Skip to content


बनेको महलभित्र आफ्नो बास नदेखे पछि
जोडेछन् नानाथरीका बहानाहरू
गौण र मौन जतनाको बस्तीभित्र
छिर्दैछन् फेरि मशाल बोकी मुर्दाहरू ।
किन बनेनन् संविधान ?
न कुनै समीक्षा न कुनै ग्यारेन्टी
फेरि निर्वाचनको हुरी चुलिएछन्
जहाँ केवल छ विदेशीको ग्यारेन्टी ।
वहुमतमा अल्पमतको रजाइँ भएपछि
वहुदलीय प्रतिस्पर्धाको के अर्थ
किन गर्दैनन् प्रश्न जनताले ?
दिनदहाडै देशमा भएपछि अनर्थ ।
भोका पेटका भोका जनता
गरिब देशका दरिद्र नेता
अज्ञानताको फाइदा लिन्छन्
जनता ठगी तिनपुस्ते सम्पत्ति जोड्छन् ।
आफ्नो अधिकार थाहा छैन
मालिक नेताले किनी लान्छन्
त्यसैलाई अधिकार ठान्छन् ।
त्यसैलाई वरदान मान्छन्
उही पात्र उही प्रवृत्ति फेरि पनि जाने
भएको ढुकुटी पनि लुटीलुछी खानेदेश के हो ?
जनता के हो ? ठगी खाने भाँडो
विदेशीको आँचल भयो देश पिँध्ने जाँतो ।
हात काट्यो, खुट्टा भाँच्यो
विस्तारै अनि टाउँको रोज्यो
थाहा छैन, मलाई अझै पनि देश भन्छन्
अझै पनि देश बेच्छन् ।
विदेशी रिझाउने ठूला ठूला घात गयौ
आफ्नो सत्ता आफ्नो स्वार्थ पुरा गर्ने बाँध वाँध्यो
शोषण गर्यौ, दमन गर्यौ
सामन्तले रगतै चोर्यौ ।
संघीयताको आँगनमा शोषकहरू नाच्न
आफ्नो स्वार्थ पूरा गर्न मायाप्रति गाँस्न
आफ्नो अधिकार लेख्न जनताको अधिकार मास्न
गौण र मौन जनताको वस्तीभित्र छिर्दै छन्
लोभी मन बोकी मुर्दाहरू जनतालाई ओझेलमा जाक्न ।
देशी विदेशी समान्तको सूत्रपात भयो
नेता भयो महँगो जनता भयो सस्तो
हिजो पनि त्यस्तै आज पनि त्यस्तै भोलि पनि उस्तै
यहाँ नाटक छ अर्कै, भाषण छ अन्तै ।
त्यसैले वनेको संविधान गयो, अर्को आयो
देश र परिवेशको जिम्मा दोषीहरू लिनुपर्यो
इतिहासको कठघारामा दोषीहरू उभिनु पर्यो
किन बनेन संविधान जनताले खोज्नु पर्यो
खरवौं लुट्ने गद्दारलाई भुँडी फोडी झिक्नु पर्यो ।
बन्दुकको नालमा कतिन्जेल निर्वाचन
नयाँ नयाँ बाचा अनि चर्काचर्का भाषण
त्यसैले किन वनेन संविधान ?
खवरदारी गरौँ जनता
ग्यारेन्टी अब लडौँ जनता ।

–राजेश विद्रोही, राजबिराज

Leave a Reply

Your email address will not be published. Required fields are marked *