ए ! आमा
नहेर त्यसरी
लोलाएका आँखाहरूले
आँगनीको मझेरीमा
बर्षौ पुराना मेरा पैताला डोबहरू
छानामा सिउरेका हँसिया अनि नाम्लाहरू
मक्किएका थुन्चे र चोयाको घुमहरू
यो सन्तानको सम्झनामा,
हो,
आमा अब नहेर त्यसरी …
छिट्टै फर्की आउदैछु,
जिन्दगीको युद्ध जितेर,
तिम्रा सपना साकार पारेर
कल्पनालाई यथार्थ पहिराई
सफालाताको शिखर चुम्दै
त्यही बिशाल छातीको अढेस लीन
हुरी बतासले लाछेको रुख जस्तै
त्यो न्यानो काखमा बिश्राम लिन
मायालु अंकमाल गर्दै फेरि त्यही धड्कनबाट स्वास लिन
ममतामयी स्पर्सले केही दु:ख पीडा भुलाउन
छिट्टै फर्की आउदैछु
मेरी आमा
यो जितको प्रसाद स्वारुप
हर्षका मेरा आँशुहरू
शिर झुकाई
तिम्रा कोमल पाउमा चढाउदा
दुनियाले कुरा काट्ला
छोरीले पट्ट पट्टि फुटेको आमाको खुट्टा ढोग्दा,
अनि म भन्ने छु,
तीर्थब्रत भन्दै संसार घुमेर ढुंगा ढोग्नेलाई
के थाहा?
साक्षात देवीको पाउ पुज्नुमा, …
कति आनन्द मिल्छ
कति खुशी मिल्छ
कति हर्ष मिल्छ
कति शान्ति मिल्छ
कति गौरब लाग्छ
बस,
त्यो त यो मनले मात्र अनुभूति र आभास गर्न सक्छ…
हो, मेरी आमा, …
कल्पना राई”खुशी”
दोलखा नेपाल
हाल दक्षिण कोरिया
