Skip to content

दशैंको शुभकामना


माटो छैन हिलो न वादल उठी, पानी परेका दिन,
चर्कोघाम नभै न ठण्डि सहने, जाडो बढेका छिन ।
मान्छेले कविता सुनाइ घरमा, जो मालश्रीका धुन,
आहा मौसम यो शरद-को, मानिन्छ राम्रो जुन ।

फूल्यो फूल जताततै अनि धरा, जम्मै रमायो पुरा,
हिँड्छन् रे युवती लगाइ शिरमा, ती पुष्पका आँकुरा ।
नाच्दै गाइ रमाइ पीङ हरुमा, जम्मा भएको हुल,
माफी मागि अगाडि देखिन पुगे, पैले गरेका भुल ।

सारै खूश् जनका सबै घरमहाँ, डाकेर आफ्ना जना,
मान्छन् रे संगमा रहेर तिनले, यो चाड हाम्रै पना ।
मातालक्ष्मि र देविका हजुरमा, पूजा तथा अर्चना,
दुर्गाको महिमा सुनेर गरने, जम्मै मिली वन्दना ।

शुक्लैका नवरात्रमा शुभमुहुर्तै, आश्विनैका मासमा,
औंसीका दिनमा जमाइ जमरा, प्रासादका रुपमा ।
लिन्छन् रे दुनिया सकल नै, दुर्गा भजी जो जन,
आशिर्वाद लिने बडासंग अरे, टीका लगाई कन ।

ठूलो हो महिमा दशा नबनियोस्, यो चाडको खातिर
घाँटीका ति नसा विचारि जनले, मानौं दशैं आखिर ।
खाई धेर जना परे जब थला, बन्ला र खै जीवन ।
हाम्रो यो छ नि कामना हरघडी, सम्पूर्णमा अर्पण ।

चूडा निर्भीक
शार्दूलविक्रीडीत छन्द
म स ज स त त गु

Leave a Reply

Your email address will not be published. Required fields are marked *