तपाई के गरे खुशी हुनु होला ? यो प्रश्नको जवाफ तपाईंसँग मात्र हुन्छ अनि अलिकति तपाईको जीवन साथीलाई थाहा हुन्छ । तर जीवनसाथीबाट सबै खुशी हुन्छन भन्ने हुदैन । मानिस आफ्नै सन्तानवाट पनि खुशी हुन्छन भन्ने छैन । मानिसको खुशी फरक फरक श्रोतवाट प्राप्त हुन्छ । मानिसका आकांक्षा फरक फरक विधामा अन्तर्निहित हुन्छन । यौवन र यौन सबैका लागि खुशी दिने कुरा हुन नहुन पनि सक्छन । एउटा समय र प्रकृति प्रदत्त कुरा कसैको जीवनमा स्थायी हुन्नन । यसर्थ घर परिवार, आफन्त, सन्तान र बैभव मात्र मानिसको खुशी भर्ने श्रोत होइनन ।
रक्सियालाई रक्सी पाए मात्र खुशी मिल्छ । घुसियालाई घुस पाए खुशी मिल्छ । कामीलाई काम बासनाले मात्र खुशी दिन्छ धामीलाई बोक्सी भई दिए मात्र खुशी मिल्ला । कवि कवितामा रमाउछ । गायक गीतमा । नाच्ने मान्छेलाई त्यही प्यारो हुन्छ र ऊ मन्चमा रमाउछ । नेताका लागि पद, गफडीका लागि गफ नै प्यारो हुन्छ । अर्थात चाहेको कुरा र रुचीको विषयमा केही गर्न पाउदा मानिस खुशी हुन्छ ।
तिमीसँग बिताएका रातहरूको कसम
तनैभरी कुदाएका हातहरूको कसम ।
तिमीलाई छाडी अन्त माया लाएको छैन
बनपाता सुसेलेका पातहरूको कसम ।
सधै तिम्रो संझनामा हरपल हराउँछु म
पिरतीको लोभ लाग्दा बातहरूको कसम ।
समयको नियतिले छुट्टिएको जस्तो भयो
विछोडमा दुःख भुल्ने मातहरूको कसम ।
अटुट माया मुटुभरि सँगालेर परदेशमा
लेखिएको प्रेम पत्रका खातहरूको कसम ।
हो यहाँ कुरा गर्न खोजिएको यीनै पंङ्कितहरूलाई आफ्नो सृजनामा समेट्ने गजलकार मनोज मनसुनको कुरा हो । कुवेतमा लामो समयदेखि कर्म अजमाइरहेका मनसुनको मनलाई मरुभूमिको फूलले हँसाई दियो । शायद उनी कुवेतमा रहन्नथे भने मनसुनबाट गजल बर्षा हुन्थ्यो या हुन्थेन राम जाने । मनसुनको एकान्तता र बैराग्यतालाई एक्लो यात्रीले सावित गरिदियो ।मरुभूमिको क्षितिजमा नेपाली साहित्यले पनि उदाउने मौका पायो मनसुनको एक्लो यात्रीबाट । उनका पहिलो त्यस कृतिलाई पाण्डुलिपीको ओढारबाट टर्च जलाएर निकाले साहित्यकार होम क्षेत्रीले । उनले मनसुनको प्रतिभालाई चिने र चिनाई दिए सवका सामु । सजातीय पहिचान भनेको यस्तै हुन्छ । मनसुनको मन होम क्षेत्रीसँग मिल्यो । मनसुनको प्रतिभाले होम क्षेत्रीलाई पच्छ्यायो ।
नेपाल आमाको लागि समर्पित गरिएको मनोज मनसुनको मरुभूमिको फूल नामक गजल संग्रह को प्रकाशन पल्लब साहित्य प्रतिष्ठान चितवनले गरेको हो । स्यांजामा जन्मिएका गजलकार यी युवाको कर्म थलो कुवेत भए पनि उनको प्रतिभालाई भारतको असाममा घर भएका साहित्यकार होम क्षेत्रीले पहिले साथ दिए । यसरी नै उनको दोश्रो कृतिलाई चितवनको साहित्यिक प्रतिष्ठानले काध थाप्यो । मान्छेमा केही गर्ने चाहाना छ भने पर्खन सक्नु पर्छ सर्वत्र कदर र साथ पाइन्छ भन्ने मनसुनको यात्राले बताउछ ।
चितवनमा र कुवेतमा दुवै ठाउँमा मरुभूमिको फूलको विमोचन गरियो । अगष्ट १६का दिन मनसुनको दोश्रो कृतिलाई राजदुत मधुवन पौडेलको हातबाट विमोचन गराईयो । मनसुनका ६४ वटा गजलहरू यसमा समेटिएका छन । मरुभूमिको फूलमा भएका प्राय जसो सबै गजलहरू उनले २०६७ सालमा लेखेका हुन ।
मनसुन यसैमा खुशी छन । एउटा साहित्यकारका लागि एउटा कृति जन्माउनु एउटा अर्को सन्तान जन्माएको खुशीले दिन नसक्ने खुशी दिन्छ । मनसुका कुवेतमा दुई सन्तान जम्मिए । शायद उनीभन्दा कुवेतमा धेरै खुशी अरु कोही होला ?
पिएर नाना मातहरू रुने गर्छौ रे तिमी
गरेछु भनेर घातहरू रुने गर्छौ रे तिमी ।
थाहा पायौ ? जीवन बाँच्न दुःख भन्थे
सम्झेर मेरा बातहरू रुने गर्छौ रे तिमी ।
तिमीसँग माया गाँस्नु दोष मेरो थियो
साथ छुटाई हातहरू रुने गर्छौ रे तिमी ।
तिम्रो यादमा दिनहुँ चिठी कोरिरहन्थेँ
पढेर प्रेमका खातहरू रुने गर्छौ रे तिमी ।
स्वर्ग जस्तो पलपल आनन्द मनसुनमा
कल्पेर मिठा रातहरू रुने गर्छौ रे तिमी ।
नेपाल कुवेत डटकम तथा मरुभूमिको कोसेलीका साहित्यिक सम्पादक तथा अनेसास कुवेत च्याप्टरका सचिव मनोज काफ्ले मनसुनबाट अँझै यस्तै मिठा मिठा गजलहरूको आशा गरौ । यस्ता धेरै फूलहरू उनको मनको बगैचामा फूलिरहुन । यी साहित्यका सारथीको रथले संसार भ्रमण गरोस । गजल प्रेमी साहित्यिक अभिरुची बोकेका नब प्रतिभाहरूलाई प्रेरणा भरोस यही शुभकामना ।
तोयानाथ उपेक्षित
