मुक्तक-१
कति लाउनु माया पिरती आगाको कौलासँग
असल कर्म गर्छु भन्ने हस्त-बूढी औंलासँग
एकताको खाँचो टार्न जीवन-गीत गाउँभन्दा
को नै बन्ला प्रिय मित्र पोखरीको त्यो मौलासँग
मुक्तक-२
शान्ति माथि भयो क्रान्ति पसे भ्रान्ति र भ्रामरी
उद्देश्यहीन क्रान्ति गर्दै नारा लाउँछन् मरीमरी
आज मानव तनमात्र हैन सारा देश नै दुखेको छ
भ्रान्ति र भ्रामरीकर्महरू दोहोरिदै छन् घरीघरी
मुक्तक-३
कति मीठो आवाज होला दिल मेरो रसाउने
कर्णप्रिय सुरिलो स्वर दिलभित्र नै पसाउने
दुई तन ऐच्छिक मन भावनामा बग्दै जाँदा
विद्युत्तीय धारा बग्छन् सारा तन सिँचाउने
मुक्तक-४
तिम्रो दिल हेर्न भनी दूरदर्शी यन्त्र भिरे
यतिसम्म गहिरिएँ अन्तस्करणसम्म छिरे
खोक्रो रैछ सारा लीला मर्मकर्म सबैशून्य
के नै पाउनु थियो त्यहाँ भासीभित्र मात्रै गिरे
मुक्तक-५
जिन्दगकिो भँगालोमा
तिमी फस्यौ अङ्गालोमा
न लिनु थियो न दिनुथियो
दुवै फस्यौं जञ्जालोमा
मुक्तक-६
आगो अघि नौनी राख्यौ त्यो त पग्लिन्छ नै
जति गन्दा गरे पनि पानी सङ्लि न्छ नै
प्रकृतिको नियममा धाँजो नहाल भो
कोइलाभित्र राम्ररी हीरा टल्किन्छ नै
मुक्तक-७
उनी भन्थिन् निवुवा नि चोरे जस्तो मान्छे
गुलावको मुस्कान नदेख्ने कस्तो मान्छे
सुन्दरताको अघि ढुङ्गा पनि पग्लिन्छ
मुटु नभएको कहाँ मिल्छ यस्तो मान्छे
मुक्तक-८
ग्रिवी निवारणका भाषण न छाँट भो
कोमलताकी खानी भनी न आँट भो
सत्यताको ज्वाला दन्किरहेछ मनभित्र
जहर दिंदै छौ अमृत भनी नढाँट भो
मुक्तक-९
नमान भो झझल्को उनी यहाँ छैनन्
मनभित्र सजाएमा उनी कहाँ छैनन्
ईश्वरीय चित्रसरी सजिएका मान्छे
दिलैबाट फालिएमा उनी त्यहाँ छैनन्
मुक्तक-१०
बुद्धको जन्म नेपालमा भयो कसले हैन भन्छ
धर्म-सन्देश संसारमा गयो कसले हैन भन्छ
नेपाली रगत शान्तिको लागि सागरसरी बग्छ
वीरको शान संसारमा छ यो कसले हैन भन्छ
-सदानन्द अभागी
(२०७० असौज, दशमी र एकादशीको लेखाइ)
