उपेक्षा गरिएको होस्
प्रबल सत्यको
दुत्कारिएको होस्
कटु यतार्थको
तब स्वीकार्य छैन
मलाई
त्यसबाट प्राप्त खुशी
शिर मण्डन होस्
सरलताको
हत्या गरिएको होस्
विवेकी ज्ञानको
तव मलाई
यो पृष्ठभूमिमा
रतीभर उभिने
रहर छैन
नदीलाई
बग्नबाट रोकेर
जब
बनाइन्छ पर्खाल
हावालाई
बहन
निषेध गरिन्छ
तब उम्रन्छ
क्रोध ममा
एकादस रुद्रको
कुवा जस्तै
सग्ला मनहरू
जब घनिघुत हुन्छन्
जताततै
घाम जस्ता उज्याला विचारहरू
जब छूनुमुनू गर्छन्
गाउ समाजमा
तब मभित्र पनि
मनको संगीत बज्छ
“सत्य कृष्णप्याराको ”
बासुरी बजाउदै
पखेरामा, देउरालीमा
दौतरीहरू
जब बोल्नेछन्
मुश्कुराउदै
शब्दको लालिमा
सप्तरंगी रंगको छटा
निस्वार्थ भै
जब छरिनेछ
आमा, दिदी, बहिनी
र सखिहरूको
दिप्त दिनचर्यामा
तब गुन्जनेछ
मभित्र
यौटा कालजयी गीत
उपेक्षा गरिएको होस्
प्रबल सत्यको
दुत्कारिएको होस्
कटु यतार्थको
तब स्वीकार्य छैन
मलाई
त्यसबाट प्राप्त खुशी ।
अस्तु ;
विवेक दुलाल क्षेत्री “दमक ”
(वास्तविक नाम :भानुभक्त दुलाल )
दमक, झापा
हाल :अबुधाबी, यू ए ई
