Skip to content

हुँदा खानेको कथा

AlpaBiram


काली खोलाकों बगरमा
स्वर्ण पदक बिजेता म्याराथन धावक जस्तै
उत्साह उमंग र हर्षोल्लासका साथ दौडेर आउँदै
किस्मतबहादुर र हर्षमायाको
किशोरवय छोराले भन्यो
आमा ! …..आमा !…..
बा !…..बा !…..
सुन्नुभो
लोकतन्त्र आयो रे
हाम्रो राम्रो संबिधान बन्दैछ रे
अब त पेट भरि भात खान पाइने भो हैन त आमा !
अब त नया लुगा लगाएर स्कूल जान पाइने भो हैन त बा !

स्कूलको अनुहार नदेखेको आफ्नो अबोध छोराको कुरा सुनेर
खुईय…सुस्केरा हाल्दै किस्मतबहादुर भन्छ
बाबु !
घेरा फाटेको टोपी लगाउने मान्छे हामी
सुकुम्बासी छाप्रोमा झ्याल नभए पनि
अनगिन्ती आँखी झ्याल भएको
गुन्यु चोलो लगाउने मान्छे हामी
कस्तो हुन्छ लोकतन्त्र
कस्तो हुन्छ नयाँ नेपालको संबिधान
परेवा जस्तै हुञ्छ कि वाज जस्तो
वाख्रा जस्तै हुन्छ कि बाघ जस्तो
थाहा छैन
काँडाको पैताला टेकेर हिंड्ने मान्छे हामी
नाम्लोले मस्तिष्क थिचिएको मान्छे हामी
सुन्दै छौं
शंघीय राज्य छुट्याइदै छ रे
हामी गरिवको राज्य हुन्छ कि हुँदैन
सुकुम्वासीको राज्य कुन भूगोलमा पर्छ
त्यो पनि थाहा छैन
गरिवी निवारणको हाला सुनेको
थुप्रै समय बित्यो
यही काली खोलामा थुप्रै पानी बगिसक्यो
हाम्रो शरीरमा काँडा उम्रन छोडेको छैन
आफ्नै हड्डीको सुरूवा घोट्न छुटेको छैन
विकाशको मूल कस्तो हुन्छ
हामीले अनुभूति गर्न पाएकै छैन
हामी ईश्वरबाट लखेटिएको मान्छे
राज्यबाट ठगिएको मान्छे
आफन्तबाट हेपिएको मान्छे
हाम्रा लागि राणातन्त्र
हाम्रा लागि राजतन्त्र
हाम्रा लागि लोकतन्त्र
नयाँ नेपालको संबिधान र गरिवी निवारण
आकाशको फल हो बाबु !
पसिनालाई ईश्वर मानेर पूजा गर्ने हामीलाई
आफ्नै पाखुरीलाई राज्य ठान्ने हामीलाई
इन्द्रेणी सपना देख्दा छाती भरि पीडा हुन्छ
यो मुलुकमा अपराध कहलिन्छ बाबु !
बरु यतिमै ठिक छ
यसैमा स्वर्ग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *