उसले सिनेमाहरूमा र राता किताबहरूमा देखेको थियो, नायकहरूले डाँडामा गएर जे बोल्छन् सोहि आवाज बारम्बार गाउँथ्यो डाँडाले । ऊ पनि आफूलाई नायक नै ठान्थ्यो । त्यसैले, आफ्ना बोलीहरू गुन्जयमान गराउन ऊ बाँदर लड्ने डाँडामा गयो । डाँडा हरियो-हराभरा थियो ।
उसले डाँडाहरूमा जिन्दावाद र मुर्दावाद भन्दै विभिन्न नाराहरू कुर्लियो ।
डाँडाले पनि उसको तालमा ताल मिलाउँदै दोहोर्यायो, दोहोराइरह्यो ।
डाँडा निर्जीव थियो, निरक्षर थियो, बिकट गाउँमा उभिएको थियो; त्यो पनि चेतनशील समाजभन्दा धेरै पर । त्यसैले ऊ आफ्नो नायकको बोली केवल दोहोर्याउदै बसिरह्यो, बिना सुझबुझ, बिना कुनै प्रश्न ।
हिजोसम्म रातो-तातो घाम मात्र झुल्कने डाँडाको टुप्पोमा जब थोरै भएपनि सुनौलो प्रकाश दिंदै नयाँ प्रभात आयो, कर्णालीको पुलमुनी धेरै पानी बगिसकेको थियो । डाँडा स्वयं पनि हरियो थिएन अब, रातोले लपक्कै भिजिसकेको थियो ।
************
यी त भए अस्तिनैका कुरा,
हिजो नायक फेरि डाँडालाई फकाउन उतै गएछ, र भनेछ – ” मंसीरमा हुन लागेको फलफुल प्रदर्शनीमा मलाई तिम्रो कोखमा फलेका स्याउ, सुन्तलाहरू देउ; म तिमीलाई फेरि हरियो बनाइदिन्छु ।”
उसलाई उत्तर दिनु अगाडि डाँडाले वरिपरि आँखा डुलाउँदा; भत्केका टावर, बमले ध्वस्त घर, सेता साडी, र एम्बुसले उपहार दिएका बैसाखीहरू मात्र देखेछ ।
त्यसपछि मलिन अनुहारमा डाँडाले भनेछ – “तपाईंको हातमा सुहाउने एकमात्र फल, नरिवल, म कहाँ फल्दैन, त्यसैले माफ गर्नुहोला” ।
