म सानो छँदा
बमजनी आमै जाडोमा मकल ताप्दै
दन्त्यकथा सुनाउनु हुन्थ्यो
मुसङखेले बा हातमा अण्डा खेलाउँदै
अक्षता र्छर्केर लागो झार्नु हुन्थ्यो
सार्की बुढा
पानीमा दूवो चोब्दै मेरो शिरमा छर्केर
दोबाटोमा मन्साउनु हुन्थ्यो
म सानो छँदा
बूढी बज्यैको आङमा देउता चढ्थ्यो
वहाँ काम्नु हुन्थ्यो
धामी झँक्रीहरू
रातरात भर ढोल र झ्याम्टा ठटाउँदै
काम्दै उफ्रिन्थे
म छक्क पर्थें
आज सम्झिन्छु यो दन्त्यकथाको देशमा
नेताहरू आफैं धामी आफैं झाँक्रीभएको देख्दा
यी नेताहरूको आङमा, वोलीमा विदेशी देउता चढेको देख्दा
मलाई अचम्म लाग्छ
यी नेताहरूको जीउमा भूतप्रेत, बोक्सी चढेको देख्दा
मलाई उदेक लाग्छ
तलेजुभवानी कोतपर्वकी सांक्षी थिइन्
शोभाभगवतीको आँखा अगाडि
दशरथचन्द र गंगालाललाई गोली हानियो
छिन्ताङदेवीको काखैमा कैंयौं निर्दोष जनता मारिए
कमलामाईको बगरमा भीमनारायण र यज्ञबहादुर थापालाई जलाइयो
अहिले सम्झिन्छु
ती मन्त्र, फूकफाक, देवी/देवता, मात्र भ्रमरहेछ
मिथ्या आस्था रहेछ
अन्धविश्वास रहेछ
हाम्रा लागि हाउगुजी रहेछ ।
यो तेतिसकोटी देउताले बास गरेको
मेरो देशका अढाइकोटी नेपालीहरूलाई वेवकुफ बनाएर
हाम्रा नेता दन्त्यकथा सुनाउँदैछन्
अझै पनि तिलस्मी कथा सुनाउँदैछन् ।
