उदयपुर जन्मथलो भएका नन्दलाल आचार्य सप्तरीलाई कर्मथलो बनाएर बर्षौंदेखि एकातिर शिक्षण पेसा र विद्यालय व्यवस्थान र अर्कातिर साहित्यिक यात्रालाई निरन्तरता दिइराखेका छन् । उनले कलम नचलाएको सायद कुनै विधा होला, दर्शन, राजनीति, अर्थतन्त्र जस्ता सबै क्षेत्रमा उनको कलम उस्तै चलेको छ। नेपाली साहित्यका धेरै बिधामा कलम चलाएका आचार्य हालै ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ नामक एकांकी र नाटक संग्रह लिएर पाठक समक्ष आएका छन् । जम्माजम्मी १५ वटा एकांकीहरू समेटिएको उक्त कृति वर्तमानका विविध सामाजिक मुद्दाहरूमा केन्द्रित छ।
नन्दलाल आचार्य प्रत्येक नाटकहरूमा अलग अलग मुद्दा र तन्त्रसँग मिसिएका छन् । कुनैमा उनी बिद्रोह उकेल्छन् भने कुनैमा सम्झौता, कुनैमा ओशोको प्रेमपथ र मानसिक शान्तिको लहरी गाउँछन् भने कुनैमा विज्ञानका सूत्रहरू । कुनै नाटकमा उनी निकै आदर्शवान् र काल्पनिक हुन्छन् भने कुनैमा उनी एकदम भौतिकवादी । कुनैमा भौतिकवाद र आदर्शवादको बीचमा आफूलाई उभ्याउने चेष्टा समेत गर्दछन् । उनका नाटकहरूमा उनी खासमा विज्ञानवादी, प्रकृति र वातावरण प्रेमी, पुराना परम्परा र सस्कारभन्दा पर नयाँ र परिवर्तनकारी कित्तामा उभिन्छन् वा उभिन खोज्छन् ।
एउटा मात्र नाटक पढेर उनको विचार र लेखकीय दृष्टिकोण पत्ता लाग्दैन र सबै पढ्यो भने पनि ठ्याक्कै यसो रहेछ भन्न पनि सकिन्न । उनी बैचारिक हिसाबले अझै पनि असमझ र अलमलमा नै रहेका छन् । त्यसैले नाटकहरूमा समस्याहरूको उठान गरे पनि समाधान भने अलि गोलमटोल तरिकाले निकाल्ने प्रयास गरेका छन् । एउटा आदर्श र न्यायपूर्ण समाजको कल्पना प्रशस्तै गरे पनि त्यो समाजसम्म जाने बाटो र प्राप्त गर्ने तरिकामा भने अलि अलमल छन् । समाजका तत्कालीन समस्याहरूलाई टप्प टिपेर नाटक लेखेका उनी समस्याको गहिराइसम्म त पुगेका छन् तर गहिराइबाट निस्कन भने सही बाटो पत्ता लगाउन कतैकतै चुकेका छन् ।
आस्तिक र नास्क्तिक विचारको परिवारभित्र हुने द्वन्द्वको प्रतीकात्मक एकांकी “वादविवादद” हो। आस्तिक र नास्तिक विचारको युगौंदेखिको यस द्वन्द्वमा सन्तान र आफन्तहरूले दुवै पक्षलार्इ बीचको बाटोमा ल्याउन सफल भएको उदाहरण यस एकांकीमा प्रस्तुत गरिएको छ । दुबै पक्षका तर्कहरू बलिया र विस्तारित छन् । त्यति हुँदाहुँदै पनि नाटक दुवै पक्षलाई बीचमै छाडेर अन्त्य भएको छ र त्यसबाट भन्न खोजिएको छ कि यो विवाद अन्त्यहीन छ र यो युगौंदेखि चलेको वार्ता अझै युगौं चलिरहने छ । सन्तान र आफन्तहरू त्यस विवादको बीचमा सधै परिरहने छन् । त्यस नाटक मार्फत उनले व्यक्तिगत स्वतन्त्रताको पक्षमा बलियो तर्क पेस गरेका छन् । उनी पात्र बहिनी मार्फत भन्छन् “अर्काको आस्थालाई जबरजस्ती खण्डित गर्दै आफ्नो आदर्शको भारी बोकाउनु किमार्थ उचित हुन्न । पूर्ण स्वतन्त्र जन्मेको मानिसलाई स्वतन्त्र नै रहन दिनुपर्छ । अर्काको स्वतन्त्रताको धज्जी उडाउने स्वतन्त्रता कसैलाई पनि छैन ।”
समय बदलियो, प्रबिधि बदलिए, तर्क र प्रमाण बदलिए र समाजमा सम्बन्ध पनि बदलियो । यदि हामीले बदलिएको समाजमा भएका बदलावलार्इ स्वीकार गर्न सकनौं भने हामी समयसँगै हिड्न सक्दैनौं । हामी पछाडि र समय हामीभन्दा अगाडि पुगिदिन्छ तर पर्खिँदैन । करार विवाह समयको परिवर्तन सँगै नेपाली समाजमा भएको सम्बन्धको परिभाषाको बदलावको मुखातरित रूप हो। यो नयाँ बहसको बिषय पनि हो । अहिले मानिसहरू झन् पनि झन् आत्मनिर्भर र एकात्मक हुँदै छन्। समाजको आर्थिक र समाजिक संरचना बदलिएको छ । यस एकांकीमा कर्णकान्तलार्इ एउटा अचम्मको पात्र बनाएर प्रस्तुत गरिए पनि उसका तर्क अरूका भन्दा अकाट्य र बलिया छन् । यो हालको समाजमा खुल्लमखुल्ला आइनसकेको बिषयमा थालिएको राम्रो बहस हो । लेखकले कर्णकान्त मार्फत विवाहको बारे यसरी आफ्नो धारणा पेस गरेका छन्, “जीवनका हर आँधीबेहरीमा साथ पाउँदामात्र त्यो जोडी उत्कृष्ट ठानिन्छ । झट्टै फैसला गर्ने कुरा हैन विवाह । जाँचविचार गरेरमात्र विवाह हुनुपर्छ । विवेक, बुद्धि र इन्द्रियजन्य सुख पाउन दुई हृदय एक ठाउँ मिली सरितामा परिणत हुनुपर्छ । त्यो सरिता नै दुवैको मनको सरिता हो । कुशलतापूर्वक जीवन सञ्चालन गर्ने हो भने विवाह अनुपम प्रेम बन्छ ।” उनी बिहे र प्रेमका मामलामा ओशो रजनिसको विचारबाट अत्यन्तै प्रभावित भएको पाइन्छ ।
एकल महिलालाई हेर्ने नेपाली समाजको अर्को पक्षलाई लेखकले नाटक दर्द मार्फत अगाडि ल्याएका छन् । हाम्रो समाज अझै पनि रूढीग्रस्त र परम्परागत रहेको अवस्थामा एकल महिलाले कसरी सामाजिक समस्यालाई झेलेर अगाडि बढिरहेकी छन् भनेर उनले प्रस्तुत गरेका छन् । समाजमा राम्रा पात्रहरू पनि छन् जसले नराम्रा प्रथा विरूद्धको लडाइमा साथ दिन सक्छन् भनेर बबलध्वजजस्ता पात्रहरू लेखकले उभ्याउने प्रयास गरेका छन् । पुरूषप्रधान समाजको छाप र एउटा परिवारमा पुरूषको आवश्यकतालाई यस नाटकले स्वीकार गरेको छ । तर पनि नाटकमा केही अस्वाभाविक वर्ताहरू भेटिन्छन् । जस्तो कि मंजरीको संवाद, पहिलो भेट मै त्यस्तो संवाद अलि असंभव हुने गर्दछ । त्यस्तै प्रमिला र प्रमोदको बहसले नाटकलाई अगाडि लैजाँदैन। त्यो बहस नराख्दैमा नाटकलाई केही असर पर्दैन । केटाकेटीहरूको वार्ताका भाषा पनि निकै साहित्यिक छन् । प्रमिलाका कतिपय संवाद निकै लामा र झर्कोलाग्दा छन् । बच्चाहरूबाट त्यस्तो संवाद बोल्न नलगाएर अर्को कुनै उपाय खोजेको भए बढी प्राकृतिक हुने थियो । तर मंजरीको मनोबाद राम्रो र निष्कर्ष मुखी रहेको छ । बबलध्वज र प्रकासको उपस्थिति अन्त्य वा बीचमा भैदिएको भए असाध्यै राम्रो हुने थियो । नाटकको शुरूवात र अन्त्यको बीचमा र्यांग ठ्यांग नमिलेको जस्तो अनुभव हुन सक्छ । प्रमोदको बालसुलभ र भावनालाई एकदम नै राम्रोसँग प्रस्तुत गर्न लेखक सफल भएका छन् । नाटकमा समस्यालाई उठान गरे पनि सम्भावित सामाधानलाई भने खासै प्रस्तुत गर्न नाटक असफल रहेको छ ।
आधा मेरो आधा तिम्रो हाम्रो समाजको महिला र पुरूषको सम्बन्ध र त्यसका विविध पक्षहरूको विवेचना हो । यो एउटा महिलाले पुरूषसँग आफ्नो हक र अधिकार बारे गरेको एउटा बहस पनि हो । लक्ष्मीले एक ठाउँमा यसरी समाज बारे आफ्नो आक्रोश व्यक्त गर्दछिन्, “मलाई तिम्रै पत्नीका रूपमा हेर्न चाहन्छौ भने यस पुरातनवादी समाजले धर्म, संस्कृति अनि परम्पराको नाममा लादेको यो नियमबाट बाहिर आऊ । बाटाका हरेक तगारा तोड्दै र फोड्दै आऊ । म तिम्रै साथमा रहनेछु । यस समाजले हाम्रासामु घुँडा टेक्नुपर्छ ।” लक्ष्मीका संवादहरू भने एकदमै सैध्यान्तिक देखिन्छन् र व्यापक अर्थ दिने खालका छन् । नाटक पढ्दै जाँदा अलि उपदेश जस्तो भयो कि भन्ने भान हुन्छ । बलियो विचार भएको नरनाथ अचानक बदलिनु नाटकीयजस्तो देखिन्छ ।
सबै पात्रहरू तथा स्थानहरू सबै प बाट नै शुरू गरिएको जस्तो मति उस्तै गति नाटकलाई हास्यप्रधान बनाउने कोशिस गरिएको छ तर पनि हास्य रसको प्रयोग भने कम भएको छ । नाटकमा लामालामा संवाद भए पनि तर्कहरू रमाइला र यथार्थपरक छन् ।
युग उचाल्ने अक्षरकर्मीको अवसान एक प्रगतिशील पत्रकार, लेखक र आस्थाको बन्दीको मार्मिक कथा हो । बन्दीको आफ्नो अडान र आस्थामा अडिग छ भने बर्दीधारीहरूमा पनि आफ्नो पेसाप्रतिको बफादारिता छ । त्यो दुई अवस्थाको द्वन्द्व मार्फत नाटक अगाडि बढेको छ । समाज बदल्ने सोच र व्यक्तिगत जागिर बीचको अन्तरविरोधको एउटा बयान हो यो नाटक । नाटकमा एउटा बिद्रोही लेखकलाई तत्कालीन सरकारले दिएको चरम यातना, क्रुर व्यवहार र ती सबैलाई सजिलै भोग्न तयार हुने पात्रको साहसको बयान छ नाटकमा । नाटकमा भाषा र संवादको एकदम मिलेको भए पनि दृश्यको पूर्ण व्याख्या र माहोलको विस्तृत अनुवादलाई अझै राम्रो बनाउन सकिने देखिन्छ । नेपथ्यको भूमिकालाई बन्दी र बर्दीधारीका मनका कुरा खोल्ने माध्यमको रूपमा प्रयोग गरिएको छ । खासमा उक्त बन्दी लेखक तथा पत्रकार स्व। कृष्णसेन इच्छुक हुन् र यो नाटक उनैले जेलभित्र भोगेको पीडाको बयान हो ।
“पीडा” सामाजिक कुरीतिहरूका बिरूद्ध मानसिक, शारीरिक, लिंग भेदले पीडित युवती र एक आदर्शवान् दलित अधबैंसेको कथा हो । यस नाटकमा लेखकले सूत्रधारको अधिकतम प्रयोग गरी कथा अगाडि बढाएका छन् । उपदेशजस्ता लाग्ने लामा संवाद, बोलीचालीको भाषाको अभावले कतै कतै अलिक पट्यारलाग्दो लाग्दो भए पनि भ्रष्टाचार, अत्याचार, विभेद बिरूद्धको आवाजमा उनी स्पष्ट समस्या र समाधान सहित उत्रिएका छन् ।
अनेकतामा एकता भन्ने भनाइलाई प्रनितिधिमूलक पात्रहरू खडा गरेर सबै पात्रहरूलार्इ आफ्ना राम्रा र नराम्रा पक्षमा जानकार बनाएर उनी एकता नाटक रच्न सफल भएका छन् । नाटकमा आमालाई मेलमिलापको मध्यम बनाएर समस्याको समाधान खोजिएको छ । नाटकले माग र समाधान, कर्तव्य, अधिकार र खुशीको सन्तुलन गरेको छ ।
ओशोको प्रेम सम्बन्धी तर्कहरू, झुठो आस्तिकता र सत्य नास्तिकता बीचको बहसलार्इ लेखक नम्र बिनम्र मार्फत अगाडि ल्याएका छन् । विषय वस्तुको उठान ठिक भए पनि पात्र चयनमा भने उनी केही चुकेको देखिन्छ । पात्र नविना मात्र ९ कक्षामा पढ्ने बिद्यार्थी हुन् र पनि उनी लामा दार्शनिक संवादमा पोख्त छिन् । नाटकमा त्यो अलि खट्किने देखिन्छ ।
छात्राहरू सबै यथास्थितिवादी र छात्रहरू विद्रोही देखाई शिक्षा क्षेत्रमा भएको व्यापारीकरण र त्यसको नकारात्मक प्रभावको प्रतीकात्मक प्रस्तुति गर्न खोजिएको नाटक नाम तिम्रो काम हाम्रोको समग्र संदेश नै एकताबद्ध भएर गरेको विद्रोह मात्र सफल हुन्छ भन्ने हो । पुरै छात्र राम्रा र पुरै छात्र नराम्रा हुनु चाहिं नाटकको कमजोर पक्ष हो । यथार्थमा त्यस्तो हुँदैन ।
व्यक्तिगत परिवर्तनले समाजको परिवर्तन गर्ने सक्छ भन्ने आदर्श विचार र राजनीति नै सबै कुराको केन्द्र हो भन्ने संदेश छ नाटक परिवर्तनमा। पार्टीहरूको संरक्षणमा हुने आर्थिक अनियमितता, अधिक कमाउने लालचभित्र पनि आदर्श समाजको परिकल्पना र त्यसको आदर्शवादी मार्ग देखाउने प्रयास गरेको छ यस नाटकले । लेखक नराम्रोभित्र पनि भइराखेका राम्रा कामहरूलार्इ सकारात्मक रूपले प्रस्तुत गर्ने प्रयासमा छन् ।
परिवर्तन बिरोधीहरू संगठित भई कसरी अफवाह फैलाउन्छन् भन्ने नाटक छलछाम छात्ते छ पार्टी र दुर्इ छोरीहरूको भविष्य र दाइजोको चिन्तामा डुबेको शिक्षक र शिक्षनमा व्यापार गरेको व्यक्ति प्रिन्सिपल बीचको अन्तरविरोध, दाइजो मनोविज्ञानले आफ्नो पूर्ण क्षमताको प्रयोग गर्न नपाएको अवस्था शिक्षक र व्यक्तिगत समस्या र सामाजिक परिवर्तन बारे बहस हो नाटक दाइजो ।
देश हराएको नाटक एउटा पात्रको मनोविज्ञान हो जसको देश हराएको छ र बर्षौंदेखि उः एउटा आदर्शवान् देशको खोजीमा छ । देश पुनर्संरचना गरी एउटा उन्नतिशील बनाउने चाहना छ राख्दछ उः ।
अन्तिम नाटक परिचय १७ प्रदेशका प्रतिनिधि पात्रहरू जो आफ्नो आफ्नो प्रदेश, जाति, र समुदायको, क्षेत्रको सकारात्मक र नकारात्मक, राम्रा र नराम्रा कुराहरूको वर्णन गर्दछन् र जान्दछन् सबै ठाउँमा पीडित र पीडक रहेका छन्, असल र खराब सबै ठाउँमा रहेका छन् । सबैको आफ्नो परम्परा संस्कृति रहेको र सबै मिलेर जानुपर्छ, संघियताले देश दुक्रिँदैन भन्ने संदेशमुलक यो नाटक समसामयिक मुद्धामा राम्रो कथाको उठान हो । नाटक संग्रहकै उत्कृष्ट नाटक नै यही हो भन्ने लाग्दछ ।
समग्रमा, केही नाटकहरूमा साधारण बोलीचालीको भाषाको अभाव र पात्रहरूको साहित्यिक भाषामा लामा लामा बार्ता नाटकीय लाग्दछन् । केही नाटकहरूमा स्थान र पात्रहरूको नाम एउटै अक्षरबाट राखेर नयाँपन दिन खोजिएको देखिन्छ । कतिपय नाटकमा बिषयको उठानमा काल्पनिकताको ज्यादा हावी देखिन्छ भने लेखकीय सौन्दर्यको अभाव त्यस्तै सबै नाटकमा चरम उत्कर्ष ९क्लाइम्याक्स० को बिन्दु नभेटिनु नाटकहरूका कमजोरी हुन् । तथापि सबै नाटकहरूले सही मुद्दाको उठान, बहस र विस्तार गर्दै समाजमा न्याय, सदाचार, प्रेम, मिलन, एकता, शान्ति र सत्यको पक्षमा लेखकले आफूलाई उभ्याएका छन् । आचार्यले यस नाटक संग्रहमा समाज र परिवारमा घटिरहेका ससाना मुद्दाहरूलाई मिहिन रूपले केलाएका छन् ।
डा. लेखनाथ काफ्ले
शिन्चु, ताइवान
(प्रधान सम्पादक डा. लेखनाथ काफ्ले ताइवानबाट प्रकाशित ‘प्रयास’ (ई-द्वैमासिक) मा गर्नुभएको समालोचना ।)
