Skip to content


उपेक्षा गरिएको होस्
प्रबल सत्यको
दुत्कारिएको होस्
कटु यतार्थको
तब स्वीकार्य छैन
मलाई
त्यसबाट प्राप्त खुशी

शिर मण्डन होस्
सरलताको
हत्या गरिएको होस्
विवेकी ज्ञानको
तव मलाई
यो पृष्ठभूमिमा
रतीभर उभिने
रहर छैन

नदीलाई
बग्नबाट रोकेर
जब
बनाइन्छ पर्खाल
हावालाई
बहन
निषेध गरिन्छ
तब उम्रन्छ
क्रोध ममा
एकादस रुद्रको

कुवा जस्तै
सग्ला मनहरू
जब घनिघुत हुन्छन्
जताततै
घाम जस्ता उज्याला विचारहरू
जब छूनुमुनू गर्छन्
गाउ समाजमा
तब मभित्र पनि
मनको संगीत बज्छ
“सत्य कृष्णप्याराको ”
बासुरी बजाउदै

पखेरामा, देउरालीमा
दौतरीहरू
जब बोल्नेछन्
मुश्कुराउदै
शब्दको लालिमा
सप्तरंगी रंगको छटा
निस्वार्थ भै
जब छरिनेछ
आमा, दिदी, बहिनी
र सखिहरूको
दिप्त दिनचर्यामा
तब गुन्जनेछ
मभित्र
यौटा कालजयी गीत

उपेक्षा गरिएको होस्
प्रबल सत्यको
दुत्कारिएको होस्
कटु यतार्थको
तब स्वीकार्य छैन
मलाई
त्यसबाट प्राप्त खुशी ।

अस्तु ;

विवेक दुलाल क्षेत्री “दमक ”
(वास्तविक नाम :भानुभक्त दुलाल )
दमक, झापा
हाल :अबुधाबी, यू ए ई

Leave a Reply

Your email address will not be published. Required fields are marked *