सबेरै
आफ्नो गुड छाडेर
खोई-
के-के सोच्दै
खोई-
के-के खोज्दै
उडेका छन्
एक हुल चरीहरू
भरे साँझ
कति फर्किने हुन
आफू-
टन्न अगाएर
र आफ्ना चल्लाहरूलाई
मुखमा
अलिकति चारो ल्याएर
भरे साँझ
कति फर्किने हुन
आफू-
झन् भोकाएर
र आफ्ना चल्लाहरूलाई
आँखामा
टिलपिल आँसु ल्याएर
भरे साँझ
कति-
सायद फर्किनेनै होइनन्
बीच बाटोमा
कतै हराएर
या कुनै बाजले
खाएर
कठै ! लगभग
यी चरीहरूको जस्तै छ
हामी,
विदेशीने हरेक मान्छेहरूको
यात्रा पनि ।
सुशिल शाह
