Skip to content

बेरोजगार यूवाको दैनिकी


खल्तीमा
दुईचार फोटो
र झोलामा
एउटा सि–भि बोकी
प्राय ः
ऊ सबेरै हिँड्छ
र डुल्छ
रिङ्गरोडभित्र अटाएको
सिङ्गो काठमान्डु
अपसोेस…
तर पाउँदैन
कतै कुनै नौकरी ।

दिउसो
यस्तै खाजा खाने समयमा
ऊ कतै रत्नपार्कमा भेटिन्छ
दुई हातले चिउँडो थामेर
कसैले खाएको हेरी
थुक निल्दै गरेको
या कसैसित
एक धुट पानीको लागि
बिन्ती गर्दै गरेको
या चुपचाप
एक कुनामा बसेर
मनमनै केही सोचिरहेको ।

साँझपख
ऊ कुनै भट्टिमा भेटिन्छ
चुरोटका ठुटासँग
उदारो रक्सी पिउँदै गरेको
या आफूसँगै बसेको
कुनै अन्जान मान्छेसँग
देशको बारेमा
बहस गर्दै गरेको
या आज
अलिकति बढि पिएर
सत्तामा भएकाहरूलाई
मुख छाड्दै गरेको ।

निदाउँनु अधि
एकछिन
ऊ हेर्छ दिउसो
चुरोट नखाएर किनेको
कुनै राष्ट्रिय दैनिक
तर,
पढ्दैन समचार
मात्र पढ्छ जहाँ
केही विज्ञापनहरू
र टिप्छ
सानो कागजमा ठेगाना
भोलि फेरि जानुछ भनी ।

(सम्पर्क नंः ९८४३५९८८९१)

Leave a Reply

Your email address will not be published. Required fields are marked *