Skip to content

बुख्याँचा देश


तन्त्र फेरियो
श्रीपेच फालियो
ढाका टोपी ढल्काउने थुप्रै राजा जन्मिए
सुनौलो बिहानीको आगमन भएन
कन्दरा र पखेरीहरूमा

ओलाङ्चुङ गोलाको लुङ्गालाई
आफू नेपाली भएको प्रमाणित गर्न आउन
हप्ता दिन लाग्छ
रोल्पाका मगर दाइ अँझै ढाकरे नै छन्
दाङकी वादी दिदी आफ्नै शरीर बेच्दै छिन
हलिया प्रथा अन्त्य भएको घोषणामा हर्षित जय नारायण
बर्ष दिनसम्म पनि गास-बासको ठेगान नभए पछि
पूर्व हलिया मालिकसँग सय कडा पाँचमा ऋण काढेर अरब भासियो
उस्ले सोच्यो मुक्ति भनेको यही होला
कमैया प्रथाको अन्त्यमा खुसीयाली मनाउदै केशरीदेवी
अधिकार माग्न सिहदरवार पुग्दा छातीमै लात्ती बर्सियो
सिराहाका मुसहर दाइ मुटु ठिउराउने जाडोमा खास्टो ओढेर
सरकारले कहिले कम्बल बाँड्छ भन्दै रात कटाउदै छन ।
न्युरोड गल्लीमा भारी बोक्ने रामेछापका छेत्री दाइ भन्दै थिए
अब त भारी बोकेर यो महंगीमा जिन्दगीको गर्जो नटर्ने भो

अँझै कुर्लदै छौ?
बालुवाटार र कर्णालीको दुरी घटयो भनेर

बर्षौ देखि असनको गल्लीमा
खर्पनमा तरकारी बेच्ने ज्यापु दाइले भन्दै थिए
नेताहरूले देशलाई बुख्याँचा बनाए ।

निश्चल काउचा
चौराहा -१ – बाग्लुङ
हाल – दक्षिण कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *