इन्द्रचौकमा
बिंडीको सर्कोसँगै
एक त्यान्द्रो जीवन
नाम्लोले घिसार्दै घिसार्दै हिड्ने
गैरीगाउँको आइते
अचानक बेपत्ता भयो
शंका गरे
उसका दौंतरीहरूले
एक हप्ता अगाडि
खुल्ला मञ्चमा
झण्डाका टुक्राहरू बटुल्दै थिए रे
कतै झण्डाको मालिकले पो
केही गर्यो कि ?
अस्ति बेलुकी
टुडिखेलमा जंगेलाई लडाएर
घोडा माथि चढी
आफै हिन्हिनाउँदै थियो रे
कतै लडेको कालो जंगेले पो
केही गर्यो कि ?
शहिद गेट छेउमा उभिएर
विछिप्त टोलाइरहने
आइते हरायो
बिशाल बजारको गेट बाहिर
धारिलो आँखा बोकेर
पुर्वतिर हेरिरहने आइते हरायो
र हरायो
सडकमा छुटेको
उसका पैतलाका टाटाहरू चाट्दै
पछि पछि हिड्ने भूस्याह कुकुरहरू पनि
आज बिहानैको अखवारमा छापियो
आज बिहानैदेखि टेलिभिजन र रेडियोले फुकिरहेको छ
“एउटा भरिया
राष्ट्रिय चिडियाखानामा पसि
एक भारी प्लास्टिकका मान्छेहरू बोकेर
बागमतीको किनारै किनार गइरहेको छ ।”
राजु स्याङतान
महोत्तरी खयरमारा ६
२०७०/०५/०५
