढिरहँदा लेखकको निजी अनुभूतिहरुसँग पाठकले आफूलाई एकाकार पाउनु नै प्रस्तुत कृति तथा निबन्धकार हरि अधिकारीको गद्यकारिताको सफलता हो भन्ने मलाई लाग्छ।

बिधागत सहुलियत भनौँ निबन्धमा लेखक आफँ लेखभरि प्रत्येक्ष पोखिन पाउनुको सकारात्मकता यही होला शायद, प्रस्तुत कृति मार्फत खरो र स्वतन्त्र मिजाजका लेखक हरि अधिकारीलाई प्रत्येक्ष झैं छाम्न र महसुस गर्न सकिन्छ पढ्दैजाँदा। आफ्नो निजी तथा पारिवारिक भोगाइ, अनुभव, गुनासा, कमाइ, गुमाइ, विचार, चिन्तन, कौशलता र कमजोरीहरू यसरी सिधा बिस्कुन लगाउन सक्ने लोभ र भयमुक्त लेखक कति होलान हाम्रो ब्रित्तमा ?

यस्तै चाप्लुसी र चातुकारिता रहित, पालिस बिनाको धारणा र जीवनशैलीका कारण हरि दाइले कहीँ न कहीँ अभाव र बिषादको बाक्लो बर्को ओढ्नु परेको स्वीकारोक्ती उहाँकै कतिपय लेखबाटपनी अनुभव गर्न सकिन्छ। यस्तोमा पनि जोखिमयुक्त यात्राामा निर्भिक निडर हिँडिरहेरै यथार्थको बलमा निर्मम सत्य बोलेर खरो प्रतिकृया दिने हरि दाइप्रति पुस्तकभरि झन झन सम्मान र श्रदा जागिरह्यो।

ब्रम्हले देखेको बोल्नैपर्ने स्वाभावका कारण कति आत्मियहरू अनात्मीय भए हुनन् तर “एक्लो नायक’ कृति समेतका लेखक हरि दाइ असलमा एक्लो हुनुहुन्न । उहाँका खस्रा टिप्पणी र सुझावका पारखीमै जस्ता तमाम पाठकहरुका हृदयमा लेखक समिक्षक हरि अधिकारी स्तूत्य हुनुहुन्छ ।

साहित्य संगीत समाज र राजनीतिक ज्ञान र समिक्षाको ल्याकत राख्ने लोकतन्त्रवादी, बौद्दिक तार्किक लेखक हरि अधिकारीको स्वकीय शैलीका निबन्ध पढेर बिशिष्ट कालखण्डका घटना-परिघटनासँग साक्षात्कार हुन चाहनु हुनेले एक्पटक अवश्य पढ्नुहोला हरि अधिकारीको “संकलित गद्यरचना”।

निबन्ध/प्रबन्ध -“संकलित गद्यरचना”
कृतिकार: हरि अधिकारी
प्रकाशक: आशुतोष अधिकारी
मूल्य: रु ३५०-

दीप्स शाह

Leave a Reply

Your email address will not be published. Required fields are marked *