रामप्रसादलाई काठमाण्डूको कुवाको भ्यागुतो भने कुनै अतिशयोक्ति नहोला । बीस वर्षे जागिरमा ऊ कहिल्यै काठमान्डू बाहिर गएको छैन । मन्त्रालयका उसका साथीहरूले सरकारी काज खाएर छयहत्तरी नै जिल्ला घुमिसकेका होलान्, उ भने गुच्चा टोल र सिंहदरवार बाहेक कतै गएको छैन । साथीहरू कत्ति कर गर्छन्, तर ऊ भने टसमस हुँदैन । कतै नगएको हुनाले अब त झन् बुढ्यौलीमा ठ्याम्मै आँट पुग्दैन । बाहिर जाने जस्तोसुकै मौका आए पनि कागलाई बेल पाकेर हर्ष न विस्मात् भने झैं रामप्रसाद अविचलित रहन्छ । हाकिमहरूले पनि रामप्रसादलाई बाहिरफेरको काममा खटाउनै छोडिसकेका छन् । रामप्रसाद सरहकै अरु कर्मचारी भने तँछाड् मछाड् गर्छन् बाहिर जान, रामप्रसाद भने वास्तै गर्दैन । उसको जीवन नै गुच्चा टोल र सिंहदरवारको बीचमा अलमलिएको छ ।
गुच्चा टोलका नेवारै नेवारहरूको बीचमा बस्छ रामप्रसाद । पुरानो पुस्तैनी घर छ । चालचलन, भेषभूषा, भाषा साराका सारा खाँटी नेवारसंग मिल्छ । नेवारी भाषा त रैथाने नेवारलाई पनि माथ गर्ने गरी बोल्छ रामप्रसाद । तर ठाडो नाकलाई भने लुकाउन सक्दैन । फट्टिक गोरो सेतै रुवाजस्तो फुलेको कपाल, भकुण्डे शरीर । साथी नेवारहरू सेतो ख्याक भनेर जिस्क्याउँछन् । हुन पनि रामप्रसाद हिंडेको देख्दा हिडेको होइन कि गुडेको जस्तो लाग्छ, सेतो बाटुलो, ठूलो भकुण्डो गुडेको जस्तो ।
एक पटक मन्त्रालयका साथीहरू सल्लाह गर्छन्, अवकाश पाउने बेला भैसक्यो, यो रामप्रसाद भन्ने नमूनाले उपत्यका काटेको छैन । एक पटक त जसरी भए पनि पठाउनै पर्छ । सबैको मिलोमतो भइसकेपछि एक दिन खाजा खाने बेलामा सबै जना रामप्रसादलाई घेर्दछन् र यस पटकको विवाह पन्चमीको बेलामा रामप्रसादले जनकपुर जानै पर्ने घोषणा गर्छन् । रामप्रसाद साथीहरूको कुरा सुनेर अतालिन्छ, हात जोड्छ, अनुनय विनय गर्छ र जान अस्वीकार गर्छ । केही नलागेपछि एक जना साथी धर्मको कुरा उठाउँछन् । अर्को साथी विवाह पन्चमीमा जनकपुरमा हुने रामसीताको विवाह स्वयंबर, रामको जन्ती, सम्धी मिलन इत्यादि घटनाहरूको पुनरावृत्ति गरिदिन्छ, साह्रै रमाइलो हुन्छ भनेर सम्झाएपछि रामप्रसाद अलिकति पग्लिन्छ तर एक्लै बाहिर जानुपर्ने कल्पनाले पनि भयानक रूपमा त्रसित हुन्छ ।
उक्त दिन रामप्रसाद घर गएपछि च्यूरा तरकारीको खाजा खाँदै साथीहरूले जनकपुर जान कर गरेको कुरो उक्काउँछ । श्रीमती समर्थन र गुनासो दुवै गर्छिन् – हजुर कहिल्यै काठमाण्डू खाल्डो बाहिर नजाने ! हजुर नगएपछि म कोसँग जाउँ – मान्छेहरू कति तीर्थबर्त गर्छन्, आफू त कतै जान पाएको छैन । यही काठमाण्डूमै मम, छोएला र कचिला खाएर अगति परेर मरिने भो ! साथीहरूले भनेका छन् भने जानु नि त । एक पल्ट गएपछि हिम्मत खुल्छ । लोग्ने मान्छे भएपछि हिम्मत गर्नु पर्दैन – मान्छे एक्लै कहाँकहाँ पुग्छन्, हजुर जनकपुर पनि जान नसक्ने ! रामप्रसादलाई पनि श्रीमतीले भनेको कुरो हो जस्तो लाग्छ । पानीमा खुट्टै नहाली त पौडन कस्ले सिक्न सक्छ र ! त्यसमाथि धर्मकर्म नै गर्नु पर्यो, चारधाम जानु पर्यो । हिम्मत त गर्नै पर्यो । एक पटक जे त होला ।
अर्को दिन रामप्रसादले साथीहरूलाई जान्छु मात्र के भनेको हुन्छ, सारा मन्त्रालयमा रामप्रसादको समाचार जंगलको आगोजस्तो भएर फैलिहाल्छ । जेहोस्, रामप्रसाद पनि जाने भए । सचिव पनि बोलाएर हौसला बढाउँछन् । कुनै भयानक युद्धमै जान थालेको जस्तो सारा मन्त्रालयका स्टाफ रामप्रसादलाई बधाई र शुभकामना दिन्छन्, सिकाउँछन्, गर्ने र नगर्ने कुराहरूको उपदेश दिन्छन् । रामप्रसादले फेरि नाईं बा म त जान्न भन्लारे भनेर विवाह पन्चमी आउन दश दिन अघि नै काजसाज मिलाएर रामप्रसादको मुठ्ठीभरि रुपियाँ हालिदिन्छन् । रुपियाँ त समात्छ रामप्रसाद तर उसको मुटु भने जोडजोडले भट्याक भट्याक गर्नथाल्छ ।
रामप्रसाद जाने पक्का भएपछि त रामप्रसादकी श्रीमती दङ्ग पर्नु पर्नेमा खिस्रिक्क पो पर्छिन् । कहिले कतै नगएको लोग्ने बाहिर जान थाल्यो भनेर उनलाई त डर पो लागेर आउँछ । वर्षउँ देखि माऊले चल्लालाई छोपेर, सुम्सुम्याएर, न्यानो दिएर राख्याजस्तो राखेको रामप्रसादलाई एक्लै जान दिन उनको मननै मानिरहेको हुँदैन । त्यसैले होला, उनी त म पनि जान्छु भनेर पो कर गर्न लाग्छिन् । रामप्रसाद मरे मान्दैन । आफ्नो ज्यान त भारी भएको बेलामा श्रीमती समेतलाई लग्न ऊ कदापि तैयार हुँदैन । यही कुरामा दुबैको ठाकठाक ठुकठुक पनि पर्छ । अन्तमा रामप्रसाद नै विजयी हुन्छ ।
जाने दिन नजिक आएपछि बसको टिकट किन्ने कुरा आउँछ । कुन बसको टिकट किन्ने, कहाँ पाइन्छ, रामप्रसाद अनभिज्ञ । साथीहरू यो कुरामा पनि सहयोग गर्न अग्रसर हुन्छन् । एफ एममा चेपारे केटीहरूले काठमाण्डूदेखि जनकपुरसम्मको आरामदायी यात्राको लागि जनता कोच कम्पनीको तारनतार प्रचार गरेको सबैले सुनेका हुन्छन् । त्यसमाथि नयाँ भिडियो, नयाँ फिल्म, एक बोतल मिनरल वाटर सित्तैमा इत्यादि सुविधाहरूबाट पनि निकै लोभ्याइरहेका हुन्छन् । त्यसै नाइट बसको टिकट लिन एउटा पियनलाई सुन्धारा पठाउँछन् । एक दिन अघि गए रामप्रसाद बिहान ६ बजे जनकपुर पुगिहाल्छ, सोही दिन विवाह पन्चमी । होटेलमा गएर नुहाएर धुआएर जानकी मन्दिरमा पुग्दा ठीक हुन्छ ।
राती आठ बजेको बस समात्न ७ बजे नै सुन्धारा पुग्नु पर्ने हुन्छ, चाइना मार्केटको नजिक । त्यहाँबाट मिनी बसले कलङ्कीसम्म लग्ने अनि कलङ्कीमा भने जनता कोच कम्पनीको नयाँ बसमा रामप्रसाद विराजमान हुने त्यसपछि नयाँ फिल्म हेर्दै आरामसंग जनकपुर जाने । श्रीमती ६ बजे साँझतिर लोग्ने अमेरिका बेलायत नै जान थालेको जस्तो आँखाभरि आँशु पार्दै रामप्रसादलाई दही चामलको रातो साइतको टीको लाइदिन्छिन्, अलिकता दही पनि सुर्क्याउँन लाउँछिन् । रामप्रसाद पनि आँखा रसिलो पार्दै ट्याक्सीमा बस्छ । रामप्रसाद ठीक सात बजे सुन्धारा पुगिसकेको हुन्छ । तर अहिले आउला छैन, भरे आउला छैन । मिनीबस भनाउँदो त मरे आउँदैन । कुर्दा कुर्दा बल्ल तल्ल एउटा थोत्रो न थोत्रो मिनीबस आउँछ । रामप्रसाद मनमनै सोच्छ, एकछिन कलङ्कीसम्मलाई त हो, त्यसपछि त शानदार जनता कोच कम्पनीको बस त भैहाल्छ । कालिमाटी चोकमा जाम भएर बल्ल बल्ल मिनीबस कलङ्की त पुग्छ तर बस खोई – सारा यात्रीहरू हल्ली खल्ली गर्न थाल्छन् । प्रायः जसो सबै विवाह पन्चमी हेर्न जाने तीर्थयात्री नै हुन्छन्, भोलिको विवाह पन्चमी, राती दश बजेसम्म काठमाण्डूमै । कहिले पुग्ने – धेरै सोधपूछ गरेपछि बल्ल तल्ल बस कम्पनीवालाहरू मुखारविन्द खोल्छन् अर्थात् आफ्नो बस बिग्रियो अर्को बस आउँदैछ । के को बस बिग्रिनु ! पचास जनाको सिटमा सय जनाको टिकट काटेका हुन्छन्, पचास जना नयाँ बसमा गइसके होलान् रामप्रसादको पालामा कुनै थोत्रो लोकल बस ! यस्तो कुरो विचरा रामप्रसादलाई के थाहा । एघार बजेतिर एउटा थोत्रो बस आइपुग्छ । कहाँको भिडियो – सिट पनि सद्दे नभएको । कुनै प्रकारले रामप्रसाद पनि ठेलमेल गरेर एउटा सिटमा बस्छ । त्यस्तो ताल देख्दा त आ ! जनकपुर न सनकपुर ! यस्तो मारामारी गरेर पनि कोही जान सक्छ – फर्किन्छु घर भनेर झन्डै झन्डै हिड्न थालिसकेको हुन्छ रामप्रसाद । फेरि गम खान्छ र सोच्छ, साथीहरूले के भन्लान् । त्यत्रो गर्दा पनि जान सकेन रामप्रसाद, साह्रै लुते रहेछ भनिहाल्छन् नि । त्यही डरले रामप्रसाद जेनतेन एउटा सिटमा गएर बस्छ । त्यसपछि त बसमा भुइंचालो आएको जस्तो पो हुन्छ । तीर्थयात्रीहरूको एउटा डफ्फा झोलीतुम्बा बोकेर छिर्छ बसभित्र सलह झैं । रामप्रसाद झन्डै नकिच्चिएको । उसको छेउमा आएर एउटी मोटी आइमाई गजधम्म परेर बसिदिन्छिन् । कता तिर कुन गाउँकी हुन्, गन्हाएर उधुम । त्यसमाथि बस हिंड्न पा छैन, आइमाइ त युगौंदेखि नसुतेको जस्तो निदाएर छिनछिन टाउको त रामप्रसादको काँधमा ! टाउकोको लिसो गन्हाएर नाक फुट्लाजस्तो हुन्छ रामप्रसादलाई । रातभरिलाई रामप्रसादले काम पाउँछ । आइमाई उँघ्दाउँघ्दै टाउको उसको छातीमा तेर्स्याउछिन्, ऊ सोझ्याउँछ, अनि फेरि तेर्स्याउँछिन्, ऊ फेरि सोझ्याउँछ, एवम् रीतिले रातभर तेर्स्याउने र सोझ्याउने चलिरहन्छ ।
बसमा कति मान्छे कोच्चिएका छन् भने तील राख्ने ठाउँ छैन । वीचको खाली ठाउँमा पनि लम्पसार परेका छन् । पिसाब फेर्न बाहिर जान पनि खुट्टा टेक्ने ठाउँ हुँदैन । त्यसमाथि वाकवाक र ब्याकब्याक । पूरै बस दुर्गन्धले भरिएको हुन्छ । नौबिसे र मुगलिङ्गको बीचमा गाडी जाम भएर, एक घन्टा फसेर, दुइ पटक टायर पड्केर बल्ल तल्ल बस जनकपुर पुग्छ । विवाह पन्चमीको भीडले गर्दा बसलाई वरै मुजेलियामा रोकिदिन्छ ट्राफिकले । कुनै प्रकारले ज्यान बचाएर रामप्रसाद युद्ध जितेर आएको सैनिक जस्तो बसबाट बाहिर निस्कन्छ । त्यतिवेला दिनको बाह्र बजिसकेको हुन्छ । रामप्रसादले पनि बाह्र मज्जा पाइसकेको हुन्छ ।
मुजेलियाबाट एउटा रिक्सा समात्छ रामप्रसाद होटेल जान भनेर । तर रिक्सावालाले राम्रै सल्लाह दिन्छ कि यति बेला होटेल गएर के गर्नुहुन्छ – विवाह पन्चमीको कार्यक्रम शुरु हुनै आँटेको छ । जानकी मन्दिरबाट डोला उठ्नै आँटेको छ । बरु सोझै जानकी मन्दिर नै जानुस्, रमाइलो हेर्नुस्, दर्शन गर्नुस्, अनि वेलुकी होटेलतिर जानु होला । रामप्रसादलाई पनि ठीकै लाग्छ रिक्सावालाको कुरा । त्यसैले ऊ जानकी मन्दिर नै पुग्दछ । रिक्सावाला बीस रुपियाँको साटो सल्लाहको समेत गरेर सय रुपियाँ ठटाउँछ ।
रामप्रसाद जानकी मन्दिरभित्रको अनियन्त्रित भीड देखेर जिल खान्छ । मन्दिरभित्र छिर्ने कुनै दूलो, द्वार देखिरहेको हुँदैन ऊ । कहाँबाट छिरोस्, कसरी दर्शन गरोस् । रामप्रसादको हिम्मतले काम गरिरहेको हुँदैन । तथापि छिर्न त पर्छ । मन्दिरसम्म यति टाढाबाट यति हण्डर खाएर आएपछि नछिर्नु त महापाप हुन्छ । त्यसमाथि श्रीमतीलाई के भन्नु, साथीहरूलाई के जवाफ दिनु । अन्ततः सानो एयरब्यागलाई टाउको भित्र छिराएर रामप्रसाद भीडको समुद्रमा छिर्छ र भीडले जता जता घचेट्तै लग्छ ऊ उतै उतै घचेटिन्छ । भीड मन्दिरभित्रै गइरहेको हुन्छ, ऊ पनि भीडसँगै भित्र छिर्छ र दर्शन गर्छ । तर भगवानको मूर्ति, श्रृङ्गार केही देख्न पाउँदैन । भीड जसरी पसेको हुन्छ, त्यसै गरी बाहिर निस्किन्छ र रामप्रसाद पनि संगसंगै बाहिर आउँछ । अचानक डोला आयो ! डोला आयो !! भन्ने हल्ला हुन्छ र मान्छेहरूले बोकेको एउटा डोली, त्यसको पछि जोगीहरू अनि भीडको रेलो देख्छ रामप्रसाद । सारा भीड त्यसैको पछि लाग्छ । रामप्रसाद पनि भीडको पछि लागेर किच्चिदै, थिच्चिदै, धकेलिंदै, पेलिदै बाह्र बिगाहा मैदान पो पुग्छ । त्यहाँ पनि मान्छे नै मान्छे । मेला । बैलगाडा, टायरगाडा, ट्रयाक्टरहरूमा रामसीताको झाँकी । भजन मण्डली, कीर्तन मण्डलीहरूको भजन कीर्तन । नटुवाहरूको नाच । डोला । के के जाति हुन् के के । रामप्रसाद ठम्याउने कोशिश गर्छ, केही देख्न सक्दैन । रामप्रसाद बुझ्ने कोशिश गर्छ, केही बुझ्दैन । त्यसै त्यसै रल्लिन्छ, र थकित हुन्छ । त्यतिन्जेल साँझ परिसकेको हुन्छ ।
भीड बाह्र बिगाहा बाहिर निस्किरहेको हुन्छ । अचानक उसको नजर सडक छेउमा सस्तोमा बेचिरहेको पुरी जेरीको थुप्रोमा पर्छ अनि पो बल्ल सम्झन्छ, हिंडेदेखि केही खाएको छैन । जे होला भनेर रामप्रसाद टन्न पुरी जुल्फी खाइदिन्छ । र पैसा तिर्न पर्स खोज्दा त पर्सै गायब ! तै पर्समा धेरै पैसा राखेको हुँदैन, प्यान्टको भित्री खल्तीमा राखेको हुन्छ । अनि तृप्त भएर बस्ने होटेलको ठेगाना सोध्छ पुरी पसलेलाई । विवाह पन्चमीको दिन पनि कुनै होटेल खाली हुन्छ कतै ? दशवटा होटेल चहार्दा पनि रामप्रसादले एउटा कोठा भेट्दैन । त्यतिन्जेल रामप्रसाद थकाइले चूर भैसकेको हुन्छ । समय पनि रातीको नौ बजिसकेको हुन्छ । रामप्रसाद फेरि जानकी माताको शरणमा पुग्छ । मन्दिरको प्राङ्गण मानिसहरूले टनाटन हुन्छ । कोही केही ओछ्याएर सुतिसकेका हुन्छन् कोही सुत्ने तरखरमा हुन्छन्, कोही दहीच्यूरा खाइरहेका हुन्छन् । रामप्रसाद पनि यसो पल्टिने ठाउँ खोज्न थाल्छ । जानकी मन्दिर भित्रै रहेको लक्ष्मण मन्दिरभित्र एउटा सानो कुना खाली जस्तो लाग्छ रामप्रसादलाई र हत्तपत्त त्यहीं गएर बस्छ । खाली भुइंमा कसरी सुत्नु । क्यै छ कि झोलामा भनेर यसो झोला खोलेर हेर्छ र दङ्ग पर्छ । श्रीमतीलाई सम्झेर आँखा रसिलो भएर आउँछ । झोलामा त एउटा सानो तन्ना र एउटा ओढ्ने राखिदिएकी रहीछिन् अर्धाङ्गीनीले । त्यही तन्ना ओछ्याएर ओढ्नेले खुट्टा छोपेर झोलाको सिरानी हाली रामप्रसाद पल्टिन्छ । कुन सट्का रामप्रसादको आँखा लाग्छ ।
अचानक कोही उसको ओढ्ने भित्र घुस्रिन आएको जस्तो लागी रामप्रसाद ब्यूंझन्छ र यसो हेर्छ त एउटी तरुनी केटी उस्को ओढ्नेभित्र छिर्ने कोशिस पो गरिरहेकी रैछे । रामप्रसाद डरले जुरुक्क उठ्छ । केटी शिकार गतिलो रहेनछ भनेर भाग्छे । रामप्रसाद धन्य भन्ठान्छ आफूलाई । कसो एक पत्नीब्रत टुटाइदिइन मोरीले । सोच्दा सोच्दै रामप्रसाद फेरि निदाउँछ ।बिहान पाँचबजेतिर रामप्रसादको निद्रा खुल्छ । यसो हेर्छ त ओढ्ने छैन । ओछ्याएको तन्ना पनि छैन । सिरानीको झोला पनि गायब छ । रामप्रसाद तर्सेर खुट्टातिर हेर्छ, फुकालेको जुत्ता पनि गायब । हत्त न पत्त पाइन्टको भित्री गोजी छामेको त त्यहाँको पैसासमेत गायब । अब मारेन । एक पटक फेरि रामप्रसाद श्रीमतीप्रति नतमस्तक हुन्छ । श्रीमतीले रामप्रसादको कट्टुभित्र एउटा सानो खल्ती सिएर उनको आफ्नो पाँच सात सय रुपियाँ राखिदिएकी थिइन्, आकस्मिक कोषको रूपमा । त्यो चाँही सुरक्षित रहेछ । यै भए पनि सुरक्षित छ भन्दै रामप्रसाद जानकी मातालाई नमस्कार गर्छ र काठमाण्डू जाने बस समात्न रामानन्द चोकतिर पुग्छ । कुन बस राम्रो होला र कुन बस काठमान्डु जाला भनेर हिंडिरहेको रामप्रसादलाई दुइटा चिरपरिचित आवाजले एकै पटक समात्छन् – हजुर त आफ्नै मान्छे हुनुहुदोरहेछ काठमाण्डू जाने होइन – बस जानै लाग्यो ! चढिहाल्नुस् , नभए सिट पाइँदैन भन्दै रामप्रसादलाई घचेडेर बसभित्र हुल्दिन्छन् । भित्र पुगेपछि पो रामप्रसाद थाहा पाउँछ, जनता कोच कम्पनीको उही थोत्रो बस पो रहेछ जुन बसमा उ काठमाण्डूबाट आएको थियो । रामप्रसाद टाउको समातेर थचक्क बस्छ ।
